पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको ढोका खुल्दै, व्यवसायीमा उत्साह

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सम्भावना बलियो बनेको छ। फ्लाई दुबईको जहाज पोखरामा अवतरण गरेसँगै पर्यटन व्यवसायीमा उत्साह र आशा पलाएको छ। यसले लामो समयदेखिको व्यावसायिक शून्यता अन्त्य हुने अपेक्षा जगाएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएयता नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन सकेको थिएन। यसअघि हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडानको प्रयास गरे पनि यात्रु अभावका कारण सेवा निरन्तर हुन सकेन। त्यसपछि विमानस्थलको पूर्ण उपयोगबारे प्रश्न उठ्दै आएको थियो।

पछिल्लो समय फ्लाई दुबईको जहाज अवतरण भएपछि भने पर्यटन क्षेत्र थप उत्साहित बनेको छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलका अनुसार नियमित अन्तर्राष्ट्रिय उडानले पोखरालाई विश्वका पर्यटकीय गन्तव्यसँग प्रत्यक्ष जोड्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत टेवा पुर्याउनेछ।

उनले नियमित अन्तर्राष्ट्रिय उडानलाई पोखराको पर्यटन विकासको मेरुदण्डका रूपमा व्याख्या गरे। पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने उद्देश्यसहित निर्माण गरिएको विमानस्थलमा फ्लाई दुबईको जहाज अवतरण हुनुलाई उनले पर्यटन विकासको नयाँ कोशेढुंगाका रूपमा लिएका छन्।

भुजेलका अनुसार फ्लाई दुबई विश्वका २५० भन्दा बढी अन्तर्राष्ट्रिय सहरसँग जोडिएको वायुसेवा कम्पनी भएकाले यसले पोखरालाई विश्व बजारसँग जोड्ने आधार तयार गरेको छ। यो उडान पोखरा र गण्डकी प्रदेशका लागि मात्र नभई सातवटै प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्त्वपूर्ण हुने उनले बताए।

यद्यपि, अन्तर्राष्ट्रिय उडान सुरु हुनु जत्तिकै त्यसको निरन्तरता र दिगो व्यवस्थापन पनि चुनौतीपूर्ण रहेको व्यवसायीहरूको बुझाइ छ। अन्तर्राष्ट्रिय उडानलाई सफल र नियमित बनाउन स्थानीय, प्रदेश र संघीय सरकार, राजनीतिक दल, निजी क्षेत्र तथा अन्य सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको भुजेलले औँल्याए।  

नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले पोखरामा अन्तर्राष्ट्रिय उडानको सम्भावनालाई मूर्त रूप दिन विदेशमा प्रवर्द्धनात्मक अभियान सञ्चालन गर्नुपर्ने बताए।

उनले ‘जाऊँ है पोखरा’ अभियानलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पर्यटन व्यवसायी, नागरिक समाज र सञ्चारकर्मीलाई सहकार्य गर्न आह्वान गरे।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमता र दिगो रूपमा सञ्चालन गर्न विश्वभर छरिएर रहेका नेपाली तथा अन्य सरोकारवालाले कम्तीमा तीन महिना हातेमालो गर्नुपर्ने उनको भनाइ छ।

अन्तर्राष्ट्रिय उडानले पर्यटकको आगमन बढाउनुका साथै उनीहरूको बसाइ अवधि लम्ब्याउन प्रत्यक्ष योगदान पुर्याउने पोखरेलले बताए। पोखराबाटै यात्रा गर्न उनले सबैलाई आग्रह गरे।

उनका अनुसार पोखरामा सिधै अवतरण गर्ने सुविधा उपलब्ध भए विदेशी पर्यटकको बसाइ अवधि बढ्ने र स्थानीय अर्थतन्त्र चलायमान हुनेछ।

