बढ्दो दुर्घटनापछि फेवातालमा सुरक्षा मापदण्ड कडा, १९ बुँदे निर्देशन जारी

काठमाडौं । पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा पछिल्ला समय दुर्घटनाका घटना बढ्न थालेपछि प्रशासनले जलपर्यटनसँग सम्बन्धित गतिविधि सञ्चालनमा कडाइ गरेको छ ।  जिल्ला प्रशासन कार्यालय कास्कीले फेवातालमा सञ्चालनमा रहेका डुङ्गा, कायकिङ तथा सर्फिङ व्यवसायलाई थप व्यवस्थित र सुरक्षित बनाउन आज १९ बुँदे निर्देशन जारी गरेको हो । सूचनाअनुसार अब डुङ्गा, कायकिङ र सर्फिङमा सहभागी सबैले अनिवार्य रूपमा लाइफ ज्याकेट लगाउनुपर्नेछ । ज्याकेटबिना कुनै पनि जलपर्यटन गतिविधि सञ्चालन गर्न पाइने छैन ।  सेवा प्रदायकले गतिविधि सुरु गर्नुअघि सेवाग्राहीलाई सञ्चालन विधि, सम्भावित जोखिम, आपतकालीन अवस्था र सुरक्षाका उपायबारे पूर्वजानकारी दिनुपर्ने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । यसैगरी, प्रशासनले कास्कीमा दिउँसोपछि हावाहुरी, चट्याङ र वर्षाको जोखिम बढेको भन्दै सामान्य अवस्थामा दिउँसो २ः०० बजेपछि विशेष सावधानी अपनाउन र साँझ ६ः०० बजेपछि डुङ्गा, कायकिङ तथा सर्फिङजस्ता जलपर्यटन गतिविधि पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ । मौसम सामान्य भए पनि एक्कासी हावाहुरी चल्नसक्ने भएकाले आवश्यक परे सुरक्षा निकायसँग समन्वय गरेर मात्र सेवा सञ्चालन गर्न सूचनामार्फत भनिएको छ ।  जलपर्यटन गतिविधिमा देखिएको लापरबाही, दर्ता तथा बिमासम्बन्धी कमजोरी र पछिल्ला दुर्घटनाका घटनालाई ध्यानमा राख्दै प्रशासनले सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको हो । जलपर्यटन व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालन भएको, मूल्यसूची नराखिएको, सेवाग्राहीलाई बिल नदिएको, बिमा नगरिएको तथा असुरक्षित ढङ्गले सेवा प्रदान गरिएको गुनासो प्राप्त भएपछि अनुगमनका क्रममा देखिएका विषयलाई समेटेर सो निर्देशन जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए । त्यस्तै, व्यवसायी तथा सञ्चालकले धूमपान, मद्यपान वा लागुपदार्थ सेवन गरेर सेवा सञ्चालन गर्न नपाउने तथा त्यस्तो अवस्थामा रहेका सेवाग्राहीलाई पनि सेवा दिन नपाइने प्रशासनले जनाएको छ ।  यसैगरी १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई अभिभावकबिना यस्ता गतिविधिमा सहभागी गराउन नपाइने सूचनामा उल्लेख छ । दुर्घटना भए तत्काल उद्धार गर्नुपर्ने, फेवातालमा खटिएको सशस्त्र प्रहरीको रेस्क्यु टोली तथा सुरक्षा निकायलाई तत्काल जानकारी गराउनुपर्ने र घाइतेलाई नजिकको अस्पताल पुर्‍याई उपचारको व्यवस्था गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।  मौसम प्रतिकूल हुने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले विशेष सतर्कता अपनाउन पनि आग्रह गरेको छ । सूचनाविपरीत गतिविधि सञ्चालन गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिँदै प्रशासनले जलपर्यटन व्यवसायी, सरोकारवाला निकाय र सेवाग्राही सबैलाई सुरक्षा सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ । 

टरिगाउँ विमानस्थलका लागि २५ करोड बजेट, धावनमार्ग २ हजार ५०० मिटर पुर्‍याइने

काठमाडौं । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलका लागि २५ करोड रुपैयाँ विनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक बजेटमा उक्त विमानस्थलका लागि २५ करोड रुपैयाँ समावेश भएको हो । विमानस्थलको धावन मार्गलाई २ हजार ५०० मिटरसम्म विस्तार गर्न जग्गा व्यवस्थापनसहित अन्य पूर्वाधार व्यवस्थापन गर्न उक्त बजेट विनियोजन गरिएको दाङ निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका सांसद कमल सुवेदीले बताए । उनका अनुसार विमानस्थललाई बहुवर्षीय योजना बनाएर स्तरवृद्धि गरिनेछ । ‘विमानस्थलमा विगतमा ठूलो बजेट आउन सकेको थिएन । जसले गर्दा उक्त विमानस्थल विस्तार हुन सकेको थिएन । हाल विमानस्थलको धावनमार्ग ७५० मिटर मात्रै हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले यहाँ १९ सिटे ट्विनअटर मात्रै अवतरण गर्छ । हप्तामा चार दिन उडान भर्ने भनिए पनि नियमित हुन सकेको छैन,’ सांसद सुवेदीले भने ।  स्थानीयस्तरबाट यात्रुले सहज सेवा प्राप्त गर्न सकून् भनेर बजेट व्यवस्थापनका लागि पहल गरिएको उनको भनाइ  छ । धावनमार्ग विस्तार गरेमा ठूला जहाज बस्ने र नियमित उडान भर्न सक्ने भन्दै यस क्षेत्रका सरोकार भएका निकायका प्रतिनिधिले पटकपटक पहल गर्दै आएका थिए ।  टरिगाउँमा नियमित हवाई उडान नहुँदा यस क्षेत्रका यात्रु नेपालगञ्ज वा भैरहवा जाने गरेका छन् । टरिगाउँ विमानस्थल २०११ सालमा स्थापना भएको हो ।

