काठमाडौं । आन्तरिक उडान भर्ने वायुसेवा कम्पनीहरूले विदेशीहरूलाई एउटै गन्तव्यमा पुग्ने भए पनि फरक-फरक भाडा लिने गरेको पाइएको छ ।
समान हवाई भाडादर कमिटी २०८३ ले प्रत्येक वायुसेवाकम्पनीले हवाई टिकट वापत विदेशीलाई फरक-फरक मुद्रा लिने गरेको औंल्याएको छ ।
भाडादरमा एकरुपता कायम गर्न भए पनि समान भाडादर कायम गर्नुपर्ने प्रतिवेदनले सुझाव दिएको छ । चैत १३ गतेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेका शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरू कार्यान्वयन अन्तर्गत सबै ट्रंक रुटमा उडान गर्ने अन्तरिक वायुसेवा कम्पनीहरुले नेपाली तथा विदेशीलाई हवाई भाडादर समान गर्ने व्यवस्था गर्ने उल्लेख गरिएको थियो ।
सोही सूची अनुसार विदेशीलाई समान भाडादर कायम गर्न एक अध्ययन समिति बनाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको दश बुँदे कार्य योजना अन्तर्गत बुँदा नं. ४ मा उल्लेख गरिए बमोजिम सबै ट्रंक रुटहरुका लागि उडान गर्ने आन्तरिक वायुसेवा कम्पनीहरूले नेपाली तथा विदेशी नागरिकहरूलाई हवाई भाडादर समान गर्ने सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधीकरणका महानिर्देशकको निर्णय अनुसार जेठ १९ गते निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समान हवाई भाडादर अध्ययन समिति गठन भएको थियो ।
कमिटीमा संयोजक ऋचा शर्मा, सदस्य सुवर्ण भट्टराई, निजी वायुसेवा कम्पनीका दुई जना प्रतिनिधि,रमेस महत सदस्य सचिव र सीए अनुप उपाध्याय थिए । कमिटीलाई एक महिनाको समय तोकिएको थियो ।
कमिटीले हवाई भाडा समान कायम गर्ने विषयमा अध्ययन र हवाई भाडादर समान कायम गर्दा फाइदा तथा बेफाइदाकोसमेत अध्ययन गरेको थियो ।
जहाजहरूमा यात्रुको संख्यामा कमी आएका पूर्ण क्षमतामा उडान हुने नगरेको कमिटिको प्रतिवेदनमा उल्लेख गरिएको छ आन्तरिक हवाई उडान तथा ट्रंक रुटमा विदेशी नागरिकलाई समान भाडा दर कायम गर्न सुझाएको थियो ।
मुलुकभर विभिन्न आन्तरिक हवाई उडानमा यात्रु संख्याको कमी भएको पाइएको छ । समान हवाई भाडादर कमिटि २०८३ ले सरकारले बुझाएको प्रतिवेदनमा यात्रुहरूले सडक यातायात मार्फत यात्रा गर्ने हुँदा वायुयानमा यात्रा गर्ने हवाई यात्रुको संख्यामा कमी आएको औंल्याएको हो ।
हवाई यात्रुको संख्यामा कमी आउँदा जहाजले आन्तरिक उडानको रुटमा पूर्ण क्षमतामा उडान हुने नगर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी, वायुसेवा कम्पनीको विदेशी पर्यटक मार्फत प्राप्त हुने टिकट वापतको विदेशी मुद्राबाट आम्दानीमा वृद्धि भएको छ । वायुसेवा कम्पनीहरुलाई आर्थिक रुपमा सहयोग पुग्ने प्रतिवेदनमा बताइएको छ ।
नेपाल सरकारले २०७३ सालमा ट्रंक रुटको भाडादर निर्धारण कायम गरेको थियो । हालसम्म ट्रंक रुटमा सोही भाडदर कायम रहेको छ । नेपाल सरकारको मन्त्रीस्तरीय २०५८ माघ १९ गतेको निर्णयानुसार प्रत्येक २-२ वर्षमा हवाई भाडादर पुनरावलोकन गर्ने निर्णय भएको थियो ।
२०७३ सालको हवाई भाडादर हालसम्म पुनरावलोकन हुन नसकेको । आन्तरिक वायुसेवा कम्पनीहरुले पटक-पटक ट्रंक रुटको हवाई भाडादर पुनरावलोकन गर्न भनिए पनि भाडामा पुनरावलोकन हुन सकेको छैन ।
