गगनलाई सभापति नमानेपछि मिल्ने आधार छैन

सरकार श्रीपेचबिना राजा बन्न खोज्दैछ, यो स्वीकार्य हुँदैन

एउटै पार्टी, दुई महाधिवेशन र केन्द्रदेखि गाउँसम्म दुईवटा समानान्तर नेतृत्व । आफूलाई लोकतन्त्रको अगुवा दाबी गर्ने नेपाली कांग्रेस अहिले आफ्नै आन्तरिक लोकतन्त्र र एकताको संकटमा फसेको छ । देशको राजनीतिक इतिहासमा निर्णायक भूमिका खेलेको कांग्रेस कसरी यो अवस्थामा आइपुग्यो ? पार्टी विभाजनको यो अभ्यासले कांग्रेसको भविष्यलाई कहाँ पुर्याउँछ र एकताको सम्भावना कति छ ? कांग्रेसभित्रको वर्तमान संकट, त्यसका कारण र निकासबारे महामन्त्री प्रदीप पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

जेन्जी आन्दोलनको तापमा कांग्रेसले गरेको विशेष महाधिवेशबाट नेतृत्व पुस्तान्तरण पनि भयो । निर्वाचनको परिणाम पनि भोग्यो । नियमित महाधिवेशन गरेर नयाँ नेतृत्व चयन पनि भएको छ । यी सबैको परिणामले नेपाली कांग्रेसलाई बलियो बनायो कि बनाएन ?

महाधिवेशन भनेको पार्टीको आन्तरिक जीवनका नियमित विषय हुन् । आठ वर्षसम्म अधिवेशन नगर्ने दलहरू हामीले देखिरहेको अवस्थामा नेपाली कांग्रेसले आठ महिनाको अवधिमा दुईपटक महाधिवेशन सम्पन्न गरेको छ । हामीले पार्टीलाई विधि विधानको व्यवस्थाबमोजिम चलाउने कोसिस गरिरहेका छौं । विशेष महाधिवेशन पनि विधानभित्रकै व्यवस्था हो ।

विशेष महाधिवेशनपछि १५औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने र सबैलाई सहभागी गराएर प्रतिस्पर्धात्मक विधिबाट नेतृत्व चयन गर्ने प्रक्रिया सम्पन्न गरेका छौं । विधानको व्यवस्था कार्यान्वयन गरेर नै पार्टी बलियो हुने हो । त्यसैले विधानअनुसार संगठनलाई गतिशील बनाउने हाम्रो प्रयास निरन्तर छ ।

तपाईंले सबैलाई समेटेको दाबी गरेतापनि पार्टीभित्रको असन्तुष्ट पक्षले समानान्तर अधिवेशन गरिरहेको छ । असन्तुष्ट पक्षलाई समेट्न नसक्नु तपाईंहरूको कमजोरी होइन ?

पार्टीभित्र सन्तुष्टि र असन्तुष्टि हुन्छन् । समस्याको समाधान विधिबाट गर्ने हो । महाधिवेशनमा कसले आउने र कसले नआउने भन्ने व्यवस्था थिएन । कसैले दाबी गर्न पाउने र कसैले नपाउने भन्ने पनि थिएन । विधानले निर्दिष्ट गरेका विषयबाट समस्याको समाधान खोज्ने हो । पार्टीमा केही राजनीतिक विषयहरू पनि हुन्छन् । 

पार्टीका वरिष्ठ नेताहरू बाहिर रहनुभएको हामीलाई जानकारी छ । उहाँहरूको योगदान पार्टी बनाउन हाम्रोभन्दा बढी छ । उहाँहरूलाई समेट्न हामीले विभिन्न प्रयत्न गरेका हौं । कुनै उपाय नलागेपनि विधानविपरीत जाने कुरा उपयुक्त हुँदैन । 

कांग्रेस त सानेपासँग छ । उहाँहरूले गरेको अधिवेशनलाई के भन्ने, एउटा पार्टीको सभापति दुईजना हुन्छन् ? एउटा पार्टीको झण्डा दुईवटा पक्षले बोकेर हिँड्न मिल्छ ? एउटा पार्टीको जिल्ला समिति दुईवटा हुन्छ ? 