भारतीय पर्यटकले भरिभराउ पोखरा, होटलको अकुपेन्सी ९० प्रतिशत पुग्यो

काठमाडौं । पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि पोखराका होटल भरिभराउ भएका छन् । यतिबेला लेक साइडका सडक र वाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ ।  गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगरी फेवातालको तालबाराही मन्दिर, विन्ध्यवासिनी, मुक्तिनाथ, तथा विभिन्न पदयात्रामा भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रहेको होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । भारतमा बढ्दो गर्मीबाट राहत खोज्न तथा बिदाको सदुपयोग गर्न भारतीय नागरिकले नेपाललाई आकर्षक र सहज गन्तव्यका रूपमा रोज्न थालेको बताउँदै पोखरामा सुवेदीले उनीहरुको स्वागत र सम्मान गर्नु पोखरेली पर्यटन व्यवसायीको दायित्व भएको बताए । पर्यटकको चहलपहल बढेसँगै डुङ्गा सयर, पदयात्रा तथा अन्य पर्यटन गतिविधिसमेत बढेको अध्यक्ष सुवेदीको भनाइ छ । फेवातालमा दिनहुँ चार–पाँच हजार भारतीय पर्यटककले डुङ्गा सयर गर्ने गरेको जानकारी फेवा डुङ्गा व्यवसायी सङ्गठनका सहसचिव धनबहादुर विकले बताए । डेढ महिनादेखि भारतीय पर्यटक उल्लेख्य उपस्थिति र फेवातालको मध्यभागमा अवस्थित बाराही मन्दिरमा दर्शन गर्न जान रुचि राख्ने गरेको उनको भनाइ छ ।  ‘दिनभरि ताल छेउमा डुङ्गा कुरी बेलुका रित्तो हात घर जानुपर्ने बमाध्यता भारतीय पर्यटक बढेसँगै हटेको छ,’ सहसचिव विकले भने, ‘अहिले बाराही घाटबाट मात्र दिनहुँ १ सय ४० डुङ्गाहरु चलायमान छन् ।’ टान गण्डकीका कोषाध्यक्ष दीपक सापकोटाले पछिल्लो डेढ महिनामा मात्र डेढ लाख भारतीय पर्यटक पोखरा आएको जानकारी दिँदै उनीहरू धर्मिकस्थल, छोटो दूरीको पदयात्रा, प्याराग्लाइडिङ, वन्जिजम, डुङ्गा सयर तथा ¥याफ्टिङ गर्ने गरेको बताए । भारतीय पर्यटक यतिबेला पाँच तारे होटलदेखि साना होटल र धर्मशालासम्म भरिभराउ रहेको बताए । भारतीय पर्यटकले कोठामा भन्दा पनि खानामा बार्गेनिङ गर्ने गरेको कुरा होटल व्यवसायी पार्वती पाण्डेले सुनाइन् । भारतमा होटलका रुम महंगा हुने भएकाले रुममा उनीहरू खासै बार्गेनिङ गर्दैनन् । पोखरामा होटल भारतीय पर्यटकले धानिएको बताउँदै नेपालका पर्यटकीय तथा धार्मिक क्षेत्रका बारेमा भारतमा प्रचारप्रसार गर्न सके नेपालमा भारतीय पर्यटक खचाखच हुने उनको भनाइ छ । पर्यटन व्यवसायीले यो मौसमलाई ‘अफसिजन’का रुपमा लिने गरेको भए पनि पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेपछि पर्यटन व्यवसायीहरू थप उत्साहित बनेका छन् । नेपाली नयाँ वर्षयता सुरु भएको पर्यटक आगमनको लहर जेठ महिनाको अन्त्यसम्म पनि निरन्तर कायम रहेको पर्यटन व्यवसायी बताउँछन् । पर्यटकीय रुपमा चहलपहल भएको पोखरामा एक महिनाको समयावधिमा पोखरामा मात्रै डेढ लाख भारतीय पर्यटक भित्रिएका तथ्याङ्क पर्यटन व्यवसायीसँग छ । यहाँका होटलको ९० प्रतिशत अकुपेन्सी पुगेको होटल व्यवसायीहरू बताउँछन् ।  विशेषगरी उनीहरू तालबाराही मन्दिर, पुग्दीको शिवमन्दिर, केदारेश्वर, विन्ध्यवासिनी, मुक्तिनाथ, मनकामना मन्दिरमा जाने गर्छन् । नेपालमा आउने पाहुनाको माया गर्नु हामी सबैको कर्तव्य हो । नेपालीहरु पनि भारतको धार्मिक मठमन्दिरमा जाँदा होटलमा भन्दा पनि बाहिर नै पकाएर खाने गर्छन् । पोखरामा एकै दिन १० हजार पर्यटक अटाउन सक्ने क्षमता होटलमा छ ।