हुम्लाबाट हुने प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य
अदानचुली । हुम्लाबाट सञ्चालन हुने तीन निजी एयरलाइन्सको कार्यालयमा लगाइएको ताला खुलाइएको छ । सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने माग राखेर तालाबन्दी गरिएको थियो । सदरमुकाम सिमकोट गाउँपालिका–५ का युवाले हवाई टिकट वितरणमा पारदर्शिता नगरी मिलोमतोमा वितरण गर्ने तथा पछिल्लो समय चिठ्ठाका आधारमा गर्दा टिकट वितरण गर्दा समस्या आएको भन्दै तालाबन्दी गरेका थिए । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा शनिबार बसेको सर्वदलीय बैठकपछि ताला खोलिएको छ । बैठकले प्रत्येक उडानमा दुई हवाई टिकट अनिवार्य बिरामीलाई वितरण गर्ने, तीन सरकारी कर्मचारीका लागि जिल्ला प्रशासन कार्यालयले सिफारिस गर्ने तथा तीन टिकट एयरलाइन्सले अग्रिम सूचना जारी गरी अनलाइन माध्यमबाट वितरण गर्ने सम्झौता भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए । त्यसैगरी, सिमकोट गाउँपालिका–५ र ६ का स्थानीयका लागि वडा कार्यालयको सिफारिसमा एक–एक टिकट वितरण गर्ने तथा बाँकी टिकट एयरलायन्सले प्राथमिकता र सहजताका आधारमा वितरण गर्ने निर्णय भएको छ । सिमकोट गाउँपालिका–५ र ६ ले पहिलोपटक आरक्षण सिट पाउने भएको छ । यो तालिका सिमकोट विमानस्थलमा उडान भर्ने सीता, समिट, तारा र नेपाल एयरलाइन्सका सबै उडानमा लागु हुनेछ । रासस
मधेश प्रदेशका होटलमा कार्यरत कर्मचारीहरूको संख्या २० प्रतिशतले घट्यो
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको नमुना छनोटमा परेका होटलहरूमा कार्यरत कर्मचारीहरूको संख्यामा २०.४२ प्रतिशतले कमी आएको छ । मधेश प्रदेशको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार कर्मचारीको संख्या घटेपनि उक्त वर्षमा पर्यटक आगमनमा भने १८.२५ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा मधेश प्रदेशमा निर्माणधिन र निर्माण हुने क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौं–मधेश द्रुतमार्ग र राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम कार्यान्वयनको चरणमा रहेका छन् । प्रतिवेदनअनुसार आव २०८१/८२ मा मधेश प्रदेशबाट वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या १ लाख ९३ हजार ९ सय २ रहेको छ ।
एनआईसी एशिया बैंकका ग्राहकका लागि होटल क्राउन इम्पेरियलमा छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले काठमाडौंको रविभवनस्थित होटल क्राउन इम्पेरियलमा सेवा लिँदा छुट पाउने भएका छन् । बैंक र होटलबीच छुटसम्बन्धी सम्झौता सम्पन्न भएपछि यो सुविधा लागू भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरूले होटल क्राउन इम्पेरियलमा आवास, खाना तथा पेयपदार्थ, स्पा लगायतका सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यसका लागि ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (मोबाइल बैंकिङ एप) मार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ । बैंकले यस सहकार्यबाट ग्राहकहरूलाई विशेष छुटको सुविधा उपलब्ध हुनुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विकासमा सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।