आइएमई खल्तीले सार्वजनिक गर्यो ‘खल्ती ट्रान्स्फर लिग’ अफर

काठमाडौं । आइएमई खल्ती लिमिटेडले नयाँ अफर ‘खल्ती ट्रान्स्फर लिग’ सार्वजनिक गरेको छ । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा उत्साह थप्दै कम्पनीले मङ्सिर २ गतेदेखि २९ गतेसम्म चल्ने १ महिनाको अवधिको यस अफरलाई क्रिकेट खेल जस्तै रमाइलो बनाएको कम्पनीले जनाएको छ । यस अफरअन्तर्गत खल्तीका सेवाग्राहीहरूले विभिन्न फन्ड ट्रान्स्फर कारोबार मार्फत ‘रन’ कमाउन सक्नेछन् । खल्तीबाट खल्तीमा ट्रान्स्फर गर्दा १ रन, खल्ती एस्क्रो प्रयोग गर्दा २ रन, खल्तीबाट बैंक खातामा ट्रान्स्फर गर्दा ४ रन, र विदेशबाट पठाइएको रेमिट्यान्स प्राप्त गर्दा ६ रन प्राप्त हुने व्यवस्था गरिएको छ । कमाएको रनहरू जम्मा गरेर सहभागीहरूले दैनिक, साप्ताहिक र बम्पर पुरष्कार जित्ने अवसर पाउनेछन् । ६ रनमा दैनिक एनपिएलको टिकट, ५० रनमा हरेक हप्ता सि एम एफ फोन १, र १०० रनमा बम्पर पुरष्कार स्वरूप बजाज पल्सर एन१६० डुअल एबिएस जित्न सकिने व्यवस्था गरिएको छ । कम्पनीले यस अफर मार्फत आफ्ना ग्राहकहरूलाई वित्तीय कारोबारमा सहभागी हुने रमाइलो र आकर्षक अनुभव दिने लक्ष्य राखेको जनाएको छ ।

नेपाल टेलिकमको सञ्चालकमा अरुणा जोशी नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सञ्चालक समितिमा प्रतिनिधि परिवर्तन भएको छ । नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले समूह ‘क’ (संस्थापक समूह) अन्तर्गत मनोनयन गर्ने सदस्य परिवर्तनका लागि पठाएको पत्रअनुसार कम्पनीको सञ्चालक समितिमा नयाँ सदस्य नियुक्त गरिएको हो। मन्त्रालयले सहसचिव अरुणा जोशीलाई नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ । नियमावलीको नियम १२ को खण्ड (छ) अनुसार नेपाल सरकारको प्रतिनिधि सञ्चालकको व्यवस्था भएकाले सचिवस्तरीय निर्णयअनुसार जोशीको नियुक्ति गरिएको हो । नवनियुक्त सदस्य जोशीले गोपनीयताको शपथ ग्रहण गरिसकेकी छन् । उनले यसअघि सञ्चालक रहेका कोमल बहादुर खत्रीको स्थान लिनेछिन् ।

अपरिचित सामाजिक सञ्जालका कुनै पनि ‘लिङ्क’ नखोल्न प्रहरीको आग्रह

काठमाडौं । पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीले त्यसबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले एक सार्वजनिक सूचना जारी गरेर अनलाइन ठगीबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको हो ।      परिसरका प्रवक्ता पवनकुमार भट्टराईले नागरिक प्रलोभनमा परेर रकम ठगीमा पर्ने गरेका दैनिकजसो घटना आइरहेकाले सचेतनाका लागि सूचना जारी गरिएको बताए । उनका अनुसार सामाजिक सञ्जाल फेसबुक, इमो, ह्वाटस्एप, भाइबर, इन्स्ट्राग्रामलगायत माध्यामबाट ‘तपाईंलाई चिठ्ठा परेको छ, उक्त रकम प्राप्त गर्न केही रकम (राजस्व) तिर्नुपर्छ’ भनी रकम पठाउन लगाउँदै ठगी गर्नसक्ने भएकाले त्यसतर्फ सचेत हुन अनुरोध गरिएको छ । सार्वजनिक सूचनामा अनलाइनबाट सामान खरिद गरी रकम भुक्तानी तिर्दा आधिकारिक बिक्रेता यकीन गरी मात्र तिर्न र नगद दिँदा पनि सुरक्षित हुन अनुरोध गरिएको छ । प्रवक्ता भट्टराईले भने, 'अपरिचित व्यक्ति वा नम्बरबाट श्रव्यदृश्य सन्देश (भिडियोकल) गरी उक्त कल रेकर्ड गरेर भिडियोलाई अश्लिल बनाएर ‘ब्ल्याकमेल’ गर्ने र पैसा माग्ने जोखिम बढेकाले, त्यसतर्फ पनि सावधान हुनुस् ।'      उनका अनुसार आफ्ना साथीभाइहरू तथा आफन्तले विभिन्न सामाजिक सञ्जालबाट समस्या देखाइ आर्थिक सहयोग मागेमा प्रत्यक्ष सम्पर्क गरी यकीन गरेर मात्रै सहयोग गर्न अनुरोध गरिएको छ । उक्त समयमा खाता ‘ह्याक’ हुनसक्ने भएकाले सचेत हुनुपर्ने जरुरी रहेको उनले बताए ।      सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्याममा सस्तो दरमा सामान देखाएर अग्रिम (एड्भान्स) रकम पठाउन लगाई ठगी हुनसक्ने भएकाले पनि त्यसतर्फ ख्याल गर्न सूचनामार्फत अनुरोध गरिएको छ ।      त्यस्तै अपरिचित वा नयाँ सामाजिक सञ्जालका कुनै पनि ‘लिङ्क’ नखोल्न अनुरोध गर्दै प्रहरीले आफ्नो ‘ओटिपी कोड’ अरुलाई नदिन, आफ्नो मोबाइलको ‘स्क्रिन’ कसैलाई नदिन, सामाजिक सञ्जालमा आफ्ना महत्त्वपूर्ण जानकारी नराख्न, आफ्नो ‘पासवर्ड’लगायत नीजि विवरण साथीभाइ वा नजिकैका आफन्तलाई पनि नदिन अनुरोध गरेको छ ।