काठमाडौं । पर्यटन व्यवसायी राजकुमार देवकोटाले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
वल्ड फेभर एण्ड टुर्सका सञ्चालक देवकोटाले भरतजंग पाण्डेको समूहबाट महासचिव पदमा उम्मेदवार घोषणा गरेका हुन् ।
उनी २६ वर्षदेखि नेपालको पर्यटन उद्योगमा निरन्तर सक्रिय रहँदै आएका छन्। देवकोटाले पर्यटन व्यवसायसँगै नाट्टाको संस्थागत गतिविधिमा समेत लामो समयदेखि योगदान दिँदै आएका छन्।
उनी २०२०/ २२ को नाट्टा कार्यसमितिमा सदस्य तथा २०२२–२४ मा कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। पर्यटन क्षेत्रमा संगालेको अनुभवलाई आगामी कार्यकालमा संस्थाको सुदृढीकरणका लागि उपयोग गर्ने उनले बताए।
नाट्टाको स्थापनाकालदेखि संस्थाको विकास र उद्देश्य प्राप्तिका लागि योगदान पुर्याउँदै आएका अग्रजहरूको योगदानलाई सम्मान गर्दै सदस्यहरूको हकहितमा काम गर्ने आफ्नो मुख्य उद्देश्य रहेको देवकोटाले बताएका छन्।
उनले नाट्टालाई पारदर्शी, सबल, प्रभावकारी र सदस्य केन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पर्यटन व्यवसायीका समस्या समाधान, संस्थागत क्षमता अभिवृद्धि तथा पर्यटन क्षेत्रको विकासमा प्रभावकारी भूमिका खेल्ने उनको भनाइ छ।
२०२६ साउन १४ गते हुने नाट्टाको कार्यसमिति निर्वाचनमा महासचिव पदमा उम्मेदवारी मनोनयनदर्ता गरिसकेपछि देवकोटाले ‘सशक्त नाट्टा, समृद्ध पर्यटन’ आफ्नो मुख्य प्रतिबद्धता रहेको बताएका छन्।