‘कर्णाली टुरिजम् मिट २०२६’ सम्पन्न
सुर्खेत । कर्णाली प्रदेशलाई अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धन गर्ने प्रतिबद्धतासहित ‘कर्णाली टुरिजम् मिट–२०२६’ सम्पन्न भएको छ । ‘प्रकृती र संस्कृतीको काखमा’ भन्ने नारासहित २०८३ जेठ ८ गते शुक्रबार सुरु भएको ‘कर्णाली टुरिजम् मिट–२०२६’ जेठ १० गते आइतबार सुर्खेतमा सम्पन्न भएको हो । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा होटल व्यवसायी महासंघ सुर्खेतको समन्वयमा भएको यस कार्यक्रममा भारतका विभिन्न सहरबाट करिब ५० जना पर्यटन व्यवसायी, पत्रकार, ब्लगरहरुको सहभागिता रहेको थियो । समापन समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पदम विक्रम शाहीले सहभागीहरूले कर्णालीका ऐतिहासिक, धार्मिक र प्राकृतिक गन्तव्यहरुको अनुभव लिएको उल्लेख गर्दै यस कार्यक्रमले कर्णाली पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थपेको बताए । ‘कर्णाली धार्मिक रुपमा पवित्र भूमि हो,’ उनले भने, ‘यहाँ धार्मिक तथा आध्यात्मिक पर्यटन, आरोग्य पर्यटन, र प्रकृतिमा आधारित पर्यटनको अथाह सम्भावना छ । कर्णाली कैलाश मानसरोवरको प्रवेशद्वारसमेत हो । भारतको लखनउबाट केही घण्टामै गुराँसेको शीतलताको अनुभव लिन सकिन्छ, यहाँको मौसम र प्राकृतिक सौन्दर्य पर्यटकका लागि अद्वितीय अनुभव बन्न सक्छ ।’ भारतको ट्राभल ट्रेड वेलफेयर एसोसिएसनका अध्यक्ष राजेश सिन्हाले कर्णाली भ्रमणको अनुभव अविस्मरणीय रहेको बताए । उनले कर्णालीवासीको आतिथ्यता, स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्यले आफूलाई प्रभावित बनाएको उल्लेख गरे । ‘हामीले यहाँ अत्यन्त आत्मीय स्वागत पाएका छौं,’ उनले भने, ‘कर्णाली अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित हुनसक्ने ठूलो सम्भावना बोकेको क्षेत्र हो । यसको प्रबद्र्धनमा हामीले भारतीय पर्यटकहरुलाई कर्णाली पु¥याउने विश्वास दिलाउन चाहन्छौं ।’ भारतबाट सहभागी पत्रकार बीएस परिहारले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध पर्यटन विकासको बलियो आधार बन्न सक्ने बताए । उनले राम–सीता, गौतम बुद्ध र हिन्दू सभ्यतासँग जोडिएका धार्मिक सर्किटमार्फत दुई देशबीच पर्यटन सहकार्य अझ विस्तार गर्न सकिने धारणा राखे । ‘नेपाल शान्तिप्रिय राष्ट्र हो,’ उनले भने, ‘यहाँको मौसम, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता पर्यटनका लागि सबैभन्दा ठूलो आकर्षण हो । विशेषगरी कर्णालीमा रहेको असीमित प्राकृतिक सौन्दर्यले पर्यटकलाई नयाँ अनुभूति दिन्छ ।’ कर्णाली टुरिजम् मिट अन्तर्गत जेठ ९ गते शनिबार भारतीय पर्यटन व्यवसायी तथा सहभागीहरुलाई दैलेखका धार्मिक तथा ऐतिहासिक गन्तव्यहरुको परिचयात्मक भ्रमण गराइएको थियो । सहभागीहरुलाई हिन्दू धार्मिक मान्यता अनुसार भगवान शिवले सतीदेवीको मृत शरीर बोकेर हिँड्ने क्रममा सतिदेवीको नाभी पतन भएको नाभिस्थानमा र शिर पतन भएको शिरस्थानमा शिरस्थानको भ्रमण गराइएको थियो । जहाँ सहभागीहरुलाई अनवरतरुपमा बलिरहेको ज्वालाको अवलोकनसमेत गराइएको थियो । सहभागीहरुलाई शनिबार दैलेखमा रहेको दुल्लु नगरपालिकाका प्रमुख भरतप्रसाद रिजालले स्वागत गर्दै दैलेखको पर्यटकीय गन्तव्य समेटिएको पुस्तक हस्तान्तरण गरेका थिए । सहभागीहरुले दैलेखको धार्मिक महत्व, प्राकृतिक सुन्दरता र सांस्कृतिक मौलिकताले आफूहरुलाई आकर्षित गरेको बताएका थिए । गुराँसे क्षेत्रमा आयोजना गरिएको अनुभव आदानप्रदान कार्यक्रममा सहभागीहरुले कर्णालीको मौसम, पहाडी भू–दृश्य र स्थानीय आतिथ्यलाई पर्यटनको मुख्य आकर्षणका रूपमा व्याख्या गरेका छन् । समापन समारोहमा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाले कर्णालीलाई केवल दुर्गम क्षेत्रका रूपमा नभई धार्मिक तथा आध्यात्मिक, सांस्कृतिक, साहसिक र प्रकृतिमा आधारित पर्यटनको केन्द्रका रूपमा विश्व सामु चिनाउने लक्ष्यसहित यो कार्यक्रम आयोजना गरिएको बताएका छन् । सम्मेलन अवधिभर कर्णालीको मौलिक संस्कृति झल्काउने हुड्के नाच, देउडा तथा स्थानीय सांस्कृतिको प्रस्तुति गरिएको थियो । साथै स्थानीय मौलिक परिकार र समुदायमा आधारित पर्यटन अभ्यासले भारतीय पर्यटन व्यवसायीहरूलाई विशेष रूपमा आकर्षित गरेको बोर्डका वरिष्ठ अधिकृत थापाले बताएका छन् । उनका अनुसार यस कार्यक्रमले नेपाल–भारत पर्यटन सहकार्य विस्तार, कर्णालीमा लगानी प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजारसँग पहुँच विस्तार तथा कर्णालीका नयाँ गन्तव्यहरुको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
