सुरक्षा अपनाएर उडान गर्न र ‘स्ट्यान्डबाइ’ बस्न वायुसेवा कम्पनीहरूलाई संघको निर्देशन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न भागमा भारी वर्षा, हावाहुरी र बाढी-पहिरोको जोखिम रहेको पूर्वानुमान गरेको छ ।

विभागले यस्तो पूर्वअनुमान गरेसँगै वायुसेवा सञ्चालक संघ, नेपाल (एओएन) ले आफ्ना सदस्य वायुसेवा कम्पनीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । संघले बुधबार एक सर्कुलर जारी गर्दै यस्तो आग्रह गरेको हो ।

संघले वर्षाका कारण साना तथा ठूला नदीहरूमा जलस्तर बढ्न सक्ने, सहरी तथा तराई क्षेत्र डुबानमा पर्न सक्ने र बाढी, पहिरो तथा भूक्षयका कारण हवाई र सडक यातायात प्रभावित हुन सक्ने जोखिम औंल्याइएको छ । साथै हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना रहेकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन सूचित गरेको छ । 

यस परिस्थितिलाई मध्यनजर गर्दै संघका अध्यक्ष अध्यक्ष प्रताप जंग पाण्डेद्वारा हस्ताक्षरित सर्कुलरमा सदस्य वायुसेवा कम्पनीहरूलाई उडान सञ्चालन गर्दा पूर्ण सुरक्षाको प्रत्याभूति गरेर मात्र उडान गर्न अनुरोध गरिएको छ ।

यसैगरी, वर्षाका कारण हुन सक्ने सम्भावित बाढी, पहिरो तथा विपद्को समयमा तत्काल उद्धार कार्य सञ्चालन गर्नुपर्ने हुन सक्न संघले जनाएको छ ।  यस परिस्थितिमा सदस्य वायुसेवा कम्पनीहरूलाई जुनसुकै समयमा उडानका लागि तयारी अवस्थामा बस्न संघले निर्देशन दिएको छ ।

Share News