अत्यधिक भीड बढेपछि यात्रुको स्वागत र बिदाइमा विमानस्थलभित्र ३ जना मात्रै प्रवेश

काठमाडौं । अत्यधिक भीडभाड भएपछि विमानस्थलमा यात्रु स्वागत तथा बिदाइका लागि ३ जना मात्रै प्रवेश दिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलभित्रको अत्यधिक भीडभाड नियन्त्रण गर्न यात्रु स्वागत तथा बिदाइका लागि आउने आफन्तजनको संख्या सीमित गर्ने भएको हो । कार्यालयका अनुसार हाल विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको संख्या बढेसँगै यात्रुहरूको चाप पनि उल्लेख्य रूपमा वृद्धि भइरहेको छ । एक जना यात्रुको स्वागत वा बिदाइका लागि दशौं आफन्तजनसम्म विमानस्थल पुग्ने प्रवृत्तिका कारण विमानस्थल परिसरमा अत्यधिक भीडभाड हुने गरेको कार्यालयले जनाएको छ । यसरी हुने भीडभाडले सुरक्षा व्यवस्थामा चुनौती सिर्जना हुनुका साथै स्वदेशी तथा विदेशी यात्रुहरूको आवागमनमा असुविधा र विमानस्थल व्यवस्थापनमा समेत प्रतिकूल असर परेको जनाइएको छ । त्यसैले यात्रुको स्वागत तथा बिदाइका लागि बढीमा ३ जना मात्र आफन्तजन आउने व्यवस्था मिलाई सहयोग गर्न सबै सरोकारवालासँग अपिल गरिएको छ ।

नेपालको पर्यटनमा मध्यपूर्व संकटले पार्ने असर न्यूनीकरणका लागि वैकल्पिक रणनीतिबारे छलफल

काठमाडौं । नेपाल पर्यटन बोर्डले मध्यपूर्वमा चर्किएको संकटले नेपालको प्रमुख स्रोत बजार, हवाई सम्पर्क र पर्यटक आगमनमा पार्ने असर न्यूनीकरणका लागि वैकल्पिक रणनीतिबारे छलफल गरिएको छ । बोर्डले बिहीबार आयोजना गरेको ‘मध्यपूर्व संकट र यसको नेपाली पर्यटनमा प्रभाव’ विषयक अन्तरक्रियामा सरोकारवालाहरूले संकटलाई चुनौतीमात्र नभई अवसरका रूपमा समेत लिनुपर्ने धारणा राखेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले मध्यपूर्व क्षेत्र नेपालको प्रमुख पर्यटन स्रोत बजारमध्ये एक भएको र युरोप र अमेरिकी पर्यटक आगमनको गेटवे भएकाले यस संकटले हवाई सम्पर्क र पर्यटक आगमनमा असर पुर्‍याउने बताए । ‘सरकारले नेपाललाई सुरक्षित र सहज आवागमनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्न प्रतिबद्ध छ,’ उनले भने, ‘यसका लागि विशेष टास्क फोर्स गठन गरिएको छ, जसले अबको मार्गचित्र तय गर्नेछ ।’ उनले संकटले चुनौतीसँगै अवसर पनि ल्याउने उल्लेख गर्दै पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका लागि सरकार दृढ रहेको बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले वर्तमान पर्यटक आगमनको स्थिति, तथा समग्र प्रभावबारे प्रस्तुति दिएका थिए । बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा ‘कमल’ ले समयमै सूचना प्रवाह र वैकल्पिक हवाई मार्गको खोजी अत्यावश्यक रहेको बताए । ‘हामीले अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश दिनुपर्छ,’ उनले भने, ‘इन्धन मूल्यवृद्धिका कारण भाडा बढेको छ, त्यसलाई सम्बोधन गर्न हवाई भाडामा सरकारले सहुलियत दिन आवश्यक छ ।’ त्यसैगरी परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले विश्व अहिले जटिल अन्तरनिर्भर अवस्थामा रहेको भन्दै यो अस्थिरताले नेपालको पर्यटनमा पर्नसक्ने क्षति न्यूनी करणको लागि सरकारले तयारी गरिरहेको बताए । ‘सरकारले अन्तरमन्त्रालयस्तरीय समिति गठन गरेर समाधान खोजिरहेको छ,’ उनले भने, ‘हामीले आफ्ना कूटनीतिक नियोगहरूसँग समन्वय गर्दै वैकल्पिक रुटबारे छलफल गरिरहेका छौं ।’ उनले पर्यटनलाई आर्थिक कूटनीतिको आधार मान्दै भारत र चीनलाई लक्षित गरी काम गर्नुपर्ने र नयाँ सोचसहित अवसर उपयोग गर्नुपर्ने धारणा राखे । नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्टले वैकल्पिक हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिए । ‘काठमाडौं–अस्ट्रेलिया जस्ता नयाँ रुट सञ्चालनले संकट न्यूनीकरणमा सहयोग पुर्‍याउँछ,’ उनले भने, ‘काठमाडौं–नारिता उडान पूर्ण क्षमतामा सञ्चालन भइरहेकाले नेपालले थप प्रयास गर्नुपर्छ ।’ बोर्ड सदस्यसमेत रहेका नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले वैकल्पिक रुटमा जोड दिँदै ‘काठमाडौं–हङकङको रुटमार्फत् उडान सञ्चालनका लागि पहल गर्नुपर्ने सुझाव दिएका छन् । उनले सबै सरोकारवालाबीच समन्वय र लचिलोपन आवश्यक रहेको उल्लेख गर्दै भने, ‘एभिएसन बलियो बनाउँदै वैकल्पिक रुटमा उडान गर्ने सुनिश्चितता गर्नुपर्छ । यसका साथै युरोप र अमेरिकाबाट भारतसम्म आएका पर्यटकहरुलाई नेपाल ल्याउनका लागि हामीले थप योजनाहरू बनाउनुपर्छ ।’   त्यसैगरी, सदस्य ऋषि भण्डारीले भारत र चीनबाट पर्यटक भित्र्याउन विशेष पहल गर्नुपर्ने बताए । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले मध्यपूर्व हुँदै हुने यात्रामा अनिश्चितता बढेको भन्दै वैकल्पिक मार्ग र इन्धन सहुलियत आवश्यक रहेको बताए । ‘नेपाल एयरलाइन्सले सक्रिय भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘निजी क्षेत्र र सरकारबीच सहकार्य अझ सुदृढ हुनुपर्छ ।’ होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले युरोपबाट नेपाल आउन चाहने पर्यटकले आफ्ना बुकिङहरु रद्द गरिरहेको उल्लेख गर्दै विकल्पमा काम गर्नुपर्ने बताए । ‘भारत र चीनलाई लक्षित गरेर प्याकेज तयार गर्नुपर्छ,’  उनले भने, ‘भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनावश्यक सोधपुछले निरुत्साहित गरिरहेको छ । यस्ता विषयमा सरकारले सहजीकरण गरिदिनुपर्छ ।’  उनले आन्तरिक पर्यटन प्रवर्द्धन र सांस्कृतिक उत्सवमार्फत छिमेकी बजार आकर्षित गर्नुपर्ने सुझाव दिए । नाटाका अध्यक्ष विश्वेश्वर श्रेष्ठले करिब ४७ प्रतिशतसम्म बुकिङ रद्द भएको जानकारी दिँदै यसको दीर्घकालीन असर पर्ने उल्लेख गरेका छन् । ‘अहिले रहेका र आउने पर्यटकलाई उत्कृष्ट आतिथ्यमा दिनुपर्छ,’  उनले भने, ‘विदेशी मुद्रा आम्दानीका लागि चीनमा विशेष प्रवर्द्धन आवश्यक छ ।’ उनले पर्यटक बोक्ने उडानलाई सहुलियत दिनुपर्ने पनि बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एयरपोर्ट अपरेसन विभागका निर्देशक सन्तुष्टकुमार बस्नेतले संकट व्यवस्थापनका लागि एओसीसी गठन गरिएको जानकारी गराए । ‘हामीसँग ११ पार्किङ, ५ वाइडबडी क्षमता र दैनिक १९ ल्यान्डिङको सीमितता छ,’ उनले भने, ‘३० वटा एयरलाइन्स सञ्चालनमा छन्, तर पार्किङ र ल्यान्डिङ क्षमता अभाव चुनौती बनेको छ । जसले लामो समय ट्राफिक होल्ड हुने समस्या देखिएको छ । पर्यटक आवागमनको सहजताका लागि हामीहरू आवश्यक काम गर्न तयार छौं ।’  विभिन्न एयरलाइन्सका प्रतिनिधिहरूले सन् २०२५ मा राम्रो पर्यटक आगमन रहेको र २०२६ को सुरुवात पनि सन्तुलित रहेको उल्लेख गर्दै संकटबाट बच्न नसकिने भए पनि सक्रिय रणनीतिले असर न्यूनीकरण गर्न सकिने बताए । ‘युरोपबाट पहुँच कठिन भए अन्य गन्तव्य लक्षित गर्नुपर्छ,’  उनीहरूले भने, ‘नेपाल सुरक्षित, शान्त र दिगो गन्तव्य हो भन्ने सन्देश विश्वमा पुर्‍याउनुपर्छ ।’  यसका साथै भिसा प्रक्रिया सहज बनाउँदै नयाँ अवसर खोज्नुपर्ने उनीहरूको धारणा थियो । एयर इन्डियाका प्रतिनिधिले इन्धन मूल्यवृद्धिका बाबजुद कुनै उडान रद्द नभएको उल्लेख गर्दै लचिलो बुकिङ प्रणाली लागू गरिएको बताए । ‘यो गुनासो गर्ने समय होइन,’   उनले भने, ‘हामी यात्रु ल्याउन लचिलो बनेका छौं ।  पर्यटन व्यवसायीहरूले पनि सहुलियत प्याकेजहरू घोषणा गर्दै पर्यटक भित्र्याउने रणनीति अपनाउनु पर्छ ।’  यस्तै, टुरगानका अध्यक्ष थानेश्वर देवकोटाले गाइड नै पर्यटक सन्तुष्टिको मुख्य आधार भएकाले सहकार्य आवश्यक रहेको बताए । निजी क्षेत्रका अन्य प्रतिनिधिहरूले विदेशीलाई डलरमा लिइने हवाई शुल्क घटाउनुपर्ने र नयाँ अवसरमा काम गर्नुपर्ने सुझाव दिएका थिए । ‘भुटानले जस्तो अवसर सदुपयोग गर्न सकेको छैनौं, अब केही अतिरिक्त कदम चाल्नुपर्छ,’  उनीहरूले भने ।

गोरखनाथ कल्याण केन्द्रले 'धर्म नीति आधारित महाअभियान' सुरु गर्ने

गोरखा । ऐतिहासिक तथा आध्यात्मिक महत्व बोकेको गोरखा अब पुनः एकपटक राष्ट्रिय चेतना जागरणको केन्द्र बन्ने दिशामा अघि बढ्दैछ । गोरखनाथ कल्याण केन्द्र नेपाल ले आगामी आर्थिक वर्षको सुरुवातसँगै एक महत्वाकांक्षी 'धर्म नीति आधारित महाअभियान' सुरु गर्ने घोषणा गरेको छ । केन्द्रका अनुसार यो अभियान केवल धार्मिक अभ्यासमा सीमित रहने छैन, बरु राष्ट्र निर्माणका लागि आवश्यक नैतिकता, अनुशासन र चेतनालाई