‘मोस्ट वान्टेड’ सूचीमा टेलिग्रामका संस्थापक पाभेल डुरोभ
काठमाडौं । मेसेजिङ एप टेलिग्रामका संस्थापक तथा मालिक पाभेल डुरोभ अन्तर्राष्ट्रिय खोजी सूची (इन्टरनेशनल वान्टेड लिस्ट) मा परेका छन् । रुसको प्रमुख आन्तरिक सुरक्षा निकायले बुधबार आतंकवादमा सहयोग गरेको अभियोग लगाउँदै उनलाई इन्टरनेशनल वान्टेड लिस्टमा राखेको हो । रुसमा जन्मिएका तथा आफ्नो व्यवसायिक यात्रा त्यहीँबाट सुरु गरेका डुरोभ पछि विदेश बसाइँ सरेका थिए । रुसले देशकै सबैभन्दा लोकप्रिय सन्देश आदान–प्रदान एपमध्ये एक टेलिग्राममाथि थप प्रतिबन्ध पनि लगाइरहेको छ । यो कदम फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु गरेयता क्रेम्लिनले इन्टरनेटमाथि पूर्ण नियन्त्रण स्थापित गर्ने दीर्घकालीन प्रयासको निरन्तरता मानिएको छ । रुसको फेडरल सेक्युरिटी सर्भिस (एफएसबी) ले जारी गरेको विज्ञप्तिमा टेलिग्राम प्रशासनले ‘धेरै च्यानल, च्याट र बोट’ हटाउन असफल भएको आरोप लगाएको छ । ती माध्यमहरूलाई युक्रेनी गुप्तचर निकाय, आतंकवादी तथा अतिवादी संगठनहरूले रुसभित्र तोडफोड, आतंकवादी गतिविधि, सामूहिक हत्या तथा साइबर ठगीको योजना बनाउन र समन्वय गर्न सक्रिय रूपमा प्रयोग गरेको र यसका कारण धेरै मानवीय क्षति भएको एफएसबीको दाबी छ । एफएसबीले युक्रेनका सुरक्षा निकायहरूले टेलिग्राममा रहेको लोकप्रिय डेटिङ च्याटबोट प्रयोग गरेर रुसी नागरिकलाई तोडफोड तथा आतंकवादी गतिविधिमा संलग्न गराउन फकाउने र भर्ती गर्ने गरेको आरोप पनि लगाएको छ । सन् २०२५ को जुलाईयता उक्त च्याटबोट प्रयोग गरेका १२ देखि २२ वर्ष उमेर समूहका ४६ जनालाई रुसभरि पक्राउ गरिएको, उनीहरूविरुद्ध सुरक्षाकर्मीमाथि आक्रमण, आगजनीलगायतका आरोप रहेको एफएसबीले जनाएको छ । डुरोभले यस वर्षको सुरुमै रुसी अधिकारीहरूले आफूमाथि आपराधिक अनुसन्धान सुरु गरेको जानकारी दिएका थिए । उनले टेलिग्राममाथिको पहुँच सीमित गर्न कृत्रिम बहाना बनाइएको र यो व्यक्तिगत गोपनीयता तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार दबाउने प्रयास भएको आरोप लगाएका थिए । यदि उनी दोषी ठहरिएमा रुसमा आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ । टेलिग्रामले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन । कम्पनीको आधिकारिक वेबसाइटअनुसार टेलिग्रामको मुख्यालय दुबईमा रहेको छ । संयुक्त अरब इमिरेट्स (युएई) र फ्रान्सको दोहोरो नागरिकता भएका डुरोभ पनि दुबईमै बसोबास