काठमाडौं । नेपाल टेलिकमले देशका विकट तथा दुर्गम क्षेत्रहरूमा स्याटेलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल तथा भीस्याट टेलिसेन्टरमार्फत दूरसञ्चार सेवा विस्तारलाई तीव्रता दिएको जनाएको छ । कम्पनीले टुजी प्रविधिमा आधारित मोबाइल, टेलिफोन र डाटा सेवा यस्ता क्षेत्रहरूमा उपलब्ध गराउँदै आएको छ ।
चालु आर्थिक वर्षमा डोल्पाको उपल्लो डोल्पास्थित कुगाउँ र निजाल, दोलखाको ना–गाउँ (च्छो–रोल्पा पदमार्ग) तथा रसुवाको चन्दनबारी (गोसाईकुण्ड पदमार्ग) गरी चार नयाँ स्थानमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गरिएको छ ।
हालसम्म नेपाल टेलिकमले देशका ३८ दुर्गम स्थानमा यस्तो सेवा सञ्चालन गरिरहेको छ, जसमा सबैभन्दा धेरै १४ साइट डोल्पा जिल्लामा रहेका छन् । हुम्ला र मुगुमा पाँच–पाँच स्थानमा सेवा उपलब्ध छ भने मनाङ, दोलखा, ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, दार्चुला, बाजुरा र जुम्लाका विभिन्न स्थानहरूमा पनि सेवा विस्तार गरिएको छ ।
कम्पनीका अनुसार दुर्गम क्षेत्रमा सेवा पुर्याउन हेलिकप्टरमार्फत उपकरण ढुवानी गर्नुपरेको छ । यस्ता परियोजनाबाट व्यावसायिक लाभ नहुने भए पनि ‘राष्ट्रको सञ्चार’ भन्ने नारालाई साकार पार्ने उद्देश्यले सेवा विस्तार गरिएको हो ।
नेपाल टेलिकमले आगामी दिनमा यी साइटहरूलाई आधुनिक प्रविधिमार्फत स्तरोन्नति गर्ने योजना पनि अघि सारेको छ । ब्याकबोन ट्रान्समिसन परियोजना अन्तर्गत अप्टिकल फाइबर नेटवर्क विस्तार, नेटवर्क सुदृढीकरण, उच्च क्षमतायुक्त राउटर तथा डीडब्लुडीएम उपकरण जडान लगायतका कार्य भइरहेका छन् ।
यससँगै पूर्व–पश्चिम तथा उत्तर–दक्षिण करिडोरमा उच्च क्षमतायुक्त, सुरक्षित र भरपर्दो डाटा सेवा विस्तार गर्ने लक्ष्यसहित अप्टिकल फाइबर केबल बिछ्याउने, माइक्रोवेभ लिंक स्तरोन्नति गर्ने र वैकल्पिक लिंक स्थापना गर्ने कार्य पनि अघि बढाइएको छ ।
कम्पनीले दुर्गम क्षेत्रमा सेवा निरन्तरता सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग समन्वय, मर्मतसम्भार तथा पूर्वाधार संरक्षणका उपायहरू अवलम्बन गरिरहेको जनाएको छ ।