अन्नपूर्ण पदमार्ग विश्वका शीर्ष १० ट्रेकमा, पर्यटक आगमन झन् बढ्दै
गण्डकी । गण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तर्राष्ट्रिय रूपमा चर्चा कमाइरहेको छ । विश्वमा हिमाल आरोहणको इतिहास रच्ने अन्नपूर्ण प्रथमदेखि गण्डकी प्रदेशका थुप्रै प्राकृतिक पर्यटकीय पूर्वाधारले स्वदेशी एवं विदेशी पर्यटकको मन लोभ्याएको छ । यस्तै प्राकृतिक पर्यटकीय पूर्वाधारमध्येको अन्नपूर्ण संरक्षण क्षेत्र यहाँको महत्त्वपूर्ण पर्यटकीय आकर्षक गन्तव्य हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत समेटिएको यस क्षेत्रको प्राकृतिक, संस्कृतिक सम्पदा र वातावरण जोगाउन, पर्यटकको सेवासुरक्षामा स्थानीय जनतासँग सहकार्य र समन्वय गर्दै एक्यापले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । एक्यापका प्रमुख रविन कडरियाका अनुसार यो संरक्षण क्षेत्र कास्कीको उत्तरी क्षेत्र, म्याग्दीको उत्तरपूर्वी क्षेत्र, मुस्ताङ, मनाङ र लमजुङ जिल्लाको उत्तरी क्षेत्र गरी कूल ७ हजार ६२९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र स्वदेशी एवं विदेशी पर्यटकको लागि आकर्षक र रमणीय हुनुका साथै यहाँको प्राकृतिक सुन्दरता, भौगोलिक बनावट, मानव बस्ती, जैविक र सांस्कृतिक विविधताको प्रमुख भूमिका रहेको उनको भनाइ छ । यी सबैको सङ्गमका कारण अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने अन्नपूर्ण पदयात्रा मार्ग विश्वको दश उत्कृष्ट पदमार्गमा पर्न सफल भएको उनले उल्लेख गरे । यस क्षेत्रमा पर्ने अग्ला र सुन्दर हिमाल, विशेषतः अन्नपूर्ण प्रथम, दोस्रो, तेस्रो, चौथो, अन्नपूर्ण दक्षित, माछापुच्छ्रे हिमाल, लमजुङ हिमालका साथै अधिकांश झरना तथा छहरा, हिमनदीलगायत प्राकृतिक सम्पदाले विश्वको ध्यान खिचिरहेको छ । एक्याप क्षेत्रमा पाइने विभिन्न प्रजातिका लालीगुराँसको जङ्गल, माथिल्लो मुस्ताङका सीमावर्ती हिमालय क्षेत्रका साथै विचित्रको भूबनोटले यसको आकर्षण बढ्दै गएको एक्यापका प्रमुख कडरियाले बताए । उनका अनुसार पछिल्ला तीन वर्षको तथ्याङ्कले यहाँको पर्यटकीय आकर्षण झनझन बढ्दै गएको पुष्टि हुन्छ । प्रमुख कडरियाका अनुसार सन् २०२२ मा यस क्षेत्रमा एक लाख २९ हजार ७१८ विदेशी पर्यटक आएका थिए । सन् २०२३ मा एक लाख ९१ हजार ६६६, सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना पर्यटक आएका उनले जानकारी दिए । उनका अनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म दुई लाख ७३ हजार ६४६ जना पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरिसकेका छन् । सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइमा अवस्थित अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रूपमा पदयात्राका लागि पनि आकर्षक गन्तव्य बन्दै गएको एक्यापका प्रमुख कडरियाले बताए । पछिल्ला समयमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पदयात्रीको आगमन बढे पनि पदमार्ग क्षेत्रमा जथाभावी खनिएका बाटाका कारण पर्यटकको बसाइँ अवधि भने छोटिएको उनको बुझाइ छ । अन्नपूर्ण पदयात्रा क्षेत्रमा राउन्ड अन्नपूर्ण पदयात्रा डुम्रे, बेँसीसहर, मनाङ, मुुक्तिनाथ, तातोपानी