सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका २५ सय भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा

वासिङ्टन । अमेरिकामा जारी सरकारी बन्द (शटडाउन) का कारण हवाई सेवा व्यापक रूपमा अवरुद्ध भएको छ । सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात घटाउने आदेश दिएका कारण शनिबार साँझसम्म मात्र अमेरिकी एयरलाइन्सहरूले सप्ताहन्तभर दुई हजार ५०० भन्दा बढी उडान रद्द गरेका छन् । सरकारी बन्द कहिले अन्त्य हुने कुनै सङ्केत नदेखिएपछि देशका प्रमुख विमानस्थलहरूमा यात्रुहरू अलमलमा परेका छन् । देशका व्यस्त विमानस्थलहरूमा देखिएको अव्यवस्थाले लामो समयदेखि चलिरहेको सङ्घीय बन्दको असर झन् गहिरो बनाएको छ । यात्रुहरूका गुनासा बढिरहेका छन् । डोमिनिकन गणतन्त्रमा आफ्नो परिवार भेट्न गइरहेकी मियामीकी ३६ वर्षीया एमी होल्गुइन भन्छन्, 'हामी सबै कतै न कतै जानै पर्छ । म आशा गर्छु सरकारले छिट्टै समाधान गर्छ ।' विश्लेषकहरूका अनुसार यदि रद्द हुने दर यस्तै बढ्दै गयो भने आगामी थ्याङ्क्सगिभिङ हप्तामा स्थिति अझ भयावह हुन सक्छ र यसले केवल हवाई यातायात मात्र नभई समग्र अर्थतन्त्रमा पनि असर पार्नेछ । पर्यटन र छुट्टीका सामान ढुवानीमा नकारात्मक प्रभाव पर्न थालिसकेको बताइएको छ । उडान रद्दको तथ्याङ्क उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार शनिबार मात्र एक हजार ५०० भन्दा बढी उडान रद्द भएका थिए । यसको अघिल्लो दिन सङ्ख्या एक हजार पुगेको थियो । आइतबारका लागि पनि थप एक हजारभन्दा बढी उडान रद्द गरिएको अमेरिकी एयरलाइन्सहरूले जनाएका छन् । एटलान्टा, शिकागो, नर्थ क्यारोलिनाको शार्लोट र न्युजर्सीको नेवार्क विमानस्थलमा दिनभर अवरोधका समाचार आएका छन् । विशेषगरी न्युयोर्क वरपरका विमानस्थलहरूमा हवाई नियन्त्रकहरूको अभावले ढिलाइ र रद्द बढाएको हो । एफएएले सबै व्यावसायिक एयरलाइन्सहरूमा ४० प्रमुख विमानस्थलमा प्रारम्भिक रूपमा चार प्रतिशत उडान कटौती गरेको थियो । यो शुक्रबारसम्म बढ्दै १० प्रतिशत पुगेको हो । मङ्गलबार फेरि उडान कटौतीमा वृद्धि हुने अपेक्षा गरिएको छ । यातायात मन्त्री सिन डफीले यदि सरकारी बन्द लामो समयसम्म जारी रह्यो भने अझ धेरै हवाई यातायात नियन्त्रकहरू तलब बिना काम गर्न अस्वीकार गर्न सक्ने र त्यसले थप उडान कटौती गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् । उडान किन रद्द भइरहेका छन् ?  