१२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आए, भारतबाट सबैभन्दा धेरै आगमन
काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८२/८३ मा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) का अनुसार सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक भारतबाट आएका छन् भने संयुक्त राज्य अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका हुन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्याङ्कअनुसार भारत नेपालको सबैभन्दा ठूलो स्रोत बजार बनेको छ । कुल आगमनमध्ये भारतको हिस्सा करिब २५.७६ प्रतिशत रहेको छ । भारतपछि अमेरिका (१ लाख ११ हजार ३२५) दोस्रो तथा चीन (१ लाख ९ हजार ८९२) तेस्रो प्रमुख स्रोत बजारका रूपमा रहेका छन् । त्यसपछि बङ्गलादेशबाट ५८ हजार १६३, बेलायतबाट ५६ हजार ६४९, अस्ट्रेलियाबाट ५३ हजार १९५, श्रीलङ्काबाट ४३ हजार २११, भुटानबाट ३६ हजार २८९, म्यानमारबाट ३० हजार ७३७, जर्मनीबाट २९ हजार २९६, थाइल्यान्डबाट २७ हजार २०१, जापानबाट २५ हजार ७६२ तथा मलेसियाबाट २५ हजार ६४० पर्यटक नेपाल आएका छन् । गत आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी कात्तिक महिनामा १ लाख २४ हजार ८२९ विदेशी पर्यटक नेपाल आएका छन् । त्यसपछि चैतमा १ लाख १९ हजार ३९०, फागुनमा १ लाख १४ हजार १५२ र असोजमा १ लाख ११ हजार ७८० पर्यटक आगमन भएको तथ्याङ्कले देखाएको छ । नेपाल पर्यटन बोर्डले सबैभन्दा नजिकका स्रोत बजार भारत र चीनमा प्रवर्द्धनात्मक कार्यक्रमलाई तीव्रता दिएको छ । आर्थिक वर्ष २०८२/८३ मा भारतका पुणे, हैदराबाद, चेन्नई, मुम्बई, नयाँ दिल्ली लगायतका विभिन्न सहरमा १२ भन्दा बढी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसैगरी समग्र अन्तर्राष्ट्रिय बजारमा ४० भन्दा बढी नेपालको पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसैगरी आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन महिनामा भारतसँग सीमा जोडिएको नेपालको तराई क्षेत्रमा भएको पर्यटन पूर्वाधारको लगानीलाई सुरक्षित गर्न पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म विभिन्न क्रसबोर्डर पर्यटन मार्ट तथा मेलाहरू आयोजना गरिएको थियो । यसको प्रभावका कारण सीमा क्षेत्र हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले अन्तर्राष्ट्रिय बजारमा गरिएको प्रवर्द्धन, हवाई पहुँचको विस्तार तथा निजी क्षेत्रसँगको सहकार्यका कारण नेपालको पर्यटनमा सकारात्मक वृद्धि भएको बताएका छन् । उनले भने, ‘आर्थिक वर्ष २०८२/८३ को पर्यटक आगमनले नेपालको पर्यटन उद्योग पुनरुत्थानबाट दिगो वृद्धितर्फ अघि बढिरहेको स्पष्ट सङ्केत गरेको छ । प्रमुख स्रोत बजारसँगै नयाँ सम्भावनायुक्त बजारमा पनि लक्षित प्रवर्द्धनलाई अझ प्रभावकारी बनाउँदै नेपाललाई वर्षभरि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने हाम्रो प्रयास जारी रहनेछ ।’ निमित्त कार्यकारी प्रमुख ऐरले चीनमा पर्यटक आगमनको सम्भावना अत्यन्त ठूलो रहे पनि त्यस बजारमा लक्षित प्रवर्द्धन र व्यवसाय–व्यवसाय (बीटुबी) सम्पर्क विस्तार गर्न सेल्स मिसन लाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘चीनसहित अमेरिका, अस्ट्रेलिया र बङ्गलादेशजस्ता नयाँ तथा उच्च सम्भावना भएका स्रोत बजारमा हाम्रो उपस्थिति अझ सशक्त बनाउन अन्तर्राष्ट्रिय स्तरमा नियमित सेल्स मिसन सञ्चालन गर्न आवश्यक छ । पर्यटन प्रवर्द्धनलाई परिणाममुखी बनाउन आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी क्षेत्रसँगको सहकार्यमा यस्ता कार्यक्रम तत्काल विस्तार गर्ने दिशामा नेपाल पर्यटन बोर्ड अघि बढिरहेको छ ।’ नेपाल सरकारले यस वर्ष आरोग्य पर्यटन वर्ष २०२७ घोषणा गरेको उल्लेख गर्दै निमित्त कार्यकारी प्रमुख ऐरले चालु आर्थिक वर्षमा पर्यटक आगमन सङ्ख्या थप वृद्धि हुने अपेक्षा गरिएकोसमेत जानकारी गराएका छन् । नेपाल पर्यटन बोर्डले आगामी दिनमा उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्ने, बसाइ अवधि बढाउने तथा परम्परागत बजारसँगै नयाँ अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाइने जनाएको छ ।