हुँदै पोखरासम्मका लागि २१ दिन लाग्ने पदयात्रा सडक विस्तार भएसँगै १२–१३ दिनमा छोटिएको ट्रेकिङ एजेन्सिज एसोसिएसन ९टान० गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । ‘बाटो विस्तार भएसँगै २१ दिनको यात्रा १२–१३ दिनमा छोटिएको छ । ती जथाभावी खनिएका बाटोलाई व्यवस्थित गर्नु, पूर्वाधार विस्तार गर्नुपर्ने छ । यात्रा अवधि घटेसँगै पर्यटकलाई ‘हाइ अल्टिच्युड’को समस्या कम भएको छ । छोटो अवधिमा अन्नपूर्ण पदमार्गमा यात्रा गर्न पाउँदा समयको बचत पनि भएको छ,’ उनले भने । लामो पदयात्रा गर्न चाहने पदयात्रीको पदयात्रा अवधि लम्ब्याउने गरी शीघ्र अन्य वैकल्पिक मार्गको खोजी गर्नुपर्नेमा जोड दिँदै टानका अध्यक्ष आचार्यले सोको व्यवस्था नगरिएको अवस्थामा यहाँ आउने पर्यटक अन्यत्र मोडिन सक्ने सम्भावनालाई बेलैमा ख्याल राख्नु जरुरी रहेको बताए । पछिल्लो तथ्याङ्कका आधारमा सबैभन्दा बढी भारतीय पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका जानकारी दिँदै उनले गत साउन १ गतेदेखि हालसम्म ४५ हजार ७३६ जना भारतीय पर्यटकले यस क्षेत्रको भ्रमण गरेका उल्लेख गरे । त्यसपछि बढी भ्रमण गर्ने विदेशीमा क्रमशः बेलायत, फ्रान्स, अमेरिका, जर्मनी, इजरायल, चीन, अष्ट्रेलिया, साउथ कोरिया र मलेसियाका पर्यटक रहेको बताए । पछिल्लो समय यस संरक्षण क्षेत्रका लोमान्थाङ, विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाललगायत पदयात्रा क्षेत्रमा बढी सङ्ख्यामा पर्यटक आउने गरेका छन् । अन्नपूर्णं संरक्षण क्षेत्रको पदयात्रा एवं भ्रमणका लागि भारतीय पर्यटकले रु एक हजार प्रवेश शुल्क बुझाउनुपर्छ भने अन्य विदेशी पर्यटकले रु तीन हजार शुल्क बुझाउनुपर्छ । यस क्षेत्रमा पर्ने कास्कीको मादी गाउँपालिकास्थित नेपालकै कम उचाइमा रहेको कपुचे हिमताल पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बनेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार पछिल्ला समयमा म्याग्दीतर्फको अन्नपूर्ण नर्थ बेस क्याम्प पनि स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।
नेपाल पर्यटन बोर्ड र एयरलाइन्सबीच सहकार्य, पर्यटन प्रवर्द्धन गर्ने
काठमाडौं । नेपालका पर्यटन उत्पादनहरूको अन्तर्राष्ट्रिय बजारमा संयुक्त प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) र नेपाल वायु सेवा निगम (एनएसी) बीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । समझदारीपत्र अनुसार दुवै संस्थाले विश्वभरका पर्यटन मेला, डिजिटल क्याम्पेन, फ्याम ट्रिप, संयुक्त प्रचार–प्रसार, मेगा–इभेन्ट तथा ब्रान्डिङजस्ता गतिविधि सहकार्यका आधारमा सञ्चालन गर्ने सहमति जनाएका छन् । यस कदमले नेपालको पर्यटन कूटनीतिलाई नयाँ चरणमा प्रवेश गराएको बताइएको छ । बोर्डले विदेशी पर्यटन मेलाहरू, सेल्स मिसन, रोड शो, पत्रकार सम्मेलन र फ्याम ट्रिपमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई ‘पार्टनर एयरलाइन’को रूपमा निःशुल्क सहभागी गराउनेछ । निगमले पनि आफ्ना उडान गन्तव्यहरूमा १०० किलोसम्मका प्रवर्द्धन सामग्री निःशुल्क लैजान दिने, संयुक्त कार्यक्रमका