काठमाडौं । फेडरेशन अफ नेपाल एक्सपोर्ट एशोशिएशनका अध्यक्ष पवनकुमार गोल्यानले सरकारले विदेशी मुद्रा आर्जनको लागि निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष गोल्यानले पछिल्लो समय आयात बढ्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्नको लागि निर्यातजन्य उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताएका हुन् । उनले सरकारले निर्यातजन्य उद्योगमा लगानी गर्ने र उद्योगबाट उत्पादित बस्तु बाहिरी मुलुकमा निर्यात गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।
अध्यक्ष गोल्यानले सरकार निर्यात गर्ने उद्योगीलाई सम्मान गर्ने भन्दा पनि आयात गर्ने व्यवसायीलाई सम्मान गरिरहेको गुनासो गरे । उनले सरकारले नेपाली ४ रुपैयाँमा भारतमा विद्युत् बिक्री गर्न तयारी गर्ने तर, स्वदेशका उद्योगहरूबाट साढे ९ रुपैयाँ लिने गरेको बताए ।
नेपालमा उत्पादित विद्युत् खपतको लागि भारतमा ४ रुपैयाँमा बिक्री नभएर नेपाली उद्योगमा लिइरहेको शुल्कमा ५० प्रतिशत घटाएर सहुलियत दिन सके निर्यात दोब्बर हुने दाबी गरे । सरकारले विद्युत् शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गर्न सके निर्यात उद्योगहरू फस्टाएर जाने उनको दाबी छ ।
त्यस्तै, अध्यक्ष गोल्यानले सरकारले आगामी बजेटमा कृषि तथा निर्यात उद्योगलाई सबैभन्दा नाफामूलक बनाउनुपर्ने बताए । उनले पछिल्लो समय व्यापार घाटा वृद्धि ,रेमिट्यान्स कमी र आयात अत्यधिक बढेको अब आयात प्रतिस्थापन गर्ने उद्योगहरु आवश्यक रहेको बताए ।
अध्यक्ष गोल्यानले मुलुकमा थपिँदै गएको अर्थतन्त्रका चुनौती कम गर्नको लागि नेपालले निर्यात बढाउन आवश्यक रहेको औल्याए । पछिल्लो समय कृषिलाई राजनीतीकरण गरेर धेरैले त्यसको फाइदा उठाइरहेको अध्यक्ष गोल्यानले बताए ।
त्यस्तै, उनले नेपालमा हरेक वस्तुको स्रोत सीमित भएकाले बैंकहरूले पनि आवश्यक क्षेत्रमा मात्रै लगानी गर्नुपर्ने बताए । अध्यक्ष गोल्यानले बैंकहरुले साना उद्यम ,साना व्यवसायी र कृषिमा लगानी गर्न आवश्यक रहेको बताए ।