बुद्ध एयरले फ्रान्सबाट भित्र्यायो नयाँ विमान, थप ३ एटीआर ल्याउने योजना
काठमाडौं । बुद्ध एयरले आज एटीआर-७२-६०० विमान भित्र्याएको छ । कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ । बुद्ध एयरले कल साइन ९एन-एओएस विमान फ्रान्सको तुलुसबाट ल्याएको हो । यो एटीआर-७२-६०० विमानमा उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपीट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको जनाइएको छ । यस सिरिजका विमान कम इन्धन खपत गर्नाले यो वातावरण मैत्री मानिन्छन् । बुद्ध एयरले आयात गरेको एटीआर-७२-६०० सिरिजको विमानमा आरएनपी-एआर एप्रोच प्रणाली जडान गरिएको छ । उक्त प्रणालीको सहयोगमा काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आरएनपी-एआरमा आधारित उडान प्रक्रिया कार्यान्वयनका लागि अध्ययन गरिरहेको छ । यो प्रक्रिया लागू भएपछि करिब २००० मिटर भिजिबिलिटी रहेको अवस्थामा बुद्ध एयरको यस विमानले सुरक्षित उडान र अवतरण गर्न सम्भव हुने देखिएको छ । कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ र अवरोधहरू घट्नेछन् बुद्ध एयरको विश्वास छ । यसबाट उडान सुरक्षा कायम रहनुका साथै हवाई सेवाको गुणस्तर र विश्वसनीयता पनि बढ्नेछ । हाल ‘इन्ट्रयुमेन्ट ल्याण्डिङ सिस्टम’ (आइएलएस) प्रक्रियाअनुसार पोखराका लागि ३१०० मिटर तथा काठमाडौँ र भैरहवाका लागि १६०० मिटर भिजिबिलिटी आवश्यक पर्छ । बुद्ध एयरले आगामी अगस्टको अन्तिमतिर एक एटीआर-७२-६०० सिरिजको विमान ल्याउने समेत जानकारी दिएको छ । त्यसैगरी आगामी केही महिनाभित्र यस्तै, सिरिजका थप दुई विमान पनि ल्याउने भित्र्याउने योजनाअनुसार कार्य गरिरहेको छ । बुद्ध एयरसँग हाल एउटा एटीआर-४२-३२०, १५ वटा एटीआर-७२-५०० र एउटा एटीआर-७२-६०० विमान छन् ।
पोखरा विमानस्थलमा छुट दिएसँगै विदेशी पर्यटकको संख्या बढ्ने
काठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई लक्ष्य गरी वि.सं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा ‘पार्किङ’, ‘ल्यान्डिङ’ र ‘नेभिगेसन’ शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको थियो । यस्तै, ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारले गरेको उक्त निर्णयले पोखरा–दुबईलगायत अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न तथा नयाँ वायुसेवा कम्पनीलाई भित्र्याउन सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे । ‘पर्यटन प्रवर्द्धन, हवाई पहुँच विस्तार तथा समग्र आर्थिक गतिविधिका लागि यसबाट महत्वपूर्ण टेवा पुग्नेछ,’ उनले भने । फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा-दुबई सीधा उडान सेवा सुरु गर्दैछ । विश्वव्यापी हवाई ‘ट्रान्जिट हब’ दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने छ । सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्देशीय उडान हुन सकेको थिएन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दुबई-पोखरा-दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाई दुबईले टिकट बुकिङ खुला गरिसकेको बताए । यो उडानले पोखरादेखि दुबई भएर युरोप, अमेरिकालगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई सहजता थपिने र यात्रा अवधि छोटिँदा खर्च पनि घट्ने उनको भनाइ छ । पर्यटकीय राजधानीसमेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्नेछन् । वैदेशिक रोजगारी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा–दुबई उडान सेवा लाभदायी हुने देखिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ महिनामा फ्लाई दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो । यसबीचमा फ्लाई दुबईले उडान तालिका सार्वजनिक गरिसकेको छ । सरकारले चालु आव २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको थियो । हालसम्म छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । झण्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ ।