पौने ३ लाख विदेशीले गरे अन्नपूर्ण क्षेत्र भ्रमण, अब मार्चपछि मात्रै पर्यटक बढ्ने

काठमाडौं । पदयात्रा पर्यटनका लागि विश्व प्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला ११ महिनामा २ लाख ७३ हजार ६४६ विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये १ लाख १५ हजार ५५५ अन्य देशका पर्यटक हुन् भने बाँकी भारतसहित दक्षिण एसियाली मुलुकका पर्यटक हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार गत जनवरीदेखि नोभेम्बरसम्ममा ती पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन् । सबैभन्दा बढी गत अप्रिलमा ४४ हजार ७६३ पर्यटक आएकामा जनवरीमा सबैभन्दा कम जम्मा ९ हजार ३५९ पर्यटक यस क्षेत्रमा भित्रिएको आयोजनाका प्रमुख डा. रविन कडरियाले जानकारी दिए ।  फेब्रुअरीमा १२ हजार ६८ जना, मार्चमा ३६ हजार ८३४, मेमा ३४ हजार ७१६, जुनमा २६ हजार ८, जुलाईमा १४ हजार २३३, अगष्टमा १२ हजार १३२, सेप्टेम्बरमा १९ हजार ३८६, अक्टुबरमा ३७ हजार ७६ र नोभेम्बरमा २७ हजार ७१ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । सन् २०२४ मा २ लाख ४४ हजार ४५ पर्यटकले यस क्षेत्रको भ्रमण गरेकोमा सन् २०२५ को पर्यटक आगमन बढेको हो । गत सेप्टेम्बर र मेमा अघिल्लो वर्षको तुलनामा केही कम पर्यटक आए पनि अन्य महिनामा भने गत वर्षको तुलनामा बढी पर्यटक आएको आयोजना प्रमुख डा. कडरियाले बताए । जाडो याम सुरू भएसँगै पर्यटक आगमन घट्ने र मार्चपछि पुनः पर्यटक बढ्ने उनको भनाइ छ । यस क्षेत्रमा सेप्टेम्बरदेखि नोभेम्बर र मार्चदेखि मेसम्ममा विदेशी पर्यटकको आगमन वृद्धि हुने गरेको छ । सडक मार्ग भएर यस क्षेत्रमा विभिन्न पर्यटकीय गन्तव्यस्थलको भ्रमण गर्ने पर्यटकको सङ्ख्या पनि सोही याममा बढी हुने गर्छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् । आयोजना कार्यालयले अन्नपूर्ण क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर मुस्ताङलगायत गन्तव्यमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या पनि बर्सेनि बढ्दो छ । अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पर्यटकको रोजाइमा पर्ने गरेको छ ।  आयोजना कार्यालयको तथ्याङ्कअनुसार सन् २०२३ मा १ लाख ९१ हजार ६६६ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२० मा जम्मा १८ हजार ८३६ पर्यटक आएकामा त्यसयता बर्सेनि पर्यटक आगमनमा वृद्धि भइरहेको हो ।  अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिल लगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भाव्यता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । ७ हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन् । हिमशृङखलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटन मैत्री पूर्वाधार, हावापानी, स्थानीयबासीको आतिथ्य र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा चिनिन्छ । 

लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने

काठमाडौं । काठमाडौं उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागू गरेको छ ।   अबदेखि उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको छ ।  लामो दूरीका सवारी साधनले पछिल्ला दिनमा स्थानीय सवारी साधन (लोकल बस) जस्तै जथाभावी सडकको किनारमै थामेर यात्रु चढाउने–ओराल्ने कार्य बढाएको पाइएकाले यसले विशेषगरी ‘पिक आवर’मा सडकमा गम्भीर जाम सिर्जना हुँदै आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।  उनले भने, 'राजधानीका सडकमा अत्यधिक भिडभाड तीव्र गतिमा बढिरहेका छन्, लामो दुरीका गाडीहरूले नियमविपरीत सडक रोकेर यात्रु उठाउने–झार्ने कार्यले जामलाई अझै चर्काएको छ, त्यसैले अब सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको हो ।'  यसैगरी लामो दूरीका गाडीलाई दिइँदै आएको बाटो इजाजतपत्रसमेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएकाले ट्राफिक कार्यालयले सम्बन्धित निकायसमक्ष आवश्यक पहलका लागि अनुरोध गरिसकेको प्रवक्ता सुवेदीले बताए । 'ट्राफिक जामका कारण नागरिकको दैनिकीमा सिधा असर पर्ने भएकाले यसको दीर्घकालीन समाधानका लागि सबै सरोकारवाला निकायको समन्वय अपरिहार्य रहेको छ', उनले भने ।  ट्राफिक प्रहरीले सडक अनुशासन मजबुत बनाउन विभिन्न कडाइ पनि अघि सार्दै आएको छ । रातो बत्ती उल्लङ्घन गर्ने, लेन क्रस गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई अनिवार्य रूपमा सचेतना कक्षा दिन थालिएको कार्यालयले जनाएको छ । चालकमा जिम्मेवार व्यवहार विकास गर्ने उद्देश्यले यी कक्षालाई अझ प्रभावकारी बनाउन पनि योजना बनाइएको जनाइएको छ ।  यसबाहेक सेवाग्राहीका लागि अनलाइन सचेतना कक्षा पनि सञ्चालनमा ल्याइएको छ । यस सेवाको प्रयोग गर्न मोबाइल एप प्रयोग गर्दै आएका चालक तथा सेवाग्राहीले पहिले ‘इन्स्टल’ गरेको एप्लिकेसनलाई एक पटक ‘अनइन्स्टल’ गरी पुनः इन्स्टल गर्नुपर्ने प्रवक्ता सुवेदीले बताए । उनका अनुसार नयाँ प्रणालीमार्फत घरमै बसेर कक्षा लिन सकिने भएकाले यसले सेवाग्राहीलाई थप सहजता दिने अपेक्षा गरिएको छ । नयाँ व्यवस्था कार्यान्वयन भएपछि उपत्यकामा देखिँदै आएको अव्यवस्थित पार्किङ, अनावश्यक रोकावट तथा यात्रु व्यवस्थापनमा उल्लेखनीय सुधार आउने विश्वास लिइएको प्रवक्ता सुवेदीको भनाइ छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुदृढ बनाउन र नागरिकलाई सहज आवागमन उपलब्ध गराउन ट्राफिक प्रहरी निरन्तर सक्रिय रहेको जनाइएको छ । रासस

अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने

काठमाडौं । काठमाडौंको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित (शंखधर उद्यान) रत्नपार्क व्यवस्थित बनेसँगै निःशुल्क वाइफाइ सेवासमेत जडान सुरु गरिएको छ ।     महानगरपालिका अन्तर्गतको हरियाली प्रवर्द्धन आयोजनाले नेपाल टेलिकमका छ वटा राउटर ल्याएर रत्नापार्कमा निःशुल्क वाइफाइ जडानको काम गरिरहेको छ । शंखधर उद्यान तथा रानीपोखरी एकाइका टेक्निसियन सुरेशकुमार श्रेष्ठ मङ्सिरभित्रै रत्नपार्कको सबै स्थानमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिने बताउँछन् ।      'निःशुल्क वाइफाइका लागि नेपाल टेलिकमका छ वटा राउटर ल्याएर ५०० एमविपिएस क्षमताको इन्टरनेट जडान कार्य भइरहेको छ, चाँडै नै रत्नापार्कभित्र छिर्ने सर्वसाधारणले घाम ताप्दै निःशुल्क इन्टरनेट सेवा लिन सक्नेछन्', उनी भन्छन् ।      अव्यवस्थित रत्नापार्कलाई काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७२/७३ मा करिब ८० लाख रुपैयाँको लागतमा पुनःनिर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको मुहार फेरिएको छ भने अहिले रत्नपार्कभित्र छिर्ने सर्वसाधारणको सङ्ख्यासमेत बढेको छ ।      काठमाडौं महानगरपालिकाले रत्नापार्कलाई व्यवस्थित बनाएसँगै अहिले रत्नपार्कमा वृद्धवृद्धा घाम ताप्नदेखि युवायुवती तस्बिर खिच्न र रमाउन पुग्ने गरेका छन् । महानगरपालिकाअन्तर्गतको हरियाली प्रवर्द्धन आयोजनाद्वारा हाल सञ्चालनमा रहँदै आएको रत्नपार्कलाई शङ्खधर पार्कका रूपमा समेत चिनिँदै आएको छ । महानगरपालिकाले विसं २०७२ असार १५ देखि रत्नपार्क प्रवेशमा शुल्क लिने व्यवस्था गरेको थियो । रत्नपार्क भित्र छिर्नका लागि हाल विद्यार्थीलाई २० रुपैयाँ, सर्वसाधारणलाई ३० रुपैयाँ र सार्क राष्ट्र तथा विदेशी पर्यटकलाई १०० रुपैयाँ लाग्ने गरेको छ । यस्तै व्यक्तिगत क्यामेरा लिएर भित्र प्रवेश गर्नेले १०० रुपैयाँ, दोहोरी गीत म्युजिक भिडियो सुटिङ गर्न जानुपरेमा पाँच हजार रुपैयाँ, विवाह फोटो सुटका लागि ५०० रुपैयाँ, व्यावसायिकरूपमा फोटो खिच्नेले एक हजार ५०० रुपैयाँ र सांस्कृतिक पोशाक झल्काउन जानेले १०० रुपैयाँ शुल्क तिनुपर्ने व्यवस्था रहेको छ । महानगरले रत्नपार्कबाट हाल वार्षिक ५० लाख रुपैयाँदेखि एक करोडसम्म आम्दानी गर्दै आएको छ । शंखधर उद्यान तथा रानीपोखरी एकाइका प्रमुख उत्तमकुमार घले पछिल्लो सयम रत्नपार्क छिर्नेको सङ्ख्या बढेको बताउँछन् । रत्नपार्कभित्र चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म ६१ हजार ५३७ जना प्रवेश गरेका छन् । तीमध्ये १२ हजार ८५० विद्यार्थी र ४८ हजार ६८७ रहेका छन् ।      ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र एकल महिलालाई रत्नापार्क प्रवेशमा शुल्क लाग्दैन । महानगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्मको चार महिनामा १८ लाख १४ हजार ४१० रुपैयाँ राजस्व संकलन गरेको छ ।      महानगरले रत्नपार्कभित्र क्यामरा लगेवापतको शुल्क दुई हजार ६०० रुपैयाँ, व्यवसायिक रिलवापत रु एक हजार ५०० रुपैयाँ, सर्वसाधारण प्रवेश शुल्क १४ लाख ६० हजार ६१० रुपैयाँ, विद्यार्थी प्रवेश शुल्क दुई लाख ५७ हजार रुपैयाँ, दोहोरी गीत म्युजिक भिडियो सुटिङवापत सात हजार रुपैयाँ, पर्यटक प्रवेश शुल्कवापत ७१ हजार ५०० रुपैयाँ, ड्राइफुड पिकनिकवापत चार हजार २०० रुपैयाँ, चलचित्र सुटिङवापत १० हजार रुपैयाँ आम्दानी गरेको छ ।      रत्नपार्कमा हाल दैनिक ५०० देखि एक हजार व्यक्ति घुम्नका लागि आउने गरेका छन् । शनिबार र बिदाको दिनमा भने त्योभन्दा धेरै हुने गरेको उद्यानका प्रमुख घले बताउनुहुन्छ । रत्नपार्कभित्र मानिस घाम तापेर सुखदुःखका गफ गर्ने, स्कुलका विद्यार्थीले खेल्ने, युवायुवती फोटो खिच्न तथा रमाउनका लागि आउने गरेका छन्  ।      रत्नपार्कभित्र बस्नका लागि सेट बक्स र कुर्सीको व्यवस्था गरिएको छ । यहाँ सार्वजनिक शौचालयसमेत रहेको छ । यस्तै पार्कभित्र शंखधरको सालिक, पद्मरत्न तुलाधरको सालिक, युनिगार्डेनलगायत रहेको छ ।      उद्यानका प्रमुख घले रत्नपार्कभित्र हाल पानीको अभाव रहेकाले बोटविरुवा संरक्षणमा समस्या परेको बताउँछन् । पानी ट्यांकरमा ल्याएर फूल तथा बोटविरुवालाई हाल्नुपर्ने अवस्था आएको उनको भनाइ छ । उक्त उद्यानमा चाँडै नै पानीको फोहोरासमेत सञ्चालन गर्ने लक्ष्य राखिएको छ । रासस