अहिले अदालतमा मुद्दा विचाराधीन छ । तर, मुद्दा नटुंगिँदासम्म राज्यका आधिकारिक निकायबाट मान्यता पाएको नेतृत्व हामीले काम गर्न पाउँदैन भन्ने हुँदैन । सरकारमाथि पनि मुद्दा हुन्छन् । त्यसो भन्दैमा प्रधानमन्त्री र मन्त्रीले सरकार सञ्चालन गर्न नपाउने व्यवस्था छ र ? हामी संवैधानिक व्यवस्था, राजनीतिक दलसम्बन्धी कानुन र कांग्रेसको विधानअनुसार अघि बढेका छौं ।

नेता  डा. शेखर कोइरालाका लागि तपाईंहरूले केन्द्रीय कार्यालयमा कार्यकक्ष छुट्याउनु भएको रहेछ । तर उहाँले त  आफूलाई महाधिवेशनमा निम्तोसमेत गरिएन भन्नुहुन्छ नि ?

डा. शेखर कोइराला त आयोजक हो । उहाँलाई निम्तो गर्ने भन्ने कुरा कति स्वाभाविक हो ? निम्ता त पार्टी बाहिरकालाई गरिन्छ । उहाँलाई त हामीले वरिष्ठ नेता बनाउन र हाम्रो नेता भन्न चाहेको हो । उहाँलाई वरिष्ठ नेता बनाएर अभिभावकका रूपमा प्रस्तुत गर्न हामीले प्रस्ताव, अनुरोध र आग्रह गरेका हौं । तर, उहाँ सबैको नेता बन्न चाहनुभएको छ । त्यसमा उहाँको पनि आफ्नै तर्क होला । यो कार्यकक्षका कुरा हाम्रो नेताका लागि हामीले गरेको अनौपचारिक विषय हो । 

अझै पनि एकताको कुनै प्रयास हुन्छन् ? 

यसअघि त उहाँहरू पनि विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापालाई सभापति हो भनेर मान्नुहुन्थ्यो । अहिले त्यो मान्नुभएको छैन । आधारभूत विषयमै समस्या भएपछि कहाँबाट सुरु गर्ने र कसरी स्वीकार गर्ने भन्ने समस्या हुन्छ ।

अदालतले कांग्रेसको अद्यावधिकताको विषयमा शेरबहादुर देउवा पक्षलाई निस्सा दिएको छ । अब यसले कांग्रेस भित्र कस्तो असर पर्ला ?

अदालतमा विचाराधीन मुद्दाको प्रक्रियाबारे पनि हामी जानकार छौं । तर, नेपाली कांग्रेसको वैधानिक हैसियत सानेपामै छ भन्ने कुरा हामीले कसैलाई भनिरहनुपर्ने विषय होइन । कांग्रेसले आफूलाई परिवर्तन गरेर आएको बताउँछ । पार्टीमा नेतृत्व परिवर्तनबाहेक अन्य के–के कुराहरू बदलिएका छन्  ?

प्रक्रियागत ढंगबाट पार्टी सञ्चालन गर्ने विषयमा धेरै कुरा बदलिएका छन्  । विशेष महाधिवेशन वैधानिक व्यवस्थाभित्रकै विषय हो । त्यसलाई विधिसम्मत ढंगबाट सम्पन्न गरियो । त्यसको आठ महिनामा केन्द्रीय महाधिवेशन पनि सम्पन्न भयो । हामीले निर्माण गरेको राजनीतिक दस्तावेज हेर्नुस्, पुरानोभन्दा कति फरक छ । सुशासनका निम्ति गरेका प्रतिबद्धता, विधानमा भएका परिवर्तन, समावेशिताको पक्षबाट सबै समुदायलाई सहभागी गराउने विषय र संगठनलाई व्यवस्थित बनाउने प्रयास हेर्नुपर्छ । हामीले बनाएका दस्तावेज, आयोजना गरेका कार्यक्रम र व्यवहारबाट परिवर्तन स्पष्ट हुन्छ ।