चीनले नेपाललाई दियो ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान
काठमाडौं । चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’को सम्मान प्रदान गरिएको छ । चीनको ग्वाङ्झाउमा यही मे २१ देखि २३ सम्म आयोजित ग्वाङ्झाउ अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाललाई सो सम्मान प्रदान गरिएको हो । नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणका आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डले तीनदिने अन्तर्राष्ट्रिय पर्यटन मेलामा ‘नेपालः अ लाइफटाइम एक्सपेरियन्स’ अर्थात् ‘नेपालः जीवनभरको अनुभव’ भन्ने नारासहित नेपालको सहभागिता समन्वय गरेको थियो । मेलामा नेपालले सांस्कृतिक, धार्मिक, साहसिक, आउटडोर तथा लक्जरी पर्यटनका विविध सम्भावनाबारे अन्तर्राष्ट्रिय आगन्तुक तथा ट्राभल ट्रेड व्यवसायीलाई जानकारी गराएको थियो । चीनको ग्वाङ्झाउ सहर हङकङ तथा ग्रेटर वे एरिया नजिकको प्रमुख व्यापारिक तथा पर्यटन केन्द्र भएकाले नेपाली पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण बजारका रूपमा हेरिएको छ । विशेषगरी वेलनेस, धार्मिक, सांस्कृतिक र लक्जरी पर्यटनका क्षेत्रमा चिनियाँ पर्यटक आकर्षित गर्ने सम्भावना उच्च रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । मेलाको उद्घाटन दिन २१ मे मा नेपाली सांस्कृतिक नृत्य प्रस्तुति तथा गन्तव्य नेपालसम्बन्धी विशेष प्रस्तुति आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपाली कला, संस्कृति र पर्यटन सम्पदाबारे चिनियाँ आगन्तुक तथा पर्यटन व्यवसायीलाई जानकारी गराइएको थियो । उद्घाटन सत्रमा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक विमल कँडेलले नेपालको पर्यटन सम्भावना, गन्तव्य र प्रवद्र्धन रणनीतिबारे ‘कन्ट्री प्रेजेन्टेसन’ दिएका थिए । उनले नेपालको पर्यटन बजार विस्तार रणनीतिबारे आयोजित प्यानल छलफलमा सहभागिता जनाएका थिए । उक्त मेलामा नेपालका आठ पर्यटन व्यवसायी कम्पनी सहभागी भएका थिए । सहभागी कम्पनीले ट्रेकिङ, भ्रमण, होटल तथा आतिथ्य सेवासम्बन्धी प्याकेजहरूबारे चिनियाँ तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीलाई जानकारी गराएका थिए । हाल नेपाल वायुसेवा निगम र चाइना साउदर्न एयरलाइन्सले काठमाडौं–ग्वाङ्झाउ सिधा उडान सञ्चालन गरिरहेका छन् । यसले नेपाल र चीनबीचको पर्यटन पहुँच विस्तार हुनाका साथै चिनियाँ पर्यटक आगमन बढाउन सहयोग पुग्ने विश्वास नेपाल पर्यटन बोर्डले लिएको छ ।
जीतपुरफेदीका सरोज अर्याल सगरमाथाको शिखरमा
काठमाडौं । तारकेश्वर नगरपालिका–३ जीतपुरफेदीका सरोज अर्यालले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । ३१ वर्षीय अर्याल हाल अष्ट्रेलियाको दक्षिण अष्ट्रेलिया राज्यस्थित एडिलेडमा विद्यार्थी भिसामा बसोबास गर्दै आएका छन् । करिब ६ वर्षदेखि अष्ट्रेलियामा रहेका उनी सगरमाथा आरोहणकै लक्ष्यसहित बिदामा नेपाल आएका थिए । कठोर प्रशिक्षण र शारीरिक तथा मानसिक चुनौती पार गर्दै उनले सगरमाथाको चुचुरोमा पुग्न सफलता हासिल गरेका हुन्। उनको यो उपलब्धिलाई स्थानीय तथा प्रवासी नेपाली समुदायले गर्वका रूपमा लिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अष्ट्रेलिया लगायत अष्ट्रेलियामा रहेका नेपालीहरूले अर्यालको सफलताको प्रशंसा गरेका छन् । केही दिनमै अष्ट्रेलिया फर्कने तयारीमा रहेका अर्यालका लागि यो सफलता जीवनकै महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ ।