जीतपुरफेदीका सरोज अर्याल सगरमाथाको शिखरमा

काठमाडौं । तारकेश्वर नगरपालिका–३ जीतपुरफेदीका सरोज अर्यालले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । ३१ वर्षीय अर्याल हाल अष्ट्रेलियाको दक्षिण अष्ट्रेलिया राज्यस्थित एडिलेडमा विद्यार्थी भिसामा बसोबास गर्दै आएका छन् । करिब ६ वर्षदेखि अष्ट्रेलियामा रहेका उनी सगरमाथा आरोहणकै लक्ष्यसहित बिदामा नेपाल आएका थिए । कठोर प्रशिक्षण र शारीरिक तथा मानसिक चुनौती पार गर्दै उनले सगरमाथाको चुचुरोमा पुग्न सफलता हासिल गरेका हुन्।  उनको यो उपलब्धिलाई स्थानीय तथा प्रवासी नेपाली समुदायले गर्वका रूपमा लिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अष्ट्रेलिया लगायत अष्ट्रेलियामा रहेका नेपालीहरूले अर्यालको सफलताको प्रशंसा गरेका छन् । केही दिनमै अष्ट्रेलिया फर्कने तयारीमा रहेका अर्यालका लागि यो सफलता जीवनकै महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ । 

हार्भेष्ट मुन ट्राभल्सले बेच्यो ३.६८ अर्बको हवाई टिकट, भिसा कडाइले घट्यो व्यापार

काठमाडौं । हार्भेष्ट मुन ट्राभल्स एण्ड टुर्स प्रालिले एक वर्षमा साढे ३ अर्ब रुपैयाँ बराबरको हवाई टिकट बिक्री गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ६८ करोड रुपैयाँको हवाई टिकट बिक्री गरेको हो । यो अघिल्लो वर्षको तुलनामा १३.८९ प्रतिशत अर्थात् ५९ करोड ४० लाख रुपैयाँ कम हो । अघिल्लो आव २०८०/८१ मा ४ अर्ब २७ करोड ४० लाख रुपैयाँको हवाई टिकट बिक्री गरेको थियो । कम्पनीले मलेसियाले लागू गरेको श्रमिकसम्बन्धी प्रतिबन्धका कारण गत वर्ष हवाई टिकट बिक्री घटेको जनाएको छ । तर, पछिल्लो समय उक्त प्रतिबन्ध हटेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या बढ्नुका साथै हवाई टिकटको माग बढ्दै व्यापारमा सुधार हुने देखिएको कम्पनीको दाबी छ । चालु वर्षको ९ महिनासम्म कम्पनीले २ अर्ब ५१ करोड रुपैयाँको हवाई टिकट बिक्री गरेको जनाएको छ । यद्यपि वार्षिक आधारमा करिब ९ प्रतिशत गिरावट आएको कम्पनीको भनाइ छ । गत भदौमा भएको जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतासँगै खाडी मुलुकहरूले नेपाली नागरिकका लागि भिसा नियम कडा बनाएपछि व्यापार प्रभावित भएको कम्पनीले जनाएको छ । कम्पनीले आव २०७९/८० मा ६ अर्ब ७९ करोड ३० लाख रुपैयाँ, आव २०७८/७९ मा ३ अर्ब ८७ करोड ७० लाख रुपैयाँ, आव २०७७/७८ मा ९१ करोड ६० लाख रुपैयाँ बराबरको हवाई टिकट बिक्री गरेको थियो । सन् १९९९ अगस्टमा स्थापना भएको कम्पनीले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली नागरिकलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री तथा यात्रा सेवा प्रदान गर्दै आएको छ । कम्पनीका प्रवर्द्धक रामप्रसाद श्रेष्ठ र सुलेखा श्रेष्ठ हुन् । उनीहरू सेयर स्वामित्व ५०-५० प्रतिशत रहेको जनाइएको छ । रामप्रसाद कम्पनीको अध्यक्ष र सुलेखा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिकामा छिन् । हार्भेष्ट मुन ट्राभल्स एण्ड टुर्स हार्भेष्ट मुन ग्रुप अन्तर्गतको कम्पनी हो । हार्भेष्ट मुन ग्रुपले ट्राभल, वैदेशिक रोजगारी, रियल इस्टेट, सपोर्ट सर्भिसेस र म्यानपावर व्यवस्थापनलगायत क्षेत्रमा सेवा विस्तार गर्दै आएको छ । ग्रुप अन्तर्गत वाइड स्पेस इन्टरनेशनल, हेलो हिमालय ट्राभल एण्ड टुरिज्म, वाइड स्पेस इन्टरनेशनल र सुहाना ल्याण्ड डेभलपमेन्ट सञ्चालनमा छन् ।  हार्भेष्ट मुन ट्राभल्स एण्ड टुर्स सन् २००७ मा अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) बाट मान्यता प्राप्त एजेन्ट र नेपाल पर्यटन तथा ट्राभल व्यवसायी संघ (नाट्टा) को सदस्य समेत हो । अन्तर्राष्ट्रिय हवाई टिकटिङ व्यवसायको सम्भावना आगामी दिनमा अझ सकारात्मक रहने अनुमान कम्पनीको छ । कोभिड-१९ सम्बन्धी कडाइ नियम हटाइनु, पर्यटन गतिविधिमा वृद्धि हुनु तथा नेपाली युवामा वैदेशिक रोजगारी र अध्ययनप्रतिको आकर्षण बढ्दै जानुले यस क्षेत्रलाई थप चलायमान बनाएको कम्पनीले जनाएको छ । सरकारको श्रम विभागबाट जारी हुने श्रम स्वीकृतिको संख्या बढ्दो क्रममा रहनु तथा पर्यटक आगमनमा निरन्तर सुधार आउनुले पनि व्यावसायिक सम्भावना बलियो रहेको कम्पनीको भनाइ छ । जसले कम्पनीको आम्दानी आगामी दिनमा पनि वृद्धिको दिशातर्फ रहने अनुमान कम्पनीको छ । कम्पनी वैदेशिक रोजगारीमा आधारित टिकट बिक्री व्यवसायमा केन्द्रित भएकाले गन्तव्य मुलुकका आप्रवासन नीति, श्रम स्वीकृति प्रक्रिया र श्रमिक मागमा आउने उतारचढावले व्यवसायमा प्रत्यक्ष असर पार्ने गरेको छ । त्यस्तै, पर्यटन क्षेत्रमा पनि मौसमी प्रभाव देखिने भएकाले विशेषगरी अक्टोबरदेखि डिसेम्बरसम्मको सिजनबाहेक अन्य समयमा कारोबार सुस्त हुने कम्पनीको भनाइ छ ।  सरकारले हवाई टिकटमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि टिकट महँगो भई समग्र हवाई टिकटिङ उद्योगमै नकारात्मक असर परेको कम्पनीले जनाएको छ ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब २५ करोड ६८ लाख रुपैयाँ ऋण लिएको छ । जसमा ६८ लाख रुपैयाँ दीर्घकालीन, ६५ करोड रुपैयाँ अल्पकालीन र ६० करोड रुपैयाँ अल्प तथा दीर्घकालीन ऋण रहेको कम्पनीले जनाएको छ ।

