एनसेलले पायो गुणस्तर र वातावरणसम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता
काठमाडौं । एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको छ । आईएसओ ९००१ गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम)को विश्वव्यापी मानक हो । यसले ग्राहकका आवश्यकता तथा नियामक निकायहरूका प्रावधानहरू पूरा गर्न व्यावसायिक प्रतिष्ठानहरूले आवश्यक प्रक्रियाहरू अपनाउने गरेको सुनिश्चित गर्दछ । त्यसैगरी, आईएसओ १४००१ ले वातावरणीय व्यवस्थापन प्रणाली (एन्भाइरमेन्टल म्यानेजमेन्ट सिस्टम)को मापदण्ड निर्धारण गर्दछ, जसले सङ्घ संस्था तथा व्यवसायहरूलाई उनीहरूको वातावरण प्रतिको जिम्मेवारी, फोहर मैला व्यवस्थापन र विद्यमान कानुन तथा नियमहरू प्रभावकारी रूपमा पालना गर्न मार्गदर्शन गर्दछ । एनसेलले पुस २०८१ मा आईएसओ २७००१÷२०२२ (आइएसएमएस) र आईएसओ २७७०१÷२०१९ (पीआईएमएस)को मान्यता प्राप्त गरेको थियो । उक्त प्रमाणीकरण यो वर्ष पनि नवीकरण गरिएको छ । यस्तो प्रमाणीकरण प्राप्त गर्ने एनसेल नेपालको पहिलो दूरसञ्चार सेवा प्रदायक हो ।
चिप प्लान्ट बनाउन १.५ अर्ब डलर लगानी गर्दै सामसङ
काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले भियतनाममा सेमिकन्डक्टर (चिप) परीक्षण प्लान्ट निर्माण गर्न ३९ ट्रिलियन डङ (१.५ अर्ब डलर) लगानी गर्ने योजना बनाएको छ । कृत्रिम बौद्धिकता (एआई) को बढ्दो मागका कारण सिर्जना भएको मेमोरी चिपको विश्वव्यापी अभावलाई कम गर्न प्लान्ट निर्माण गर्न लागेको हो । रोयटर्सले हेरेको कम्पनीको प्रस्तावसम्बन्धी दस्ताबेजले उक्त कुरा देखाएको हो । गत अप्रिलमा स्थानीय अधिकारीहरूलाई पठाइएको र रोयटर्सले समीक्षा गरेको उक्त दस्तावेजअनुसार हनोईभन्दा ६० किलोमिटर (३७ माइल) उत्तरमा रहेको एक औद्योगिक क्षेत्रमा नयाँ कारखानाको निर्माण कार्य सुरु भइसकेको छ । प्लान्ट नोभेम्बर २०२७ देखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यो भियतनाममा सामसङको पहिलो चिप परीक्षण कारखाना हुनेछ । एआई डेटा सेन्टर सञ्चालकहरूबाट मेमोरी चिपको अत्यधिक माग भएका कारण स्मार्टफोन, ल्यापटप र अटोमोबाइलजस्ता उद्योगहरूमा यसको आपूर्तिमा गम्भीर अभाव देखिएको छ । यो पनि पढ्नूहोस् : हुवावेले नयाँ ‘स्मार्टफोन चिप्स’ ल्याउने उक्त दस्तावेजका अनुसार यो कारखानाले विशेष गरी ‘लिगेसी चिप्स’ (पुराना र स्थापित प्रविधिका चिप्स) मा ध्यान केन्द्रित गर्नेछ । यस्ता पुराना प्रविधिका मेमोरी चिप्स एआई आपूर्ति शृङ्खलाका लागि कम महत्त्वपूर्ण भए तापनि प्रमुख उत्पादकहरूले आफ्नो धेरैजसो उत्पादन क्षमता एआई चिप्स निर्माणमा लगाएका कारण यिनको पनि चरम अभाव देखिएको छ । नयाँ स्थानका लागि वातावरणीय अनुमति प्राप्त गर्न पठाइएको प्रस्तावअनुसार यस नयाँ प्लान्टसँग वार्षिक १५३.३ अर्ब गिगाबिट ‘डाइनामिक र्यान्डम– एक्सेस मेमोरी’ (डीआरएएम) चिप्स र थप २५५.६ अर्ब गिगाबिट ‘न्यान (एनएएनडी) मेमोरी चिप्स’ आपूर्ति गर्ने वार्षिक क्षमता हुनेछ । यस परियोजनामा सामसङको लगानीको आकार, उत्पादन क्षमता र उत्पादनको समयतालिकासम्बन्धी विस्तृत विवरणहरू यसअघि सार्वजनिक भएका थिएनन् । सामसङले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । उक्त औद्योगिक क्षेत्र रहेको थाइ नुयेन प्रान्तको पिपुल्स कमिटीले पनि टिप्पणीको अनुरोधलाई कुनै प्रतिक्रिया दिएको छैन । भियतनामी अधिकारीहरूले गत मार्चमा यो लगानीलाई स्वीकृति दिएका थिए र दस्ताबेजका अनुसार सामसुङले सम्भावित दोस्रो कारखानाका लागि यस परियोजनाबाट हुने नाफा (यदि भएमा) बाट करिब २.