काठमाडौं । दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलले पहिलोपटक केक मिक्सिङ समारोह आयोजना गर्दै क्रिसमस र नयाँ वर्षको तयारी सुरु गरेको छ ।
रिसोर्टले आइतबार आयोजना गरेको समारोहमा कर्पोरेट तथा ट्राभल क्षेत्रका प्रतिनिधि, पर्यटन संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए ।
कार्यक्रममा पाहुनाहरूले रिसोर्टको पाक टोलीसँग मिलेर ड्राइ फ्रुट्स, नट्सलगायत सामग्री मिसाएका थिए । क्रिसमसअघि गरिने केक मिक्सिङलाई समृद्धि, प्रचुरता र आपसी सद्भावको प्रतीकका रूपमा लिने गरिन्छ । यसरी तयार पारिएको मिश्रणबाट क्रिसमसका लागि विशेष केक बनाइन्छ ।
समारोहमा रिसोर्टका कर्मचारीहरू पनि सामूहिक रूपमा सहभागी भएका थिए । रिसोर्टले यस कार्यक्रमलाई आतिथ्य सत्कारको न्यानोपन र सामूहिक भावनाको प्रतीकका रूपमा लिएको जनाएको छ ।
कार्यक्रममा रिसोर्टको वेलनेस सेवालाई पनि समेटिएको थियो । सहभागी पाहुनाहरूले रिसोर्टमा उपलब्ध विभिन्न वेलनेस थेरापीको अनुभव लिएका थिए । रिसोर्टले यसलाई समग्र स्वास्थ्य र सुस्वास्थ्यप्रतिको आफ्नो प्रतिबद्धताका रूपमा प्रस्तुत गरेको छ ।
दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलका महाप्रबन्धक अंकित शर्माले पहिलो केक मिक्सिङ समारोह साझेदार तथा पाहुनाहरूसँग मनाउन पाउँदा खुसी लागेको बताए ।
उनले चाडपर्वको उत्सवसँगै अर्थपूर्ण सम्बन्ध निर्माण र मानिसहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । यसलाई वार्षिक कार्यक्रमका रूपमा निरन्तरता दिने योजना रहेको उनको भनाइ छ ।
थाइल्यान्डको आतिथ्य समूह दुसित इन्टरनेसनलसँग आबद्ध उक्त रिसोर्ट काठमाडौंको करिब ३० किलोमिटर पूर्वमा धुलिखेलमा अवस्थित छ । हिमाली दृश्य, सूर्योदय र शान्त वातावरणका लागि परिचित धुलिखेल सप्ताहान्तको बिदा, पारिवारिक घुमघाम तथा कर्पोरेट कार्यक्रमका लागि लोकप्रिय गन्तव्यका रूपमा चिनिन्छ ।
नजिकै रहेका नमोबुद्ध र ऐतिहासिक पनौती बजारले पनि यस क्षेत्रमा आउने पर्यटकलाई थप घुमफिरको अवसर प्रदान गर्छन् । चाडपर्वको मौसममा यस्ता कार्यक्रममार्फत धुलिखेललाई उत्सव मनाउने गन्तव्यका रूपमा चिनाउने प्रयास रिसोर्टले गरेको छ ।