रुसमा दुई रोबोटले गरे विवाह, एआईको नयाँ प्रदर्शन

काठमाडौं । रुसको राजधानी मस्कोमा दुईवटा ह्युमनोइड (मानव स्वरूपका) रोबोटबीच एक विशेष समारोहका बीच विवाह दर्ता सम्पन्न भएको छ । प्रविधिको विकास र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रभावलाई प्रदर्शन गर्ने उद्देश्यले आयोजित यस अनौठो कार्यक्रममा दुई रोबोटले एक–अर्काप्रति प्रेम र प्रतिबद्धता व्यक्त गरेका हुन् । आधिकारिक विवाह दर्ता कार्यालयको झल्को दिने गरी आयोजना गरिएको उक्त समारोहमा रोबोटहरूले मानव वैवाहिक परम्पराझैं संवाद गरेका थिए । कार्यक्रमका क्रममा दुवै रोबोटले एक–अर्कालाई जीवनसाथीका रूपमा स्वीकार गर्ने घोषणा गरेपछि उपस्थित पाहुनाहरूले उनीहरूको ‘मिलन’लाई ताली बजाएर स्वागत गरेका थिए । यस प्रकारको समारोहले भविष्यमा मानव र मेसिनबीचको अन्तरक्रिया तथा रोबोटिक्सको सामाजिक भूमिकाबारे नयाँ बहस छेडिदिएको छ । प्रविधि क्षेत्रका विज्ञहरूका अनुसार यो कार्यक्रम केवल एक प्रदर्शनी मात्र नभई रोबोटले मानव संवेदना र व्यवहारलाई कुन हदसम्म आत्मसात् गर्न सक्छन् भन्ने प्रयोग पनि हो । यद्यपि यो विवाह कानुनी रूपमा मानव विवाहसरह मान्यता प्राप्त नभए पनि यसलाई प्रविधि र मनोरञ्जनको क्षेत्रमा एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको छ । रुसमा यसअघि पनि प्रविधिसम्बन्धी विभिन्न प्रयोगहरू हुँदै आएका छन्, तर ह्युमनोइड रोबोटबीचको यो औपचारिक विवाह समारोहले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको ध्यान खिच्न सफल भएको छ ।

नेपालमा साढे ३ अर्बको शाओमी मोबाइल बिक्री, वत्सल इम्पेक्सको १.८० अर्ब ऋण

काठमाडौं । शाओमी ब्रान्डको काठमाडौं क्षेत्रका लागि आधिकारिक वितरक वत्सल इम्पेक्स प्रालिले चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा ३ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १५ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ८७ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ५.५८ प्रतिशत अर्थात् २२ करोड ९० लाख रुपैयाँले कम हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको आम्दानी ४ अर्ब १० करोड रुपैयाँ रहेको थियो । कम्पनीका अनुसार आव २०७९/८० मा ३ अर्ब ३३ करोड ४० लाख रुपैयाँ, आव २०७८/७९ मा ५ अर्ब ५ करोड ५० लाख रुपैयाँ, आव २०७७/७८ मा ५ अर्ब ४४ करोड ३० लाख रुपैयाँ, आव २०७६/७८ मा २ अर्ब १३ करोड रुपैयाँ, आव २०७५/७६ मा १ अर्ब १६ करोड ५० लाख रुपैयाँ, आव २०७४/७५ मा १ अर्ब ७ करोड ३० लाख रुपैयाँ र आव २०७३/७४ मा ७१ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको कुल आम्दानीमध्ये ८० प्रतिशतभन्दा बढी हिस्सा अझै पनि शाओमी ब्रान्डका मोबाइल फोन तथा सहायक सामग्रीको बिक्रीबाट आउने गरेको छ । यसले कम्पनीको आम्दानी संरचना शाओमी उत्पादनमै बढी निर्भर रहेको देखाउँछ । सन् २०१२ मा स्थापना भएको वत्सल इम्पेक्स काठमाडौं क्षेत्रका लागि शाओमी स्मार्टफोनको आधिकारिक वितरक हो । नेपालमा स्मार्टफोनमा शाओमीको बलियो उपस्थिति रहेको छ भने सबैभन्दा धेरै आयात हुने स्मार्टफोन ब्रान्डमध्ये एक मानिन्छ । कम्पनीले इजभिजका सुरक्षा क्यामेरा तथा सम्बन्धित उत्पादनहरू पनि नेपालभर वितरण गर्दै आएको छ । कम्पनीको दर्ता कार्यालय काठमाडौंको थापाथलीमा रहेको छ । सन् २०२६ को अप्रिल मध्यसम्म कम्पनीको बिक्री सञ्जालअन्तर्गत १४ डिलर र करिब ५०० खुद्रा विक्रेता रहेका छन् । वत्सल इम्पेक्स शारदा समूहअन्तर्गत सञ्चालनमा रहेको कम्पनी हो । शारदा समूहले नेपालमा उत्पादन, व्यापार, बैंकिङ तथा आवासलगायत विभिन्न क्षेत्रमा व्यवसाय विस्तार गरेको छ । हाल कम्पनीको सेयर स्वामित्व ६ जना व्यक्तिमा रहेको छ, जसमध्ये ५ जना शारदा परिवारसँग सम्बन्धित छन् । कम्पनीका अध्यक्ष बिनित कुमार शारदा हुन् भने नितेश कुमार मुन्द्रा प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन् ।  कम्पनी सन् २०१२ देखि स्मार्टफोन वितरण व्यवसायमा सक्रिय छ । सुरुआती चरणमा यसले भिडियोकोन र पर्पल ब्रान्डका मोबाइल फोन वितरण गर्दै आएको थियो । पछि शाओमीसँग नयाँ वितरण सम्झौता भएपछि ती ब्रान्डको वितरण बन्द गरिएको थियो । यद्यपि, कम्पनीका लागि केही चुनौती पनि देखिएका छन्। भारतसँगको खुला सीमाका कारण नेपाली बजारमा अनियन्त्रित ‘ग्रे मार्केट’ मार्फत मोबाइल फोन बिक्री हुने अवस्था अझै कायम छ । यस्तो अनौपचारिक बजारले आधिकारिक वितरकको व्यापार, मूल्य प्रतिस्पर्धा र बजार हिस्सामा असर पार्न सक्ने भएकाले यसलाई कम्पनीका लागि जोखिमपूर्ण पक्षका रूपमा हेरिएको छ । यसैबीच, कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ८० करोड रुपैयाँ ऋण लिएको जनाएको छ ।  

