हायात होटलको बीमा शिखर इन्स्योरेन्समा, क्षतिको विवरण आउन बाँकी
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी) को बीमा शिखर इन्स्योरेन्समा रहेको पाइएको छ । हायातले लामो समयदेखि शिखरमा बीमा गर्दै आएको शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपप्रकाश पाण्डेले जानकारी दिए। पाँचतारे होटल हायात गत भदौको जेनजी आन्दोलनका कारण क्षतिग्रस्त बन्न पुग्यो । होटलले बीमा दाबी गरिसकेको र अहिले क्षतिको मूल्याङ्कन गर्ने कार्य चलिरहेको हुँदा कति दाबी पर्छ भनेर तत्काल भन्न नसकिने सीईओ पाण्डेले बताए । होटलले केही दिनअघि नै विज्ञप्ति जारी गरेर एक वर्षसम्म सञ्चालनमा आउन नसक्ने कुरा जानकारी दिइसकेको छ । होटलका अनुसार जेनजी आन्दोलनकारीहरूले होटलमा तोडफोड, लुटपाट तथा आगजनी गर्दा अतिथि कक्ष, कार्य कक्ष, रिसेप्सन, लबी, रेष्टुरेन्ट, ब्यांकेट, चैत्यलगायत संरचनामा ठूलो क्षति पुगेको छ ।
बाक्लो सङ्ख्यामा देखिन थाले चितवन राष्ट्रिय निकुञ्जमा बाघ
चितवन । सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाए । गत साता हल्याण्डका पर्यटकले पनि बाघ देखेपछि उत्साहित हुँदै खुशी व्यक्त गरेका थिए । पर्यटक र निकुञ्जका कर्मचारी, सुरक्षाकर्मीले पनि हिजोआज विगतका तुलनामा बढी बाघ देख्न थालेका छन् । लामो समय निकुञ्ज बन्द रहेर जीप सफारी खुलेसँगै वन्यजन्तुको गतिविधि बढेकाले पर्यटकले देख्न पाएका हुन् । सौराहस्थित वनबास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेका अनुसार दिनभर निकुञ्जको जीप सफारीमा निस्किएका पर्यटकले बाघ देखेर फर्किएपछि खुशी हुँदै प्रतिक्रिया दिने गरेका छन् । दुर्लभ एकसिङ्गे गैंडासहित बाघ देखेपछि पर्यटक निकै रमाउने गर्दछन् । सोमबार भिम्ले पोष्ट नजिकै बेलायती जोडीले बाघ देखेपछि खुशी भएर ‘टिप्स’ दिएको पथ प्रदर्शक सरोज चौधरीले बताए । उनले भने, 'बाघ देखेपछि स्वदेशी र विदेशी दुवै पर्यटक निकै खुशी हुन्छन् ।' ठाउँठाउँमा बाघ देखिन थालेपछि घुम्न आउने पर्यटक उत्साहित हुने गरेको चौधरी बताउँछन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले पर्यटक र कर्मचारीहरुले हिजोआज बाघसहितका वन्यजन्तु धेरै देख्ने गरेको बताए । उनले ढड्डीहरु सुकेर सुख्खापन बढ्दै गएपछि निकुञ्ज खुल्ला हुने र थप वन्यजन्तु देख्न सकिने बताए । यस वर्ष यहाँ बाघ गणना गरिँदै छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघ १२८ वटा छन् । आहारा प्रजातिको सङ्ख्या बढ्दै जाँदा बाघको सङ्ख्या पनि बढ्दै गएको छ । रासस
दुई लाखले लिए श्रम स्वीकृति : दुबइले भिसा रोक्यो, अरु देशले पनि सुरक्षा चासो बढाउँदै
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामै २ लाख १० हजारले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश उडेका छन् । वैदेशिक रोजगार विभागकाअनुसार चालु आर्थिक वर्षको पहिलो तीन (साउन–असोज महिनासम्ममा) २ लाख १० हजार ५ सय १६ जनाले श्रम स्वीकृति लिएका छन् । विभागकाअनुसार चालु आव २०८२/८३ को साउन, भदौ र असोजमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको जानेको यो संख्या अघिल्लो बर्षको तुलनामा बढेको देखिन्छ । गत आव २०८१/८२ को सोही अवधिमा १ लाख ७० हजार ६ सय ३ जनाले श्रम स्वीकृति लिएको तथ्यांक विभागसँग छ । चालु आवमा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ३९ हजार ९ सय १३ जनाले बढी रहेको विभागको तथ्यांकले देखाएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि संयुक्त अरब इमिरेटस (युएई), साउदी, कतार, ओमान, बहाराइन, कुवेतमा नेपाली श्रमिक रोकिएको बताइएपनि ती देशमा जानेको संख्यामा कमी नआएको तथ्यले देखाएको छ । असोजमा मात्रै युएईका लागि साढे १८ हजारले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । युएईपछि कतारका लागि ११ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् भने साउदीका लागि ८ हजार ७ सय ९१ जनाले श्रम स्वीकृति लिएका छन् । कुवेतका लागि चार हजार ५ सय २३ जना छन् । गत आवमा रोजगारी खोज्दै ८ लाख ३९ हजार बढी युवा बिदेसिएका थिए । वैदेशिक रोजगार व्यवसायीहरुका अनुसार जेनजी आन्दोलनको असर वैदेशिक रोजगारीमा अझै पूर्णतयता देखिएको छैन् । तर पनि आगामी दिनमा देखिन सक्छ । दुबईले भिसा रोकेको छ भने अरुले सुरक्षा चासो बढाएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले जेनजी आन्दोलनपछि दुबइले भिसा रोकेको बताए । उनकाअनुसार अन्य देशले पनि सुरक्षामा चासो देखाइरहेका छन् । गुरुङले भने–‘दुबई इमिरेट्सलेले भिसा रोकेको छ । कामदारको मात्रै नभइ विद्यार्थी भिसा पनि रोकेको अवस्था छ । अन्यदेशको सन्दर्भमा नेपालका जेलबाट कैदीहरु भागेका कारण कतै अपराधी त आएको छैन् भनेर बुझाइका कारण ती देशहरुले चासो देखाइरहेका छन् । खासगरी दुबइ बाहेक अरु देशले धेरै नै कडाइ गरेको अवस्था छैन् ।’ पछिल्लो समय श्रम गन्तव्यबाट माग बढी आएका कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको उनको भनाइ छ । विभागले पनि श्रम गन्तव्यमा गरिएको श्रमिकमैत्री कानून परिमार्जन, श्रम स्वीकृति सेवालाई पूर्ण अनलाइन र गन्तव्यमा श्रमिक अभावका कारण माग पनि बढेको विभागको अनुमान गरेको छ ।