लागि उपहार टिकट उपलब्ध गराउने र रियायती टिकट सुविधा प्रदान गर्ने व्यवस्था मिलाएको छ । दुवै संस्थाले अन्तर्राष्ट्रिय बजारमा नेपालबारे सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले प्रभावशाली व्यक्तित्व, पत्रकार, ब्लगर, टुर अपरेटर्स र सेलिब्रिटी सहभागी हुने फ्याम ट्रिपहरूमा सामूहिक रूपमा काम गर्नेछन् । समझदारीपत्रमा डिजिटल विज्ञापन, प्रमोशन भिडियो, संयुक्त ब्रान्डिङ, वेबसाइट लिंक–सपोर्ट, संयुक्त होर्डिङ बोर्ड लगायत सामग्री उत्पादनलाई एकीकृत गर्ने प्रावधान पनि उल्लेख गरिएको छ । आवश्यक परेको अवस्थामा संयुक्त ब्रोसर, गाइडबुक, पोस्टर तथा सांस्कृतिक विविधता झल्किने सामग्री निर्माण गर्ने र विदेशी राष्ट्रिय दिवस वा व्यापारिक कार्यक्रमहरूमा संयुक्त उपस्थिति जनाउने व्यवस्था पनि गरिएको छ । नेपालभित्र विदेशी कलाकार, फिल्म उत्पादक, खेलाडी तथा सेलिब्रिटी सहभागी हुने मेगा–इभेन्टमा पनि निगमले सहुलियत टिकट उपलब्ध गराउनेछ । समझदारीपत्र मार्फत नेपालको पर्यटन प्रवर्द्धन संरचना बढी गतिशील, समन्वित र परिणाममुखी बन्ने अपेक्षा गरिएको छ । दुवै संस्थाले हरेक छ महिनामा संयुक्त प्रतिवेदन तयार पारेर कार्यक्रमहरूको प्रभावकारिता मूल्यांकन गर्नेछन् । समझदारीपत्र हस्ताक्षरपछि नेपाल पर्यटन बोर्डका सीईओ दीपक राज जोशीले यस सहकार्यलाई नेपालको अन्तर्राष्ट्रिय छवि र बजार पहुँच विस्तारका लागि ऐतिहासिक कदमको रूपमा व्याख्या गर्दै भने, 'नेपाल एयरलाइन्स हाम्रो राष्ट्रिय गौरव हो र पर्यटन यसको मूल चालक शक्ति हो । दुवै संस्थाबीचको यो रणनीतिक साझेदारीले ‘नेपाली ब्रान्ड’लाई विश्वभर उच्चतम प्रचार र प्रवर्द्धन गर्न टेवा पुग्नेछ । विमानस्थलदेखि गन्तव्यसम्म एकीकृत प्रवर्द्धनले नेपालको पहिचान थप स्पष्ट र प्रभावकारी बनाउँछ ।'
नोभेम्बरमा भित्रिए १ लाख १६ हजार पर्यटक, ११ महिनामा १० लाख ६० हजार
काठमाडौं । सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो। जसमा प्रमुख पर्यटक गन्तव्य मुलुकमा सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् । त्यसैगरी, क्रमश: संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट ७ हजार ८७१, बेलायतबाट ७ हजार १८९, बंगलादेशबाट ५ हजार ६५३, अष्ट्रेलियाबाट ५ हजार ३९३, श्रीलंकाबाट ४ हजार ८३१, म्यानमारबाट ४ हजार ४८४, फ्रान्सबाट ४ हजार २११ र जर्मनीबाट ४ हजार १३४ पर्यटक भित्रिएका छन् । क्षेत्रगत रूपमा दक्षिण एसियाली मुलुकबाट ३० हजार ८७०, एसियाली अन्य मुलुकबाट २८ हजार ६१३, युरोपबाट ५ हजार ८९१, अमेरिकाबाट १३ हजार ६७८, मध्यपूर्वी मुलुकबाट १ हजार ८०२, अफ्रिकाबाट ४१२ र अन्य मुलुकबाट ६ हजार २६९ पर्यटक भित्रिएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । २०२५ को पछिल्लो ११ महिना जनवरीदेखि नोभेम्बरसम्म १० लाख ६० हजार २६९ पर्यटक भित्रिएका छन् । यस वर्षको अक्टोबर महिनामा मात्रै १ लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो महिनालाई मुख्य पर्यटकीय याम मानिन्छ । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने अगष्टमा ८८ हजार ६८० पर्यटक भित्रिएका थिए ।