हप्ताको दुई दिन बिदाको प्रभाव : पर्यटकीय गन्तव्यमा थप चलायमान

चितवन ।  शनिबार र आइतबार सार्वजनिक बिदा दिने प्रावधान कार्यान्वयन गरिए पछि पर्यटकीय गन्तव्य थप चलायमान हुन थालेका छन् । गर्मीका कारण यो समयलाई आन्तरिक घुमफिरको यामका रुपमा लिइँदैन । चितवनको सौराहामा दुई दिन बिदाको समय पारेर आएका पर्यटकका कारण त्यहाँका होटेल तथा रेष्टुराँ आन्तरिक पर्यटकले भरिभराउ भएका जनाएको छ । साथै जङ्गल सफारीका लागि जिप लाग्ने ठाउँ होस् वा हात्ती चढ्ने ठाउँ सबैतिर पर्यटकहरू खचाखच भरिएका छन् । प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्यको उपमा दिइने नेपालको चितवन पनि तिनै पर्यटकीय महत्व बोकेको गन्तव्यमध्येमा एक हो । विशेष गरी जल पर्यटन, वन्यजन्तुु अवलोकन आदिका लागि स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक गन्तव्यका रुपमा चितवनले आफ्नो पहिचान बनाइसकेको छ । वरिष्ठ पर्यटन व्यवसायी एवं युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले पछिल्ला समयमा चिवनमा आन्तरिक पर्यटककको आगमन पनि बढ्दो अवस्थामा रहेको जानकारी दिनुुभयो । सरकारले शनिबार र आइतबार दिएको दुुई दिने बिदाको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको उनले बताए । 'विशेष गरी यो याम चितवनमा गर्मी हुने भएकाले पर्यटकको यामका रुपमा लिइँदैन', उनले भने 'दुुई दिने बिदाको समय घुमफिर गरी उपयोग गर्नका लागि गर्मीको कुनै प्रवाह नगरी पर्यटक आउने गरेका छन् ।' पछिल्ला समयमा बिदालाई अधिकांशले घुमफिरमा उपयोग गर्न थालेको उल्लेख गर्दै उनले यसअघि लगातार चार दिनसम्म बिदा पर्दा एउटै समूहका व्यक्तिहरू चितवनको सौराहादेखि लुम्बिनी हुँदै पोखरासम्म्म भ्रमण गरेको आफूले प्रत्यक्ष देखे भोगेको जानकारी गराए । पर्यटकको सुविधालाई लक्षित गरी सहकारीले हाल ३० वटा हात्ती सफारीका लागि प्रयोग गरिरहेको उनले जानकारी दिए । पर्यटकले यहाँ आएर बिहान ६ः३० बजेदेखि ९ः३० बजेसम्म, दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्मका साथै बेलुका ४ः३० बजेदेखि ६ः०० बजेसम्म हात्ती सफारी गर्न पाउँछन् । करिब १ः३० घण्टा समयावधि हात्ती सयर गरेबापत आन्तरिक पर्यटकले रु एक हजार ६५० बुझाउने पर्यटन व्यवसायी अमित गुरुङले जानकारी दिए । स्वदेशी पर्यटकका साथै विदेशी पर्यटक चितवन आएर हात्ती सफारीमा रमाउने गरेको उनले बताए । अर्का पर्यटन व्यवसायी आशिष रेग्मीका अनुुसार हात्ती सयर चितवनको महत्वपूर्ण पर्यटकीय आकर्षण बने पनि कोभिड–१९ यता हात्तीको किनबेच भएको छैन । यसअघि रहेका हात्तीबाट नै हात्ती सयर गराउँदै आइएको छ । एउटा हात्तीलाई पाल्नका लागि दुई जना कर्मचारीसहित महिनामा रु एक लाखभन्दा बढी खर्च हुने उनले जानकारी दिए। उनका अनुसार सामान्यतः एउटा हात्तीलाई दिनमा करिब २५ किलो धान, दुई किलो चना, ढिके