‘डेटा इन्क्रिप्ट गरेर बिटक्वाइनमा पैसा मागियो, ४८ घण्टामै प्रणाली पुनः सञ्चालन गर्यौं’

मिनेटमै ब्याकअप प्रणाली चल्ने व्यवस्था अनिवार्य हुनुपर्छ

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एकाएक सेयर कारोबार स्थगित गर्यो । नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीको सर्भर राखिएको डेटा हब प्रालिको डेटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएपछि कारोबार स्थगित गरिएको थियो । सोमबारको कारोबार नै पूर्ण रूपमा स्थगित गर्नुपर्ने अवस्था आएपछि यो विषय आलोचनासँगै चासोको विषय पनि बन्यो । नेपालको पहिलो र पुरानो डेटा सेन्टर कम्पनी डेटा हब प्रालिका प्रबन्ध निर्देशक दीपक श्रेष्ठसँग विकासन्युजका लागि सीआर भण्डारीले यिनै विषयमा केन्द्रित भएर कुराकानी गरेका छन् ।

डेटा हबमा साइबर आक्रमण हुँदा सोमबार सेयर कारोबार नै बन्द भयो । याे समस्यालाई कसरी लिनुभएको छ ? 

समस्या डेटा हबमा आएको हो । र्यान्समवेयर आक्रमण भएको हो । र्यान्समवेयर आक्रमण कसरी र कहाँबाट आयो भन्ने विषयमा फरेन्सिक टोलीले अध्ययन गरिरहेको छ । विदेशी विशेषज्ञहरूसँग पनि छलफल भइरहेको छ । हाम्रोतर्फबाट पनि के भएको हो भन्ने विषयमा अध्ययन भइरहेको छ । हामीसँग ब्याकअप थियो । त्यसलाई प्रयोग गरेर प्रणाली सञ्चालनमा आइसकेको छ । अर्को पटक पनि यस्ता समस्या आउन सक्छन् । त्यसका लागि के-कस्ता सुरक्षात्मक उपाय अपनाउने भन्ने विषयमा पनि हामीले काम गरिरहेका छौं ।

नेपाल स्टक एक्सचेन्जलाई सेवा दिएको पनि ८-९ वर्ष भयो । यसअघि प्रणाली राम्ररी नै चलिरहेको थियो । नेपालमा ड्राइभिङ लाइसेन्स, राहदानीदेखि लिएर ठूला-ठूला संस्थाहरूमा पनि समस्या आइरहन्छन् । तर, महत्त्वपूर्ण विषय भनेको समस्या आइसकेपछि कति चाँडो प्रणाली पुनः सञ्चालनमा ल्याउन सकिन्छ भन्ने हो । डेटा हबलाई पुनः सञ्चालनमा ल्याउन ४८ घण्टा समय लाग्यो । उहाँहरूले हामीसँग ब्याकअप सेवा लिनुभएको थियो । त्यो ब्याकअप निकालेर पूर्ण रूपमा फर्म्याट गरियो । त्यहाँ भाइरस लागेको हुन सक्ने भएकाले ब्याकअपलाई जाँच गरेर नयाँ प्रणालीमा राख्नुपर्छ । त्यसपछि फेरि जाँच गर्दा सामान्यतया धेरै समय लाग्छ । राहदानी विभागको प्रणाली पुनः सञ्चालनमा ल्याउन दुई साता समय लागेको थियो । तर, हामी ४८ घण्टामा अनलाइन आउन सफल भयौं । योभन्दा पनि चाँडो आउन सकिन्थ्यो, यदि डिजास्टर रिकभरी तथा बिजनेस कन्टिन्युटी सेवा सब्सक्राइब गरिएको भए ।

डिजास्टर रिकभरी तथा बिजनेस कन्टिन्युटी सेवा भनेको के हो ?

