धवलागिरिमा खुल्दै नयाँ ‘भर्जिन रुट’, ३ करोड बजेट विनियोजन

काठमाडौं । प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका साथ म्याग्दीको धवलागिरि गाउँपालिकामा मुदी-गुर्जा-रुघाचौर-जलजला जोड्ने नयाँ पदमार्ग सञ्चालनको तयारी गरिएको छ । हालसम्म पर्यटकका लागि नखुलेको यस ‘भर्जिन रुट’लाई आगामी हिउँदे यामदेखि सञ्चालनमा ल्याउने योजना बनाइएको छ ।

म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पर्यटन विभागको सहयोगमा हालै सम्पन्न सम्भाव्यता अध्ययनका आधारमा धवलागिरि गाउँपालिका-४ मुदीदेखि वडा नं १ गुर्जा हुँदै वडा नं २ स्थित जलजलासम्मको पदमार्ग सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । 

‘यो एकदमै नयाँ अर्थात् ‘भर्जिन रुट’ हुनेछ । यस पदमार्गमा पर्यटक लैजान आवश्यक तयारी गर्न पर्यटन व्यवसायी र स्थानीयवासीलाई अनुरोध गर्दछु,’ मन्त्री पुनले भने । उनका अनुसार पदमार्गका अप्ठ्यारा स्थानमा बाटो निर्माण, रेलिङ जडान, विश्रामस्थल तथा झोलुङ्गे पुल निर्माणमा पर्यटन मन्त्रालयले सहयोग गर्नेछ ।

यही असारको पहिलो, दोस्रो र तेस्रो सातामा मन्त्री पुनको बेनीस्थित सम्पर्क कार्यालयका प्रमुख चित्र तिलिजाको नेतृत्वमा गएको टोलीले मुदी-गुर्जा-जलजला, धौलागिरि चक्रीय पदमार्ग तथा अन्नपूर्ण गाउँपालिका-१ दोवादेखि रघुगङ्गा गाउँपालिका-७ सोवाङधुरी हुँदै चिमखोला जोड्ने पदमार्गको सम्भाव्यता अध्ययन गरेको थियो ।

टोलीले तयार पारेको प्रतिवेदनमा जलविद्युत् आयोजना र सडक विस्तारका कारण धौलागिरि चक्रीय पदमार्गको इटाली आधार शिविरसम्मको मार्ग जोखिममा पर्नसक्ने उल्लेख गरिएको छ । त्यसको विकल्पका रूपमा मुदी-गुर्जा-रुघाचौर-जलजला तथा दोवा-सोवाङ-चिमखोला पदमार्ग सडक विस्तारबाट प्रभावित नहुने भएकाले दीर्घकालीन सम्भावना रहेको निष्कर्ष निकालिएको छ । उक्त प्रतिवेदन गत साता मन्त्री पुन र पर्यटन मन्त्रालयलाई बुझाइएको थियो ।

धौलागिरि चक्रीय पदमार्ग योजनाका लागि आगामी आर्थिक वर्ष २०८३/८४ मा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । साथै मुदी-गुर्जा-जलजलालगायत पदमार्गको सम्भाव्यता अध्ययनका लागि २१ लाख रुपैयाँ बजेट छुट्याइएको मन्त्रालयको वार्षिक पुस्तिकामा उल्लेख छ ।

मुदीका स्थानीय विजय घर्तीले नयाँ पदमार्गले सुस्ताएको पर्यटन क्षेत्र पुनः चलायमान हुने विश्वास व्यक्त गर्दै मुदी-गुर्जा खण्डमा आधारभूत पदमार्ग, सञ्चार सुविधा तथा अन्य आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताए । उनका अनुसार पदमार्ग सञ्चालनले स्थानीयस्तरमा रोजगारी र आयआर्जनका नयाँ अवसर सिर्जना गर्नेछ ।

सडक विस्तारसँगै पुराना पदमार्ग विस्थापित हुन थालेपछि नयाँ पदमार्ग पहिचान गरी पूर्वाधार निर्माण र प्रवर्द्धन गर्न स्थानीयवासी तथा जनप्रतिनिधिले लामो समयदेखि माग गर्दै आएका थिए । धौलागिरि हिमाल र ढोरपाटन सिकार आरक्षलाई जोड्ने प्रस्तावित यो पदमार्ग साहसिक, प्राकृतिक र सांस्कृतिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त मानिएको छ ।

संसारको सातौँ अग्लो धौलागिरि हिमालको फेदीमा रहेको मुदीमा मगर र दलित समुदायको बसोबास छ भने ‘लुकेको गाउँ’का रूपमा परिचित गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको छ । गुर्जादेखि ढोरपाटन जाने बाटोमा पर्ने रुघाचौर तथा ढोरपाटन सिकार आरक्षभित्रको जलजलाबाट धौलागिरिलगायत हिमशृङखलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

धवलागिरि गाउँपालिका-४ का वडाध्यक्ष यामप्रसाद घर्तीले सडक निर्माणको सम्भावना न्यून र बस्तीबाट टाढा रहेकाले धौलागिरि-ढोरपाटन पदमार्ग दीर्घकालीन रूपमा पर्यटकीय आकर्षण बन्नसक्ने विश्वास व्यक्त गरे । उनले यस पदमार्गले धवलागिरि क्षेत्रको पर्यटन विकाससँगै स्थानीय अर्थतन्त्रलाई टेवा पुग्ने अपेक्षा गरे । 

Share News