नुन, सक्खर आदि आवश्यक पर्दछ । पछिल्ला वर्षमा चितवनको सौराहा वन्यजन्तु अवलोकनका साथै जलविहारसमेतका कारण प्रसिद्ध रहेको उनले बताए । पर्यटकलाई लक्षित गरी बनाइएका होटल, लज, रिसोर्ट र रेष्टुराँका कारण यहाँ आउने जो कोही पर्यटकलाई खान बस्नको असुविधा नरहेको उनले बताए । चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोकनका साथै चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षण युक्त स्थान बनेको छ । हात्ती तथा जीपमा सयर गरी जङ्गल सफारी, वन्यजन्तु अवलोकन, चरा अवलोकन, राप्ती नदीमा डुङ्गा सयर गर्दै चराचुरुङ्गी, गोही आदिको अवलोकन, सूर्यास्त अवलोकन पर्यटकको रोजाइमा पर्ने गरेको छ । त्यस्तै स्थानीय थारु संस्कार र संस्कृतिको अवलोकन पनि यहाँका प्रमुख आकर्षणका रुपमा रहेका छन् । बालकदेखि वृद्धसम्म सबैजसो उमेर समूहका व्यक्तिहरूले यहाँ आएर हात्ती सफारी गरी बँदेल, बाघ, गैँडा, गोही, बाँदर आदि वन्यजन्तुुका साथै विभिन्न प्रजातिका चराचुरुङ्गी हेर्ने गर्दछन् । सफारीका क्रममा देखिने हरियालीका साथै घाँसे मैदानहरूले पनि यहाँ आउने पर्यटकलाई आकर्षित गर्ने गरेको छ । यहाँको राप्ती नदीमा डुङ्गामार्फत जलविहारका क्रममा नदी किनारामा घाम तापेर बसेका देखिने गोही, ठाउँठाउँमा देखिने गैँडालगायतका वन्यजन्तुु, चराचुरुङ्गी आदिले जो कोहीलाई लोभ्याउने गरेको छ । पर्यटकको बढ्दो आगमनसँगै यस क्षेत्रका होटेल तथा रेष्टुराँहरू राम्रैसँग चलिरहेको टिफिन होम एण्ड रेष्टुराँका सञ्चालक स्वस्तीका भट्टले जानकारी दिए । पछिल्ला वर्षमा सबैजसो याममा यस क्षेत्रमा पर्यटकको आगमन बढिरहेको उनले भने, 'पछिल्ला समयमा यो वा त्यो जुनसुकै महिनामा पर्यटक चितवन आउने गरेका छन् ।' हप्ताको दुई दिन बिदाले आन्तरिक पर्यटनमा सकारात्मक परिवर्तन देखिएको व्यवसायीको अनुभव छ । रासस

आगामी पाँच वर्षभित्र पर्यटक आगमन दोब्बर बनाउनेदेखि यी योजना प्राथमिकतामा

काठमाडौं । गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास, विस्तार, सुधार र प्रवर्द्धनको लागि बजेटमार्फत विभिन्न कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले सोमबार (आज) प्रदेश सभामा आर्थिक मामिला  तथा याेजनामन्त्री जीत बहादुर शेरचनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पर्यटनका विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका हुन् । बजेटमार्फत प्रदेश सरकारले आगामी पाँच वर्षसम्ममा अन्तर्राष्ट्रिय पर्यटक आगमन दोब्बर बनाउने लक्ष्य लिएको छ । त्यस्तै, पूर्वाधार निर्माण, प्रचार–प्रसार, हवाई पहुँच विस्तार तथा सीमापार पर्यटन प्रवर्द्धनमा जोड दिइने भएको छ । बजेटमार्फत प्रमुख पर्यटकीय गन्तव्यमा पूर्वाधार विकास, पदमार्ग निर्माण तथा स्तरोन्नति र पर्यटनमैत्री सेवाको विकास तथा विस्तारमा जोड दिएको छ । पर्यटन