विदेशीलाई पनि समान हवाइ भाडा

फाइल तस्विर

काठमाडौं । समान हवाई भाडादर कमिटी २०८३ ले विदेशीलाई हवाई भाडादर समान कायम गर्दा नेपालप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक छवि निर्माण हुने औंल्याएको छ ।

नेपालको पर्यटन पवर्द्धनमा महत्वपूर्ण भूमिका राख्ने समान भाडादर कमिटीले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा स्वदेशी एवं विदेशी नागरिकबीच हुने समान व्यवहारको कारण अन्तर्राष्ट्रिय जगतमा नेपालप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक छवि निर्माण गर्ने बताइएको छ ।

स्वदेशी एवं विदेशीका लागि समान हवाई भाडा प्रणालीले आन्तरिक हवाई बजारलाई विदेशी पर्यटक, ट्राभल एजेन्सी तथा अन्तर्राष्ट्रिय साझेदारलाई बुझ्न र बुझाउन सहयोग पुर्याउने कमिटीले उल्लेख गरेको छ ।

विदेशीले डिजिटल प्रणाली मार्फत तोकिएको गन्तव्यमा जुनसुकै स्थानबाट हवाई टिकट खरिद गर्न सक्ने छन् । हवाई टिकटमा विदेशीलाई बढी हवाई भाडा लिएको भन्ने गुनासोको सम्वोधन हुने कमिटीले बताएको छ । 

टिकट प्रणाली पारदर्शी हुने भएकाले अन्तर्राष्ट्रिय जगतमा विदेशीलाई भेदभावभूर्ण शुल्क लिएको भन्ने नकारात्मक टिप्पणीको अन्त्य हुने समितिले जनाएको छ। 

समान हवाई भाडादर कायम गर्दा विदेशी पर्यटकको संख्यामा वृद्धि हुने उल्लेख छ । देशका विभिन्न पर्यटकीय गन्तव्यहरूमा समेत सहज रुपमा पुग्न सक्ने हुँदा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र देशको आर्थिक स्थिति थप मजबुत हुने समितिकाे प्रतिवेदनले जनाएको छ ।

चैत १३ गतेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेका शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरु कार्यान्वयन अन्तर्गत सबै ट्रंक रुटमा उडान गर्ने आन्तरिक वायुसेवा कम्पनीहरूले नेपाली तथा विदेशीलाई हवाई भाडादर समान गर्ने व्यवस्था गर्ने उल्लेख गरिएको थियो । सोही सूची अनुसार विदेशीलाई समान भाडादर कायम गर्न एक अध्ययन कमिटी बनाएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको दश बुँदे कार्य योजना अन्तर्गत बुँदा नं. ४ मा उल्लेख गरिए बमोजिम सबै ट्रंक रुटहरुका लागि उडान गर्ने आआन्तरिक वायुसेवा कम्पनीहरुले नेपाली तथा विदेशी नागरिकहरुलाई हवाई भाडादर समान गर्ने सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधीकरणका​​​महानिर्देशकको निर्णय अनुसार जेठ १९ गते निर्देशकको संयोजकत्वमा  पाँच सदस्यीय समान हवाई भाडादर अध्ययन समिति गठन भएको थियो ।

कमिटीमा संयोजक ऋचा शर्मा, सदस्य सुवर्ण भट्टराई,  निजी वायुसेवा कम्पनीका दुई जना प्रतिनिधि,रमेश महत सदस्य सचिव र सीए अनुप उपाध्याय थिए । कमिटीलाई एक महिनाको समय तोकिएको थियो । 

समितिले हवाई भाडा समान कायम गर्ने विषयमा अध्ययन र हवाई भाडादर समान कायम गर्दा फाइदा तथा बेफाइदाको समेत अध्ययन गरेको थियो ।

जहाजहरूमा यात्रुको संख्यामा कमी आएका पूर्ण क्षमतामा उडान हुने नगरेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । आन्तरिक हवाई उडान तथा ट्रंक रुटमा विदेशी नागरिकलाई समान भाडा दर कायम गर्न सुझाएको थियो ।

Share News