आजदेखि थाई एशियाको भैरहवा-बैंकक उडान सुरु

भैरहवा । थाई एशिया एयरले बैंकक-भैरहवा-बैंकक उडान आजदेखि पुनःसुरु गरेको छ । आइतबार बैंककबाट एयरबस ३२० विमानले १७ जना यात्रुसहित सवा १२ः०० बजे भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।      साथै भैरहवाबाट १६२ जना बोकेर विमान दिउँसो १ः१५ बजे पुनः बैंकक फर्किएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । उनका अनुसार एयरलाइनले बैंकक–भैरहवा–बैंकक मार्गमा हप्तामा दुईपटक उडान गर्नेछ । एयरलाइन्सले प्रत्येक साता आइतबार र बुधबारका लागि नियमित उडानका लागि अनुमति पाएको छ । 

पदयात्राका लागि युवापुस्ताको  पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

म्याग्दी । अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दूरीमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाइमा परेको हो । पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि आधार शिविरमा चालु शरदयाममा नसोचेको सङ्ख्यामा पर्यटक आएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । 'अन्नपूर्ण हिमाल र आधार शिविरको भूगोल म्याग्दीमा पर्ने तथ्य स्थापित भएर त्यहाँसम्म पुग्ने पदमार्ग तयार र प्रवर्द्धनका कार्यक्रमपछि यो याममा अपेक्षा गरेभन्दा धेरै पर्यटक आउनुभयो', उनले भने, 'युवापुस्ताको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको छ ।' दसैँलगत्तै आधार शिविरमा दैनिक दुई सयदेखि पाँच सय जनासम्म पर्यटक आइरहेका अध्यक्ष पुनले बताए । आधार शिविरमा दुई वर्षअघिसम्म वसन्त याममा हेलिकप्टरमार्फत आरोहीहरू मात्र पुग्ने गर्दथे । पदमार्गमा रहेका होटलको क्षमताभन्दा बढी सङ्ख्यामा पाहुना आएकाले व्यवस्थापनमा समस्या भएको व्यवसायीले बताएका छन् । नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूतस्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य भएको शेर्पा अल्पाइन ट्रेकिङका पथप्रर्दशक लाक्पा आङवु शेर्पाले बताए ।  अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।  नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा नक्साङ्कन र ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो ।  सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस र लुइस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । विसं २०७७ मा भएको अन्नपूर्ण महोत्सव र गत जेठमा अन्नपूर्ण आरोहणको हीरक जयन्तीले पदमार्ग, हिमाल र आधार शिविरको प्रचार गर्न सहयोग पुगेको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालका सामग्री देखेर आधार शिविर घुम्न आएको काठमाडौंका सुदीप भट्टले बताए ।   