न्युजफीडमा छाएको त्यो भाइरल वाक्य, जसले खडा गर्‍यो पर्यटन क्षेत्रको ‘लेडी बोस’

गोल्ड मेडलदेखि वास्तुकलासम्मको बौद्धिकता

काठमाडौं । ‘पर्यटनलाई नेपालको पहिलो राष्ट्रिय उद्योग बनाउनुपर्छ ।’ आजभोलि सामाजिक सञ्जालको न्युजफीडमा तारन्तार ठोकिने यो एक वाक्यले धेरैको ध्यान खिचेको छ । सञ्चारकर्मी, कलाकार, व्यवसायीदेखि शिक्षाविद्सम्मले उत्साहका साथ साभार गरिरहेको यो विचारका पछाडि एउटा नाम जोडिएको छ– युविका भण्डारी । 

नेपालमा ठूला-ठूला कलकारखाना र उद्योगहरू फस्टाउन नसकिरहेको वर्तमान अवस्थामा पर्यटनलाई नै मुलुकको मुख्य आर्थिक आधार बनाउनुपर्छ भन्ने यो जोडदार अभियानका पछाडि युविकाको लामो अनुभव, पारिवारिक पृष्ठभूमि र स्पष्ट खाका छ । उनी यतिबेला नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्व सम्हाल्ने अठोटका साथ अध्यक्ष पदको चुनावी दौडमा छिन् । 

युविकाको पर्यटन क्षेत्रसँगको नाता हिजोअस्तिको होइन । उनी पर्यटनमै रमेको र पसिना बगाएको परिवारमा हुर्किइन् । बुबा नाट्टाका पूर्वउपाध्यक्ष थिए । स–साना आँखाले बुबाले ट्राभल एन्ड टुर क्षेत्रमा गरेको संघर्ष तथा योगदानलाई नजिकबाट नियालेकी युविकाले अन्ततः बुबाकै पदचाप पछ्याइन् । 

‘कुनै समय बाबा नाटाको उपाध्यक्षसम्म हुनुभएकाले त्यहीँ पदचाप पछ्याउँदै मैले बिर्सिनँ,’ विगत सम्झिँदै युविका भन्छिन्, ‘बुझ्न थालेदेखि नै पर्यटन क्षेत्रलाई राज्यले हेपेजस्तो महसुस भएकाले पर्यटनबाट टाढा हुन नसकेको स्वीकार गर्छु ।’

बुबाले भोगेको संघर्ष र अग्रजहरूको प्रेरणाले उनलाई पर्यटन क्षेत्रमा जम्न सहज बनायो । दुई दशकभन्दा बढी समय नाट्टाको विभिन्न जिम्मेवारीमा बिताइसकेकी उनी शशीज होलिडेज इन्टरनेसनल ट्राभल एन्ड टुर्सकी प्रबन्ध निर्देशक हुन् । सन् २०११ देखि सञ्चालित उनको कम्पनीले मुख्यगरी जर्मनी, बेल्जियम र फ्रान्सजस्ता युरोपेली मुलुकबाट गुणस्तरीय पर्यटक भित्र्याउँदै आएको छ ।

गोल्ड मेडलदेखि वास्तुकलासम्मको बौद्धिकता

युविका केवल अनुभवले मात्र परिपक्व छैनन्, उनको शैक्षिक जग पनि उत्तिकै मजबुत छ । वास्तुकलामा स्नातक र पोखरा विश्वविद्यालयको एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट एमबीए गरेकी उनले उत्कृष्ट नतिजा ल्याउँदै नेपाल विद्याभूषण ‘क’ र विश्वविद्यालय स्वर्ण पदक प्राप्त गरेकी छन् । 

सेन्ट मेरिजबाट कक्षा १० सम्मको अध्ययन गरेकी युविका उच्च शिक्षाका लागि भारतको बैंलोर पुगिन् । त्यहाँबाट प्लस टु र स्नातक तह पूरा गरेर नेपाल फर्किएपछि उनी व्यवसाय र सामाजिक सेवामा सक्रिय भइन् । आफ्नो वास्तुकला र व्यवस्थापकीय ज्ञानलाई उनी पर्यटकीय पूर्वाधार विकासमा उपयोग गर्न चाहन्छिन् । 

संकटकी सारथी

नाट्टामा रहँदा उनले संस्थागत हितका लागि धेरै कामहरू गरिन् । कोभिड–१९ को कठिन समयमा जब मानिसहरू घरभित्र थुनिएका थिए, नाट्टाले ठूलो तहमा सहयोग पु¥याएको थियो । 

आफ्नो संस्थागत अनुभवबारे सुनाउँदै ४४ वर्षीया युविका भन्छिन्, ‘युएनडीपीसँग मिलेर काम गर्न पायौं । कोभिडको बेलामा कोठा–कोठामा थुनिएका बेलामा नाट्टाले ठूलो सहयोग गरेको थियो । काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको प्रचारप्रसार गरेका थियौं । जुनबेला सबैजना सुस्त भएको अवस्थामा नाट्टाले त्यसलाई चलायमान बनाउन प्रयास गरेको थियो, त्यसमा म आफैं सरिक थिएँ ।’