प्रवर्द्धनका लागि ‘पहिला घरदेशः अनि परदेश’ र ‘लेक टु लेक’ कार्यक्रमलाई निरन्तरता दिएको छ । यसबाट आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि भई स्थानीय कला, संस्कृति, परम्परा र उत्पादन पर्यटनसँग आवद्ध भई आयआर्जनमा वृद्धि हुने जनाएको छ । प्रदेश सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रको साझेदारीमा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने भएको छ । ‘गण्डकी जाऔं प्रकृति र संस्कृतिसँग रमाऔं’  अभियानलाई थप सुदृढ बनाई पोखरालाई ‘स्वास्थ्य, खेलकुद तथा साहसिक पर्यटन केन्द्र’ का रूपमा विकास गरिनेछ । दामोदर कुण्ड – मुक्तिनाथ गलेश्वर पञ्चकोट रिडी रामदी– केलादिघाट देवघाट–त्रिवेणीधाम जोड्ने ‘धार्मिक पर्यटन परिपथ’ विकासमा जोड दिएको छ । त्यस्तै, यस परिपथसँग जोडिएका पदमार्गमा आधारभूत पूर्वाधार विस्तार गरिने भनिएको छ । बजेटले मोदीबेनीधाम देखि पर्वतको पुर्कोट र भैरवस्थान धार्मिक पदमार्ग निर्माण अगाडि बढाइने भएको छ । प्रदेश सरकारले बजेटमार्फत मनास्लु, अन्नपूर्ण, धौलागिरी र ढोरपाटन चक्रीय पदमार्ग स्तरोन्नति, वैकल्पिक मार्ग पहिचान तथा प्रवर्द्धन गरिने भएको छ । ढोरपाटनको बुकी संरक्षण तथा जलाशय निर्माण गरी आन्तरिक पर्यटन प्रवर्द्धन गरिने भएको छ ।  ‘राउण्ड फेवाः भ्यू फेवा’ कार्यक्रमलाई निरन्तरता दिई क्लोज सर्किटलाई पूर्णता दिइने भएको छ । फेवा होराइजन पेडेस्ट्रियन ब्रिज (सेल्फी ब्रिज) तथा रूपातालमा सिसाको पुल निर्माणसम्बन्धी कार्यलाई अगाडि बढाउने योजना प्रदेश सरकारले अघि सारेको छ । प्रदेश सरकारले पोखरा महानगरपालिकासँगको साझेदारीमा फेवातालको मध्यवर्ती क्षेत्र सौन्दर्यीकरणका लागि रु. ५ करोड विनियोजन गरेको गरेको छ । त्यसैगरी ‘एक जिल्लाः एक पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै स्थानीय संस्कृति, होमस्टे, फार्म स्टे र रैथाने उत्पादनको ब्रान्डिङ तथा स्तरीकरण गरिने जनाएको छ । त्यस्तै पर्यटकीय सूचना केन्द्र, पर्यटक प्रहरी तथा आपतकालीन उद्धार कार्यलाई सुदृढ गर्दै पर्यटक सुरक्षा प्रणाली प्रभावकारी बनाइने भएको छ । युवा जनशक्तिलाई लक्षित गरी ‘प्रविधिमा जोडौः समुन्नतिमा मोडौं’ अवधारणा लिई पर्यटकीय राजधानी क्षेत्रमा सूचना प्रविधि पार्क निर्माणका लागि बजेट विनियोजन गरेको जनाएको छ ।  त्यस्तै युवा जनशक्तिलाई लक्षित गरी ‘प्रविधिमा जोडौंः समुन्नतिमा मोडौं’  अवधारणा लिई पर्यटकीय राजधानी क्षेत्रमा सूचना प्रविधि पार्क निर्माणका लागि पनि बजेट विनियोजन गरेको छ । लोकाहाखोला र पुँडिटार औद्योगिक क्षेत्रको जग्गा प्राप्ति, पूर्वाधार निर्माण तथा सञ्चालन कार्यलाई तीव्रता दिने  र पर्यटन, उद्योग तथा वाणिज्य प्रशासन सेवालाई क्रमशः अनलाइन प्रणालीमा आवद्ध गर्दै लगिने योजना गण्डकी प्रदेश सरकारले अघि सारेको छ । 