डिजास्टर रिकभरी तथा बिजनेस कन्टिन्युटी भन्ने सेवा हुन्छ । त्यसमा पाँच-दस मिनेटमा वा शून्य डेटा क्षतिसहित प्रणाली पुनः सञ्चालनमा ल्याउन सकिन्छ । पाँच मिनेट, दस मिनेट वा एक घण्टामा ब्याकअप प्रणाली सञ्चालनमा ल्याउन सकिने सेवा लिन सकिन्छ । तर, त्यो सेवा सब्सक्राइब गरिएको थिएन । त्यो सेवा सब्सक्राइब नगर्नुको कारण खर्च पनि हो । यस्तो सेवा दिन महँगो पर्छ । अमेजन, माइक्रोसफ्टजस्ता कम्पनीले दिने स्तरको सेवा तयार गर्न धेरै खर्च लाग्छ । नेपालमा रहेको आर्थिक गतिविधि र आर्थिक अवस्थाले यस्तो सेवा धान्न सक्छ कि सक्दैन भन्ने प्रश्न पनि आउँछ ।

ब्रोकर कम्पनीहरूले सेयर खरिदबिक्रीबाट निश्चित कमिसन मात्रै पाउँछन् । कमिसन कम भएकाले ब्रोकरहरूले पनि यस्तो सेवा लिन सक्ने अवस्था नभएको हो कि । हामीले त बारम्बार यस्तो सेवा लिनुपर्छ भनेर भनिरहेका छौं । हामीलाई जोखिम छ । जुनसुकै किसिमको आक्रमण पनि हुन सक्छ । त्यसकारण बिजनेस कन्टिन्युटी र डिजास्टर रिकभरी हुने सेवा लिनुपर्छ भनेर मैले बारम्बार भन्दै आएको छु ।

अध्ययनका लागि प्रधानमन्त्री कार्यालय र नेप्सेबाट पनि टोली आएको थियो । उहाँहरूलाई पनि मैले अब सेबोन वा नेप्सेमार्फत ब्रोकरहरूका लागि डिजास्टर रिकभरी सेवा अनिवार्य गर्नुपर्छ भनेर भनेको छु । कतिपय ब्रोकरले १५ मिनेटमा सञ्चालनमा आउने सेवा सब्सक्राइब गर्न सक्छन् भने कतिपयले दुई घण्टामा सञ्चालनमा आउने सेवा लिन सक्छन् । त्यसै आधारमा हामीले पूर्वाधार तयार गर्न सक्छौं ।

हिजोको साइबर आक्रमण कस्तो थियो ?

र्यान्समवेयर आक्रमण हो । र्यान्समवेयर कहाँबाट आउँछ भन्ने कुरा निश्चित हुँदैन । यसले प्रणालीको कमजोरी खोजेर इन्टरनेटबाट पनि प्रवेश गर्न सक्छ, हाम्रो आन्तरिक प्रणालीबाट पनि आउन सक्छ । हामी नेप्सेसँग पनि जोडिएका छौं । नेप्सेबाट पनि आएको हुन सक्छ । तर, हामीले त्यसलाई रोक्नुपर्ने हो । हामीले सुरक्षाका उपाय अपनाएका पनि छौँ । तर, पनि र्यान्समवेयर आक्रमण प्रणालीमा प्रवेश गर्यो । यस्तो आक्रमण छिर्दैन भन्ने हुँदैन । जहिले र जुनसुकै बेला पनि छिर्न सक्ने सम्भावना हुन्छ ।

आक्रमणकारीले प्रवेश गरेर सबै डेटा इन्क्रिप्ट गरिदियो । त्यसपछि बिटक्वाइनमा पैसा तिर्न भन्यो । कति पैसा तिर्ने भन्ने खुलाएन । पैसा तिर्न मात्रै भन्यो । हामीले जुन फाइल खोल्दा पनि पैसा तिर्न भनिएको थियो । यसले नेप्से र टीएमएसलाई लक्ष्य गरेर आक्रमण गरेको जस्तो देखिन्छ । पैसा तिर्ने कुरा सम्भव हुँदैन । किनभने उसले बिटक्वाइन मागेको थियो । बिटक्वाइन हामीसँग उपलब्ध पनि छैन । फेरि पैसा तिरेपछि पनि आक्रमणकारीले पुनः आक्रमण गरिरहन्छन् । सामान्यतया यस्तो अवस्थामा पुनःस्थापनाको सबैभन्दा भरपर्दो उपाय ब्याकअपबाट प्रणाली पुनःस्थापना गर्नु हो ।

हाम्रो ब्याकअप बुटवलमा थियो । बुटवलबाट ब्याकअप तानेर यहाँ ल्यायौं । त्यसलाई फर्म्याट गरेर, जाँच गरेर र पुनःस्थापना गरेर तयार पार्यौं । फेरि यसमा के जोखिम छ भनेर हामीले सुरक्षा जाँच गर्न लगायौं । नेप्सेसँग हाम्रो प्रत्यक्ष फाइबर कनेक्टिभिटी छ । फेरि नेप्सेतर्फ र्यान्समवेयर आक्रमण जाने हो कि भन्ने जोखिम पनि हुन सक्छ । त्यसकारण हामीले समय लगाएका हौं । हामीले १०-१२ घण्टा सुरक्षा जाँचमै लगायौं । त्यसपछि सोमबार रातभरि पुनःस्थापना गरेर प्रणाली सञ्चालनमा ल्याएका हौं ।

यो समस्या कतिबेलादेखि आएको हो ?