नियन्त्रकहरूले लगभग एक महिनादेखि तलब बिना काम गरिरहेका छन् । धेरैजसो कर्मचारीहरू बिरामीको बहानामा काममा उपस्थित हुन सकेका छैनन् । नेसनल एयर ट्राफिक कन्ट्रोलर्स एसोसिएसनका अनुसार अधिकांश नियन्त्रकहरूले हप्ताको छ दिनसम्म तलब बिना ओभरटाइम काम गर्न बाध्य छन् र कतिपयले बिल तिर्न दोस्रो रोजगारी लिनुपरेको छ । सङ्घीय बन्द अन्त्य गर्न माग गर्दै उक्त सङ्घले शनिबार अमेरिकी काङ्ग्रेसका सदस्यहरूलाई एक हजार ६०० हस्तलिखित पत्र पठाएको बताएको छ । यात्रुहरूको अवस्था  उडान रद्द भएका धेरै यात्रुहरूले शुक्रबारको तालिका केही सामान्य देखिएपछि राहत महसुस गरे पनि उनीहरू पुनः बुकिङ गर्न लामो प्रतीक्षामा छन् । लामो अन्तर्राष्ट्रिय उडानहरू अहिलेसम्म प्रभावित भएका छैनन्, तर यात्रुहरू अनिश्चितताबाट त्रसित छन् । शनिबार क्रुज यात्रा सकेर प्युटो रिको फर्किनुपर्ने मियामीकी ४६ वर्षीया हिथर जुले भन्छन्, 'यात्रा आफैँमा तनावपूर्ण हुन्छ । त्यसमा पनि यस्ता अवरोधले सबथोक अझ कठिन बनाउँछ ।' भाडाका सवारी कम्पनीहरूले एकतर्फी आरक्षणमा तीव्र वृद्धि भएको जनाएका छन् । केही यात्रुले उडान रद्द गर्दै वैकल्पिक यात्रा विकल्प रोजिरहेका छन् । न्युजर्सीकी डायना अल्वियरले अर्को सप्ताहन्त क्यालिफोर्नियामा सासूलाई भेट्न बनाइएको पारिवारिक योजना रद्द गरेका छन् । नियन्त्रकहरूको कमी र लामो कामघण्टाका कारण उनले उडान सुरक्षामा चिन्ता व्यक्त गरेका हुन् । 'हामीले उडान रद्द गर्नुपर्‍यो । युनाइटेड एयरलाइन्सले टिकटको रकम फिर्ता गरे पनि एयरबिएनबीमा झण्डै सात सय डलर जम्मा रकम फिर्ता भएन', उनले भने, 'यो हाम्रो लागि आर्थिक रूपमा कठिन र भावनात्मक रूपमा निराशाजनक छ ।' अर्थतन्त्रमा असर  उडान रद्दले केवल यात्रुहरूलाई नभई अर्थतन्त्रका अन्य क्षेत्रमा पनि असर पार्ने विशेषज्ञहरूले चेतावनी दिएका छन् । अमेरिकाको झण्डै आधा हवाई कार्गो यात्रुवाहक विमानको पेटमा पठाइने भएकाले ढुवानी अवरोधले बजारमा मूल्य वृद्धि गराउन सक्छ । सिराक्युज विश्वविद्यालयका आपूर्ति शृङ्खला विज्ञ प्रा. प्याट्रिक पेनफिल्डका अनुसार यदि प्रमुख हवाई ढुवानी सेवा प्रभावित रह्यो भने उच्च ढुवानी लागत अन्ततः उपभोक्तामा सारिनेछ । एलिभेट एभिएसन ग्रुपका प्रमुख कार्यकारी ग्रेग राइफ भन्छन्, 'यो बन्दले कार्गो विमानहरू र व्यापारिक यात्रुहरूलाई मात्र नभई, सम्पूर्ण पर्यटन उद्योग र सहरका राजस्वलाई असर पार्नेछ । होटल र स्थानीय कर आम्दानीमा समेत गिरावट आउनेछ ।' सरकारी बन्द जारी रहेसम्म उडान अवरोध र यसको असर थप गहिरिँदै जाने निश्चित देखिएको छ । रासस