पोखरेलले भने, ‘पोखरा मन पराउने अन्तर्राष्ट्रिय पाहुनाहरू सिधै यहाँ आउँदा उनीहरूको बसाइ लम्बिनेछ भने बाह्य पर्यटकको आवागमन पनि उल्लेख्य रूपमा बढ्नेछ। यसका साथै विदेश जाने स्वदेशी यात्रुहरूले पनि दुई दिन पोखरा घुमेर यहीँबाट उडान भर्न सक्ने भएकाले आन्तरिक पर्यटनमा समेत तत्काल सकारात्मक प्रभाव देखिनेछ।’

उनले फ्लाई दुबई वा अन्य अन्तर्राष्ट्रिय उडानमार्फत यात्रा गर्नु पोखराको समग्र समृद्धिमा योगदान पुर्याउने अवसरसमेत भएको बताए।  

पर्यटन व्यवसायी गोपी भट्टराईले नियमित अन्तर्राष्ट्रिय उडान सुरु भए होटल, यातायात तथा समग्र पर्यटन व्यवसायले नयाँ गति लिने विश्वास व्यक्त गरे।

लामो प्रतीक्षापछि पोखरामा फ्लाई दुबईको उडान हुनुले पश्चिमाञ्चल क्षेत्रको आर्थिक समृद्धिको ढोका खोल्ने अपेक्षा गरिएको उनले बताए।

भट्टराईका अनुसार दुबई विश्वकै प्रमुख ट्रान्जिट हबमध्ये एक भएकाले यस उडानले पोखरालाई विश्वका २४० भन्दा बढी सहरसँग जोड्ने सम्भावना छ। विमानस्थलको धावनमार्ग र क्षमताबारे उठ्दै आएका आशंकालाई समेत यस उडानले सम्बोधन गरेको उनको भनाइ छ।

उनले भने, ‘आजको उडानले सबै जिज्ञासाहरूको जवाफ दिएको छ। पूर्ण यात्रु भारसहित जहाज अवतरण र उडान हुनुले यो विमानस्थल अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक उडानका लागि पूर्णतः सक्षम छ भन्ने प्रमाणित गरेको छ।’

दसैँ, तिहार र नयाँ वर्षजस्ता चाडपर्व नजिकिँदै गर्दा सुरु भएको उडानले यात्रुको चाप व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। काठमाडौंको तुलनामा पोखराबाट पाँच हजार रुपैयाँ सस्तो दरमा उडान सुविधा उपलब्ध गराइनुले यसको लोकप्रियता बढ्ने व्यवसायीहरूको विश्वास छ।

भट्टराईका अनुसार यो उडानका लागि विगत एक वर्षदेखि निरन्तर गृहकार्य भइरहेको थियो। अब श्रम स्वीकृतिलगायतका प्राविधिक प्रक्रिया पोखराबाटै सहज बनाउनु आवश्यक रहेको उनले बताए।

उनले एयर अरेबिया, इमिरेट्स र इन्डिगोलगायतका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले पनि पोखरामा उडान गर्ने तयारी थालेको दाबी गरे।  

सरोकारवालाहरूका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनु सकारात्मक सुरुवात भए पनि यसलाई नियमित व्यावसायिक तालिकामा समावेश गर्नु मुख्य चुनौती हो।

अन्तर्राष्ट्रिय उडानलाई चार्टर्ड उडानमा मात्र सीमित नराखी नियमित बनाउन सके पोखराको पर्यटन, होटल, यातायात तथा अन्य स्थानीय व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

यसका लागि सरकारले आवश्यक नीतिगत सहजीकरण गर्नुका साथै निजी क्षेत्र, पर्यटन व्यवसायी, सञ्चारमाध्यम र विदेशमा रहेका नेपाली समुदायले संयुक्त रूपमा प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

नियमित उडानको निरन्तरता सुनिश्चित गर्न सके पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढ्नुका साथै नेपालको पर्यटन क्षेत्रले समेत लाभ लिन सक्ने उनीहरूको विश्वास छ।

Share News