आइतबार बिहान साढे ५ बजेतिर समस्या आएको हो ।

आइतबार बजार बन्द थियो । आइतबार दिनभरि र रातभरि पुनःस्थापना गरेर सेवा सञ्चालन गर्न सकिएन ?

आइतबार दिनरात काम गरेको हो । तर, त्यो समयले मात्रै पुगेन । सामान्यतया ब्याकअपबाट प्रणाली पुनःस्थापना गरेर अनलाइन आउन दिन वा हप्तौँ समय लाग्न सक्छ । यो ठूलो डेटा हो । एक-दुई जीबी वा टीबी डेटा होइन । सयौं टीबीको डेटा हो । ४०-५० लाख जनाले कारोबार गरेको डेटा हो । बुटवलमा रहेको डेटा तानेर यहाँ ल्यायौं र नयाँ प्रणालीमा सञ्चालन गर्यौं । जस्तो एउटा घर भत्किएको छ भने त्यसलाई पुनर्निर्माण गरेर पुनः सञ्चालन गर्न समय लाग्छ । त्यस्तै गरी ठूलो परिमाणको डेटा ल्याएर प्रणाली सञ्चालन गर्न समय लाग्छ ।

साथै, हामीले सुरक्षा विश्लेषण पनि गर्यौं । फेरि समस्या आयो भने झन् ठूलो समस्या हुन सक्छ । डेटा सेन्टरबाट सरकारको नेप्से, भुक्तानी प्रणाली तथा आईपीएस कनेक्टमा र्यान्समवेयर आक्रमण जाने हो कि भन्ने जोखिम पनि हेर्नुपर्यो । त्यसकारण हामीले पुनः स्क्यान गर्ने काम गर्यौं । यही कारणले समय लागेको हो । सुरक्षा घटनामा ४८ घण्टामा सञ्चालनमा आउनु राम्रो होइन । तर, यो स्वीकार्य समय हो ।

र्यान्समवेयर आक्रमणबाट क्षति कति भयो ?

बिहान साढे ५ बजेको डेटा इन्क्रिप्ट भयो । हामीसँग बिहान ४ बजेसम्मको ब्याकअप थियो । त्यसकारण डेढ घण्टाको डेटा गुम्यो । तर, सामान्यतया बिहान ४-५ बजेतिर धेरै डेटा प्रयोग हुँदैन । तैपनि त्यो समयको डेटा गुमेको हो । अर्को हाम्रो रेपुटेसन (प्रतिष्ठा) मा पनि असर परेको छ । १५-१६ वर्षदेखि नियमित रूपमा सञ्चालनमा आएको डेटा सेन्टरमा यस्तो समस्या आएर यति समयसम्म सेवा बन्द हुन पुग्यो भन्ने विषय रेपुटेसनसँग जोडिएको छ ।

कतिपयले तपाईंहरूले राम्रो गर्नुभयो, इमानदारीपूर्वक सरकार र नेपाली जनतालाई र्यान्समवेयरले यसरी आक्रमण गर्छ भनेर जानकारी गराउनुभयो भन्नुभएको छ । ठूला बैंकहरूमा आक्रमण हुँदा यस्ता विषय लुकाएर राख्ने गरिन्छ । तर, अहिले बैंकहरू आएर हामीसँग र्यान्समवेयर आक्रमणलाई कसरी सफा गर्नुभयो, कसरी जोगिनुभयो भनेर सिक्न खोजिरहेका छन् । हामीले पनि आफूले अपनाएका ज्ञान र अनुभवहरू साझा गरिरहेका छौं । त्यसकारण यसलाई हामीले सकारात्मक रूपमा हेरिरहेका छौं । ४८ घण्टा समय लागेको भनेर आलोचना पनि भएको छ । तर, हामी ४८ घण्टामै अनलाइन आउन सफल भयौँ भनेर खुसी पनि महसुस गरिरहेका छौं ।