चितवनमा टेलिकमका १० नयाँ मोबाइल टावर थपिने, फोन नलाग्ने समस्या हटाउँदै

काठमाडौं । नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न नेटवर्क विस्तार तथा पूर्वाधार स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख उप प्रबन्धक राकेश चौधरीका अनुसार भरतपुर महानगरपालिका-२९ को लमाहल, इच्छाकामनाको हात्तिवाङ, माडीको अमरौली र बगौडा, भरतपुर अस्पताल क्षेत्र, रामनगर-पटिहानी सडकखण्ड, टिकौली-रत्ननगर सडक, चौबीसकोठी तथा सिएमसी अस्पताल आसपासका क्षेत्रमा मोबाइल सेवाको क्षमता विस्तार तथा स्तरोन्नति गरिएको छ । उनका अनुसार सेवा कमजोर रहेका क्षेत्रमा नयाँ मोबाइल टावर निर्माण गर्नुका साथै सञ्चालनमा रहेका टावरको क्षमता पनि वृद्धि गरिएको छ । पूर्व-पश्चिम राजमार्गका केही स्थानमा फोन नलाग्ने गुनासो आएपछि टिकौली क्षेत्रमा सेक्टर विस्तार गरिएको छ भने रामनगर सडक मोडमा अतिरिक्त उपकरण जडान गरेर सेवाको गुणस्तर सुधार गरिएको छ । प्रमुख चौधरीले भने, ‘भिडभाड हुने अन्य स्थानमा पनि आवश्यकताअनुसार क्षमता विस्तार गर्दै गएका छौं ।' माडी जाने चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा विद्युत् आपूर्तिको समस्या रहने भएकाले नेटवर्क विस्तारमा चुनौती रहेको उनले बताए । चालु आर्थिक वर्षमा सिमलढाप, तिरुवा डाँडा (कालिका-१), पन्याडाँडा, चौकीडाँडा, मोहना, खैरहनी र मङ्गलपुर लगायतका क्षेत्रमा सेवा विस्तार गरिएको छ । तीमध्ये केही स्थानमा नयाँ टावर निर्माण गरिएको छ भने विद्युत् सुविधा नपुगेका क्षेत्रमा सौर्य ऊर्जामार्फत सञ्चालन हुने टावर जडान गरिएको उनले जानकारी दिए । हाल जिल्लाभर १३२ मोबाइल टावर बेस ट्रान्ससिभर स्टेसन (बीटीएस) सञ्चालनमा रहेका छन् । भौगोलिक विकटता, अग्ला रुख तथा घरका संरचनाका कारण केही स्थानमा अझै नेटवर्क समस्या देखिने गरेको प्रमुख चौधरीले बताए । जनघनत्व वृद्धि, विशेष कार्यक्रम तथा भिडभाडका समयमा मोबाइल तथा इन्टरनेट प्रयोगकर्ता बढ्ने भएकाले आवश्यकताअनुसार अतिरिक्त उपकरण जडान गर्दै सेवा क्षमता विस्तार गरिएको उनको भनाइ छ । आगामी आर्थिक वर्षमा तत्काल १० वटा नयाँ मोबाइल टावर निर्माण गरिने र आवश्यकता तथा मागका आधारमा जिल्लाका अन्य स्थानमा पनि थप टावर निर्माण तथा क्षमता विस्तार गरिने प्रमुख चौधरीले जानकारी दिए । विद्युत् आपूर्ति अवरुद्ध हुँदा मोबाइल सेवा प्रभावित हुने समस्यालाई समाधान गर्न पश्चिम चितवन, दिव्यनगर लगायतका क्षेत्रमा वैकल्पिक ऊर्जा तथा ब्याकअप प्रणाली विस्तारको कामसमेत अघि बढाइएको उनले बताए । ‘विद्युत् अवरोध हुँदा सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले ब्याट्री ब्याकअप र वैकल्पिक ऊर्जा प्रणाली थप सुदृढ बनाउँदै गएका छौं,' प्रमुख चौधरीले भने ।