गर्छन् । राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा रुसले इन्टरनेटमाथि नियन्त्रण बढाउन विभिन्न उपाय अपनाउँदै आएको छ । सरकारले कडा कानुन लागू गरेको, नियम नमानेका वेबसाइट र डिजिटल प्लेटफर्ममाथि प्रतिबन्ध लगाएको तथा अनलाइन गतिविधिको निगरानी र नियन्त्रण गर्ने प्रविधि विस्तार गरेको छ । रुसमा फेसबुक, इन्स्टाग्राम र एक्स (पूर्व ट्विटर) जस्ता लोकप्रिय सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको छ । युट्युबको सेवा सीमित गरिएको छ भने सिग्नल र भाइबरजस्ता मेसेजिङ एप अवरुद्ध गरिएका छन्। सबैभन्दा धेरै प्रयोग हुने ह्वाट्सएप र टेलिग्राममाथि पनि विभिन्न प्रतिबन्ध लगाइएको छ । डुरोभले टेलिग्राम सुरु गर्नुअघि स्थापना गरेको फेसबुकजस्तै रुसी सामाजिक सञ्जाल भीके अहिले क्रेम्लिन निकट कम्पनीहरूको नियन्त्रणमा पुगेको छ । रुसले सन् २०१८ देखि २०२० सम्म टेलिग्राम बन्द गर्ने प्रयास गरे पनि त्यसमा सफल हुन सकेको थिएन । यद्यपि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर केही प्रतिबन्ध छल्न अझै सम्भव भए पनि यस्ता सेवामाथि पनि नियमित रूपमा अवरोध लगाइँदै आएको छ । यसैबीच, रुसले म्याक्स नामक ‘राष्ट्रिय’ मेसेजिङ एपलाई सक्रिय रूपमा प्रवद्र्धन गरिरहेको छ । आलोचकहरूका अनुसार यो एप निगरानीका लागि प्रयोग हुन सक्ने जोखिम छ । विकासकर्ता र सरकारी अधिकारीहरूले यसलाई सन्देश आदान–प्रदान, सरकारी अनलाइन सेवा, डिजिटल भुक्तानीलगायत सबै सुविधा एउटै प्लेटफर्मबाट उपलब्ध गराउने एपका रूपमा प्रचार गरेका छन् । प्रयोगकर्ताको जानकारी सरकारी निकायको मागअनुसार उपलब्ध गराइने कुरा यसले खुला रूपमा उल्लेख गरेको छ भने विज्ञहरूका अनुसार यसमा ‘एन्ड–टु–एन्ड इन्क्रिप्सन’ पनि प्रयोग गरिएको छैन । डुरोभ अन्य देशमा पनि कानुनी अनुसन्धानको सामना गरिरहेका छन् । सन् २०२४ मा उनको प्लेटफर्म मादक पदार्थ तस्करी तथा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री वितरणजस्ता गैरकानुनी गतिविधिमा प्रयोग भएको आरोपमा उनलाई पेरिसमा पक्राउ गरिएको थियो । डुरोभले सन् २०२५ को मार्चमा फ्रान्समा केही महिना बिताएपछि आफू दुबई फर्किएको बताएका थिए । अन्य पठनीय सामग्रीहरू : इरानमाथि फेरि आक्रमणको संकेत ? ट्रम्पसँग नेतन्याहूको गोप्य छलफल हर्मुजमा इरानको पकड बलियो, सबै विदेशी जहाज तेहरानकै मार्गमा इरानका परमाणु केन्द्रमा धावा बोल्ने अमेरिकी योजना सार्वजनिक साउदीको परमाणु डिलपछि किन चर्चामा आयो पाकिस्तान ?
