प्राकृतिक सौन्दर्य र व्यापारको केन्द्र बन्दै दोमुख

काठमाडौं । हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको हुम्ला कर्णाली तथा मुगु कर्णाली नदीको सङ्गमस्थल ‘दोमुख’ पर्यटकीय तथा व्यावसायिक दृष्टिले महत्त्वपूर्ण क्षेत्रका रूपमा परिचित बन्दै गएको छ । कर्णाली करिडोरसँग जोडिएको दोमुख हुम्लाको अदानचुली गाउँपालिका-१ मा पर्दछ भने हुम्ला कर्णाली नदी पारिको क्षेत्र मुगुको सोरु गाउँपालिका-३ मा पर्छ । हुम्लातर्फ रहेको दोमुख बजार अदानचुली गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रमध्ये एक मानिन्छ । कर्णाली करिडोर सञ्चालनमा आएपछि व्यापारिक गतिविधि बढ्दै गएको दोमुख बजार व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर बुढाले बताए । उनका अनुसार हुम्ला र मुगुका नागरिकको आवतजावत तथा किनमेलका लागि समेत दोमुख बजार महत्त्वपूर्ण केन्द्र बनेको छ । करिडोर भएका कारण सो क्षेत्रमा व्यापार व्यवसाय फस्टाएको छ । दोमुख क्षेत्रमा हुम्ला कर्णाली र मुगु कर्णाली नदीको सङ्गमले थप सौन्दर्य थपेको छ । नदी किनार, वरिपरिका पहाड र प्राकृतिक वातावरणका कारण यहाँ आन्तरिक पर्यटनको राम्रो सम्भावना छ । तर आवश्यक पर्यटकीय पूर्वाधार, प्रचारप्रसार तथा व्यवस्थापनको अभाव छ । सो क्षेत्र मन्दिरसहितको पूर्वाधार निर्माणको पर्खाइमा छ । स्थानीयवासीका अनुसार दोमुख क्षेत्रमा पर्यटक विश्रामस्थल, दृश्यावलोकन स्थल, खाने बस्ने सुविधा तथा अन्य आवश्यक पूर्वाधार निर्माण गर्नसके पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने देखिन्छ । कर्णाली करिडोरसँगको पहुँचले यस क्षेत्रलाई अझ बढी सम्भावनायुक्त बनाएको छ । प्राकृतिक सौन्दर्य, नदीको सङ्गमस्थल, व्यापारिक महत्व तथा माछा उत्पादनको केन्द्रका रूपमा परिचित दोमुख अहिले पनि आवश्यक पूर्वाधार र प्रवर्द्धनको प्रतीक्षामा रहेको अध्यक्ष बुढाले बताए । दोमुख क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । यसलाई स्थानीयले गौजो काट्नेदेखि, व्रतबन्ध, काजकिरीया, मृत्यु संस्कार तथा विभिन्न धार्मिक एवं सांस्कृतिक अनुष्ठान सम्पन्न गर्ने थलोका रुपमा प्रयोग गर्दै आएका छन् । यसले दोमुखलाई केवल पर्यटकीय र व्यापारिक केन्द्रमात्र नभई स्थानीय समुदायको आस्था र संस्कृतिसँग जोडिएको महत्त्वपूर्ण स्थलका रूपमा पनि स्थापित गरेको छ । दोमुख क्षेत्र कर्णालीमा पाइने विभिन्न प्रजातिका माछाका कारण पनि प्रख्यात छ ।