पुनर्स्थापित गर्ने रणनीतिक प्रयास हुनेछ । अभियानको मूल लक्ष्य धर्मलाई कर्मकाण्डबाट मुक्त गर्दै जीवन, समाज र राज्य सञ्चालनको आधार बनाउनु हो । यसका निम्ति केन्द्रले यसअघि नै देशका विभिन्न भूभागमा शक्तिपीठ स्थापना गर्दै आध्यात्मिक ऊर्जा सन्तुलनको आधार निर्माण गरिसकेको छ । हालसम्म कुशेश्वरमा सौर्यमण्डलीय शक्तिपीठ, पालुङमा वायुमण्डलीय शक्तिपीठ, विजयपुरमा घर्तीमण्डलीय शक्तिपीठ, भकुण्डेबेशीमा ॐकारेश्वर शक्तिपीठ, राम्चेवेशीमा आदिश्वरनाथ शक्तिपीठ स्थापना सम्पन्न भईसकेको केन्द्रका संरक्षक अनन्त प्रसादले जानकारी दिए । गोरखामा  पनि राजविद्या शक्तिपीठ स्थापना हुँदैछ । सबै उर्जा एकीकृत गर्दै गोरखाको राजशक्ति पीठलाई केन्द्रबिन्दु बनाउने रणनीति केन्द्रको छ, जसले देशभर दैविक ऊर्जा सन्तुलन र आध्यात्मिक जागरण विस्तार गर्ने अपेक्षा गरिएको छ । गोरखामा निर्माणाधीन पीठको करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ र अबको केही महिनाभित्र पूर्णता दिने लक्ष्य राखिएको छ । यो पीठलाई केवल धार्मिक संरचना होइन, दैविक ऊर्जा, नैतिकता र राष्ट्रशक्ति बीच सन्तुलन कायम गर्ने केन्द्र का रूपमा विकास गरिने उनले बताए ।  शक्तिपीठका पीठाधीश अच्युतकृष्ण शरण ले धर्म-नीतिलाई सन्तुलित र प्रभावकारी बनाउन 'दैविक ऊर्जा' को अनिवार्यता औंल्याउँदै 'राजविद्या शक्तिपीठ' स्थापना भईरहेको  बताए । उनका अनुसार जबसम्म आध्यात्मिक ऊर्जा र राज्य शक्ति बीच समन्वय हुँदैन, तबसम्म विश्वभर स्थायी शान्ति र समृद्धि सम्भव हुँदैन ।  'धर्म-नीतिलाई प्रभावकारी र सन्तुलित बनाउन दैविक ऊर्जा अनिवार्य हुन्छ । दैविक उर्जाकै बलको प्रयोगले नेपाल एकिकरण भयो । अङ्ग्रेजीलाई परास्त गर्दै देवभुमी नेपाल कसैको अधिनमा बस्नु परेनझ, गोरखाको शक्तिपीठका पीठाधीश अच्युतकृष्ण शरणले भने, 'आज पनि पुनः नेपालले आफ्नो राष्ट्रको सनातन धर्मको मर्म र त्यो गौरवशाली ईतिहास जोगाउने समय नजिक आउँदैछ । यसका निम्ती हाम्रो केन्द्रले निरन्तर काम गरिरहनेछ ।' अहिले केन्द्रको उदेश्य सुन्दा अनौठो र अप्रत्याशित लागेपनि निकट भविष्यमा यसको प्रभाव पुष्टि हुने पीठाधीश अच्युतकृष्ण शरण बताउँछन् । गोरखामा पीठको निर्माण सम्पन्न भएपछि यहाँ सतगुरु गोरक्षनाथ बाबा, माँ गोरखकाली लगायत विभिन्न             देवी-देवताहरूको मूर्ति स्थापना गरिनेछ । जसले यस स्थानलाई शक्तिशाली साधना, श्रद्धा र आध्यात्मिक अनुभूतिको केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। नमुना गुरुकुल निर्माण : कर्मकाण्डभन्दा माथि धर्म नीति राजशक्ति पीठ निर्माण सम्पन्न भए लगत्तै 'नमुना गुरुकुल' निर्माणको काम सुरु गर्ने केन्द्रले जनाएको छ । गुरुकुल परम्परागत कर्मकाण्डमा सीमित नरही धर्मलाई जीवन नीति, चेतना र चरित्र निर्माणको आधार का रूपमा स्थापित गर्ने आधुनिक आध्यात्मिक शिक्षाकेन्द्र बनाउने केन्द्रको रणनीति   छ । यहाँ विद्यार्थीहरूले वेद, उपनिषद्, योग, ध्यानसँगै नेतृत्व विकास, नैतिक शिक्षा, अनुशासन, सामाजिक उत्तरदायित्व र राष्ट्रचेतनामा आधारित समग्र शिक्षा प्राप्त गर्नेछन् ।  