३२ औं पटक सगरमाथाको चुचुरोमा पुगे कामिरिता
काठमाडौं । कीर्तिमानी नेपाली पर्वतारोही कामीरिता शेर्पाले ३२औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्। ५५ वर्षीय कामिरिताले आज विहान १० बजेर १२ मिनेटमा सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ । सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान बनाएका शेर्पाले यसअघि कामिरिताले सन् २०२५ मा ३१ औं पटक सगरमाथा आरोहण गरेका थिए । उनी सन् १९९४ देखि निरन्तर रूपमा सगरमाथा आरोहणमा सक्रिय छन् ।
सांकेतिक भाषामा हिमाल चिनाउँदै बहिरा ट्रेकिङ गाइड
काठमाडौं । नेपालको हिमाली पदमार्गमा अहिले मौन संवादका उदाहरणहरु देखिन थालेका छन् । त्यो संवाद शब्दको होइन, सांकेतिक भाषाको हो । बहिरा ट्रेकिङ गाइडहरूको बढ्दो सहभागिताले नेपालको पर्यटन क्षेत्रमा समावेशी अभ्यासको नयाँ अध्याय सुरु भएको देखिन्छ । रसुवा जिल्ला कालिका गाउँपालिका–५ का चोपप्रसाद पौडेल र सोलुखुम्बुका छिरी शेर्पा यस परिवर्तनको नयाँ अध्यायका प्रतिनिधि पात्र बनेका छन् । हिमाली पदमार्गका उकालीहरु केवल शारीरिक सहनशीलताले मात्र पार हुँदैनन्, त्यसका लागि आत्मविश्वास, साहस र अवसर पनि उत्तिकै आवश्यक पर्छ । चोपप्रसाद र छिरी शेर्पा यही साहस र आत्मविश्वासको उदाहरण बनेका हुन् । विगत केही वर्षदेखि पर्यटन क्षेत्रमा भरिया र होटल कुकका रूपमा संघर्षरत चोपप्रसादले हालै विश्वप्रसिद्ध मनास्लु सर्किट ट्रेक सफलतापूर्वक सम्पन्न गर्दै नेपालको समावेशी पर्यटन यात्रामा नयाँ आशा देखाएका छन् । ५,१०६ मिटर उचाइसम्म पुग्ने कठिन मनास्लु पदमार्गमा उनले १५ दिने ट्रेक सम्पन्न गरेका हुन् । उनको यो यात्रा केवल व्यक्तिगत सफलता होइन, फरक क्षमता भएका समुदायका लागि प्रेरणादायी सन्देश पनि बनेको छ । चोपप्रसाद भन्छन्, 'नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रिय संघीय विकास परियोजनाद्वारा संयुक्त रुपमा सञ्चालित दिगो पर्यटन परियोजनाबाट बहिरा युवाका लागि ट्रेकिङ गाइड तालिम सञ्चालन हुने खबर पाएपछि म पनि सहभागी भएको थिएँ । तालिमअघि र तालिमपछि ट्रेकिङ अनुभवमा ठूलो फरक महसुस भयो । सिकाइले आत्मविश्वास बढायो, कठिन परिस्थितिमा कसरी व्यवस्थापन गर्ने भन्ने ज्ञान दियो ।' तालिमपछि उनले सामाजिक सञ्जालमार्फत दुई जना फ्रेन्च पर्यटकसँग सम्पर्क गरेका थिए । आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई लिएर मनास्लु सर्किट ट्रेकमा निस्किएका चोपप्रसादले यात्रालाई सफलतापूर्वक सम्पन्न गरे । ट्रेकका क्रममा उनलाई एक सहयोगीले साथ दिएका थिए । मनास्लु नेपालकै कठिन ट्रेकिङ रुटमध्ये एक हो । तर तालिमबाट प्राप्त ज्ञान, पर्वतीय सुरक्षा सम्बन्धी सीप र पर्यटकसँगको व्यवहारिक अभ्यासले यात्रा सहज बनाएको चोपप्रसादले बताएका छन् । 