पदमार्गको प्रवेशविन्दुमा पर्ने नारच्याङमा सन् २०१२ आएका हर्जोगले आरोहणका समयमा प्रयोग गरेको बाटो र आधार शिविरका बारेमा जानकारी गराएपछि स्थानीयवासीको टोलीले पदमार्गको खोज अनुसन्धान गरेको अगुवा गुरुङले बताए । कास्की र म्याग्दीका दुईवटा स्थानीय तहको नामकरण अन्नपूर्ण हिमालबाट गरिएको छ । पर्यटन विभागका अनुसार हालसम्म पाँच सय ३६ जनाले अन्नपूर्ण हिमालको आरोहण गरेका छन् । नीलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर समथर फाँटमा छ । आधार शिविरमुनि समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा पञ्चकुण्ड ताल छ । आधार शिविरको डाँडामा बसेर ताल र हिमाल अवलोकन गर्न सकिन्छ । पदयात्रीहरूले ताल र हिमाललाई पृष्ठभूमिमा पारेर डाँडैडाडाँ हिँडेको तस्बिर खिच्न र भिडियो बनाउँछन् ।  एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो । अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकैपटक अवलोकन गर्न पाउनु अन्नपूर्ण आधार शिविरको प्रमुख विशेषता भएको बेनीकी सुष्मा खत्रीले बताइन् ।  'वरपरका हिमाल र फेदीमा रहेको तालले मलाई मोहित र प्रफुल्लित बनायो', उनले भनिन्, 'यहाँको अलौकिक सौन्दर्यमा रमाउन पाउँदा सबै, दुःखकष्ट र तनाव भुलेर मनमा उमङ्ग छाएको छ ।' आधार शिविरमा प्रथम ओहरण टोलीको अगुुवा फ्रान्सका मौरिज हर्जोग, लुइस लचेनल र सोनाम वालुङ शेर्पाको सालिक स्थापना र हालसम्म अन्नपूूर्ण हिमाल आरोहण गरेका पाँच सय ३६ जनाको नामावली उल्लेख गरिएको ताम्रपत्र भएको खुला सङ्ग्रहालय पनि रहेको छ ।  अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा फुतफुते झरनामा चिया, खाजा पसल सञ्चालनका लागि आश्रयस्थल भवन, शौचालय निर्माण र खानेपानी व्यवस्थापन गरेको थियो । हुमखोलामा खानेपानी र शौचालय निर्माण भएको छ ।  गुफाफाँट र आधार शिविरमा एक–एकवटा शौचालय निर्माण भएको छ । हुमखोलादेखि साधीखर्कसम्मको पदमार्गमा ढुङ्गा बिछ्याउने, अप्ठ्यारो ठाउँको पदमार्गको डिलमा रेलिङ राखिएको छ । नारच्याङका बासिन्दाले गत वसन्तयामदेखि हुमखोला, फुतफुते, साधीखर्क, गुफाँफाँट, भुसकेत र पञ्चकुण्डमा अस्थायी संरचना बनाएर होटल सञ्चालन गरेका छन् ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्ने भएकाले यहाँ स्थायी भौतिक संरचना बनाउन प्रक्रिया पूरा गरेर सरकारबाट अनुमति लिनुपर्छ । एक्यापले ५० जना पाहुना राख्न सक्ने अस्थायी संरचना बनाउन अनुमति दिएको तर चार, पाँच गुणा बढी पाहुना आएकाले टेन्ट र पालमुनि बसोबासको व्यवस्था मिलाउनुपरेको भुसकेतका होटल ब्यवसायी माइकल पुनले बताए ।  होटलहरु नहुँदा पदयात्री आफैँले बन्दोबस्तीका सामान बोकेर जानुपर्ने समस्या थियो । हुमखोलादेखि माथि सञ्चार र विद्युत् सुविधाको अभाव छ । सञ्चार सुविधाको अभावमा लेक लागेर बिरामी भएका पर्यटकको उद्धार गर्न र पाहुनाको व्यवस्थापनमा समस्या भएको छ । बढ्दो पाहुनाको आगमनसँगै फोहर व्यवस्थापन पनि यहाँको अर्को चुनौती बनेको छ । पदमार्ग निर्माणलाई पूर्णता दिन र झोलुङ्गे पुलको स्तरोन्नति गर्नेुपर्ने आवश्यकता छ । गत हप्ता अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका म्याग्दी क्षेत्र नं १ (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले पूर्वाधार निर्माणका साथै प्रवर्द्धनमा स्थानीय तह, एक्याप, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने बताए । 'छोटो दूरीमा र छिटो पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर, पञ्चकुण्ड तालको पर्यटनका हिसाबले प्रशस्त सम्भावना छ', उनले भने, 'सञ्चार र विद्युत् सुविधाको विस्तार, पदमार्गको स्तरोन्नति, फोहर व्यवस्थापन, झोलुङ्गे पुललगायत पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण र बजेट भित्र्याउन पहल गर्नेछु ।' रासस

पर्यटकीयस्थल दुधकुण्ड जाँदा बाटो हराएपछि १० घण्टा बेपत्ता

सुवास दर्नाल काठमाडौं । ‘पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल थिएन, वरिपरि कुहिरोमात्र थियो । हामीले हेर्ने आकाश पनि हरायो,’ ओखलढुङ्गाका डेनिस मगरले यसरी यर्थाथ सुनाए ।  सोलुखुम्बुको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल दुधकुण्ड पुग्ने क्रममा मगरसहितको टोली करिब १० घण्टा बेपत्ता भएका थिए । गत सोमबार सल्लेरीबाट हिँडेको मगरसहितको एक टोली सोलुदुधकुण्ड नगरपालिका-१ कै कामोडाँडा क्षेत्र पार गर्दै दुधकुण्डतर्फ लाग्दै थियो । बिहानै उकालो लागेका उनीहरू पदमार्गको दोबाटोमा पुगेपछि गलत दिशातर्फ हिँडे । केही समयपछि बाटो भिरको टुप्पोमै हरायो । मोबाइल सिग्नल समेत हराएसँगै टोली नै कामोडाँडाभन्दा माथिल्लो क्षेत्रमा बेपत्ता भयो । स्थानीय होटल व्यवसायी मिलन कार्की भन्छन्, ‘साङ्केतिक बोर्ड र दिशानिर्देश नभएपछि पर्यटकले गलत बाटो समात्ने समस्या बढ्दै गएको छ ।’ भौगोलिक कठिनाइ र कमजोर सञ्जालका कारण खोज तथा उद्धारमा स्थानीयलाई निकै कठिनाइ भएको थियो । स्थानीय पर्यटन व्यवसायी र युवाहरूको सहयोगमा मगर र उहाँका साथीहरूको करिब १० घण्टापछि उद्धार गर्न सफल भयो । दुधकुण्ड क्षेत्रमा पर्यटकहरू हराउने गरेको घटना सामान्य बन्दै गएको छ । पछिल्ला वर्षहरूमा दुधकुण्ड क्षेत्रमा बाटो भुल्ने, हराउने र उद्धारमा ढिलाइ हुने घटना बारम्बार भइरहेको स्थानीय बताउँछन् । दुधकुण्ड पुग्ने मुख्य पदमार्गमा पर्ने ३ हजार ८६० मिटर उचाइमा अवस्थित कामोडाँडा यस्ता घटनाको केन्द्रविन्दु बनेको छ । यहीँबाट बायाँतर्फ मोडिनुपर्ने बाटो नै दुधकुण्ड पुग्ने मुख्य मार्ग हो । तर कतिपय स्वदेशी तथा विदेशी पर्यटक सो मोड थाहा नपाएर लुक्ला जाने बाटोतर्फ उकालो लाग्ने गर्छन् । त्यसपछि उनीहरू घण्टौँसम्म जङ्गल र भिरालो भूभागमा भौतारिन्छन् ।  ‘पदमार्गमा स्पष्ट देखिने कुनै सङ्केत छैन । कुन बाटो कुन ठाउँ जान्छ भन्ने थाहा नहुने भएकाले धेरैजसो भ्रमणकर्ता बाटो भुल्छन्,’ स्थानीय पर्यटन व्यवसायी फुर्वा शेर्पाले भने ।  कमजोर नेटवर्क दुधकुण्ड क्षेत्र हिमालको फेदमा पर्ने भिरालो भूगोलमा पर्छ । यहाँ टेलिफोन सञ्जाल अत्यन्त कमजोर छ । भिरालो बाटो, हिउँले ढाकिएको पदमार्ग, कुहिरो र हावाका कारण दृश्य कम हुने भएकाले पर्यटकहरूलाई दिशा पत्ता लगाउन गाह्रो हुन्छ । स्थानीय मिङ्मार शेर्पा भन्छन्, ‘कसैले हरायो भने तुरुन्त खोजी सुरु गर्न सकिँदैन । नेटवर्क नै नचल्ने ठाउँ छ । उद्धारका लागि मानिस पैदलै हिँड्नुपर्छ ।’ भौगोलिक कारणले सञ्चार सम्पर्क कमजोर हुँदा उद्धारमा कठिनाइ हुने गरेको स्थानीय जानकारहरू बताउँछन् । ‘दुधकुण्ड पुग्ने बाटो अत्यन्त कठिन छ । हिँड्दा लाग्छ हिमाल बोल्दैछ, तर बाटो देखिँदैन । बाटोमा कुनै जानकारीमूलक बोर्ड छैन,’ सुनसरीको धरानबाट दुधकुण्ड पुगेका भक्तजन भविस्वर साम्पाङले भने । नेपाल पत्रकार महासङ्घ तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङले भने, ‘दुधकुण्ड धार्मिकमात्र होइन, अन्तर्राष्ट्रियस्तरको ट्रेकिङ र आध्यात्मिक केन्द्र बन्न सक्ने सम्भावना बोकेको गन्तव्य हो । तर सम्बन्धित निकायले अझै प्राथमिकता दिएको छैन ।’ धनकुटाका अमृत पौडेलले भने, ‘हामी दुधकुण्ड पुगेका थियौँ, तर बाटोमा बोर्ड नभएका कारण करिब छ घण्टा जङ्गलतिर भुल्यौँ । अहिले पनि यस्तो अवस्थामा पर्यटक हिँड्नुपर्ने ?’ दुधकुण्डः दूधजस्तो सेतो ताल र आस्थाको केन्द्र समुद्री सतहबाट ४ हजार ७०० मिटर उचाइमा अवस्थित दुधकुण्ड सोलुदुधकुण्ड नगरपालिका–१ मा पर्दछ । यो ताल नुम्बुर हिमाल (६,९५८ मिटर) को फेदमा रहेको छ । जसलाई स्थानीयले ‘नुम्बुर हिमाल माताको काख’ भन्छन् । यहाँको कुण्डमा दूधजस्तो सेतो पानी भएकाले यसलाई ‘दुधकुण्ड’ नाम दिइएको हो । प्रत्येक वर्ष जनैपूर्णिमा पर्वका समयमा हजारौँ भक्तजन यहाँ पुग्छन् । धार्मिक विश्वासअनुसार यो तालमा स्नान गर्दा पाप नाश हुने, मनोकामना पूरा हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बी सबैका लागि यो स्थान पवित्र मानिन्छ । दुधकुण्ड केवल प्राकृतिक दृश्य होइन, यो आस्थाको प्रतीक, श्रद्धा र प्रकृतिको मिलनस्थल हो । नुम्बुर हिमाल हाल खुला आरोहणका लागि अनुमति दिइएका हिमालहरूमध्ये एक प्रसिद्ध हिमाल हो । यस हिमालमा गत कात्तिक ५ गते तीन विदेशी आरोहीले पहिलोपटक सफलतापूर्वक आरोहण गरेका छन् । सेभेन समिट ट्रेकका इटालियन नागरिक हर्भ, जर्मन फेलिक्स र पोल्याण्डका आडमले १५ घण्टाको आरोहणपछि सफलतापूर्वक शिखर चुमेका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार यो आरोहणले दुधकुण्ड क्षेत्रलाई अन्तरराष्ट्रिय ट्रेकिङ गन्तव्यका रूपमा चिनाउने नयाँ ढोका खोलिदिएको छ । स्थानीय पर्यटन व्यवसायी फुर्वा शेर्पा भन्छन्, ‘नुम्बुर हिमाल, दुधकुण्ड र वरिपरिको ग्रामीण जीवनशैली एकसाथ अनुभव गर्न सकिने गन्तव्य विश्वमै दुर्लभ छ । यसलाई व्यवस्थित गर्नसके सोलुखुम्बु अर्को ‘पवित्र ट्रेकिङ सर्किट’ बन्न सक्छ ।’ सोलुदुधकुण्ड नगरपालिकाले केही वर्षअघि दुधकुण्ड पुग्ने पदमार्गमा लगानी गरेको थियो । तर त्यसपछि सूचना–साङ्केतिक प्रणाली, उचाइ जानकारी, सुरक्षा चेकपोस्टजस्ता आवश्यक पूर्वाधार निर्माण हुनसकेको छैन । नगर उपप्रमुख गान्धिमाया तामाङ भन्छन्, ‘नगरपालिकाले पदमार्ग स्तरोन्नति र प्रचारमा ध्यान दिइरहेको छ । तर विस्तृत पर्यटन नक्सा र सङ्केत प्रणाली बनाउनतर्फ भने ध्यान जानसकेको छैन ।’ उनका अनुसार यसै आर्थिक वर्षभित्र ‘दुधकुण्ड पर्यटन प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत सङ्केत बोर्ड र पर्यटन सूचना केन्द्र स्थापना गर्ने योजना अघि बढाइएको छ । तर स्थानीय पर्यटन उद्यमीहरूका अनुसार योजनााई कार्यान्वयनमा ढिलाइ हुँदा परिणाम देखिँदैन । दुधकुण्ड क्षेत्रले स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने क्षमता बोकेको छ । यहाँको पर्यटनले स्थानीय होटल, ढाबा, यातायात र हस्तकला उद्योगलाई प्रत्यक्ष फाइदा पुर्याउन सक्छ । तर असुरक्षित पदमार्ग र सूचना अभावका कारण कतिपय पर्यटक बीचैबाट फर्किन्छन् । यदि स्थानीय सरकार र निजी क्षेत्रले संयुक्त रूपमा लगानी गरे यस क्षेत्रले धार्मिक–पदयात्रा पर्यटन र हिमाली ट्रेकिङ दुवैलाई जोड्ने राष्ट्रिय गन्तव्य बन्न सक्ने पर्यटन व्यवसायी बल दर्नालको भनाइ छ । ३ तहको सरकार, एउटै दृष्टिकोण आवश्यक  ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा भन्छन्, ‘दुधकुण्ड सर्किट ट्रेक हिमाल, ताल र संस्कृति । यी तीनै तत्वलाई एकसाथ देखाउने दुर्लभ गन्तव्य हो । यसको प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार एउटै दृष्टिकोणमा उभिनुपर्छ ।’ यस क्षेत्रलाई व्यवस्थित गर्नका लागि स्थायी सङ्केत बोर्ड, आपत्कालीन उद्धार केन्द्र र नियमित गाइड तालिम अपरिहार्य छन् । दुधकुण्ड केवल एउटा ताल होइन । यो नेपाली पहिचान र आस्थाको हिमाली प्रतीक हो । यसको संरक्षण र व्यवस्थापन हाम्रो सामूहिक जिम्मेवारी हो ।  यदि समयमै सङ्केत बोर्ड, सुरक्षा पूर्वाधार र सञ्चार सञ्जालमा सुधार गरिए यो हिमाली भूभाग केवल पर्यटकको चुनौती होइन आस्थाको यात्राको गौरवशाली गन्तव्य बन्न सक्छ । यसको विकासमा सबै तहको सरकार र निजी क्षेत्रको समेत चासो हुने हो भने जिल्लाको मात्र नभई देशकै अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने निश्चित रहेको पर्यटन व्यवसायी आङ फुर्वा शेर्पाले बताए । धकुण्डको विकासका लागि विशेष खाका तयार गरेर अघि बढ्न सक्ने हो भने स्वदेशी तथा विदेशी धार्मिक तथा दृश्यावलोकन गर्ने पर्यटकलाई एकै स्थानमा उतार्न सकिने स्थानीय जानकारहरूको तर्क छ । रासस