रकममा क्षतिको आँकलन गर्न गाह्रो हुन्छ । किनभने यो प्रतिष्ठाको विषय पनि हो । हाम्रो मात्रै होइन, वाइकोको प्रतिष्ठा, नेप्सेको प्रतिष्ठा र ब्रोकरको प्रतिष्ठा पनि यससँग जोडिएको छ । यी सबैको प्रतिष्ठालाई जोडेर हेर्दा अमूर्त क्षतिको कुरा हुन्छ । त्यसपछि मात्रै वित्तीय क्षतिको कुरा आउँछ । सोमबार कारोबार भएन । अर्बौं रुपैयाँको कारोबार हुने गरेको छ । सरकारले पाउने करमा पनि असर पर्यो ।

डिजास्टर रिकभरी प्रणाली नभएको हो कि बजेट बढी भएर नलिएको हो ?

हामीसँग डिजास्टर रिकभरी प्रणाली छ । हामीबाट धेरै कम्पनीले डिजास्टर रिकभरी प्रणाली लिएका छन् । यस्ता किसिमका आक्रमण आएर समस्या हुने र अर्को साइटबाट प्रणाली सञ्चालन गर्ने काम बारम्बार भइरहन्छ । विदेशमा अमेजनको एउटा स्थानमा प्रणाली डाउन हुँदा अर्को स्थानबाट सञ्चालन गरेर सेवा सुचारु गरिन्छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा पनि र्यान्समवेयर आक्रमण भएको थियो । केही दिनपछि अर्को डिजास्टर रिकभरी प्रणाली सञ्चालन गरेर सेवा पुनः सुरु गरिएको थियो । हामीसँग डिजास्टर रिकभरी प्रणालीको सेवा छ । यसलाई सब्सक्राइब गर्न नेप्से र सेबोनलाई अनुरोध गरेका छौँ । अहिले नेपालमा सबैभन्दा महत्त्वपूर्ण प्रणालीमध्ये स्टक एक्सचेन्जको टीएमएसको डेटा पनि भइसकेको छ । आज जनताले लगानी गर्ने मुख्य माध्यम स्टक एक्सचेन्ज हो । म आफै लगानी गर्छु, मैले नै कारोबार गर्न पाइनँ ।

त्यसका लागि डिजास्टर रिकभरी प्रणाली हुनुपर्छ । एउटा प्रणाली डाउन हुनेबित्तिकै पाँच-दस मिनेटमा सञ्चालनमा आउने प्रणाली हुनुपर्छ । यसलाई अनिवार्य गर्नुपर्छ । अब आर्थिक रूपमा कसरी गर्ने भन्ने विषयमा सरकार, हामीजस्ता डेटा सेन्टर सञ्चालक, सेबोन र नेप्से बसेर छलफल गर्नुपर्छ भनेको छु । उहाँहरूले पनि एकपटक आएर प्रस्तुतीकरण दिनूहोस् भन्नुभएको छ । केही दिनमा त्यस विषयमा छलफल हुन्छ । हिजो हामीले ब्याकअप पुनःस्थापना गर्यौं । तर, आफ्नै सुरक्षा विश्लेषण गर्न समय लागेकाले हिजो नै प्रणाली सञ्चालन गर्न नसकेका हौं ।

आगामी दिनमा यस्ता समस्या दोहोरिन्छन् कि दोहोरिँदैनन् ?

आगामी दिनमा पनि यस्ता समस्या आउँछन् । पक्कै आउँछन् । तर, त्यसलाई रोक्न कति सुरक्षात्मक उपाय अपनाइएको छ भन्ने महत्त्वपूर्ण हो । सुरक्षात्मक उपाय अपनाउँदा पनि विपत्ति आउन सक्छ । त्यस्तो विपत्तिबाट कति चाँडो अनलाइन आउन सकिन्छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ । बिजनेस कन्टिन्युटी र डिजास्टर रिकभरी कति चाँडो गर्न सकिन्छ भन्ने मुख्य विषय हो । त्यसको योजना हुनुपर्छ । यसलाई पीसीपी भनिन्छ । यसलाई पैसाले निर्धारण गर्ने हो । आर्थिक क्षमताअनुसार सेवा लिन सकिन्छ । क्षमता छ भने सेवा लिन सकिन्छ । लिन सकिएन भने प्रणाली डाउन भएको अवस्था सहनुपर्ने हुन्छ । विगतमा मानिसहरूले ब्याकअप पनि गर्दैनथे । अहिले पनि धेरै कम्पनीले ब्याकअप गरेका हुँदैनन् । किन नगरेको भन्दा महँगो पर्छ भन्ने जवाफ आउँछ ।

नेपालमा कति डेटा सेन्टर सञ्चालनमा छन् ? क्षमता कसरी निर्धारण हुन्छ ?