वालनट बिस्ट्रोले सुरु गर्‍यो ‘लिटल फ्री लाइब्रेरी’, अब रेष्टुरेण्टमा स्वादसँगै ज्ञान

काठमाडौं । पानीपोखरीमा रहेको वालनट बिस्ट्रो रेष्टुरेण्टले  ग्राहकहरूलाई लक्षित गरेर पुस्तकालय पनि सञ्चालनमा ल्याएको छ । ग्राहकलाई स्वादिष्ट भोजन मात्र नभइ, ज्ञानको पनि स्वाद चखाउने उद्येश्यसहित पुस्तकालय सञ्चालनमा ल्याएको हो । रेष्टुरेण्टले हालै ‘लिटल फ्री लाइब्रेरी’ (सानो निःशुल्क पुस्तकालय) नौलो अभियानको सुरुवात गरेको छ ।जसअन्तर्गत कोही ग्राहकले पुस्तक निःशुल्क लिन सक्ने र आफ्नै पुस्तक राखिदिन सक्ने व्यवस्था गरिएको छ । रेस्टुरेन्टको प्रवेशद्वार नजिकै राखिएको यो सानो तर आकर्षक पुस्तकालय बाकसमा साहित्य, कविता, यात्रा विवरण, जीवनीदेखि बालसाहित्यसम्मका विविध पुस्तकहरू उपलब्ध हुनेछन् । ‘पुस्तक छोड र पुस्तक लिएर जाउ'  अर्थात् ‘एउटा लिनुस्, एउटा राखिदिनुस्’ भन्ने अवधारणामा आधारित यो अभियानले पुस्तक आदानप्रदानमार्फत पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यसहित पुस्तकालय सञ्चालनमा ल्याइएको रेष्टुरेण्टका म्यानेजर राकेश डंगोलले जानकारी दिए । उनका अनुसार यो पहलले ग्राहकहरूलाई भोजनभन्दा बढी ज्ञानको अनुभव दिने लक्ष्य लिएको छ । 'हामी मान्छेहरूलाई जोड्ने ठाउँ बन्न चाहन्छौं,' उनले भने, 'खाद्यान्न मात्र होइन, विचार, कथा र अनुभवको आदानप्रदान हुने स्थान बनाउने हाम्रो प्रयास हो ।' रेष्टुरेण्टले यसअघि नै ‘गुणस्तर र सन्तुलन’ लाई आफ्नो खाद्य दर्शनको रूपमा लिँदै, स्थानीय रूपमा उत्पादित ताजा सामग्रीहरू प्रयोग गरेर नेपाली पारम्परिक व्यञ्जन ‘दाल भात तरकारी’ का विभिन्न  (वेज, चिकन, मटन, फिस वा ट्राउट)  सेवा दिँदै आएको छ । पुस्तकालयको यो पहलले स्वाद, संस्कृति र सिर्जनशीलताको सम्मिश्रणमार्फत ग्राहकहरूलाई अझै गहिरो अनुभव दिलाउने अपेक्षा गरिएको छ । समुदाय र संस्कृतिमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । रेष्टुरेण्टको यो अभियानले नेपाली समाजमा पढ्ने बानी पुनर्जीवित गर्ने र सामुदायिक सम्बन्ध सुदृढ पार्ने सम्भावना देखिएको उनले बताए । बौद्धिक आदानप्रदान फरक–फरक पृष्ठभूमिका मानिसहरूले आफ्नो ज्ञान र विचार बाँड्न पाउने भएकाले यस अभियानलाई महत्त्वका साथ हेरिएको डंगोलको भनाइ छ । डंगोलले पुस्तकालयले प्रत्यक्ष रुपमा समाज र मानिसलाई जोड्ने विश्वास व्यक्त गरे । सामुदायिक साझा गतिविधिको माध्यमबाट समुदायबीच सम्बन्ध र सहकार्य अझ बढ्ने उनले उल्लेख गरे । यसले नेपाली भाषा, साहित्य र सिर्जनशीलतालाई प्रोत्साहन दिँदै सांस्कृतिक पहिचान जोगाउन योगदान गर्ने उनले बताए । वालनट बिस्ट्रोले आगामी दिनमा यो अभियानलाई अझ विस्तार गर्ने योजना बनाएको छ । रेष्टुरेण्टले भविष्यमा साहित्यिक वाचन कार्यक्रम, लेखकहरूसँग अन्तरक्रिया, र बालसाहित्य प्रवर्द्धनका विशेष गतिविधि आयोजना गर्ने तयारी गरिरहेको छ । यो सानो ‘लिटल फ्री लाइब्रेरी’ले रेष्टुरेण्टभित्र होइन, बाहिर पनि एउटा ‘पढ्ने संस्कृति’ को सुरुवात गरेको छ । भोजन, संगीत र साहित्यको मधुर संगममा आधारित वालनट बिस्ट्रोको यो प्रयासले काठमाडौंका अन्य व्यवसायीहरूलाई पनि सामाजिक र सांस्कृतिक उत्तरदायित्वप्रतिको भावना जगाउने अपेक्षा गरिएको छ ।  

शनिबारदेखि चन्द्रागिरि केबलकार पुनः सञ्चालनमा आउँदै

काठमाडौं । चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबार (भोलि) बिहानदेखि पुनः सञ्चालनमा आउने भएको छ ।  जेनजी आन्दोलनमा तोडफोड भएपश्चात चन्द्रागिरि हिल्सको सेवा बन्द भएको थियो । केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरू प्राप्त गर्न सक्नेछन्। गत भदौ २४ गतेको घटनाका क्रममा भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरूपमा क्षति पुगेपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो । त्यसयता चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाइ आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणका कार्यहरू पूरा गरी यात्रुहरूका लागि सुरक्षित र सहज सेवा सुनिश्चित गर्दै पुनः सञ्चालनमा ल्याएको हो । सेवा बन्द हुनुअघि चन्द्रागिरि केबलकारमार्फत दैनिक करिब दुई हजार  भक्तजन तथा पर्यटकहरूले सेवा प्राप्त गर्दै आएका थिए ।