सरकारले २०७३ सालमा हवाई भाडादर निर्धारण हुँदा अमेरिकन डलरको मूल्य १०७ रहेकोमा हाल उक्त डलरको मुल्य बढेर १४० पुगेको छ । यस बीचमा लिज कस्ट, बीमा, व्यवस्थापन खर्च, विमान खरिद, ईन्जिन तथा स्पेयरर्स पार्टस्, मर्मत सम्भार समाग्री, उपकरण खरिद लगायतका भुक्तानी अमेरिकन डलमा गर्नुपर्ने हुँदा वायुसेवा कम्पनीहरूलाई विदेशी मुद्राको व्यवस्थापनमा थप दवाव सिर्जना भएको कमिटिको प्रतिवेदनले औंल्याएको छ ।
विदेशी नागरिकलाई समान भाडादर कायम गरेको अवस्थामा विदेशी मुद्राको संञ्चितिमा कमि आउनेसमेत देखिएको कमिटिको प्रतविदेनले बताएको छ ।
विभिन्न आन्तरिक वायुसेवा कम्पनीहरुबाट टंक रुटमा यात्रा गर्ने हवाई यात्रुको संख्यामा उल्लेखीय रुपमा कमी आएको छ । अमेरिकन डलरमा भएको वृद्विका कारण, बीमा वायुयान, स्पेयर्स पार्टस् खरिद मर्मत सम्भार लगायतको सेवा डलरमा भुक्तनी गर्नुपर्ने भएको कारण वायुसेवा कम्पनीको नाफासमेत घटेको छ।
पछिल्लो समयमा मध्य पूर्वमा आएको द्वद्वको कारणबाट हवाई इन्धनमा मूल्य वृद्धि भई यात्रुको संख्यामा थप कमी भएको छ । वायुसेवा कम्पनीले उडान मिलान (मर्ज) गरी उडानको संख्या कटौती गरेका कारण वायुसेवा कम्पनीहरुको आर्थिक अवस्था कमजोर हुँदै गएको छ ।
कमिटीले वायुसेवा कम्पनीलाई मजबुत र सक्रिय बनाउन हाल विद्यमान व्यवस्थालाई निरन्तरता दिन सुझाव पेश गरेको छ । ट्रंक रुटको भाडादरलाई प्रचलित बजार मुल्य, मुद्रास्फिति, संचालन लागत, अन्तर्राष्ट्रिय अभ्यास, विदेशी मुद्राको विनिमय दर र हवाई इन्धनको बजार मुल्य बजारलाई ख्याल गरेर समान भाडादर कायम गर्न सुझाव पेश गरेको छ ।,
वायुसेवा कम्पनीको आर्थिक अवस्थालाई अध्ययन, विश्लेषण गरी नेपाल सरकारद्वारा २०७३ सालमा निर्धारण भएको हवाई भाडादर पुनरावलोकन गरेर विदेशी नागरिकले टिकट खरिद गर्दा लाग्ने भाडादर समेत समावेश गरी स्वदेशी तथा विदेशीलाई लिईने समान भाडादर कायम गर्न निर्णय गर्नुपर्ने कमिटीको सिफारिसले जनाएको छ ।
समान हवाई भाडादर कमिटि २०८३ को कमिटिले बुझाएको प्रतिवेदनलाई पुनः मन्त्रालयमा पठाइने नेपाल नागरिक उड्डयन प्राधीकरणका प्रवक्ता विक्रमराज गौतमले बताए। २०७३ सालदेखि ट्रंक रुटमा नबढेको भाडादरलाई लिएर दुई पटकसम्म मन्त्रालयमा प्रतिवेदन अध्ययनका लागि पठाएको उनको भनाइ छ ।
नेपाल वायुसेवा निगमको स्थापना कालदेखि ट्रंक रुटको भाडा लिएको गौतमको भनाइ छ । ‘अहिलेको प्रतिवेदन अनुसार कार्यान्वयन हुने हामीले आशा गरेका छौ,’ उनले भने ।
यति एयरलाइन्सका सीइओ सुभाष सापकोटाले प्रतिवेदन अध्ययनकै क्रममा रहेको बताए । कमिटिमा रहेका सदस्य सापकोटाले प्रतिवेदनमा भएका कुराले ट्रंक रुटमा भाडादर समान हुने भएमा नेपाली यात्रुलाई भाडादर मँहगो पर्न जानेछ ।
‘नेपाली यात्रुलाई आन्तरिक हवाई उडानमा एक हजारदेखि १२ सय रुपैयाँ पर्न जानेछ,’ उनले भने । ट्रंक रुट अन्तर्गत विदेशीलाई भाडा दर समान हुनसाथ नेपाली यात्रुहरू मँहगीको मारमा पर्न जान्छन् । ट्रंक रुटमा नेपालका तीन वायुसेवा कम्पनीले उडान भरिरहेका छन् । बुद्ध एयर, यति एयरलाइन्स र सौर्य एयरलाइन्सले उडान भरिरहेका छन् ।
विदेशी यात्रुलाई वायुसेवा कम्पनीले काठमाडौंदेखि विराटनगरसम्म १२५ डलर, काठमाडौंदेखि चन्द्रगढीसम्म १५५, पोखरा १२०, धनगढी २७५, जनकपुर ७०, सिमरा ५०, भरतपुर १४२, नेपालगञ्ज १७० र भैरहवा १२६ डलर लिने गरेका छन् ।