नेपालमा ४-५ वटा डेटा सेन्टर कम्पनी सञ्चालनमा छन् । थप डेटा सेन्टर कम्पनीहरू पनि आइरहेका छन् । अहिलेसम्म हामी किलोवाटमा छौं । मेगावाटको डेटा सेन्टर पनि हुन्छ भनेर अवधारणा अघि बढिरहेको छ । 

एआई वर्कलोड बढिरहेको छ । एआईका लागि जीपीयूको प्रयोग हुन्छ । त्यसले विद्युत्को आवश्यकता बढाउँछ । आजको दिनमा हामी सीपीयू केन्द्रित अवस्थामा छौं । जीपीयू पनि भर्खर ल्याउन थालेका छौं । अहिले त्यति ठूलो आवश्यकता छैन । तर, आगामी दिनमा पक्कै पनि मेगावाटदेखि पाँच सय मेगावाटसम्मको आवश्यकता पुग्न सक्छ । क्षमता योजना बनाएरै अघि बढ्नुपर्छ । हाम्रो क्षमता एक मेगावाट छ । यस्तो पूर्वाधार सुरुमै डिजाइन गर्नुपर्छ । अथवा विस्तार गर्दै जाँदा त्यसअनुसार डिजाइन गर्नुपर्छ ।

डेटा सेन्टरले भोग्नु परेका समस्या के-के हुन् ?

नेपाल जलविद्युतका लागि हब बन्दैछ । विद्युतको लागत कम गरिदिएको भए डेटा सेन्टरको लागत पनि कम हुन्थ्यो । लागत कम भएको भए मानिसहरूले ब्याकअपदेखि डिजास्टर रिकभरीसम्मका अन्य सेवा पनि किन्न सक्थे । हाम्रो उद्योग पनि अझै राम्रोसँग विकास हुन्थ्यो भन्ने लाग्छ ।

उद्योग विभागले डेटा सेन्टरलाई उद्योग भनेको छ । तर, नेपाल विद्युत् प्राधिकरणले उद्योग होइन भनेर हामीलाई व्यावसायिक दर लगाउने गरेको छ । उद्योगको दरमा विद्युत् उपलब्ध गराइएको भए ३०-३५ प्रतिशतसम्म विद्युतको लागत कम हुन्थ्यो । डेटा सेन्टरमा विद्युतको खर्च धेरै हुन्छ । हाम्रो आम्दानीको करिब ३० प्रतिशत विद्युतमा खर्च हुन्छ ।

भारतमा डेटा सेन्टर उद्योगलाई राम्रो बनाउन धेरै डेटा सेन्टर आऊन्, सूचना प्रविधिको काम देशमै रहोस् र एउटा प्रणाली डाउन भए पनि अर्को प्रणाली सञ्चालनमा आओस् भन्ने हिसाबले विद्युतकाे लागत निकै कम गरिएको छ । त्यहाँको ऊर्जा लागत हाम्रोभन्दा सस्तो छ । हाम्रोमा प्रतियुनिट ११ रुपैयाँ तिर्नुपर्छ भने उनीहरूको करिब ६ रुपैयाँ मात्रै छ ।

त्यसकारण नेपालमा विद्युतको लागत कम गरियो भने यो उद्योग फस्टाउन सक्छ । नेपालमा सूचना प्रविधिको क्षेत्रमा राम्रो गर्नुपर्छ भनिरहेका छौं । यसको आधार नै डेटा सेन्टर हो । कसैले सफ्टवेयर बनायो भने त्यो कहाँ राख्ने ? डेटा सेन्टरमा । कसैले सूचना प्रविधिको प्रणाली विकास गर्यो भने त्यो पनि डेटा सेन्टरमै राख्ने हो । सूचना प्रविधिको एउटा मुख्य आधार नै डेटा सेन्टर हो । हाम्रो डेटा सेन्टरको ब्याकअप बुटवल र काठमाडौंमा छ । थप विस्तार गर्ने योजना पनि छ । तर, ऊर्जा लागत कम भएको भए विस्तार गर्न अझ सहज हुन्थ्यो । अहिले पनि हामी योजना बनाइरहेका छौं ।

Share News