२९७ सदस्यीय केन्द्रीय कार्यसमिति बनाइएको छ । सबैलाई समेट्ने नाममा जम्बो टिम बनाएको आरोप छ नि ?

पहिला २९७ जनाभित्र को छन् भन्ने हेर्नुपर्छ । ३५ वर्षमुनिका कति छन् ? श्रमिक, सहिद परिवार र द्वन्द्व प्रभावितको प्रतिनिधित्व छ कि छैन ? महिलालाई मुख्य पदमा लिएर जाने विषय सम्बोधन भएको छ कि छैन ? सबै समाजका पक्षलाई पार्टीमा सहभागी गराउने प्रयास गर्दा संख्या बढेको हो । पेशाकर्मीहरूलाई पनि ल्याटरल इन्ट्रीमार्फत सहभागी गराएका छौं । संख्या हामीले गोजीबाट झिकेर बढीएको होइन । विधिबाट निर्धारण भएको हो । धेरैजसो पदमा निर्वाचन भएको छ । केही पदमा मनोनयन मागेर विधि र प्रक्रिया पूरा गरिएको छ ।

आगामी स्थानीय तह निर्वाचनका लागि कांग्रेसको मुख्य एजेन्डा के के हुन् ? उम्मेदवार चयन कसरी हुन्छ ?

अहिले हामी स्थानीय निर्वाचनको तयारीका लागि केन्द्रीय समितिको बैठक गरिरहेका छौं । मतदातासँग मत माग्न बनाउने एजेन्डा, उम्मेदवार तय गर्ने मापदण्ड र प्रक्रिया तयार गर्नुपर्ने विषयमा छलफल भइरहेको छ । हाम्रो विधानमा प्राइमरी प्रक्रियाबाट उम्मेदवार चयन गर्ने व्यवस्था छ । विधानले त्यसलाई सुनिश्चित र अनिवार्य गरेको छ । त्यसको अभ्यास विकसित गर्ने कुरामा हामी काम गर्दै छौं । सोहीअनुसार निर्वाचन अघि नै भुइँ तहबाट प्रतिनिधि छानेर निर्वाचनमा पठाउनेछौं । 

सरकार प्रतिपक्षी दलहरूलाई पेलेर अघि बढिरहेको र लोकतन्त्र जोखिममा परेको अवस्थामा कांग्रेसको भूमिका कमजोर देखिएको आरोप छ नि ? 

सरकारले आफूलाई मन लागेको काम गर्न कांग्रेसले दिन्नौं भनेको कारणले पेलेको होइन र ? नेपाली कांग्रेस विधिको शासन स्थापित गर्न जन्मिएको पार्टी हो । संसदीय लोकतान्त्रिक व्यवस्थाको वकालत कांग्रेसले सुरुदेखि गरेको हो । हामी जेका लागि जन्मिएका थियौं, त्यो काम नगर भनेर कसैले भन्यो भन्दैमा डराएर वा तर्सिएर त्यो काम नगर्ने हुँदैन । आज पत्रकार पनि असुरक्षित छन् । नयाँ हुने नाममा परम्परागत राम्रा अभ्यासहरू किन अन्त्य गर्नुपर्यो ? नयाँ हुने ठाउँहरू अरू पनि थुप्रै छन् । राम्रा संस्कार अपनाएर नयाँ गर्दा पनि त राम्रै हुन्थ्यो सरकारलाई । 

प्रधानमन्त्रीको भारत भ्रमणलाई कसरी लिनुभएको छ ?