शेष घलेको शेराटन होटलको लागत १५ अर्ब पुग्यो, ४ महिनाभित्र सञ्चालनमा आउने

काठमाडौं । लामो प्रतीक्षापछि गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले निर्माणाधीन होटलका लागि विश्वप्रसिद्ध लक्जरी ब्रान्ड ‘द लक्जरी कलेक्सन’ सँग सम्झौता गरेका छन् । विगत १२ वर्षदेखि निर्माणाधीन होटलको व्यवस्थापन म्यारियट इन्टरनेसनल अन्तर्गतको प्रिमियम ब्रान्ड द लक्जरी कलेक्सनले गर्ने गरी घले र डेभिड म्यारियटबीच सम्झौता भएको हो । सम्झौताका लागि नेपाल आएका डेभिड म्यारियटलाई घलेले होटल परिसरमा स्वागत गरेका थिए। उक्त अवसरमा म्यारियटले निर्माणाधीन होटलको स्थलगत अवलोकन तथा भ्रमणसमेत गरेका थिए । यो होटल २०१३ देखि बन्न थालेपनि निर्माण अझै सकिएको छैन । लैनचौरमा बनिरहेको होटलको काम करिब ७५ प्रतिशत सकिएको र अब छिट्टै सञ्चालनको घोषणा गरिने घले जानकारी दिए । करिब १३ अर्ब रुपैयाँ लगानीमा होटल तयार हुने अनुमान थियो । उनका अनुसार यो होटल साउथ एसिया अर्थात भारत, श्रीलंका, बंगलादेश, नेपालमै पहिलो लज्जरी होटल हुनेछ । ट्रेड मार्क रजिष्ट्रेसनका लागि नाम दिइएको छ । हाल निर्माणको काम म्यारियटकै अनुरोधअनुसार भइरहेको घलेले बताए ।  शेष घलेले भने, ‘२०१३ देखि नै निर्माण सुरु भएको हो, विभिन्न परिस्थितिले निर्माणमा ढिला भयो । लागत पनि धेरै नै बढ्न गयो । अब निर्माण पूरा हुन ३–४ महिना बाँकी छ । करिब १५ अर्बको हाराहारीमा पुग्ने देखिन्छ । २ महिना अघि हामीले मेरियट इन्टरनेशनलसँग साइन गरेका थियौं । मेयरिट इन्टरनेशनको अध्यक्ष डेभिड म्यारिवट अवलोकन गर्न आज आउनुभयो ।’ ‘होटल साउथ एशिया अर्थात भारत, श्रीलंका, बंगलादेश, नेपालमै पहिलो लज्जरी होटल हुने भएको छ । ट्रेड मार्क रजिष्टेसनका लागि नाम दिइएको छ । अब १/२ हप्तामा आउँछ । त्यसैले हामीले पब्लिक नगरेको हो । म्यारियटकै अनुरोध अनुसार सबै काम भइरहेको छ,’ उनले थपे । लगानीकर्ता जमुना गुरुङ घलेले होटललाई अन्तर्राष्ट्रिय स्तरको विलासी सुविधासहित तयार पार्न विशेष ध्यान दिइएको बताइन् । उनका अनुसार होटललाई सुरुमा शेरेटन ब्रान्डमा सञ्चालन गर्ने योजना रहे पनि पछि ‘लक्जरी कलेक्सन’मा स्तरोन्नति गरिएपछि डिजाइन र संरचनामा व्यापक परिमार्जन गर्नुपर्ने थियो ।  निर्माणका क्रममा दक्ष तथा अर्धदक्ष जनशक्ति अभावका कारण काम प्रभावित भएको उल्लेख गर्दै उनले नेपालमा हालसम्म उपलब्ध नभएका स्तरीय सेवा र सुविधासहित होटल सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए।  पछिल्लो समय विश्वकै सबैभन्दा ठूलो होटल तथा आतिथ्य कम्पनीहरूमध्येको मेरियट इन्टरनेशनलले नेपालमा व्यवसाय विस्तारलाई तीब्रता दिन खोजिरहेको देखिन्छ । अहिले नै मेरियट इन्टरनेशनलअन्तर्गतका कम्पनीको फ्रेन्चाइजमा मेरियट काठमाडौं, मोक्सी, फेरिफिल्ड, अलफ्ट र सोल्टी होटलमा अटोग्राफ कलेक्सन सञ्चालनमा छन् । 

