काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भएका समझदारीले नेपालको पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने पर्यटन व्यवसायीहरूले बताएका छन् ।
प्रधानमन्त्रीको भ्रमण दलमा व्यावसायिक प्रतिनिधिमण्डलका सदस्यका रूपमा सहभागी होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे र नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष भरतजंग पाण्डेले संयुक्त वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।
उनीहरूका अनुसार भैरहवा हवाई मार्ग, अयोध्या–जनकपुर रेल सेवा तथा पर्यटकीय सर्किटहरूको सञ्जाल विस्तारबाट भारतीय पर्यटकको नेपाल आगमन दोब्बर बनाउन सकिने सम्भावना छ ।
दुवै देशका प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलबीच भएका छलफल, समझदारी र १० बुँदे अवधारणापत्रमा दुई देशका जनताबीचको सम्बन्ध मजबुत बनाउन पर्यटन क्षेत्रको महत्व र यसबाट प्राप्त हुने आर्थिक समृद्धिलाई उल्लेख गरिनु सकारात्मक रहेको वक्तव्यमा जनाइएको छ ।
त्यस्तै, नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत बिजनेस राउन्ड टेबलमा पनि द्विपक्षीय पर्यटन प्रवद्र्धनको विषयलाई महत्वका साथ प्रस्तुत गरिएको व्यवसायीहरूले बताएका छन् ।
भ्रमणमा सहभागी पर्यटन व्यवसायीहरूले भारतीय समकक्षी तथा सरोकारवालासँग नेपालको पर्यटन विकासका विषयमा महत्वपूर्ण छलफल र सम्बन्ध विस्तार गरेको जनाएका छन् ।
समझदारीका १० बुँदामध्ये अयोध्या–जनकपुर रेल सेवा सञ्चालनले जनकपुरलगायत नेपालको पर्यटन विकासमा ठूलो प्रभाव पार्ने उनीहरूको विश्वास छ । यस अवसरको पूर्ण लाभ लिन केन्द्र तथा प्रदेश सरकार र निजी क्षेत्रले योजनाबद्ध रूपमा जनकपुर आउने भारतीय पर्यटकलाई काठमाडौं, पोखरा, मुक्तिनाथ, चितवन र लुम्बिनीलगायतका गन्तव्यमा आकर्षित गर्नुपर्ने वक्तव्यमा उल्लेख छ ।
त्यस्तै, नेपाल र भारतबीच भैरहवा नाकामार्फत दुवैतर्फ हवाई यातायात सञ्चालन गर्ने सहमतिअनुसार सेवा छिटो सुरु गर्न दुवै देशलाई व्यवसायीहरूले आग्रह गरेका छन् ।
भ्रमणका क्रममा भएका समझदारी प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उनीहरूले नेपालसँगको व्यापार विस्तारमा भ्रमणले सकारात्मक प्रभाव पारेको बताएका छन् । यसबाट नेपाली तथा भारतीय पक्षले नयाँ योजना अघि बढाउनुका साथै नाकामा विद्यमान व्यवस्थामा आवश्यक सुधार गरी भारतीय पर्यटकको संख्या दोब्बर बनाउने गरी काम गर्नुपर्ने उनीहरूको भनाइ छ ।
प्रधानमन्त्रीको राजकीय भ्रमणमा होटल संघ नेपाल, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल र नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सजस्ता पर्यटन क्षेत्रका अग्रणी छाता संगठनलाई सहभागी गराइएकोमा पनि व्यवसायीहरूले सराहना व्यक्त गरेका छन् ।
संयुक्त वक्तव्यमा हानका अध्यक्ष विनायक शाह, टानका अध्यक्ष सागर पाण्डे र नाट्टाका अध्यक्ष भरतजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।