उनका अनुसार नाट्टाले स्वयंसेवकहरूलाई निश्चित ‘इन्सेन्टिभ’ दिने व्यवस्था गर्नुका साथै जिर्ण र ओझेलमा परेका मठमन्दिरको प्रवद्र्धन र साइकल टुरको माध्यमबाट पर्यटन बढाउने प्रयास गरेको थियो । यस्तै, सातै प्रदेशमा पुगेर अनलाइन टिकट बुकिङ र हस्पिटालिटी सम्बन्धी १ हजारभन्दा बढी युवालाई निःशुल्क तालिम दिइएको थियो । 

null

नेपालको पर्यटन क्षेत्रलाई सरकारले सधैँ नीतिगत हिसाबले पछाडि राखेकोमा उनको ठूलो दुःखेसो छ । राज्यले होटल, क्यासिनो र माउन्टेनरिङलाई मात्र पर्यटन मानेर ट्राभल र ट्रेकिङ क्षेत्रलाई ओझेलमा पारेको उनी बताउँछिन् । 

राज्यको विभेदकारी नीतिको विरोध गर्दै भण्डारी भावुक मुद्रामा भन्छिन्, ‘राज्यले ट्राभल एजेन्सी, ¥याफ्टिङ र ट्रेकिङ जस्ता पर्यटन उद्योगलाई चिनेको छैन । यसलाई चिनाउनका लागि हामी व्यवसायी आफैँ संघर्ष गरिरहेका छौ ।’ 

नाट्टाको अध्यक्ष बनेपछि आफूले अघि बढाउने योजनाबारे स्पष्ट पार्दै उनी थप्छिन्, ‘एयर टिकेटमा लगाएको भ्याटको फिर्ता र पर्यटकको डाटा सुरक्षितसँग राख्ने तथा विभिन्न मुलुकमा पुगेर नेपालको पर्यटन क्षेत्रको प्रचार स्थानीय भाषामा प्रचार गर्ने प्राविधिक टोली बनाउनेछु ।’ नेपालमा दुरगामी प्रभाव पार्ने खालको उद्योग कुनै छैन । यदि प्रत्यक्ष रुपमा प्रभाव पार्ने खालको उद्योग छ भने पर्यटन उद्योग मात्र भएको उनको दाबी छ । 

स्मार्ट शौचालय, डेटाबेस र हाई-भ्यालु पर्यटक

पर्यटन क्षेत्रमा पूर्वाधारको अभाव र तथ्याङ्कको कमजोरीलाई युविकाले मुख्य समस्याका रूपमा औँल्याएकी छन् । सरकारले पर्यटकको सही डाटा राख्न नसकेको उनको दाबी छ ।

‘स्थल मार्गमा पर्यटकको आवागमन हुने ठाउँमा सुविधायुक्त स्मार्ट शौचालय छैनन् । पर्यटकको चहलपहल हुने ठाउँमा शौचालयजस्ता अत्यावश्यक संरचना निर्माण गरिनुपर्छ,’ तथ्याङ्कको महत्त्व दर्शाउँदै उनी भन्छिन्, ‘सरकार एनआरएन नेपाली कति आए, विदेशी पर्यटक कति आए र को चाहि पर्यटक हो त्यसको वास्तविक तथ्यांक राख्न सफल भएको छैन । अहिलेको समय भनेको डाटाबेसको रहेकाले डिजिटलाइज र डाटाबाट टाढा जान सकिँदैन ।’ 

यसैगरी, पर्यटक बोक्ने सवारी साधनका लागि उचित बसपार्क र पार्किङको सुविधा हुनुपर्ने उनको जोड छ । ‘सडकमा निस्कदा पर्यटक बोक्ने सवारीसाधनले आफूलाई सम्मानित तथा सुरक्षित भएको महसुस गरुन,’ उनी थप्छिन् । 

‘अहिले मेरो लागि उचित समय हो’ 

सधैँभरि एकै ठाउँमा बस्न नहुने र नयाँ अनुभवका लागि प्रतिस्पर्धामा जानुपर्ने युविकाको मान्यता छ । अग्रजहरूको सम्मान र सल्लाह लिएर आफू चुनावी मैदानमा होमिएको उनी बताउँछिन् । 

नाट्टाको नेतृत्व लिने आफ्नो उद्देश्यबारे उनी भन्छिन्, ‘पर्यटकीय क्षेत्रमा देखिएको कालो बादललाई थोरै भए पनि हटाउन सक्छु जस्तो लाग्छ । केही सकिन भने देखिएका समस्या उजागर गर्न सक्छु । ठूलो योगदान दिन नसके पनि केही न केही काम भएका छन् । नेपालका पर्यटन उद्योगमा देखिएका समस्या र अवसरका बारेमा बुझ्ने अवसर धेरै पाएको छु ।’ 

आफ्नो उम्मेदवारी कुनै पदको लोभ नभई निरन्तर योगदानको यात्रा भएको बताउँदै युविका भन्छिन्, ‘अहिलेको उम्मेदवारी घोषणा पनि यहीँ योगदान र अनुभवको उपज रहेको मान्छु । म यात्रामा छु, सिक्ने क्रममा छु, त्यसैले पनि आफूले सुरुवात गरेका कुरालाई निरन्तरता दिनलाई यो अभियानमा छु ।’ 

सबल बौद्धिक जग, दुई दशकको व्यावसायिक अनुभव र रूपान्तरणको स्पष्ट सोच बोकेकी युविका भण्डारीको यो उम्मेदवारीले नाट्टा निर्वाचन र समग्र नेपाली पर्यटन क्षेत्रमा नयाँ उत्साह भरेको छ । 

Share News