काठमाडौं । मनकामनाको पहिलो लक्जरी होटल मनकामना हिलक्रेस्ट रिसोर्टले सञ्चालनको एक वर्ष पूरा गरेको छ । रिसोर्ट आज मंसिर ८ गतेदेखि दोस्रो वर्षमा प्रवेश गरेको हो ।
मनकामना केबलकार प्रालिको को-इ समूहअन्तर्गतको रिसोर्ट्स बाई मनकामना केबलकार प्रालिद्वारा स्वामित्व तथा सञ्चालित मनकामना हिलक्रेस्ट रिसोर्टले पहिलो वर्षको सञ्चालन सन्तोषजनक र उत्साहजनक रहेको जनाएको छ ।
मनकामनामा सुविधासम्पन्न र आरामदायी बसाइको अनुभव प्रदान गर्दै यस क्षेत्रलाई तीर्थाटनसँगै अन्य पर्यटकीय गतिविधिका लागि पनि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यका साथ रिसोर्ट अघि बढिरहेको छ ।
रिसोर्टका अनुसार समूहका स्वर्गीय संस्थापक लक्ष्मण बाबु श्रेष्ठको दीर्घकालीन परिकल्पना र योजनामा रिसोर्ट तयार भएको हो । निर्धारित समयभन्दा केही ढिलो सञ्चालनमा आए पनि उहाँप्रतिको समर्पण र स्मृतिका रूपमा रिसोर्टको औपचारिक उद्घाटन मनकामना केबलकार सञ्चालन भएको मितिमै गरिएको थियो ।
आगामी वर्षहरूमा संस्थापक श्रेष्ठको दूरदृष्टिलाई आत्मसात् गर्दै अघि बढ्ने रिसोर्ट परिवारले प्रतिबद्धता जनाएको छ ।
रिसोर्टले सेवा, गुणस्तर र पाहुनाको सन्तुष्टिमा सुधार ल्याउन निरन्तर साथ, सहयोग र सुझाव प्रदान गर्ने पाहुनाहरूप्रति आभार व्यक्त गरेको छ । साथै, रिसोर्टको विकासमा समर्पित कर्मचारी टोली, मनकामनाका स्थानीय बासिन्दा, सहिद लखन गाउँपालिका, गोरखा जिल्ला प्रशासन कार्यालय तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद दिएको छ ।
त्यस्तै, रिसोर्टलाई निरन्तर साथ र सहयोग गर्ने साझेदार ट्राभल एजेन्सीहरू तथा पर्यटन र आतिथ्य क्षेत्रका सरोकारवालाहरूप्रति पनि विशेष आभार व्यक्त गरिएको छ ।
मनकामनालाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित आगामी दिनमा अझ स्तरीय सेवा र गतिविधि प्रदान गर्ने रिसोर्टले जनाएको छ ।