काठमाडौं । ताप्लेजुङको ६ हजार ३५५ मिटर अग्लो दङ्गा पिक ३५ जनाको टोलीले सफलतापूर्वक आरोहण गरेको छ ।
नेपाल पर्वतारोहण सङ्घ र दिगो पर्यटन परियोजनाको संयुक्त आयोजनामा सञ्चालित दोस्रो ग्रीष्मकालीन सीप विकास तालिममा सहभागी २९ जना र ६ जना प्रशिक्षकसहित ३५ जनाले दङ्गा पिक आरोहण गरेका हुन् ।
व्यावसायिक पर्वतीय पथप्रदर्शक बन्न आवश्यक ज्ञान, सीप र उच्च हिमाली क्षेत्रमा काम गर्ने व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर गेल्जे शेर्पाले जानकारी दिए ।
उनका अनुसार तालिमअन्तर्गत सहभागीलाई काठमाडौंमा सैद्धान्तिक ज्ञान, चट्टान आरोहणलगायत प्रारम्भिक तथा तयारीसम्बन्धी प्रशिक्षण दिइएको थियो । त्यसपछि ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा रहेको दङ्गा पिकमा लगेर हिमाली वातावरणमा प्रत्यक्ष अभ्यास गराइएको थियो ।
उच्च हिमाली क्षेत्रमा पर्वतीय पथप्रदर्शकका रूपमा काम गर्दा सामना गर्नुपर्ने चुनौती र जोखिमबारे प्रत्यक्ष अनुभव गराउनु तालिमको मुख्य उद्देश्य रहेको सङ्घले जनाएको छ ।
हिमाली क्षेत्रमा पुगेर अभ्यास गर्दा सहभागीले हिमाली भूगोल, आरोहण प्रविधि, सुरक्षा तथा कठिन परिस्थितिमा काम गर्ने सीपलाई व्यवहारमै प्रयोग गर्ने अवसर पाएका थिए । सहभागीका अनुसार तालिमले उच्च हिमाली क्षेत्रमा काम गर्ने व्यावहारिक ज्ञान र आत्मविश्वास बढाउन सहयोग गरेको छ ।
अध्यक्ष शेर्पाका अनुसार दङ्गा पिक आरोहण तालिमको महत्वपूर्ण हिस्सा हो । ६ हजार मिटरभन्दा अग्लो हिमालमा गराइने यस्तो अभ्यासले सहभागीको प्राविधिक क्षमता परीक्षण गर्नुका साथै व्यावसायिक पर्वतीय पथप्रदर्शकका रूपमा काम गर्न आवश्यक दक्षता र आत्मविश्वास बढाउने पर्वतारोही तेम्बा छिरी शेर्पाले बताए ।
दोस्रो ग्रीष्मकालीन सीप विकास तालिम ६ जना प्रशिक्षकसहित २९ जना सहभागीको सहभागितामा सञ्चालन भएको थियो । तालिम तथा दङ्गा पिक आरोहण सफलतापूर्वक सम्पन्न गरेपछि नेपाल पर्वतारोहण सङ्घको प्रशिक्षण टोली काठमाडौं फर्किएको सङ्घका दीपक गुरुङले जानकारी दिए ।
यो तालिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट स्वीकृत १ हजार ६९६ घण्टे व्यावसायिक पर्वतीय पथप्रदर्शक पाठ्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो । पाठ्यक्रममा पर्वतीय पथप्रदर्शकका लागि आवश्यक सैद्धान्तिक ज्ञानसँगै चट्टान आरोहण, हिमाली क्षेत्रमा गरिने अभ्यास तथा वास्तविक पर्वतीय वातावरणमा काम गर्ने सीपलाई समेटिएको छ ।
सङ्घले तालिम सफलतापूर्वक सम्पन्न गरी दङ्गा पिक आरोहण गर्न सफल सबै सहभागीलाई बधाई दिएको छ । साथै, तालिम सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ६ जना प्रशिक्षक तथा सम्पूर्ण प्रशिक्षण टोलीप्रति आभार व्यक्त गरेको छ ।
नेपालको पर्वतीय पर्यटन विस्तारसँगै दक्ष र व्यावसायिक पथप्रदर्शकको आवश्यकता बढिरहेका बेला यस्ता व्यावहारिक तालिमले हिमाली पर्यटनलाई थप सुरक्षित, व्यवस्थित र व्यावसायिक बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।