‘विकास नायक २०८२’ को खोजी

विकास मिडियाद्वारा प्रकाशित Bikashnews.com र देशविकास पत्रिकाले विगतमा झैं यस वर्ष पनि विकास नायकको खोजी गर्ने, उनीहरूले गरेको कार्यहरूको रिपोर्ट बनाउने, विकासन्युज (डिजिटल पत्रिका) र देशविकास म्यागेजिनमा प्रकाशन गर्ने तयारीमा रहेका छौं । यस वर्षदेखि विकास नायकहरुलाई सम्मानसमेत गर्ने तयारी भइरहेको छ ।  विकास नायक मनोनयन फारम भर्न यहाँ क्लिक गर्नुहोस् । देशविकासका लागि बहुआयामिक सूचकाङ्क हुन्छन् । पर्याप्त अवसरसहित उच्चस्तरकोे आम्दानी र गुणस्तरीय जीवनशैली आधुनिक विकासको प्रमुख सूचक हुन् । त्यसको लागि लगानी वृद्धि र उच्चदरको आर्थिक वृद्धि पहिलो आधार हो । प्रभावकारी नीति निर्माण, प्रशासनिक सुधार, विश्वासिलो सुरक्षा तथा न्याय प्रणालीको विकास राज्यस्तरबाट अनिवार्य हुनैपर्छ । आधुनिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा हरेक मानिसको लागि गाँस, बास र कपास जत्तिकै आधारभूत आवश्यकता हुन् । नवीन प्रविधिको विकास र प्रयोगले सबै मानिसको जीवनशैली सरल बन्दै गएको छ । अवसरहरू सिर्जना गर्नका लागि पूर्वाधार निर्माण, उद्योग, व्यापार, कृषि, पर्यटन, यातायात तथा विविध सेवा क्षेत्रमा लगानी वृद्धि हुनैपर्छ । बैंकिङ, बीमा, पुँजीबजार लगायत वित्तीय सेवाको क्षेत्रले अर्थतन्त्रमा रक्तसञ्चारको काम गरिरहेको छ । खेलकुद, कला, संस्कृति र समाजसेवाका कार्यले समाजलाई सुन्दर र सन्तुष्ट बनाउन मद्दत गर्छ ।   हरेक क्षेत्रमा उल्लेखनीय र दीर्घकालीन विकासमा उल्लेख्य योगदान गर्ने व्यक्ति (प्राकृतिक व्यक्ति तथा संस्था) नै विकास नायक हुन् । विकास नायकहरूले नै हो देश समृद्ध बनाउने । देश विकासको कार्य निरन्तर चलिरहन्छ । समाजमा विकास नायकको जन्म पनि भइरहन्छ । यही मान्यतामा आधारित रहेर विकास मिडियाले हरेक वर्ष १० विकास नायकको खोजी गर्ने र उनीहरूले गरेका अनुकरणीय कार्य रिपोर्टिङि गर्ने, देशविकास पत्रिका र विकासन्युज अनलाइनमा प्रकाशित गर्ने कार्य गर्दै आएको छ । हामी यस वर्षदेखि विकास नायकहरूलाई सम्मान कार्यक्रमको समेत तयारीमा रहेका छौं ।  जसले देश विकासमा साहसिक काम गरेको छ, उदाहरणीय काम गरेको छ र अरुलाई उत्प्रेरित गरेको छ–उसको खोजी गर्नु र कुनै एक स्थानमा भएको अनुकरणीय कार्यको सन्देश समाजका अन्य स्थानका समूदायसम्म पुर्याउनु, सफलताका कार्याअनुभव अरूलाई पनि सुनाउनु र मानिसहरूमा सकारात्मक सन्देशसहित उत्प्रेरणा जगाउनु यस अभियानको लक्ष्य हो ।  तपाईंको सिफारिस, तपाईंले दिएको सूचना, सम्बद्ध स्रोतहरूबाट प्राप्त सूचनाहरू, हाम्रा सहकर्मीहरूले संकलन गरेको सूचनाहरूको आधारमा हामी सम्भावित पात्रहरूको सूची बनाउँछौं । उनीहरूले गरेको कार्यले अर्थतन्त्र र समाजमा परेको प्रभाव, त्यसमा अपनाइएको नवप्रवर्तन, सहभागिता, समावेशीता, पारदर्शिता, नैतिकता, त्यस कार्यको स्थायित्व र त्यसले दिने प्रेरणादायी सन्देशलगायत मानकका आधारमा छनौट समितिले लिएको निर्णयका आधारमा हामी आन्तरिक रूपमा फरक–फरक विधाबाट १० विकास नायक सूची बनाउँछौं । उनीहरूको काम र प्रभावबारे रिपोर्ट बनाउँछौं, प्रकाशित गर्छौं । प्रबुद्ध वर्गको उपस्थितिमा विकास नायक घोषणा गर्छौ र सम्मान गर्दछौं ।  विकास नायक घोषणा र सम्मान विकास मिडियाको वार्षिक उत्सवका दिन अर्थात् जनवरी पहिलो आइतबार अर्थात् २०८२ पुस २० गते गरिनेछ । आउनूहोस्, विकास नायक छनौटमा सहभागी हुनूहोस् । मनोनयन फारम २०८२ मंसिर १८ गतेसम्म भरिसक्नुपर्नेछ । (मंसिर ८ गते अपडेट गरिएको-सम्पादक) यो पनि पढ्नुहोस् ‘विकास नायक’ मनोनयन समय थप्ने निर्णायक समितिको निर्णय सिधा सम्पर्क: [email protected], whatsapp 9801130454 विकास नायक श्रृङ्खला  

एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क

काठमाडौं । एनसेलले आकर्षक ‘११ः११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको जनाएको छ । क्यापेनअन्तर्गत मंगलबारको दिन एनसेल एपमार्फत २०० रुपैयाँ वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकहरूमध्ये ११ जना भाग्यशाली ग्राहकले ११ दिन समयसीमा भएको ११ जीबी डेटा निःशुल्क पाउनेछन् । ११ः११ उत्सवको अवसरमा भोलि एक दिनका लागि सञ्चालन हुने यो विशेष अफरको उद्देश्य प्रिपेड ग्राहकहरूलाई डेटाले पुरस्कृत गर्नुका साथै विश्वव्यापी ११ः११ ट्रेन्डसँग मेल खाने रमाइलो तथा आकर्षक अनुभव प्रदान गर्नु रहेको छ ।  ‘वन स्टप सेल्फ–केयर एप’ का रूपमा चिनिने एनसेल एपमार्फत ग्राहकहरूले विभिन्न भ्वाइस तथा डेटा प्याक खरिद गर्न, अनलाइन रिचार्ज गर्न, मासिक बिल हेर्न, आफ्नो उपयोग गर्न बाँकी सेवाहरू हेर्न, रोमिङसहितका सेवा सक्रिय/निष्क्रिय गर्न र गिफ्टका रूपमा सेवाका विभिन्न प्याकहरु पठाउन पनि सक्छन् । एपमा अनलाइन तथा अफलाइन गेमहरू खेल्ने, समाचारहरु हेर्न सकिनेलगायतका अन्य रोमाञ्चक सुविधाहरू पनि उपलब्ध छन् । ग्राहकहरूले गुगल प्ले स्टोर वा एप स्टोरबाट एनसेल एप डाउनलोड गरी एपका सेवाहरूको फाइदा लिन सक्छन् । ११ः११ चीनबाट सुरु भएको विश्वकै सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सवको रूपमा विकसित भइसकेको एक ट्रेन्ड हो । ठूलो परिमाणका सेल, फ्ल्यास डिल, काउन्टडाउन अफर र सीमित समयका छुटहरूले गर्दा उपभोक्ताहरूमा ११ः११ को आकर्षण बढ्दो रहेको छ ।

नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी

काठमाडौं । सरकारले काठमाडौंको गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान गरेसँगै यात्रुमा खुसी छाएको छ ।     गुल्मी जानका लागि बसपार्क आएका चन्द्र केसी मानिसको धेरै आवतजावत हुने स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरेर जनताको मन जितेको बताउँछन् । 'काठमाडौं मात्र नभई निःशुल्क इन्टरनेट सेवालाई काठमाडौं बाहिर पनि विस्तार गर्नुपर्छ', उनी भन्छन् ।      दाङ जानका लागि नयाँबसपार्क आएका भूपप्रसाद भुसाल पहिलोपटक बसपार्कमा निःशुल्क इन्टरनेट सेवा पाउँदा ज्यादै खुसी लागेको बताउँछन् । निःशुल्क इन्टरनेटको सेवालाई गाउँगाउँसम्म लैजानुपर्ने उनको भनाइ छ ।      नयाँबसपार्कको काउन्टरमा कार्यरत बच्चुराम भट्ट सरकारले निःशुल्क इन्टरनेट सेवा दिएर धेरै राम्रो काम गरेको बताउँछन् । 'प्रविधिको जमानामा सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट दिँदा यात्रुलाई धेरै सहज भएको छ', भट्ट भन्छन् ।      धादिङका दीपक ढकाल नयाँबसपार्कमा मात्र नभई काठमाडौंभित्रका सबै ठाउँमा निःशुल्क इन्टरनेट सेवा विस्तार हुनुपर्ने बताउँछन् । सरकारले नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा विस्तार गरेर सराहनीय काम गरेको उनको भनाइ छ ।      बस व्यवसायी राकेश भट्ट निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गर्नु मात्र  ठूलो कुरा नभई यसको निरन्तरता ठूलो कुरा भएको बताउँछन् । 'सबैले आफ्नो चर्चाका लागि सुरुमा काम गर्छन्, यसले निरन्तरता पाउँछ की पाउँदैन भन्ने मुख्य कुरा हो', उनी भन्छन् ।      माथि उल्लिखित भनाइ केवल प्रतिनिधिमूलक भनाइ हुन् । गत असोज ६ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका जगदीश खरेलले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्दै दुई महिनाभित्र काठमाडौं उपत्यकाका महत्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाईको पहुँच पुर्याउने निर्णयअनुसार यही कात्तिक १९ गते नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका थिए ।      सरकारको सहकार्यमा भायोनेटले जडान गरेको उक्त इन्टरनेट सेवा एक पटकमा एउटा मोबाइलमा ९० मिनेटसम्म निःशुल्क चलाउन मिल्नेछ । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतम मुलुकको राष्ट्रिय बसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान हुनु खुसी र गौरवको विषय भएको बताउँछन् ।       'नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान भएसँगै यात्रुले प्रविधिको प्रयोग गरेर बसको टिकट प्राप्त गर्न सक्नेछन्', उनी भन्छन् । नयाँबसपार्कबाट हाल दैनिक ७०० देखि ८०० सार्वजनिक सवारीसाधन ओहोरदोहोर गर्दै आएका छन् । जसमा ४०० भन्दा बढी ठूला बस, १५० हाराहारीमा माइक्रोबस र २०० भन्दा बढी काठमाडौं उपत्यकाभित्र चल्ने स्थानीय बस रहेका छन् ।      नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्ल नयाँबसपार्कबाट दैनिक १२ देखि १५ हजार यात्रुको आवतजावत हुने गरेको बताउँछन् । 'सरकारले जडान गरेको निःशुल्क इन्टरनेट सेवा सबै यात्रुको पहुँच हुनुपर्छ, इन्टरनेट कम्पनी र यात्रुबीचको सहजीकरणका लागि लोत्सेले काम गर्नेछ', उनी भन्छन् ।      सरकारले गत हप्ता गोँगबुस्थित नयाँबसपार्कसहित उपत्यकाका १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरेको छ । जसमा वीर अस्पताल, परोपकार प्रसूति गृह, त्रिभुवन शिक्षण अस्पताल, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल अस्पताल, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कीर्तिपुर बर्न अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पताल सहिद धर्मभक्त अस्पताल रहेका छन् ।    यस्तै पशुपति आर्यघाट, यातायात व्यवस्था कार्यालय एकान्तकुना, राधेराधे र ठूलो भर्याङ, भक्तपुर क्यान्सर अस्पताल तथा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल रहेका छन् । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गर्दा आम नागरिकलाई सहज पुग्ने बताउँछन् ।      अध्यक्ष कुँवर सार्वजनिक स्थलमा इन्टरनेटको सुविधा अनिवार्य भएकाले यसलाई आगामी दिनमा अझै व्यवस्थित गर्दै लैजानुपर्ने बताउँछन् ।      सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल सेवाग्राहीको सन्तुष्टिलाई हेरेर आगामी दिनमा इन्टरनेटको क्षमता विस्तार गरिँदै लैजाने बताउँछन् । 'मन्त्रीज्यूले गरेको निर्णयलाई हामी क्रमशः कार्यान्वयन गर्दै लैजान्छौँ', उनी भन्छन् ।      सञ्चारमन्त्री खरेल सरकारले राजधानी काठमाडौंसहित दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तारमा काम गरिरहेको बताउँछन् । 'दार्चुलाको मार्मा, बझाङ, जाजरकोटको वारेकोट र मनाङको तिलिचो बेसक्याम्पमा इन्टरनेट सेवा पुर्याइसकेका छौँ, सोलुखुम्बु, रामेछाप, रौतहट, म्याग्दी, बैतडीलगायतका कमजोर नेटवर्क भएका ठाउँमा इन्टरनेट सेवा पुर्याउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ', मन्त्री खरेल भन्छन् ।      सरकारले काठमाडौं उपत्यकाको निःशुल्क इन्टरनेट सेवाको सफल परीक्षणपछि सातै प्रदेशका राजधानीमा निःशुल्क इन्टरनेट सेवा पुर्याउने लक्ष्य लिएको मन्त्री खरेल बताउँछन् । मन्त्री खरेल सरकारले गाउँ, सहर, सुगम, दुर्गम सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा पुर्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउँछन् । रासस