यसको मुख्य लक्ष्य चरित्रवान्, जिम्मेवार र राष्ट्रप्रेमी नागरिक र नेतृत्व उत्पादन गर्नु हो । सुरुमा गोरखाबाट सुरु गर्ने नमुना गुरुकल क्रमश सम्पुर्ण प्रदेश हुँदै नेपालभरका जिल्लामा पुर्याउने केन्द्रको दीर्घकालिन लक्ष्य रहेको उनले बताए । गोरखालाई विश्व आध्यात्मिक योग केन्द्र बनाउने योजना केन्द्रले गोरखालाई पुनः विश्वकै आध्यात्मिक योग केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन योजना पनि बनाएको छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने गोरखभूमिलाई अन्तर्राष्ट्रिय स्तरको साधना, अध्ययन र अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित केन्द्रले काम गरिरहेको छ । अभियानअन्तर्गत गोरखामा योग, ध्यान, दर्शन, संस्कृत तथा वेद अध्ययनका लागि अत्याधुनिक तथा परम्परागत ज्ञानलाई समेट्ने गरि गुरुयोजना बनाईएको केन्द्रका संरक्षक अनन्त प्रसादले बताए ।  यसमार्फत विश्वका विभिन्न देशबाट साधक, चिन्तक तथा अनुसन्धानकर्तालाई आकर्षित गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।  'नेपाल गोरखभूमि भएको र यही भूमिबाट महान योगी गुरु गोरखनाथ ले योग साधनाको मार्ग विश्वसामु प्रस्तुत गर्नुभएको ऐतिहासिक आधारले पनि गोरखालाई विश्व आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न सकिन्छ',  उनले भने । यो योजना सफल भएमा धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय वृद्धि हुने, स्थानीयस्तरमा रोजगारी सिर्जना हुने तथा हराउँदै गएको संस्कृत भाषा, गुरुकुल शिक्षा प्रणाली र वैदिक परम्पराको पुनर्जीवन हुने अपेक्षा गरिएको छ । 'यो पहल केवल भौतिक संरचना निर्माणमा सीमित नभई चेतना, संस्कार र मूल्यमा आधारित समाज निर्माणतर्फ उन्मुख हुनेछ । गोरखाबाट सुरु हुने यो अभियानले नेपाललाई आफ्नो मौलिक पहिचान र मार्गतर्फ पुनः उन्मुख गराउने तथा विश्वसमक्ष शान्ति, योग र आत्मज्ञानको सन्देश प्रवाह गर्ने हाम्रो लक्ष्य छ', उनले  भने । अभियानका संरक्षक गुरु अनन्त प्रसाद ले यो पहल कुनै एक संस्था वा समूहको मात्र नभई नेपाल सरकार र सम्पुर्ण राष्ट्रप्रेमी नागरिकहरूको साझा दायित्व भएको स्पष्ट पारेका छन् ।  'यो अभियान नेपाल आमाप्रति प्रेम गर्ने, स्थायी शान्ति, समृद्धि र सन्तुलित विकास चाहने सम्पूर्ण नागरिकहरूको साझा लक्ष्य बन्नुपर्छ', उनले भने ।