कार्ड र क्युआर दुवै माध्यम सपोर्ट गर्ने सिटीटेकको ‘फिनपस मिनी’ बजारमा
काठमाडौं । सिटीटेक ग्रुप प्रालिले ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न नास-आटी एक्स्पो २०२५ को अवसरमा नेपालकै सबैभन्दा पर्खाइ गरिएको सानो तथा सजिलो 'फिनपस मिनी' को औपचारिक रूपमा सार्वजनिक गरेको छ । फिनपस मिनी एक क्रान्तिकारी डिजिटल भुक्तानी साधन हो, जसले व्यापारीहरूलाई कार्ड र क्युआर दुवै माध्यमबाट भुक्तानी स्वीकृत गर्ने सहजता प्रदान गर्छ । यस डिभाइसले भिसा, मास्टरकार्ड, युपिआइ, र नेपालपे लगायतका कार्ड योजनाहरू तथा नेपालपे क्युआर, फोनपे र स्मार्टक्युआर जस्ता क्युआरहरूलाई सपोर्ट गर्दछ । कम्पनीका अनुसार साना आकारको, आकर्षक डिजाइन र प्रयोग गर्न सजिलो यो उपकरणले ग्राहक तथा व्यवसायी दुवैका लागि द्रुत, सहज र विश्वसनीय भुक्तानी अनुभव सुनिश्चित गर्छ । यसको सानो तर विशेष स्वरूपले डेलिभरी सेवा, यातायात व्यवसायी तथा साना-ठूला सबै प्रकारका व्यवसायीहरू का लागि डिजिटल भुक्तानीलाई अझै सुलभ बनाएको छ । कार्यक्रमको क्रममा ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकले लेटर अफ इन्टेन्ट हस्ताक्षर गरी फिनपस मिनीलाई आफ्ना भुक्तानी प्रणालीमा समावेश गर्ने इच्छाशक्ति प्रकट गरेका छन् । सिटीटेकको चर्चित ब्राण्ड ‘फिनपस’ हाल नेपालभरका १२ वटा बैंकहरूमा पिओएस सेवा प्रदान गर्दै १० हजार भन्दा बढी व्यवसायीहरूलाई सेवा दिइरहेको छ । फिनपस मिनीको शुभारम्भले बैंकहरूका लागि अझ प्रतिस्पर्धी मूल्यमा एकीकृत र किफायती अक्वायरिङ समाधान प्रदान गर्ने नयाँ अध्याय सुरु गरेको कम्पनीले जनाएको छ । सिटीटेकका प्रमुख कार्यकारी आधिकृत सजन शर्माले भने- 'फिनपस मिनी केवल एउटा उत्पादन होइन, यो नेपालमा डिजिटल भुक्तानीलाई सबैको पहुँचमा पुर्याउने हाम्रो प्रतिबद्धताको प्रतीक हो । हामी देशका हरेक कुनामा रहेका व्यापारीहरूलाई सहज, सुरक्षित र सस्तो प्रविधिबाट डिजिटल भुक्तानीको अवसर दिन चाहन्छौं ।'
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युतीय शासन प्रणालीलाई थप मजबुद बनाउन ७१ सेवा केन्द्रका लागि तीव्र गतिको इन्टरनेट सेवा जडान प्रक्रिया अघि बढाएको छ । कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम-एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए । ‘यसअघि वडामा २० एमबिपिएस क्षमताको लिज लाइन लिइएको थियो । यसको लागत धेरै थियो । अहिलेको लागत कम र क्षमता बढी भएको छ । अहिले जडान गरिएको इन्टरनेट सेवाको भारका आधारमा केन्द्रहरूमा एक जिबिपिएस आधारभूत र प्रिमियम तथा ५०० एमबिपिएस क्षमताको इन्टरनेट जडान गरिएको छ । २४ घण्टा प्राप्त गर्न सकिने यस सुविधा आगामी साउन मसान्तसम्म रहने छ,’ उनले भने । काफ्लेका अनुसार यो इन्टरनेट ३२ वटा वडा कार्यालय, २४ वटा स्वास्थ्य प्रवर्द्धन केन्द्र बागदरबार, टेकु ट्रान्सफर स्टेसन, महानगर प्रहरी बल (पूर्व क्षेत्र), बग्गीखाना, बसपार्क, सोह्रखुट्टे र कार्यान्वयन एकाइ, बारुण यन्त्र कार्यालय नयाँ सडक, बालाजु र रामहिटी बौद्ध, हनुमानढोका दरबार संरक्षण कार्यक्रम, रानीपोखरी, बसन्तपुर, बालाजु पार्क, शङ्खपार्कलगायत ७१ केन्द्रका लागि खरिद गरिएको हो । उक्त सेवा प्रवाह गर्नका लागि कामपाले नेपाल टेलिकमसँग सम्झौतासमेत गरिसकेको छ । कामपाको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, बागमती प्रदेशका निर्देशक इन्दल यादवले सम्झौतापत्रमा हस्ताक्षर गरेको उनले जानकारी दिए ।