‘मधेश ट्रेल’ पदमार्गको पूर्वाधार निर्माणदेखि ‘वेडिङ डेस्टिनेसन’ प्रवर्द्धनसम्मको योजना

काठमाडौं । मधेश प्रदेश सरकारले बजेटमार्फत पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन र विस्तारको लागि विभिन्न योजना प्राथमिकताका साथ अघि सारेको छ । सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गर्दै पर्यटन क्षेत्रका विभिन्न योजनाहरूलाई प्राथमिकतामा राखिएको बताएका छन् । मधेश प्रदेशले बाराको ऐतिहासिक सिम्रौनगढलाई खुला सङ्ग्रहालयको रूपमा विकास गर्न र चुरेको फेदीमा पर्या–पर्यटन प्रवर्द्धनका लागि ‘मधेश ट्रेल’ पदमार्गको पूर्वाधार निर्माण तथा ब्रान्डिङ गरिने घोषणा गरेको छ । त्यस्तै, जनकपुरधामको जानकी मन्दिर, बाराको गढीमाई, पर्साको पर्सा वन्यजन्तु आरक्षण, सप्तरीको छिन्नमस्ता, सिरहाको सलहेश फूलबारी, रौतहटको नुन थर, गोल्मेराजा बौद्ध विहार, महोत्तरीको रौजामजार र रौतहटको शिव नगर लगायतका ऐतिहासिक र धार्मिक शक्ति पीठहरूलाई जोडेर ‘मधेश धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट’ निर्माण गरिने घोषण गरेको छ । यस सर्किटमा पर्यटकको सुविधाका लागि आरामदायी पर्यटक बस सेवा सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने भनिएको छ । साथै, लुम्बिनी, सुनसरीको राम धुनी र जनकपुरधामलाई भारतको अयोध्या र सीतामढीसँग जोड्न क्रस बोर्डर टुरिजम प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ । प्रदेशको मौलिक संस्कृति र परिकारलाई पर्यटनसँग जोड्न सम्भाव्य पर्यटकीय गन्तव्यहरूमा ‘सामुदायिक होमस्टे’ सञ्चालन गर्न प्रोत्साहन गरिने बजेटमा उल्लेख गरेको छ । स्थानीय मौलिक परिकारहरूको व्यवसायीकरण र ब्रान्डिङ गर्ने स्थानीय उद्यमीहरूलाई विशेष पुँजीगत अनुदानको व्यवस्था मिलाएको मधेश प्रदेश सरकारले जनाएको छ । स्वदेशी तथा प्रादेशिक उत्पादनलाई वजार सुनिश्चित गर्न, प्रदेश सरकार र अन्तर्गतका निकायहरूले सार्वजनिक खरिद गर्दा मधेश प्रदेशभित्रका साना तथा मझौला उद्योगका उत्पादनहरूलाई प्रचलित बजार मूल्यभन्दा निश्चित प्रतिशत महँगो भए पनि खरिद गर्नुपर्ने ‘मूल्य प्राथमिकता’ सम्बन्धी कानुनी व्यवस्था गरिने भएको छ । मधेश प्रदेशले पर्यटन आगमन बढाउन आन्तरिक पर्यटन प्रवर्द्धनका साथै पि.पि.पि. मोडलमा वेडिङ पार्क (वेडिङ डेस्टिनेसन प्रवर्द्धन) कार्यक्रम अगाडि बढाउने भएको छ । त्यस्तै थिम पार्क, वाटर पार्क, होटेल र धर्मशाला निर्माण गर्न लगानीकर्तालाई आमन्त्रण गरी जग्गा लिजमा उपलब्ध गराउन समन्वय गरिने भएको छ ।  साथै, स्थानीय कला र संस्कृति झल्कने उत्पादनहरू जस्तै- स्वीट्स र प्याकेटमा मिथिला कला, धूपको काठको कलात्मक धनु, मिथिला माटोको राम–जानकी र हनुमानका मूर्तिहरू उत्पादन गर्न सामूहिक मोडल अपनाई प्रदेश सरकारबाट सर्टिफाइड सोभिनियरका रूपमा ब्रान्डिङ गरिने भएको छ ।