५ अर्ब डलरसम्म पुनः लगानी गर्ने मनसाय राखेको छ । यस कारखानाले आवश्यक सबै अनुमतिहरू पाइसकेको छ कि छैन वा अधिकारीहरूसँग अझै वार्ता भइरहेको छ भन्ने कुरा स्पष्ट छैन । भियतनाममा कम्पनीहरूले प्रायः वातावरणीय अनुमतिको पर्खाइमा रहँदै निर्माण स्थलहरूमा प्रारम्भिक जग खन्ने काम सुरु गर्ने गर्छन् । आफ्नो नाम नखुलाउन चाहने एक जानकार व्यक्तिका अनुसार कम्तीमा पनि अप्रिलदेखि २०० भन्दा बढी सामसङका इन्जिनियर र कर्मचारीहरू यस परियोजनाको निर्माण स्थलमा काम गरिरहेका छन् । रोयटर्सका पत्रकारहरूले यसै साताको भ्रमणका क्रममा निर्माण स्थलमा ठुला निर्माण सवारी साधन र कामदारहरूले काम गरिरहेको देखेका थिए । त्यहाँका एक सुरक्षा गार्डले उक्त स्थानमा सामसङको सेमिकन्डक्टर प्लान्ट बन्ने पुष्टि गरे । यो दक्षिण कोरियाली समूह दशकौंदेखि विभिन्न सुविधाहरूमा २३ अर्ब डलरभन्दा बढी लगानी गर्दै भियतनाममा सबैभन्दा ठुलो विदेशी लगानीकर्ता बनिसकेको छ । यो नयाँ प्लान्ट सामसङ इलेक्ट्रोनिक्सले स्मार्टफोन र ट्याब्लेट उत्पादन गर्ने एउटा ठुलो कम्प्लेक्सको छेउमै निर्माण भइरहेको छ । भियतनाम विश्वव्यापी सेमिकन्डक्टर ‘ब्याक–इन्ड’ (चिप निर्माणको अन्तिम चरणको) उद्योगमा पनि एक प्रमुख खेलाडी हो, जुन चिप फेब्रिकेसन (मूल निर्माण) भन्दा बढी श्रम सघन र कम जटिल हुन्छ । यस देशमा इन्टेल, एमकोर टेक्नोलोजी र हाना माईक्रोन लगायतका धेरै बहुराष्ट्रिय कम्पनीहरूको एसेम्बलिङ, प्याकेजिङ र परीक्षण प्लान्टहरू रहेका छन् । दस्ताबेजले देखाएअनुसार परीक्षण चिप निर्माणको अन्तिम प्रक्रिया हो, जसमा पहिले एसेम्बल र प्याकेज गरिएका सेमिकन्डक्टरहरूलाई ढुवानी गर्नुअघि सम्भावित त्रुटिहरूका लागि जाँच गरिन्छ । अन्य सामग्रीहरू : तेल र ग्यास आपूर्ति सुरक्षित राख्न यूएई र कतारको ‘डार्क ट्रान्जिट’ रणनीति अर्बपति वुओङको ७ अर्ब डलरको रहस्यमयी कारोबार कमजोर हुँदै भारतीय रुपैयाँ नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू पौने दुई करोड डलर जरिवाना तिर्न अडानी समूह सहमत इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति
मुक्तिनाथ विकास बैंकको फाइदा एपमा सेल्फ–रिन्यु सुविधा सुरु
काठमाडौं । मुक्तिनाथ विकास बैंकले मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ लगायतका नयाँ सुविधा थप गरेको छ । यस सुविधासँगै ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ । अब ग्राहकहरूले घरमै बसेर वा आफूलाई सहज हुने समयमा एपमार्फत सेवा नवीकरण गर्न सक्नेछन् । नवीकरणका लागि प्रयोगकर्ताले एपमा लगइन गरेपछि एक्सपाइरीसम्बन्धी पपअप देखिएमा रिन्यू नाउमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि नवीकरण शुल्कसम्बन्धी जानकारी हेरेर कन्टीनिउ थिची आफ्नो ट्रान्जेक्सन पिन प्रविष्ट गरेपछि सेवा तुरुन्त सक्रिय हुने व्यवस्था मिलाइएको छ । यसका साथै बैंकले फाइदा एपमार्फत ग्राहकले शाखा नगई आफ्नो केवाईसी विवरण, प्यान, मोबाइल नम्बर तथा इमेल अपडेट गर्न सक्ने सुविधा पनि उपलब्ध गराएको जनाएको छ । डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी र ग्राहकमैत्री बनाउने उद्देश्यले यो सुविधा ल्याइएको बैंकले जनाएको छ। फाइदा एपमार्फत ग्राहकहरूले विभिन्न बैंकिङ सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन् । बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङका अनुसार यस सेवाले ग्राहकको समय बचत गर्नुका साथै बैंकिङ पहुँचलाई अझ सरल बनाउने विश्वास लिइएको छ ।