'यो ट्रेकपछि मभित्रको आत्मविश्वास अझै उचो भएको छ । अब नेपालको अन्य पदमार्गमा पनि ट्रेकिङ गर्ने इच्छा जागेको छ,' उनले भने । तालिममा पर्वतीय सुरक्षा, प्राथमिक उपचार, पदमार्ग व्यवस्थापन, अतिथि सत्कार, सांस्कृतिक व्याख्या, वातावरणीय उत्तरदायित्व, संकट व्यवस्थापन तथा नेपालको भौगोलिक र सांस्कृतिक विविधताबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको थियो । चोपप्रसादको यात्राले बहिरा समुदायका लागि पर्यटन क्षेत्रमा सम्भावना विस्तार भइरहेको देखाउँछ । त्यही सम्भावनालाई व्यवहारमा उतारिरहेका अर्को उदाहरण हुन् छेरी शेर्पा । सोलुखुम्बुका छेरी शेर्पा लामो समयदेखि विदेशी पर्यटकलाई हिमाली पदमार्गमा यात्रा गराउँदै आएका छन् । उनी सांकेतिक भाषामार्फत पर्यटकसँग संवाद गर्छन् र भिडियो कलमार्फत ट्रेकिङ योजना बनाउनेदेखि यात्राको तयारीसम्म आफैं नेतृत्व गर्छन् । हालै उनले एक अमेरिकी नागरिक र उनकी बहिरा नेपाली श्रीमतीलाई लिएर गोक्यो, चोला पास (५,३७५ मिटर), एभरेष्ट बेस क्याम्प हुँदै लुक्लासम्मको ट्रेक सफलतापूर्वक सम्पन्न गराएका थिए । छेरी शेर्पाका अनुसार सांकेतिक भाषाले यात्रामा फरक किसिमको विश्वास र आत्मीयता निर्माण गर्छ । 'हामीले यात्राभर संकेतमार्फत संवाद गर्यौं । शब्दभन्दा व्यवहार र बुझाइ महत्वपूर्ण भयो,' उनले भने । पर्यटन क्षेत्रका सरोकारवालाले बहिरा युवाका लागि सुरु गरिएको ट्रेकिङ गाइड तालिमलाई नेपालको समावेशी पर्यटन विकासको महत्वपूर्ण पहलका रूपमा लिएका छन् । राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले बहिरा युवाले पनि नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्ने बताए । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब ४३ करोड मानिस श्रवण समस्याबाट प्रभावित छन् भने ७ करोडभन्दा बढीले सांकेतिक भाषा प्रयोग गर्छन् । यस्तो अवस्थामा नेपालमा सुरु गरिएको यो पहल समावेशी पर्यटनको प्रभावकारी बनेकोमा दिगो पर्यटन परियोजनाका प्रबन्धक धर्मराज दवाडीले खुसी व्यक्त गरे । उनले भने, 'नेपालको पर्यटन अब केवल हिमाल र प्राकृतिक सौन्दर्यमा सीमित छैन । समावेशिता र समान अवसरको अभ्यासले पर्यटनलाई अझ मानवीय र व्यापक बनाउने संकेत देखिन थालेको छ ।' चोपप्रसाद र छेरी शेर्पाका अनुभवले पनि अवसर र तालिम पाए बहिरा समुदाय पनि पर्यटन क्षेत्रका सक्षम गाइड र प्रतिनिधि बन्न सक्छन् भन्ने देखाएको छ । उनीहरूले सरकार, पर्यटन व्यवसायी र सरोकारवालासँग बहिरा तथा फरक क्षमता भएका युवाका लागि थप रोजगारी र अवसर सिर्जना गर्न आग्रह गरेका छन् ।
लमजुङको भुजुङ : मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ
नवीन पौडेल काठमाडौं । हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा व्यस्त स्थानीय र गुरुङ संस्कृतिको जीवन्त पहिचान बोकेको लमजुङको भुजुङ गाउँ पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गएको छ । सदरमुकाम बेँसीसहरबाट करिब ३२ किलोमिटर उत्तरपश्चिममा पर्ने क्व्होलासोथार गाउँपालिका–४ स्थित भुजुङ समुद्री सतहदेखि करिब एक हजार ६०० मिटर उचाइमा अवस्थित छ । गुरुङ समुदायको बाक्लो बसोबास रहेको यो गाउँ परम्परागत संस्कृति, मौलिक जीवनशैली र आत्मीय आतिथ्यका कारण लमजुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदैछ । कच्ची सडक पार गर्दै जिपमार्फत गाउँ पुग्दा बाटोभरि देखिने हरिया पहाड, खोल्साखोल्सी र ग्रामीण जीवनशैलीले जो–कोही यात्रुलाई मोहित गराउँछ । गाउँ छिर्नासाथ ढुङ्गाले छाएका घर, आँगनकै छेवैमा सुकाइएका मकैका झुत्ता, फूलबारी र परम्परागत पहिरनमा देखिने स्थानीयले आगन्तुकलाई स्वागत गरिरहेका भेटिन्छन् । क्व्होलासोथार गाउँपालिका उपप्रमुख यमिमाया गुरुङका अनुसार भुजुङमा हाल ३६२ घरधुरी छन् भने ३३ घरमा होमस्टे सञ्चालनमा छन् । 'भुजुङ पर्यटकको रोजाइमा पर्न थालेको छ', उनले भनिन्, 'विशेषगरी गुरुङ संस्कृति, मौलिक परिकार र प्राकृतिक जीवनशैली अनुभव गर्न आउने पर्यटकको सङ्ख्या बढिरहेको छ ।' गुरुङका अनुसार घरबास कार्यक्रमले गाउँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । घरबास (होमस्टे)बाट प्रत्यक्ष लाभ लिने घरधुरी मात्रै होइन, छिमेकीसमेत कृषि उत्पादन, स्थानीय परिकार, हस्तकला तथा अन्य सेवामार्फत लाभान्वित भइरहेका छन् । गाउँमा अधिकांश खाद्यान्न अर्गानिक उत्पादन हुने गरेको छ । खेतबारी घर नजिकै रहेकाले होमस्टेमा बस्ने पाहुनालाई स्थानीय उत्पादनबाट तयार गरिएका परिकार पस्किने गरिएको छ । स्थानीयको मुख्य पेसा कृषि र वैदेशिक रोजगारी भए पनि पछिल्ला वर्षमा पर्यटन व्यवसाय आयआर्जनको महत्वपूर्ण आधार बन्दै गएको उपप्रमुख गुरुङले बताइन् । गाउँपालिकाले भुजुङको पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास, जनचेतना तथा स्थानीयको क्षमता अभिवृद्धिमा सहकार्य गरिरहेको उनको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पनि भुजुङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग गर्दै आएको स्थानीय बताउँछन् । सरसफाइ अभियान, पर्यावरण संरक्षण तथा जनचेतनामूलक कार्यक्रममार्फत गाउँलाई व्यवस्थित बनाउन सहयोग पुगेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीका अनुसार आयोजनाले यस क्षेत्रको जैविक विविधता संरक्षणसँगै स्थानीयको जीविकोपार्जन सुधारका लागि काम गर्दै आएको छ । 