२९औँ वर्षमा प्रवेश गर्यो मनकामना केबलकार, २ करोड १२ लाख यात्रुलाई सेवा

काठमाडौं । नेपालको पहिलो केबलकारका रूपमा परिचित मनकामना केबलकारले सफल सञ्चालनको २८ वर्ष पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ । चितवन को–इ समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकार मंगलबार (मंसिर ८ गते)देखि २९औँ वर्षमा प्रवेश गर्न लागेको हो ।

सञ्चालनमा आएको साढे दुई दशकभन्दा बढी समय बिताइसकेको मनकामना केबलकारले हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरिसकेको कम्पनीले जनाएको छ । नेपालको पर्यटन पूर्वाधार विकासमा नयाँ आयाम थपेको यस आयोजनाले धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्नुका साथै मनकामना क्षेत्रको आवागमनलाई सहज बनाउँदै आएको छ ।

संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना र नेतृत्वमा स्थापना भएको मनकामना केबलकार नेपालमा केबलकार पर्यटनको सुरुआत गर्ने अग्रणी परियोजना हो । यसको सञ्चालनले धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा मनकामना क्षेत्रको पहिचान विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ ।

२८औँ वार्षिकोत्सवका अवसरमा कम्पनीले संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको दूरदृष्टि र मार्गनिर्देशनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनीले स्थापनादेखि हालसम्म निरन्तर विश्वास र साथ प्रदान गर्ने यात्रु तथा ग्राहकप्रति आभार व्यक्त गरेको छ । केबलकारको सफल सञ्चालनमा योगदान पुर्याउने कर्मचारीहरूको मेहनत, निष्ठा र समर्पणको पनि प्रशंसा गरेको छ ।

त्यसैगरी, पर्यटन तथा आतिथ्य क्षेत्रका साझेदार, सहिद लखन गाउँपालिका र इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन तथा गोरखा जिल्ला प्रशासन कार्यालय र अन्य शुभेच्छुकप्रति कम्पनीले धन्यवाद व्यक्त गरेको छ ।

Share News