दुई दिने बिदाले चितवन निकुञ्ज घुम्ने नेपालीको सङ्ख्या सवा लाखभन्दा बढी

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका छन् । गत आर्थिक वर्षको वैशाखसम्ममा एक लाख ८३० जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको वैशाखसम्म उक्त सङ्ख्या ८९ हजार ६३० मा झरेको हो । गत वर्ष सार्क मुलुकका १८ हजार ९३३ र तेस्रो मुलुकका ८१ हजार ८९७ जनाले निकुञ्जको भ्रमण गरेका जनाउँदै निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले यस वर्ष सार्क मुलुकका १३ हजार ९९२, तेस्रो मुलुकका ७५ हजार ६३८ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका उल्लेख गरे । बाह्य पर्यटक घटे पनि आन्तरिक पर्यटकमा भने गत वर्षको तुलनामा यस वर्ष बढेका छन् ।  गत आवको वैशाखसम्म निकुञ्ज भ्रमण गर्ने नेपाली पर्यटक एक लाख तीन हजार ६७२ रहेकामा चालु आवमा यो सङ्ख्या बढेर एक लाख ३७ हजार २४६ पुगेको निकुञ्जका सूचना अधिकारी थापामगरले जानकारी दिए । यस वर्ष नेपालमा भएको जेनजी प्रदर्शनपछि देखिएका राजनीतिक घटनाक्रम र मध्यपूर्वका देशमा भएको द्वन्द्वका कारण बाह्य पर्यटकको आगमनमा कमी आएको उनले बताए । नेपालीहरू पछिल्लो समय घुम्न थालेकाले आन्तरिक पर्यटकको आगमन बढेको सूचना अधिकारी थापामगरको भनाइ छ ।  उनले भने, ‘सरकारले सातामा दुई दिन बिदा दिएकाले पनि आन्तरिक पर्यटक बढेका हुनसक्छन् ।’  गत वर्ष फागुन, चैत, वैशाखमा आन्तरिक पर्यटक ३४ हजार २०२ आएकामा यस वर्ष सो समयमा ४७ हजार ६६१ पुगेका उनले जानकारी दिए ।  निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा अवलोकन भ्रमण गर्न विशेषगरी पर्यटक आउने गर्दछन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हात्ती सफारी, जिप सफारी, पैदल सफारी, डुङ्गा सयर गर्न पर्यटक आउने गर्दछन् । निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती, चित्तल, घडियाल गोहीलगायत वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, सरिश्रीप हेर्न पर्यटक आउने उनले बताए । यस वर्ष निकुञ्ज भ्रमण गर्ने पर्यटकबाट रु २३ करोड पाँच लाख ५० हजार ६०० राजस्व सङ्कलन भएको सूचना अधिकारी थापामगरले जानकारी दिए । उनका अनुसार काठदाउरा बिक्रीबापत रु ७१ हजार ३५०, गैरकाठ वन पैदावर बिक्रीबापत रु एक करोड ९५ लाख ३१ हजार ७५५, दण्डसजायबाट रु १० लाख ७१ हजार ९०४ र अन्य शीर्षकबाट रु १५ लाख २२ हजार ४०५ रकम राजस्व सङ्कलन भएको छ ।