'पर्यटन प्रवद्र्धन र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउने प्रयास भइरहेको छ', उनले भने । आयोजनाले लघुजलविद्युत् सञ्चालन, चियाबारी व्यवस्थापन तथा सरसफाइ अभियानमा स्थानीयलाई सहयोग गर्दै आएको छ । 'गाउँलेसँग हातेमालो गरेर वातावरण संरक्षण र पर्यटन विकासमा सँगसँगै काम गरिरहेका छौँ', रेग्मीले भने । स्थानीयवासी गाउँ छाडेर बाहिर बसाइँ सर्नेक्रम अन्यत्रभन्दा कम रहेको पनि यहाँको विशेषता हो । गाउँमै कृषि, पर्यटन र अन्य साना व्यवसायबाट आयआर्जनको अवसर बढ्दै गएपछि अधिकांश स्थानीय आफ्नै ठाउँमा सक्रिय देखिन्छन । भुजुङका होमस्टे सञ्चालक हुमकुमारी गुरुङले पाहुनालाई गाउँकै उत्पादनबाट तयार गरिएका परिकार खुवाउने गरिएको बताए । 'ढिँडो, कोदोको रोटी, लोकल कुखुरा, माछा, खसी, गाउँकै सागपात, निगुरो र अचार पाहुनाले मन पराउनुहुन्छ', उनी थप्छन्, 'स्थानीय स्वाद र आत्मीय व्यवहारकै कारण धेरै पाहुना फेरिफेरि आउनुहुन्छ ।' भुजुङ केबल प्राकृतिक सौन्दर्यका कारण मात्र चर्चित छैन, यो गाउँ गुरुङ संस्कृतिको जीवित सङ्ग्रहालयका रूपमा पनि परिचित छ । यहाँ स्थानीय लोपोन्मुख सांस्कृतिक नृत्य अझै जोगाइएका छन् । विशेष अवसर र पर्यटकीय मौसममा स्थानीय युवा तथा अग्रज मिलेर सांस्कृतिक प्रस्तुति देखाउने गर्छन् । स्थानीय लालीगुराँस युवा क्लबका अध्यक्ष नौराजगुरुङका अनुसार असोजदेखि मङ्सिरसम्म र चैत–वैशाखमा पर्यटकको चाप बढी हुन्छ । 'सिजनमा घरबास भरिभराउ हुन्छ', गुरुङ भन्छन्, 'विदेशीभन्दा आन्तरिक पर्यटक अहिले बढी आउन थालेका छन् ।' भुजुङ पुगेका पर्यटकलाई गाउँको शान्त वातावरण, गुरुङ संस्कृति र आतिथ्यले आकर्षित गर्ने गरेको छ । काठमाडौंबाट घुम्न आउनुभएका सरस्वती गोतामेले गाउँमा पुग्दा आफूले पुरानो नेपाली जीवनशैली नजिकबाट अनुभव गर्न पाएको अनुभव सुनाए । 'यहाँको वातावरण निकै शान्त र स्वच्छ छ, सहरको भीडभाडबाट टाढा केही दिन बस्नका लागि भुजुङ उत्कृष्ट गन्तव्य रहेछ', उनले थपे । व्यवस्थित सडक हुने हो भने यहाँ पर्यटकको चाप बढ्ने उनको धारणा छ । गाउँमा कृषिकर्म पनि चलिरहेको छ । गाउँमा प्रायः सबै मानिस व्यस्त रहेन गरेका छन् । कोही खेतबारीमा गोडमेल गर्दै गरेका त कोही हस्तकलाका सामग्री बुन्ने काममा समेत व्यस्त देखिन्छन् । बाँस, निगालो र ऊनबाट बनाइने सामग्रीले गाउँको मौलिकता झल्काउँछ । गाउँमा पर्यटन प्रवद्र्धनसँगै सडक, सञ्चार र खानेपानीजस्ता पूर्वाधार विस्तार हुँदै गए पनि स्थानीयले मौलिकता जोगाउन प्रयास भने गरेका छन् । प्राकृतिक सुन्दरता, गुरुङ संस्कृतिको जीवन्त अभ्यास, स्थानीय परिकार र आत्मीय आतिथ्यका कारण भुजुङ अहिले लमजुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । सहरको कोलाहलबाट केही समय टाढा रहेर गाउँको मौलिक जीवन अनुभव गर्न चाहनेका लागि भुजुङ आकर्षक रोजाइ बनेको छ । रासस