काठमाडौंमा भित्रिँदै विश्वप्रसिद्ध ‘द रिट्ज–कार्लटन’ र ‘द वेस्टिन

काठमाडौं । म्यारियट इन्टरनेसनल र सीजी कर्प ग्लोवलबीच नेपाल र भारतमा तीनवटा नयाँ सुविधासम्पन्न होटलहरू सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । आईतवार काठमाडौंमा आयोजित एक विशेष समारोहमा म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटले यस साझेदारीको घोषणा गरेका हुन् । सम्झौताअनुसार काठमाडौंमा ‘द रिट्ज–कार्लटन’ र ‘द वेस्टिन’ तथा भारतको सिलिगुडीमा ‘जेडब्लु म्यारियट’ होटल सञ्चालनमा आउनेछन् ।  यी तीनवटा प्रतिष्ठित ब्राण्डहरूको विस्तारसँगै दक्षिण एसियाली क्षेत्रमा विलासी आतिथ्य (लक्जरी हस्पिटालिटी) र पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने विश्वास गरिएको छ ।  कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डेभिड म्यारियटले सीजी कर्प ग्लोबलसँगको बढ्दो सम्बन्धप्रति खुशी व्यक्त गरे ।  नेपालको प्राकृतिक सुन्दरता र यहाँको आतिथ्य संस्कारको प्रशंसा गर्दै अध्यक्ष म्यारियटले नेपालमा पर्यटन पूर्वाधारको विकास र विस्तारका लागि म्यारियट प्रतिवद्ध रहेको बताए ।  उनले सीजी कर्प ग्लोवलका अध्यक्ष विनोद चौधरी र सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीसँगको दीर्घकालीन साझेदारीले पर्यटन अर्थतन्त्रलाई थप सबल बनाउने विश्वास समेत व्यक्त गरे ।  अध्यक्ष म्यारियटले म्यारियट इन्टरनेसनल आफ्नो स्थापनाको १०० औं वर्षतर्फ उन्मुख भइरहँदा यस्ता साझेदारीले मानिसहरूलाई जोड्ने र पुस्तौंसम्म दिगो सम्बन्ध कायम राख्न मद्दत गर्ने धारणा राखे ।  यो सहकार्यले नेपालको पर्यटन क्षेत्रमा उच्चस्तरीय सेवाको सुनिश्चितता गर्ने र अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि थप उच्च बनाउने लक्ष्य राखेको छ ।  कार्यक्रममा सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले यो साझेदारीले नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रको सम्भावनामाथि म्यारियटको उच्च विश्वासलाई झल्काएको बताए । सिजी र म्यारियटबीचको व्यावसायिक सम्बन्ध छोटो समयमै निकै सुदृढ बनेको बताउँदै उनले दुई वर्षअघि फिलिपिन्सको चर्चित ‘द फार्म एट सान बेनिटो’लाई म्यारियटको ‘अटोग्राफ कलेक्सन’मा आवद्ध गरेको बताए ।  भारतमा ‘फर्न’ ब्राण्डअन्तर्गत म्यारियटसँगको सहकार्यमा हाल करिव १ सय ५० होटलहरू सञ्चालनमा रहेका छन् भने सन् २०३१ सम्ममा सो सङ्ख्या ५ सय पुर्‍याउने लक्ष्य राखिएको छ । यसबाहेक दुबईमा ‘जेडब्लु रेजिडेन्सेस’को निर्माण समेत अघि बढिसकेको छ ।  नेपालमा यी परियोजनाहरूलाई सफल बनाउन सिजी डेभलपर्ससँगै आईजी ग्रुप, आईसीजी ग्रुप, शर्मा कन्स्ट्रक्सन, एमएलई ग्रुप र एमएलए ग्रुपले साझेदारी गरेका छन् ।  सरकारको पर्यटन केन्द्रित भिजनलाई आत्मसात गर्दै यी अन्तर्राष्ट्रिय ब्राण्डहरूको उपस्थितिले नेपाललाई विश्वस्तरीय पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास लिइएको छ ।