पोखरामा अन्तर्राष्ट्रिय उडान भर्न फ्लाइ दुबई इच्छुक
काठमाडौं । विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग मङ्गलबार भेटवार्ता गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने, दुबई र पोखराबीच पर्यटन प्रवर्द्धनका सम्भावनाको खोजी गर्ने, हवाई उडानका क्रममा परिपालना गर्नुपर्ने सुरक्षा मापदण्डलगायत दुई पक्षीय हितका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा उड्डयनको क्षेत्रमा २० वर्षभन्दा बढी लामो अनुभव भएका लुकाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान भर्न इच्छुक रहेको बताएको महानगर प्रमुख आचार्यले जानकारी दिए । उड्डयन सुरक्षा, जोखिम व्यवस्थापन र ‘एयरलाइन अपरेसन’को क्षेत्रमा विशेषज्ञता हासिल गरेका लुकाजले फ्लाइ दुबईले उडानबाट पोखरासँग जोडिन पाए समग्र पोखरा र यस क्षेत्रको पर्यटनका लागि सुखद हुने बताए । विमानस्थलहरूको अन्तर्राष्ट्रिय र स्थानीय उड्डयन सुरक्षा मापदण्डहरूको अनुपालन सुनिश्चित गर्न सुरक्षा रणनीतिहरूको निरीक्षणमा दखल राख्ने लुकाजले पोखराको सुन्दरताले आफू निकै प्रभावित भएको समेत बताए । सो क्रममा नगर प्रमुख आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि निरन्तर पहल गरिरहेको उल्लेख गर्दै दुई देशबीचको पर्यटन आदानप्रदानमा सिधा उडानको भूमिका महत्वपूर्ण रहने भएकाले सो का लागि कम्पनीका तर्फबाट विशेष पहल गर्न अनुरोध गरे । नेपाल सरकारसँग आफूले पटकपटक संवाद गरेको र विशेष समयमा अन्तर्राष्ट्रिय चार्टर उडानहरू सञ्चालन भइरहेकाले विमानस्थल अन्तर्राष्ट्रिय उडान भर्न सक्षम रहेको उनले उल्लेख गरे । ‘पोखराबाट अन्तर्राष्ट्रिय उडान सम्भव छ भन्ने कुरा विभिन्न समयमा भएका चार्टर उडानबाट प्रमाणित भइसकेको छ । पोखरा पर्यटनको राजधानी सहर भएकाले अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नका लागि समेत अन्तर्राष्ट्रिय उडानहरू आवश्यक छ । त्यसतर्फ हामीले जोड दिएका छौँ । आजको भेटले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास बढाएको छ,’ प्रमुख आचार्यले भने । भेटवार्तामा नगर प्रमुख आचार्यसहित महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईलगायत सहभागी थिए । मित्रराष्ट्र चीनको सहयोगमा २२ अर्ब रुपैयाँ बढी लगानीमा निर्माण भएर वि.सं २०७९ पुस १७ गते उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन । विमानस्थल आन्तरिक उडानमा मात्र सीमित हुँदै आएको छ ।
होटल पौवाको १९औं शाखा जनकपुरधाममा
जनकपुरधाम । होटल पौवाले १९औं शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ । मिथिला सभ्यता, संस्कृति तथा धार्मिक आस्थाको केन्द्र जनकपुरधाममा स्थापित यस होटलको औपचारिक उद्घाटन यही जेठ २२ गते हुँदैछ । उद्घाटनको अवसरमा होटल पौवाले तीनदिने ‘वृहत् खाना प्रवद्र्धन’ आयोजना गर्दैछ । चुनौतीपूर्ण आर्थिक तथा लगानी वातावरणका बीच पनि होटल पौवाले देशव्यापी रूपमा आफ्नो सेवा विस्तार गरिरहेको छ । रुपन्देहीबाट सुरु भएको यात्रा जनकपुरधामसम्म आइपुग्दा पौवा नेपाली आतिथ्य उद्योगको स्थापित राष्ट्रिय ब्राण्डका रूपमा विकास भएको अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । ‘देशभर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्दै आएको होटल पौवा नेपालकै सफल सामूहिक लगानी मोडल हो, जहाँ लगानीकर्ता र कर्मचारी दुवै संस्थाको विकास यात्राका साझेदार बनेका छन् । कर्मचारीहरुलाई लगानीकर्ता बन्ने अवसर प्रदान गर्दै हामीले ‘साझा स्वामित्व, साझा सफलता’को अवधारणालाई व्यवहारमा उतारेका छौं ।’ अध्यक्ष भण्डारीले बताए । कार्यक्रममा पौवाका विभिन्न सञ्जालमा कार्यरत अनुभवी सेफहरूले तयार गरेका विविध नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरूको विशेष प्रदर्शनी हुने उपाध्यक्ष ध्रुवराज न्यौपानेले बताए । उनले भने ‘जनकपुरमा पौवाको चारतारे विस्तार यात्रा अर्को महत्वपूर्ण उपलब्धि हो । जनकपुरधाम धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक दृष्टिले नेपालको एक पवित्र प्रमुख गन्तव्य हो । नेपाल–भारत धार्मिक सम्बन्ध र आस्थाको केन्द्रका रूपमा रहेको यस शहरमा होटल पौवाको उपस्थितिले धार्मिक, आध्यात्मिक एवं आन्तरिक पर्यटन, रोजगार र समग्र आतिथ्य उद्योगको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं ।’ नेपाली स्वाद, नेपाली संस्कार र नेपाली आतिथ्यतालाई विश्वस्तरमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यसहित आगामी दशकमा ‘मिसन १००’ अन्तर्गत देश तथा विदेशमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीतिमा अघि बढिरहेको प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । ‘तिब्र विकासको लक्ष्य प्राप्तिका लागि सामुहिक लगानी मोडालिटी तयारी गरेका छौं । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने प्रतिबद्धतासहित पौवा नेपाली आतिथ्य सेवालाई नयाँ उचाइमा पु¥याउने यात्रामा निरन्तर अग्रसर रहनेछ’, उनले भने । होटलमा ६२ वटा रुम रहेका छन् । चारतारेस्तरमा हुनुपर्ने सबै सुविधा ९स्विमिङ पुल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार हलहरु, रेस्टुरेन्ट, जीम, साउना स्टिम र स्पा सुविधासहितको पूर्वाधार रहेका छन् ।
चीनको आर्थिक र प्रविधि केन्द्रमा सिधा हवाई, हिमालय एयरले सातामा २ उडान गर्दै
काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन शहरसँग राजधानी काठमाडौंलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ । कम्पनीले जेठ २१ गतेदेखि काठमाडौं-शेन्जेन-काठमाडौं सिधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो । नयाँ उडान सेवाअन्तर्गत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई उडान सञ्चालन गरिनेछ । कम्पनीका अनुसार काठमाडौंबाट शेन्जेनका लागि उडान प्रत्येक मङ्गलबार र बिहीबार हुनेछ भने शेन्जेनबाट काठमाडौं फर्कने उडान बुधबार र शुक्रबार सञ्चालन हुनेछ । हिमालय एयरलाइन्सले यो सेवा नेपाल-चीन हवाई सम्पर्क विस्तारको दिशामा महत्वपूर्ण कदम भएको जनाउँदै यात्रुको मागका आधारमा भविष्यमा उडान सङ्ख्या थप्ने योजना पनि बनाएको उल्लेख गरेको छ । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ गन्तव्य थपिनु हिमालय एयरलाइन्सको अन्तर्राष्ट्रिय सञ्जाल विस्तारको रणनीतिक उपलब्धि भएको बताए । काठमाडौं-शेन्जेन उडानले दुई देशका नागरिक बीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै पर्यटन, व्यापार तथा लगानीका अवसर विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ छ । ‘हिमालय एयरलाइन्सले चीनका विभिन्न शहरसँग नेपाललाई जोड्ने प्रयास निरन्तर गर्दै आएको छ । शेन्जेन उडानले नेपाल र चीनबीचको आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनेछ,’ उपाध्यक्ष श्रेष्ठले भने । चीनको ‘सिलिकन भ्याली’ का रूपमा परिचित शेन्जेन विश्वका प्रमुख प्रविधि, उत्पादन तथा नवप्रवर्तन केन्द्रमध्ये एक मानिन्छ । नयाँ हवाई सेवाले व्यापारिक यात्रु, पर्यटक, विद्यार्थी तथा लगानीकर्तालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । हिमालय एयरलाइन्सले यात्रुलाई सुरक्षित, सहज र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । कम्पनीले नयाँ उडान सञ्चालनसँगै नेपाल र चीनबीच पर्यटन प्रवर्द्धन, व्यापार विस्तार तथा जनस्तरको सम्बन्ध सुदृढ हुने अपेक्षा गरेको छ ।