महानगर र टेलिकमबीच सहकार्य, सीसीटिभी नेटवर्क अब टेलिकमको फाइबरमा
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटिभी क्यामराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमसँग सम्झौता गरेको छ । शुक्रबार काठमाडौं प्लाजामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र टेलिकम प्रादेशक कार्यालय वागमतीका निर्देशक इन्दल यादवले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौताबमोजिम टेलिकमले महानगरपालिका र वडा कार्यालयहरुको सीसीटिभी नेटवर्कका लागि अप्टिकल फाइबर नेटवर्क, एफटीटीएच (फाइबर टु द होम) मार्फत लोकल इन्ट्रानेट उपलब्ध गराउनेछ । यससँगै नियमित मर्मत सम्भार, आकस्मिक क्षतिको पुनःस्थापना, प्राविधिक सहायता, सेवा विस्तार क्षमता, आकस्मिक अवस्थामा सेवाको निरन्तरताका लागि संरचना, नेटवर्कको निगरानी, सेवा अवरुद्ध हुँदा यसको पहिचान र समाधानका लागि सेवा उपलब्ध गराउनेछ । सीसीटिभी क्यामरा, राउटरसहितका सामान तथा उपकरण महानगरपालिकाले व्यवस्था मिलाउने छ । टेलिकमले भविष्यमा आवश्यक पर्ने उच्च गतिको व्याण्डविथ उपलब्ध गराउने छ । त्यस्तै प्रविधिको परिवर्तनलाई अद्यावधिक गरेर नियमित गराउनेछ । महानगरपालिकाले सेवा विस्तार गर्न चाहेमा टेलिकमले त्यसका लागि आवश्यक अप्टिकल फाइबर नेटवर्क विस्तार गर्नेछ । सम्झौता अवसरमा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, प्रविधिको प्रयोगबाट सहरलाई सुरक्षित र स्मार्ट सहर अन्तरसरकार समन्वय र सहकार्यले कुनै पनि गुनासो नआउने गरी नतिजा आउने विश्वाश व्यक्त गरे । ‘महानगरपालिकाको सेवाका लागि छुट्टै संयन्त्रबाट काम हुने हामीले अपेक्षा गरेका छौँ,’ गुरागाईँले भने । यस्तै टेलिकमका निर्देशक यादवले, महानगरपालिकाको आवश्यकता र अपेक्षा पूरा गराउने संयन्त्र निर्माण गरिने बताए । टेलिकमसँग यस अघि नै अप्टिकल फाइबर सञ्जाल भएकोले महानगरपालिकाले तत्काल आफूले यस अघि जडान गरेका सीसीटिभीका दृश्यहरु प्राप्त गर्न सक्ने अवस्था रहेको सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले जानकारी दिए । सीसीटिभी क्यामराले कैद गरेका दृश्यहरु महानगरपालिकाले सञ्चालन गर्ने निगरानी कक्ष ९सर्भलेन्स रुम० मा पुर्याउने दायित्व टेलिकमले पूरा गर्नेछ । प्रणालीमा यस अघि जडान गरिएका, नियमित तथा क्रमागत योजनामार्फत जडान गरिएका, वडा, विभाग तथा अन्य माग भएका स्थानबाट जडान गरिएका र जडान गरिने सीसीटिभी जोड्न सकिनेछ । यसरी प्रणालीबाट निगरानी कक्षमा प्राप्त दृश्यहरुको गोपनीयता महानगरपालिकाले कायम राख्नेछ । यो सम्झौता १ वर्षका लागि हो । काठमाडौंलाई स्वचालित, सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमा आधारित प्रणाली विकास तथा विस्तारका लागि सहकार्य गर्ने क्रममा यो सम्झौता भएको हो । यस बमोजिम महानगरपालिका, वडा कार्यालय र यसभित्रका सार्वजनिक स्थलहरुको दृश्य सीसीटिभी निगरानी कक्ष (सीसीटिभी सर्भलेन्स रुम) मा जिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (जीपीओएन) प्रयोग गरिनेछ ।