बाढी प्रभावित रसुवामा डिशहोमको निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवामा सञ्चार सेवा प्रभावित बनेपछि डिशहोमले युटेलस्याट वानवेबको सहकार्यमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सुरु गरेको छ ।  नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) को स्वीकृति र समन्वयमा सुरु गरिएको यो सेवा बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा उपलब्ध गराइएको डिशहोमले जनाएको छ । प्राथमिकताका आधारमा भदौ २० गतेदेखि सेवा सञ्चालनमा ल्याइएको हो ।  कम्पनीका अनुसार बाढीका कारण क्षति पुगेको सञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको हो । यसबाट सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार टोली, राहत शिविर र समन्वय केन्द्रमा सञ्चार सेवा सहज हुने अपेक्षा गरिएको छ ।  डिशहोमले यो सेवाले उद्धार, राहत र पुनःस्थापनाका काममा सूचना आदान–प्रदान, समन्वय र आवश्यक डाटा प्रवाहलाई निरन्तरता दिन सहयोग पुग्ने जनाएको छ ।  कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरण, सरकारी निकाय, सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा आवश्यकताअनुसार स्याटेलाइट इन्टरनेट सेवा थप विस्तार गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

नेपाल टेलिकमका कर्मचारीले बाढीपीडितका लागि दिए २ करोड २ लाख रुपैयाँ

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमका कर्मचारीहरूले २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ सहयोग गरेका छन् । नेपाल टेलिकममा कार्यरत सम्पूर्ण कर्मचारीको तर्फबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । सोमबार आयोजित कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिन् । विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले नेपाल टेलिकमका विभिन्न तहमा कार्यरत कर्मचारीको तलबबाट तहगत योगदानका आधारमा रकम कट्टा गरी उक्त सहयोग जुटाइएको हो । रकम हस्तान्तरण कार्यक्रममा नेपाल टेलिकम सञ्चालक समितिका सदस्य तथा अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेय, सञ्चालक समिति सदस्य (कर्मचारी प्रतिनिधि) लोकबहादुर कटुवाल, प्रमुख वित्तीय अधिकृत द्वारिकाप्रसाद पौडेल र प्रमुख मानव संसाधन अधिकृत निर्झर भट्टराईको उपस्थिति थियो । नेपाल टेलिकमका कर्मचारीहरूले यसअघि पनि बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद्का समयमा व्यक्तिगत तथा सामूहिक रूपमा आर्थिक सहयोग गर्दै आएका छन् । नेपाल टेलिकमले कर्मचारीहरूको सहयोगबाहेक कम्पनीको संस्थागत तर्फबाट समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टै रकम उपलब्ध गराउने जनाएको छ । उक्त रकम केही दिनभित्रै कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ । विपद्का बेला सञ्चार सेवा निरन्तर सञ्चालनमा राख्दै राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको पनि नेपाल टेलिकमले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी

काठमाडौं । एनसेलले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि थप ७ दिन बढाएको छ । कम्पनीले भदौ २० गतेदेखि भदौ २६ गतेसम्म प्रभावित क्षेत्रका ग्राहकले निःशुल्क सेवा प्रयोग गर्न सक्ने जनाएको हो। खोज, उद्धार र राहत कार्यमा सहज सञ्चार होस् भन्ने उद्देश्यले सेवा अवधि बढाइएको एनसेलले जनाएको छ । यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गतेदेखि तीन दिन निःशुल्क सेवा दिएको थियो । त्यसपछि सेवा अवधि भदौ १९ गतेसम्म थपिएको थियो। अब फेरि एक हप्ता थप गरिएको हो । एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ताले कठिन समयमा प्रभावित नागरिकलाई परिवार, आफन्त र उद्धार टोलीसँग सम्पर्कमा रहन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।  ९२ प्रतिशत टावर पुनः सञ्चालनमा एनसेलका अनुसार बाढीबाट प्रभावित क्षेत्रमा अवरुद्ध भएका ९२ प्रतिशत टावर पुनः सञ्चालनमा आइसकेका छन् । बाढीका कारण कुल २७ वटा टावर प्रभावित भएका थिए। तीमध्ये २५ वटा टावर पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । रसुवाको घट्टेखोला–टिमुरे क्षेत्रमा रहेको एउटा टावर पूर्ण रूपमा नष्ट भएको छ । उत्तरगया–तिरु क्षेत्रमा रहेको अर्को टावर सञ्चालनमा ल्याउन हेलिकप्टरमार्फत उपकरण पुर्‍याउने काम भइरहेको एनसेलले जनाएको छ । एनसेलले विपद्का बेला सूचना, खोज, उद्धार र राहत कार्यमा सहयोग पुर्‍याउन एसएमएस, कल टोन र सामाजिक सञ्जालमार्फत जानकारीमूलक सन्देश पनि प्रसारण गरिरहेको छ । यसअघि एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग पनि प्रदान गरिएको कम्पनीले जनाएको छ ।