विनोद, रविभक्त र रमेशको व्यावसायिक सहयात्रा, साढे ११ अर्ब लगानीमा कुपन्डोलमा होटल र अपार्टमेन्ट

काठमाडौं । तीन ठूला व्यवसायीले व्यावसायिक सहयात्रा गरेका छन् । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, आईजे ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठ र शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्माबीच व्यावसायिक साझेदारी भएको हो ।  उनीहरुले मिलेर अहिले ललितपुरको कुपण्डोलमा समिट होटल र अपार्टमेन्टहरु निर्माण गरिरहेका छन् । उनीहरुले समिट होटल प्राइभेट लिमिटेड नामक कम्पनीबाट पुरानो समिट होटललाई भत्काएर नयाँ संरचना बनाइरहेका छन् ।  कम्पनीका अनुसार हाल कम्पनीले पुरानो सञ्चालनमा रहेको होटल भवनलाई भत्काएर नयाँ संरचना निर्माण गर्ने कार्य सुरु गरेको छ । नयाँ निर्माण अन्तर्गत १२० कोठे होटल भवन र १५० एकाइ मिलेर बनेका दुईवटा आवासीय अपार्टमेन्ट टावरहरू निर्माण गरिँदैछन् ।  सन् २०२५ अप्रिलको मध्यसम्म कम्पनीको चुक्ता पूँजी ४१ करोड ६० रुपैयाँ रहेको छ । जसको करिब ५१ प्रतिशत हिस्सा आर एण्ड आर हेरिटेज प्रालिले (चौधरी समूह र आईजे समूहबीचको संयुक्त लगानी) स्वामित्व गरेको छ । करिब ३४ प्रतिशत हिस्सा जेन इन्फ्रा एण्ड बिल्डर्स प्रालिले (इम्प्लिमेन्टिङ एक्सपट्र्स ग्रुप) र बाँकी करिब १५ प्रतिशत हिस्सा रमेश शर्माको रहेको छ ।  यद्यपि, रेटिङ एजेन्सी इक्रा नेपालले भने यस कम्पनीको रेटिङ घटाएको छ । इक्रा नेपालले यस कम्पनीलाई दीर्घकालिन ऋणको लागि एलबी प्लस र अल्पकालिन ऋणको लागि ए फोर रेटिङ प्रदान गरेको छ । रेटिङ घट्नुको मुख्य कारण कम्पनीको समग्र परियोजना लागतमा करिब ६८ प्रतिशत वृद्धि हुनु र परियोजनाको प्रगति ढिलो हुनु रहेको इक्राले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  कम्पनीले हालसम्मको अनुमान अनुसार परियोजनाको लागत ६ अर्ब ९४ करोड ४० लाख रुपैयाँबाट बढेर ११ अर्ब ६८ करोड ५० लाख रुपैयाँ पुगेको जनाएको छ । लागत बढ्नुमा अपार्टमेन्टको निर्मित क्षेत्रफल विस्तार (करिब २८ प्रतिशत वृद्धि) भए पनि बिक्रीयोग्य क्षेत्रफल नबढ्नु र विगतको जमिन धसाइ समस्या समाधान गर्न अतिरिक्त जग निर्माण गर्नुपर्ने अवस्थाले थप खर्च बढाएको उल्लेख छ ।  मध्य अप्रिल २०२५ सम्म परियोजनाको समग्र भौतिक प्रगति २३ प्रतिशत मात्र पुगेको छ, जबकि अपार्टमेन्ट खण्डको प्रगति करिब ३९ प्रतिशत छ । होटल खण्ड अझै डिजाइन चरणमै रहेको कम्पनीले जनाएको छ ।  काठमाडौं उपत्यकाको रियल स्टेट र होटल क्षेत्रमा तीव्र प्रतिस्पर्धा बढ्दै गएकाले समिट होटल परियोजना सञ्चालन भएपछि पनि स्थायित्वमा चुनौती रहने इक्राले विश्लेषण गरेको छ । विशेष गरी अन्तर्राष्ट्रिय ब्रान्डसमेत प्रवेश गरिरहेका बेला मूल्य र आम्दानीमा दबाब पर्ने सम्भावना छ ।  यद्यपि, परियोजना ललितपुरको आकर्षक स्थानमा रहेको र अनुभवी प्रवर्तक समूहहरू– चौधरी समूह, आईजे समूह, इम्प्लिमेन्टिङ एक्सपट्र्स समूह र शर्मा एण्ड कम्पनी प्रालिको संलग्नता रहेकोले दीर्घकालीन रूपमा यसले राम्रो परिणाम दिन सक्ने अपेक्षा गरिएको छ ।  

एनआईसी एशिया बैंकका ग्राहकलाई एशियन बुद्ध होटलमा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरू अब सिद्धार्थनगर, रुपन्देहीस्थित एशियन बुद्ध होटलमा सेवा लिँदा छुट प्राप्त गर्न सक्ने भएका छन् । यस सम्बन्धमा बैंक र होटलबीच सम्झौता सम्पन्न भएको हो । सम्झौता अनुसार, ग्राहकहरूले होटलमा कुनै पनि सेवा लिँदा डिजिटल भुक्तानीमार्फत १५ प्रतिशत छुट पाउनेछन् । ग्राहकहरूले यो छुट सुविधा प्राप्त गर्नका लागि एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । यस सहकार्यले ग्राहकलाई आकर्षक छुट सुविधा प्रदान गर्नुका साथै डिजिटल भुक्तानी संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य  बैंकले लिएको छ । नगदरहित कारोबारको विस्तार र डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन पनि यस कदमले सहयोग गर्ने बैंकको विश्वास छ ।

नेपाल वायुसेवा निगमको अक्टोबर  १९ को काठमाडौं—ग्वाञ्जाओ उडान रद्द

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अक्टोबर १९ को काठमाडौं–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ । निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिका बमोजिम १९ अक्टोबरको काठमाडौं—ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिए । उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिएको समेत निगमले जनाएको छ । निगमले काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं सेक्टरको नियमित उडान तालिकाबमोजिम १६ अक्टोबरको काठमाडौं—ग्वाञ्जाओ उडानमा ६८ यात्रु र  १७ अक्टोबरका लागि ग्वाञ्जाओ—काठमाडौंं उडानमा ४१ यात्रुहरूको टिकट बिक्री भइसकेको जनाएको छ । यसैगरी, २३ अक्टोबरको काठमाडौं—ग्वाञ्जाओ र २४ अक्टोबरको ग्वाञ्जाओ—काठमाडौं उडानमा क्रमशः ९३ र २० वटा टिकट बिक्री भइसकेको निगमको भनाइ छ । निगमले उक्त उडानमा यात्रु सङ्ख्या कम भई रद्द गरिएको भन्ने समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।  उक्त गन्तव्य नेपालका लागि नयाँ भएको र सो गन्तव्यको पूर्णरूपमा प्रचारप्रसार भइनसकेको हुँदा यात्रुहरुलाई सुसूचित गर्ने कार्य जारी रहेको निगमको भनाइ छ । निगमले उक्त गन्तव्यमा टिकट बुकिङ बढ्ने क्रम रहेकाले नयाँ सेक्टर प्रवद्र्धनमा निगमलाई सहयोग गर्न सम्पूर्ण सञ्चारजगत्लगायत सबैमा अनुरोधसमेत गरेको छ ।