ज्येष्ठ नागरिकलाई सहज हवाई यात्रा बनाउन हिमालय एअरलाइन्सको पहल

काठमाडौं । हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि हवाई यात्रालाई थप सहज, पहुँचयोग्य र समावेशी बनाउने उद्देश्यले ओएचसीएचआर (संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय) र आईएआईओ–नार्डो (इन्टरनेशनल एभिएसन इनोभेसन अर्गनाइजेसन) का प्रतिनिधिमण्डलसँग छलफल गरेको छ ।

कम्पनीका अनुसार गत जुलाई २४ मा प्रधान कार्यालयमा आयोजित अन्तरक्रियामा ज्येष्ठ नागरिकले हवाई यात्रा गर्दा भोग्ने चुनौती, उनीहरूको आवश्यकता तथा सेवा सुधारका सम्भावित उपायबारे विस्तृत छलफल गरिएको थियो ।

प्रतिनिधिमण्डलमा ओएचसीएचआर अन्तर्गत ज्येष्ठ नागरिक अधिकार शाखाकी प्रमुख डा. चित्रलेखा मास्सी, आईएआईओ–नार्डोका निर्देशक चाइ शुआई तथा संयुक्त राष्ट्रसंघ सचिवालयका ज्येष्ठ नागरिक अधिकारसम्बन्धी अधिकृत चेन केजियान सहभागी थिए ।

छलफलका क्रममा हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै हाल उपलब्ध सेवा तथा भविष्यका योजनाबारे जानकारी गराएको थियो । साथै, अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्दै हवाई यात्रालाई अझ सम्मानजनक, समावेशी र यात्रुमैत्री बनाउने विषयमा दुवै पक्षबीच सहमति भएको कम्पनीले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै हिमालय एअरलाइन्सका उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले उमेरका आधारमा कुनै पनि यात्रुमाथि विभेद नगर्ने कम्पनीको नीति रहेको उल्लेख गर्दै सबै यात्रुले सुरक्षित, सम्मानजनक र सहज यात्रा अनुभव गर्न पाउनुपर्नेमा जोड दिए । उनले अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलसँग भएको संवादबाट प्राप्त अनुभवले सबैका लागि पहुँचयोग्य हवाई सेवा विकासमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  

Share News