काठमाडौं । छाया देवी कम्प्लेक्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ८९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३.४८ प्रतिशत अर्थात् ३ करोड रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ८६ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको मुख्य आम्दानीको स्रोत होटल सञ्चालन हो । यसबाहेक क्यासिनो तथा भाडालगायतका स्रोतबाट पनि आम्दानी गर्दै आएको छ । गत आर्थिक वर्षमा होटल सञ्चालनबाट भएको आम्दानी अघिल्लो वर्षको तुलनामा करिब ७ प्रतिशतले बढेर ८० करोड १० लाख रुपैयाँ पुगेको छ । औसत कोठा दरमा भएको वृद्धि तथा करिब ७२ प्रतिशतको कोठा उपयोग दर कायम गर्न सफल भएकाले होटल आम्दानी बढेको हो ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ८५ करोड ७० लाख रुपैयाँ, आव २०७९/८० मा ८३ करोड ७० लाख रुपैयाँ, आव २०७८/७९ मा ८४ करोड ६० लाख रुपैयाँ र आव २०७७/७८ मा १ अर्ब ८७ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
१६७ कोठा क्षमताको पाँचतारे होटलसहित व्यावसायिक खुद्रा मल सञ्चालन गर्दै आएको छाया देवी कम्प्लेक्स सन् २००८ को जनवरीमा स्थापना भएको हो । कम्पनीले आफ्नो कुल क्षेत्रफलमध्ये ५१ प्रतिशत होटल सञ्चालनका लागि र बाँकी क्षेत्र व्यावसायिक कम्प्लेक्सका लागि छुट्याएको छ । व्यावसायिक कम्प्लेक्सले सन् २०१८ अक्टोबरदेखि व्यावसायिक सञ्चालन सुरु गरेको थियो । त्यसको करिब ९ महिनापछि सन् २०१९ जुलाईदेखि होटल सञ्चालनमा आएको हो ।
छाया देवी कम्प्लेक्सको सञ्चालक समितिको अध्यक्षता पृथ्वीबहादुर पाण्डेले गर्दै आएका छन् । बैंकिङ क्षेत्रमा चार दशकभन्दा बढीको अनुभव भएका पाण्डे हाल नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षका रूपमा कार्यरत छन् । कम्पनीका प्रबन्ध निर्देशक महेश्वरप्रकाश श्रेष्ठ हिमालयन इन्फ्रास्ट्रक्चर फन्डका सञ्चालकसमेत हुन् । उनीसँग वित्त तथा बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव रहेको छ ।
छाया देवी कम्प्लेक्सले स्टारवुड एसिया प्यासिफिक होटल्स एन्ड रिसोट्र्स प्राइभेट लिमिटेडसँग इजाजतपत्र सम्झौता गरेको छ । उक्त कम्पनी म्यारियट इन्टरनेसनलको स्वामित्वमा रहेको छ । सम्झौताअनुसार छाया देवी कम्प्लेक्सले आफ्नो होटल ‘एलफ्ट’ ब्रान्डअन्तर्गत सञ्चालन गर्ने अधिकार पाएको छ । साथै, कम्पनीले स्टारवुडको विश्वव्यापी होटल आरक्षण प्रणालीमा पहुँच तथा मताधिकार प्राप्त होटललाई उपलब्ध गराइने विभिन्न सेवाको सुविधा प्राप्त गर्नेछ । विश्वव्यापी रूपमा स्थापित होटल ब्रान्डसँगको आबद्धताले कम्पनीलाई स्थापित सेवा प्रणाली, ठूलो ग्राहक आधार, बजारीकरण सहयोग तथा परिचित ब्रान्डको लाभ प्राप्त हुने अपेक्षा गरिएको छ । यसले होटलमा पाहुना बुकिङ बढाउन तथा आम्दानी विस्तारमा सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।
कम्पनीअन्तर्गतको होटल काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा अवस्थित छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६.२ किलोमिटर दूरीमा रहेको होटल काठमाडौंका प्रमुख पर्यटकीय तथा सांस्कृतिक स्थलको समेत पहुँचमा छ । काठमाडौं अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपालको प्रमुख प्रवेशद्वार हुनुका साथै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले होटलले पर्यटकको निरन्तर आवागमनबाट लाभ लिन सक्ने देखिन्छ । काठमाडौंका सात विश्व सम्पदा क्षेत्र, तीन दरबार क्षेत्र तथा अन्य पर्यटकीय स्थलको निकटताले पनि होटलको व्यवसायमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, हिमाली दृश्यावलोकनका लागि प्रसिद्ध नगरकोट होटलबाट करिब २८ किलोमिटरको दूरीमा रहेको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल १ अर्ब ८५ करोड रुपैयाँ ऋण लिएको छ । यसमध्ये १ अर्ब ८० करोड ७० लाख रुपैयाँ दीर्घकालीन र ४ करोड ३० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । कम्पनीको ऋणको ब्याजदर चलायमान ब्याजदर प्रणालीमा आधारित रहेकाले बैंक तथा वित्तीय संस्थाको आधारदरमा हुने परिवर्तनसँगै ब्याज खर्चमा समेत उतारचढाव आउन सक्छ । ब्याजदर बढेमा कम्पनीको नाफामा दबाब पर्न सक्ने जोखिम रहेको छ ।
छाया देवी कम्प्लेक्स लिमिटेड सन् २०२१ जुन २५ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँका दरले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि १४ लाख ३७ हजार ५०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।
प्रस्तावित आईपीओबाट कम्पनीले सर्वसाधारणबाट ५७ करोड ५० लाख रुपैयाँ संकलन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटलले पाएको छ ।