एआईमार्फत ब्रान्ड र क्रिएटर जोड्ने ‘भिल’ नेपालमा सार्वजनिक
काठमाडौं । एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भिल’ ले नेपाल र भारतमा औपचारिक रूपमा सेवा सुरु गरेको छ । कम्पनीले दक्षिण एसियाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै व्यवसाय र कन्टेन्ट क्रिएटरलाई एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने लक्ष्यसहित सेवा शुभारम्भ गरेको जनाएको छ । कम्पनीका अनुसार ‘भिल’ले व्यवसाय र क्रिएटरबीचको सहकार्यलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने एकीकृत प्रणाली उपलब्ध गराउँछ । यसमार्फत व्यवसायहरूले उपयुक्त क्रिएटर छनोट, क्याम्पेन सञ्चालन, भिडियो सम्पादन तथा स्वीकृति, भुक्तानी व्यवस्थापन र कन्टेन्टको अधिकार संरक्षण गर्न सक्नेछन् । नेपाल र भारतका क्रिएटरहरूले स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रत्यक्ष सहकार्य गर्ने अवसर पनि प्राप्त गर्ने कम्पनीको दाबी छ । औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिलीप ढकालले नेपाल र भारतमा ‘भिल’को सुरुवात दक्षिण एसियाको क्रिएटर अर्थतन्त्रलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउने दीर्घकालीन अभियानको हिस्सा भएको बताए । उनले प्लेटफर्मले क्रिएटरलाई दिगो करियर निर्माण गर्न र व्यवसायलाई प्रभावकारी डिजिटल कन्टेन्टमार्फत वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपालका लागि अमेरिकी नियोगका कार्यवाहक प्रमुख स्कट उर्बोम तथा नेपालका लागि कोस्टारिकाका मानार्थ महावाणिज्यदूत एवं ग्लोबल इक्विटी फन्डका संस्थापक प्रबन्ध साझेदार डा. मनीष थापा विशेष अतिथिका रूपमा सहभागी भएका थिए । कम्पनीका अनुसार हाल ‘भिल’मार्फत विश्वभर ४५० भन्दा बढी ब्रान्ड, ५ लाख ५० हजारभन्दा बढी प्रमाणित क्रिएटर तथा १२१ भन्दा बढी देश आबद्ध छन् । नेपाल र भारतका व्यवसायहरूले वेबसाइटमार्फत तथा क्रिएटरहरूले मोबाइल एपमार्फत प्लेटफर्म प्रयोग गर्न सक्नेछन् । नेपालमा स्थानीय भुक्तानीलाई सहज बनाउन कम्पनीले एनसीएचएल, फोनपे, ईसेवा, खल्ती र हाम्रो पे सँग साझेदारी गरेको जनाएको छ । कम्पनीका अनुसार यसले नेपाली क्रिएटर अर्थतन्त्रलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
फाइभ-जी स्पेक्ट्रम किन्न १० मेगाहर्जकै २६० करोड रुपैयाँ
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले फाइभ–जी सेवाका लागि आवश्यक स्पेक्ट्रम लिलामीको आधारमूल्य (बेसरेट) प्रस्ताव गर्ने तयारी गरेको छ । प्राधिकरण स्रोतले उपलब्ध गराएको मस्यौदा तथा परामर्श दस्तावेजअनुसार ७०० मेगाहर्ज ब्यान्डको मूल्य सबैभन्दा महँगो प्रस्ताव गरिएको छ । प्राधिकरणले ७०० मेगाहर्ज ब्यान्डको आधारमूल्य प्रति मेगाहर्ज २६ करोड रुपैयाँ, ३५०० मेगाहर्ज (३.५ गिगाहर्ज) ब्यान्डको प्रति मेगाहर्ज २ करोड २५ लाख रुपैयाँ तथा २६ गिगाहर्ज ब्यान्डको प्रति मेगाहर्ज १३ लाख रुपैयाँ प्रस्ताव गरेको छ । यही आधार मूल्यका आधारमा स्पेक्ट्रम लिलाम प्रक्रिया सञ्चालन गरिने प्राधिकरण स्रोतले जनाएको छ । प्रस्तावित दरअनुसार कुनै दूरसञ्चार सेवा प्रदायकले ३५०० मेगाहर्ज ब्यान्डमा १०० मेगाहर्ज स्पेक्ट्रम खरिद गर्न चाहे न्यूनतम २२५ करोड रुपैयाँ तिर्नुपर्ने प्राधिकरण स्रोतले जानकारी दियो । त्यसैगरी, ७०० मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज स्पेक्ट्रमका लागि मात्रै २६० करोड रुपैयाँ बराबरको न्यूनतम बोलकबोल मूल्य लाग्ने स्रोतको भनाइ छ । प्राविधिक रूपमा ७०० मेगाहर्ज ब्यान्डले कम टावरबाट ठूलो भौगोलिक क्षेत्रमा सेवा विस्तार गर्न सक्ने भएकाले यसको मूल्य अन्य ब्यान्डको तुलनामा धेरै निर्धारण गरिएको हो । ग्रामीण तथा दुर्गम क्षेत्रमा उच्च गुणस्तरको फाइभ-जी सेवा विस्तारका लागि यो ब्यान्डलाई सबैभन्दा प्रभावकारी मानिन्छ । स्रोतका अनुसार ३५०० मेगाहर्ज ब्यान्ड उच्च गतिको डेटा सेवाका लागि उपयुक्त मानिए पनि यसको कभरेज अपेक्षाकृत सीमित हुन्छ भने २६ गिगाहर्ज ब्यान्ड अत्याधिक क्षमतायुक्त भए पनि धेरै घना टावर पूर्वाधार आवश्यक पर्छ । यद्यपि प्राधिकरणले आधार मूल्य प्रस्ताव गरिसके पनि नेपालमा फाइभ-जी स्पेक्ट्रमको व्यावसायिक लिलामी प्रक्रिया अझै सम्पन्न भएको छैन । त्यसैले दूरसञ्चार सेवा प्रदायकहरूले पूर्ण रूपमा व्यावसायिक फाइभ-जी सेवा सञ्चालन गर्न आवश्यक स्पेक्ट्रम प्राप्त गर्न सकेका छैनन् ।
नेपालमा डेल बेचेर आईटी ग्लोबलको आम्दानी १ अर्ब बढी, बैंक ऋण १.६७ अर्ब
काठमाडौं । आईटी ग्लोबल प्राइभेट लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को साढे ११ महिनामा १ अर्ब ७ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २ करोड ५० लाख रुपैयाँ, आव २०८०/८१ मा ९८ करोड रुपैयाँ, आव २०७९/८० मा १ अर्ब २ करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा १ अर्ब ५८ करोड ५० लाख रुपैयाँ तथा आव २०७७/७८ मा ५० करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीका अनुसार कुल आम्दानीको अधिकांश हिस्सा डेल ब्रान्डका ल्यापटप र डेस्कटपको बिक्रीबाट प्राप्त हुने गरेको छ । सन् २००८ मेमा स्थापना भएको आईटी ग्लोबलले नेपालमा उपभोक्ता इलेक्ट्रोनिक्स सामग्रीको व्यापार तथा वितरण गर्दै आएको छ । कम्पनी नेपालमा डेल ब्रान्डका उत्पादनहरूको तीन आधिकारिक वितरकमध्ये एक हो । कम्पनीको शतप्रतिशत स्वामित्व तथा व्यवस्थापन अकबर हुसेनको हातमा रहेको छ । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका हुसेनले स्थापना कालदेखि नै कम्पनीको नेतृत्व गर्दै आएका छन् । कम्पनीले आफ्नो सहायक कम्पनी म्याक्स इन्टरनेशनलमार्फत काठमाडौंसहित देशका प्रमुख सहरहरूमा डिलर तथा वितरण सञ्जाल विस्तार गरेको छ । कम्पनीको पूँजी संरचना अझै ऋणमा आधारित रहेको छ । यद्यपि, नाफा सञ्चित हुँदै जाँदा कम्पनीको वित्तीय सूचकमा सुधार देखिएको छ । चालु आवको पसाढे ११ महिनामा कम्पनीको सञ्चालन नाफा ७.१७ प्रतिशत र खुद नाफा मार्जिन ४.७१ प्रतिशत पुगेको छ । तर, ग्राहकलाई लामो अवधिको उधारो सुविधा दिनुपर्ने अवस्थाका कारण कम्पनीको कार्यशील पुँजीको आवश्यकता उच्च रहेको छ । बैंकबाट लिएको कार्यशील पुँजी कर्जामा कम्पनीको निर्भरता पनि उल्लेख्य छ । हाल कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये ६६ करोड ६२ लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब १ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । यस्तै, कम्पनीले आपूर्तिकर्तामाथिको उच्च निर्भरता, गैर-विशेष वितरण सम्झौता, इलेक्ट्रोनिक्स बजारको तीव्र प्रतिस्पर्धा, प्रविधिको तीव्र परिवर्तन, आयातसम्बन्धी सरकारी नीतिमा हुने परिवर्तन तथा अमेरिकी डलरमा खरिद र नेपाली रुपैयाँमा बिक्री गर्नुपर्ने अवस्थाका कारण विदेशी विनिमय दरको उतारचढावबाट समेत जोखिम सामना गरिरहेको जनाएको छ ।