काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिमरा विमानस्थलभित्र रहेको खाली जग्गा कृषि प्रयोजनका लागि भाडामा दिने भएको छ । प्राधिकरणअन्तर्गत सिमरा नागरिक उड्डयन कार्यालयले विमानस्थल क्षेत्रभित्र रहेका २४ बिघा जग्गालाई तीन वटा प्लटमा विभाजन गरी कृषि प्रयोजनका लागि ठेक्का बन्दोबस्त गर्न लागेको हो ।
कार्यालयका अनुसार प्लट नम्बर १ धावनमार्गको पश्चिमपट्टि रहेको ३ बिघा १७ कठ्ठा क्षेत्रफलको जग्गा हो । उक्त जग्गाका लागि पाँच वर्षको न्यूनतम ठेक्का रकम मूल्य अभिवृद्धि करबाहेक १२ लाख ५२ हजार ५ सय २१ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, प्लट नम्बर २ अन्तर्गत भीओआर तथा डीएमई रहेको क्षेत्रमा १० बिघा जग्गा रहेको छ । उक्त जग्गाका लागि पाँच वर्षको न्यूनतम ठेक्का रकम २३ लाख २७ हजार ९२ रुपैयाँ तोकिएको छ ।
प्लट नम्बर ३ डुम्मरवाना जाने बाटोको उत्तरपट्टि रहेको ११ बिघा क्षेत्रफलको जग्गा हो । उक्त प्लटका लागि पाँच वर्षको न्यूनतम ठेक्का रकम २५ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको कार्यालयले जनाएको छ ।
तीनै प्लटका लागि बोलपत्र फाराम दस्तुर मूल्य अभिवृद्धि करसहित ३ हजार ३ सय ९० रुपैयाँ तोकिएको छ । इच्छुक संस्था, फर्म वा कम्पनीले कबोल रकमको पाँच प्रतिशत बराबरको बोलपत्र जमानत पेस गर्नुपर्नेछ ।