कैलाश हेलिकप्टरको आम्दानी साढे ३९ करोड, ५० प्रतिशत हिस्सा साहसिक पर्यटन

जेनजी आन्दोनलका कारण २६.३५ प्रतिशत घट्यो आम्दानी

काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडको सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा २६.३५ प्रतिशतले घटेको छ । कम्पनीले उक्त अवधिमा ३९ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ५३ करोड ५० लाख रुपैयाँको तुलनामा १४ करोड १० लाख रुपैयाँ कम हो ।

कम्पनीका अनुसार गत भदौमा भएको जेनजी आन्दोलन तथा त्यसपछिको प्रभावले नेपालको पर्यटन क्षेत्रमा असर पर्दा लक्षित ग्राहक वर्ग प्रभावित भएको थियो । त्यसकै प्रभाव स्वरूप उडान सङ्ख्या र सञ्चालन आम्दानीमा गिरावट आएको हो ।

सञ्चालन नाफा मार्जिन पनि अघिल्लो वर्षको ९ महिनामा रहेको ४२ प्रतिशतबाट घटेर गत वर्षको सोही अवधिमा ३५ प्रतिशतमा सीमित भएको छ । उडान घण्टा घट्नु, प्रति उडान घण्टाबाट हुने आम्दानी कम हुनु तथा तुलनात्मक रूपमा कम प्रतिफल दिने उद्धार र मालवाहक उडानको हिस्सा बढ्नुले नाफामा दबाब परेको कम्पनीले जनाएको छ ।

यद्यपि दीर्घकालीन रूपमा कम्पनीको आम्दानी वृद्धिको क्रम भने सकारात्मक देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ८१ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ७९ करोड ४० लाख रुपैयाँ, आव २०७९/८० मा ७० करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा ४० करोड ४० लाख रुपैयाँ, आव २०७७/७८ मा ३२ करोड १० लाख रुपैयाँ र आव २०७६/७७ मा ३० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सन् २०१७ मा स्थापना भएको कैलाश हेलिकप्टर सर्भिसेज नेपालका अग्रणी हेलिकप्टर सेवा प्रदायक कम्पनीमध्ये एक हो । कम्पनीले चार्टर उडान, उद्धार सेवा, स्लिङ सञ्चालन तथा एभरेस्ट आधार शिविर र अन्नपूर्ण आधार शिविर लक्षित साहसिक हवाई भ्रमण सेवा सञ्चालन गर्दै आएको छ। हाल कम्पनीसँग एयरबसका तीन वटा हेलिकप्टर रहेका छन् ।

कम्पनी ७ जना व्यक्तिगत प्रवर्द्धकद्वारा स्थापित भएको हो । सन् २०२६ अप्रिलसम्म कम्पनीको चुक्ता पुँजी ३४ करोड ७० लाख रुपैयाँ पुगेको छ । अध्यक्ष क्याप्टेन आशिष शेरचन र प्रबन्ध निर्देशक प्रतापजङ्ग पाण्डेयको संयुक्त सेयर स्वामित्व करिब ४० प्रतिशत रहेको छ । सञ्चालकहरूमा सुनिल श्रेष्ठ, रमेश पण्डित, श्रीराम केसी र ईश्वरी पौडेल रहेका छन् ।

null

कम्पनीका अनुसार हेलिकप्टर सेवा क्षेत्रमा नयाँ कम्पनी प्रवेश गर्न अझै पनि उच्च अवरोध रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी, दक्ष प्राविधिक जनशक्तिको अनिवार्यता तथा आर्थिक वर्ष २०२७/२८ भित्र कम्तीमा ५ वटा हेलिकप्टर सञ्चालनमा ल्याउनुपर्ने व्यवस्थाजस्ता प्रावधानले नयाँ कम्पनीको प्रवेश कठिन बनाएका छन् । यसले बजारमा स्थापित कम्पनीहरूको प्रतिस्पर्धात्मक अवस्था बलियो रहने कम्पनीको विश्वास छ ।

कम्पनीको करिब ५० प्रतिशत आम्दानी साहसिक पर्यटनबाट प्राप्त हुन्छ । यसमध्ये एभरेस्ट आधार शिविरबाट करिब ४८ प्रतिशत र अन्नपूर्ण आधार शिविरबाट करिब २ प्रतिशत आम्दानी हुने गरेको छ । उद्धार सेवाबाट करिब ३० प्रतिशत तथा मालवाहक उडानबाट करिब २० प्रतिशत आम्दानी हुने गरेको कम्पनीले जनाएको छ ।

मुख्य पर्यटकीय गन्तव्यमा सामाजिक वा वातावरणीय कारणले अवरोध सिर्जना भए कम्पनीको आम्दानी र नाफामा प्रत्यक्ष असर पर्न सक्ने जोखिम रहेको कम्पनीको भनाइ छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल आम्दानीमध्ये करिब ५८ प्रतिशत शीर्ष १० ग्राहकबाट प्राप्त भएकाले प्रमुख ग्राहक वा व्यावसायिक साझेदारमा हुने परिवर्तनले पनि आम्दानीमा प्रभाव पार्न सक्ने देखिएको छ ।

हवाई इन्धन कम्पनीको प्रमुख सञ्चालन खर्च भएकाले यसको मूल्यमा हुने उतारचढावले नाफामा प्रत्यक्ष असर पार्ने कम्पनीले जनाएको छ । साथै, हेलिकप्टर, इन्जिन तथा जगेडा पुर्जाको खरिद र मर्मतसम्भारका लागि विदेशी मुद्रामा भुक्तानी गर्नुपर्ने भएकाले विनिमय दरको उतारचढाव पनि अर्को प्रमुख जोखिमका रूपमा रहेको छ ।

दुर्गम भौगोलिक अवस्था, अनिश्चित मौसम, दक्ष जनशक्तिको सीमित उपलब्धता तथा पर्यटन उद्योगको मौसमी प्रकृतिका कारण कम्पनीको व्यवसायमा समय–समयमा चुनौती आउन सक्ने देखिन्छ । आर्थिक मन्दी, यात्रा प्रतिबन्ध वा पर्यटकीय मुख्य मौसममा सेवा अवरुद्ध भए कम्पनीको वित्तीय कार्यसम्पादनमा उल्लेख्य असर पर्न सक्ने कम्पनीले जनाएको छ ।

Share News