काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको आसन्न भारत भ्रमणका क्रममा हवाई तथा स्थल यातायात सम्पर्क विस्तारलाई प्राथमिकताका साथ उठाउन होटल एसोसिएसन नेपाल (हान) ले आग्रह गरेको छ । हानले भारतसँगको कनेक्टिभिटी सहज बनाउन सके नेपाल आउने भारतीय पर्यटकको संख्या दोब्बर बनाउन सकिने जनाएको छ ।
हानका अध्यक्ष विनायक शाहले हाल नेपालमा वार्षिक औसत तीन लाख भारतीय पर्यटक आउने गरेको उल्लेख गर्दै सन् २०२८ को अन्त्यसम्म यो संख्या बढाएर छ लाख पुर्याउने लक्ष्यसहित काम गर्नुपर्ने बताए । त्यसका लागि प्रधानमन्त्रीको भारत भ्रमण पर्यटन क्षेत्रका महत्वपूर्ण विषय उठाउने अवसर भएको उनको भनाइ छ ।
शाहका अनुसार भारतीय पर्यटकको संख्या बढाउन सबैभन्दा पहिले हवाई कनेक्टिभिटी सहज बनाउन आवश्यक छ । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि प्राविधिक व्यवस्थासँगै राजनीतिक तहबाट दुई देशबीच आवश्यक निर्णय हुनुपर्ने उनले बताए ।
भारतका दिल्ली, मुम्बई र बेङ्गलुरुजस्ता ठूला सहरसँगै लखनउ, कानपुर, वाराणसी, बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल, पञ्जाब, राजस्थान र गुजरातलगायतका क्षेत्रबाट नेपालमा सिधा हवाई सम्पर्क विस्तार गर्न सके पर्यटक आगमन उल्लेख्य रूपमा बढाउन सकिने उनको भनाइ छ । नेपाली तथा भारतीय वायुसेवा कम्पनीलाई ती सहरबाट नेपालसम्म नियमित उडान सञ्चालन गर्न सहज वातावरण बनाउनुपर्ने उनले बताए ।
हानले धार्मिक पर्यटनलाई पनि प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ । विशेषगरी अयोध्या र जनकपुरबीच प्रस्तावित रेल सेवा सञ्चालन गर्न सके नेपालमा धार्मिक पर्यटक भित्र्याउने नयाँ अवसर सिर्जना हुने शाहको विश्वास छ । अयोध्या आउने भारतीय तीर्थयात्रीलाई जनकपुरस्थित जानकी मन्दिरसम्म ल्याउन सके धार्मिक पर्यटनको नयाँ मार्ग विस्तार गर्न सकिने उनले बताए ।
अध्यक्ष शाहले भने, ‘भारतबाट ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावना छ । तर अहिले वार्षिक औसत तीन लाख भारतीय पर्यटक मात्रै नेपाल आउने गरेका छन् । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबाट पर्यटन क्षेत्रले ठूलो अपेक्षा गरेको छ । सबैभन्दा महत्त्वपूर्ण विषय कनेक्टिभिटी हो । हवाई तथा अन्य यातायात सम्पर्क विस्तार गर्न सके भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढाउन सकिन्छ । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा प्रभावकारी उपयोगका लागि प्राविधिक पक्षसँगै राजनीतिक तहबाट पनि आवश्यक निर्णय हुनुपर्ने देखिन्छ ।'
तर जनकपुर आउने पर्यटकलाई त्यहीँ सीमित नराखी काठमाडौं, पोखरा र चितवनलगायत प्रमुख पर्यटकीय गन्तव्यसम्म पुर्याउने गरी एकीकृत पर्यटन प्याकेज बनाउनुपर्नेमा उनले जोड दिए । यसका लागि हानको मधेस प्रदेश च्याप्टर, अग्रणी ट्राभल एजेन्सी तथा पर्यटनसम्बद्ध संस्थासँगको सहकार्यमा आगामी साता बृहत् कार्यक्रम र प्याकेज निर्माणको तयारी भइरहेको उनले जानकारी दिए ।
धार्मिक पर्यटनसँगै खेल पर्यटन, माइस पर्यटन, व्यावसायिक भ्रमण र डेस्टिनेसन वेडिङलाई पनि भारतीय पर्यटक आकर्षित गर्ने माध्यमका रूपमा अघि बढाउनुपर्ने हानको प्रस्ताव छ । काठमाडौंमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाल र भारतबीच खेल पर्यटनको सम्भावना देखाएको उल्लेख गर्दै शाहले क्रिकेटलगायत खेल गतिविधिलाई पर्यटनसँग जोडेर संयुक्त रूपमा प्रवर्द्धन गर्न सकिने बताए ।
त्यस्तै, सम्पन्न भारतीय परिवारलाई नेपालमा विवाह समारोह आयोजना गर्न आकर्षित गर्ने गरी विशेष प्याकेज र नीतिगत सहजता आवश्यक रहेको उनको भनाइ छ । भारतीय कम्पनीलाई नेपालमा व्यावसायिक बैठक, सम्मेलन र अन्य कार्यक्रम आयोजना गर्न प्रोत्साहित गर्न सके माइस पर्यटन र व्यावसायिक भ्रमणसमेत विस्तार हुने उनले बताए ।
शाहले भारतीय सरकारी कर्मचारीले पाउने लिभ ट्राभल अलाउन्स (एलटीए) सुविधाअन्तर्गत नेपाल भ्रमण गर्न पाउने व्यवस्था गर्न पनि नेपाल सरकारले भारतीय पक्षसँग पहल गर्नुपर्ने प्रस्ताव गरेका छन् । यस्तो व्यवस्था भए ठूलो संख्यामा भारतीय सरकारी कर्मचारी र उनीहरूका परिवारलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न सकिने उनको तर्क छ ।
नेपाल र भारतबीच पर्यटन प्रवर्द्धनका लागि यसअघि विभिन्न संयुक्त समिति तथा संयन्त्रले हिन्दु सर्किट र रामायण सर्किटलगायत अवधारणा अघि सारे पनि कार्यान्वयन कमजोर रहेको शाहले बताए । विगतमा भएका सहमति, अध्ययन र सिफारिसलाई कार्यान्वयनमा लैजान प्रधानमन्त्रीस्तरबाटै पहल हुनुपर्ने उनको भनाइ छ ।
मधेस प्रदेशको पर्यटन सम्भावनालाई पनि भारत भ्रमणसँग जोडेर अघि बढाउनुपर्ने हानको धारणा छ । जानकी मन्दिरलगायत धार्मिक स्थल, जल पर्यटन र सीमावर्ती पर्यटनको सम्भावना हुँदाहुँदै मधेसमा अपेक्षित पर्यटन विकास हुन नसकेको शाहले बताए । अयोध्या–जनकपुर धार्मिक मार्गलाई व्यवस्थित गर्न सके मधेससहित समग्र नेपालको पर्यटनमा सकारात्मक प्रभाव पर्ने उनको विश्वास छ ।
हानले प्रधानमन्त्रीको भारत भ्रमणमा पर्यटन प्रवर्द्धनका विषयलाई आर्थिक कूटनीतिको महत्वपूर्ण एजेन्डाका रूपमा अघि सार्न आग्रह गरेको छ । भारतीय पर्यटकको संख्या बढाउनुका साथै उनीहरूको नेपाल बसाइ अवधि लम्ब्याउने र खर्च गर्ने अवसर विस्तार गर्ने गरी पर्यटन प्याकेज विकास गर्न सके दुवै देशले आर्थिक लाभ लिन सक्ने अध्यक्ष शाहले बताए ।