बिर्तामोडको आकाशमा उडे रकेट र चन्द्रयान, ४० लाखमा बन्याे एआई ल्याब
काठमाडौं । विमानस्थलको धावनमार्ग जस्तै गुञ्जायमान थियो विद्यालयको प्राङ्गण । आँखै अगाडि एकपछि अर्को गर्दै सरर्र उडेका हवाईजहाज, हेलिकप्टर, रकेट र चन्द्रयानको नमूना देखेर विद्यार्थीहरू एकाएक चकित परे । नहोस् पनि किन, किताबका पानामा मात्र सीमित हुने विज्ञान र प्रविधिको संसार सोमबार बिर्तामोड-१ स्थित ग्रीन फिल्ड वर्ल्ड स्कुलको प्राङ्ग्रणमै प्रत्यक्ष रूपमा देख्न पाइएको थियो । अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित भारतको एरोबे कम्पनीको प्राविधिक सहकार्यमा आयोजित सो विशेष हवाई प्रदर्शनीमा विद्यार्थी मात्र होइन, उपस्थित अभिभावक र स्थानीय पनि रोमाञ्चित बने । ‘एरोबे रोबोटिक्स’को प्रयोगात्मक अभ्यास अन्तर्गत आयोजना गरिएको यो प्रदर्शनीले सबैलाई आधुनिक प्रविधिको कौतुहल र सम्भावनासँग प्रत्यक्ष साक्षात्कार गराएको थियो । आकाशमा रकेट र चन्द्रयान उडाउनु केवल एक दिनको रमाइलो मात्र थिएन, विद्यालयले आफ्ना विद्यार्थीलाई प्रविधिको भविष्यसँग स्थायी रूपमा जोड्ने आधार तयार पारेको छ । प्रदर्शनीसँगै विद्यालय परिसरमा करिब ४० लाख रुपैयाँको लगानीमा निर्मित ‘एरोबे रोबोटिक्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ल्याब’ को औपचारिक उद्घाटन पनि गरियो । विद्यालयका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य गोपाल कुमार बस्नेत र पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालका वरिष्ठ फिजिसियन डा. शरद भट्टराईले विशेष समारोहबीच उक्त आधुनिक प्रयोगशालाको उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष गोपाल कुमार बस्नेतले आजको शिक्षा प्रणाली अब परम्परागत पाठ्यपुस्तकमा मात्र सीमित रहन नसक्ने स्पष्ट पारे । ‘भविष्यका चुनौतीसँग प्रतिस्पर्धा गर्न हाम्रा विद्यार्थीलाई सुरुदेखि नै सिर्जनशील, अनुसन्धानमुखी र प्रविधिमैत्री बनाउनु आजको आवश्यकता हो । अबका विद्यार्थीले केवल अरूले बनाएको प्रविधि प्रयोग गर्ने मात्र होइन, आफैं नयाँ प्रविधिको सिर्जना गर्ने क्षमता विकास गर्नुपर्छ । यो ल्याब उनीहरूको कल्पनाशक्तिलाई व्यवहारमा उतार्ने थलो बन्नेछ,’ उनले भने । डा शरद भट्टराईले आधुनिक शिक्षामा गरिएको यो दूरदर्शि लगानीले विद्यार्थीहरूको सिकाइ उपलब्धिमा गुणात्मक सुधार ल्याई भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे । विद्यालयले अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री शिक्षण वातावरण निर्माणमा देखाएको यो अग्रसरता प्रशंसनीय रहेको उनको भनाइ छ । विद्यालयका कार्यकारी निर्देशक आनन्द बस्नेतका अनुसार ल्याबमार्फत विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षासँग प्रत्यक्ष जोड्दै अनुसन्धान र नवप्रवर्तनको क्षमता अभिवृद्धि गराइनेछ । ‘विश्वभर तीव्र रूपमा विकास भइरहेको रोबोटिक्स र एआईसम्बन्धी ज्ञान विद्यालय तहदेखि नै दिन पाउनु हाम्रा लागि गर्वको विषय हो,’ उनले भने । विद्यालयका कोअर्डिनेटर बर्नाट लामाले प्रयोगशालामा विद्यार्थीले रोबोट निर्माण, प्रोग्रामिङ, कोडिङ, डिजाइन थिंकिङ र स्वचालन प्रविधि जस्ता व्यावहारिक सीप सहज रूपमा सिक्ने जानकारी दिए । विद्यालयका सहायक प्रधानाध्यापक रोजीना कार्कीका अनुसार नेपालमा पहिलोपटक प्रतिष्ठित ‘एरोबे कम्पनी’ सँग सहकार्य गरेर यस प्रकारको आधुनिक ल्याब सञ्चालनमा ल्याइएको हाे । उनले विद्यार्थीहरूले विभिन्न तहअनुसार रोबोटिक्स, इलेक्ट्रोनिक्स र स्वचालित प्रणालीसम्बन्धी परियोजनामा सहभागी भई सृजनात्मक काम गर्ने क्षमता निखार्ने विश्वास व्यक्त गरिन् ।
नेपाल टेलिकमको मनसुन अफर सुरु, ९९ रुपैयाँमै ८ जीबी डेटा
काठमाडौं । नेपाल टेलिकमले ‘मनसुन अफर २०८३’ अन्तर्गत नयाँ तथा परिमार्जित विभिन्न डाटा, भ्वाइस र एसएमएस प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले केही नयाँ प्याक सञ्चालनमा ल्याउँदै यसअघि उपलब्ध लोकप्रिय प्याकेजलाई पनि निरन्तरता दिएको जनाएको छ । टेलिकमले पोस्टपेड ग्राहकका लागि ३७३ रुपैयाँ र ४९९ रुपैयाँका नयाँ प्याक उपलब्ध गराएको छ । ३७३ रुपैयाँको प्याकमा ३० दिनका लागि ६ जीबी डाटा, ४०० मिनेट अल–नेट भ्वाइस कल र ५० वटा एसएमएस उपलब्ध हुनेछ । यस्तै, ४९९ रुपैयाँको प्याकमा १० जीबी डाटा, ५०० मिनेट अल–नेट भ्वाइस कल र १०० वटा एसएमएस सुविधा समावेश गरिएको छ । सजिलो अनलिमिटेड पोस्टपेड प्याकमा पनि थप सुविधा थपिएको छ । ६९९ रुपैयाँमा दैनिक २ जीबीका दरले मासिक ६० जीबी डाटा, अनलिमिटेड अल–नेट भ्वाइस र २०० एसएमएस, ७९९ रुपैयाँमा दैनिक १० जीबीका दरले ३०० जीबी डाटा, अनलिमिटेड भ्वाइस र २५० एसएमएस तथा ९९९ रुपैयाँमा दैनिक १५ जीबीका दरले ४५० जीबी डाटा, अनलिमिटेड भ्वाइस र ३०० एसएमएस उपलब्ध हुनेछ । त्यसैगरी, १ हजार ४९९ रुपैयाँको प्याकमा ५०० जीबी डाटा, अनलिमिटेड भ्वाइस र ३५० एसएमएस तथा १ हजार ९९९ रुपैयाँको ‘एक्जिक्युटिभ प्याक’मा अनलिमिटेड डाटा, अनलिमिटेड भ्वाइस र ५०० एसएमएस सुविधा प्रदान गरिएको छ । प्रिपेड ग्राहकका लागि ९९ रुपैयाँमा १ दिनका लागि ८ जीबी डाटा र १९९ रुपैयाँमा ७ दिनका लागि २० जीबी डाटाको नयाँ प्याक उपलब्ध गराइएको छ । साथै, ९९९ रुपैयाँ र १ हजार ४९९ रुपैयाँका सजिलो अनलिमिटेड प्रिपेड प्याकलाई पनि थप आकर्षक बनाइएको कम्पनीले जनाएको छ । यसैबीच, स्वतः नवीकरण हुने ‘नमस्ते रिकरिङ’ सेवाअन्तर्गत नयाँ ६९९ रुपैयाँको प्याक थपिएको छ भने कर्पोरेट युजर ग्रुप (सीयूजी) प्याकेजमा पनि नयाँ विकल्प समावेश गरिएको छ । नेपाल टेलिकमले ‘नमस्ते क्रेडिट (सापटी)’ सेवामा समेत परिमार्जन गरेको छ । साउन १५ गतेदेखि लागू हुने गरी सापटी रकम ३० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ । उक्त रकमबाट ३० रुपैयाँ वा सोभन्दा कम मूल्यका डाटा, भ्वाइस वा एसएमएस प्याक खरिद गर्न सकिनेछ । कम्पनीका अनुसार मनसुन अफर २०८३ साउन १२ गतेदेखि लागू भएको हो । ग्राहकले *1415# डायल गरेर, ‘नेपाल टेलिकम’ एपमार्फत वा कम्पनीको वेबसाइटबाट प्याकेजसम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् ।