भारत जाँदा प्रधानमन्त्रीले पहिलेका समाधान नभएका विषयहरू जोडदार ढंगले उठाउनुपर्थ्यो । नयाँ विषय लिएर छिमेकीसँग सम्बन्ध राम्रो बनाउने र सहयोग लिने प्रयास गर्नुपर्थ्यो । राष्ट्रपतिलाई जानकारी नगराएर नयाँ हुन खोज्नु विधिको शासनभित्र बसेको जस्तो देखिँदैन । संसद्लाई जानकारी नगराउने, दलहरूसँग सहयोग लिन नखोज्ने तरिकाले नयाँ बन्न खोज्नु घमण्डजस्तो देखिन्छ । सुशासनको नाममा यस्तो गर्नु सुशासन होइन । 

प्रधानमन्त्री विदेश जाँदा देशको प्रतिनिधित्व गरेर जाने हो । राम्रो काम गर्न जाँदा हामीले असहयोग गर्नुपर्ने कुनै कारण छैन । पहिले उठाइएका मुद्दाहरू उठाउनुस्, विगतका अनुभवबाट सिक्नुस् । सरकार र राज्य भनेको एउटा पुस्ताबाट अर्को पुस्तामा अनुभव र जिम्मेवारी हस्तान्तरण गर्ने प्रक्रिया पनि हो । त्यसलाई जो सरकारमा भएपनि गर्नुपर्छ । 

सरकारको हालसम्मको कामलाई कसरी हेरिरहनु भएको छ ?

सरकारको मुख्य दायित्व कानुन पालना गर्ने, संरक्षण गर्ने र कार्यान्वयन गर्ने हो । सरकारले आफै कानुन कार्यान्वयन गर्न सकेन, छिद्र देखियो र टिप्पणी हुने अवस्था आयो भने नागरिकले सरकारमाथि विश्वास गर्दैनन् । 
 
संविधानको सबैभन्दा ठूलो रक्षक सरकार हुनुपर्छ । सुशासनको मूल आधार विधिको शासन हो । ‘म विधि भत्काएर चल्छु, तिमी विधिभित्र बसेर चल’ भन्न मिल्दैन । संविधानले निर्देश गरेको कानुन र विधिभित्र बसेर सरकार पनि चल्नुपर्छ र हामी पनि चल्नुपर्छ । संविधानभन्दा माथि भयो भनेर हामीले राजतन्त्र अन्त्य गरेको होइन र ? फेरि कसैले आफूलाई संविधानभन्दा माथि राखेर श्रीपेचबिना राजा बन्न खोज्छ भने त्यो कसरी स्वीकार्य हुन्छ ?

कांग्रेसलाई अहिले फेरि १८ करोड रुपैयाँको भारी आइलागेको छ । यो भारी बोक्न अब कति गाह्रो होला ?

चर्चा र हल्लालाई कति आधिकारिकता दिने भन्ने विषयमा मिडिया र नागरिक समाज सबैको भूमिका हुन्छ । तर, प्रश्न उठिसकेपछि त्यसको तथ्य र प्रमाण के छन् भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ । छानबिन गर्ने निकाय सरकारसँगै छन् । 

सरकारले आरोपलाई प्रमाणित गरेर देखाउनुपर्छ । सरकारका सबै संयन्त्र सरकारले भनेअनुसार चल्न सक्छन्, चलाउनुभएको पनि छ । तर, कानुन त्यसरी चल्दैन भन्ने हाम्रो विश्वास हो । त्यसैले आरोप लगाएर मात्रै हुँदैन । हामीले त छानबिन गर्नुस् भनेका छौं । हामीमाथि प्रश्न उठेका विषयमा पनि छानबिन गर्नुस्, तपाईँमाथि उठेका प्रश्नमा पनि छानबिन गर्नुस् । छानबिन निष्पक्ष होस्, सत्यतथ्य बाहिर आओस् र दोषी देखिए कानुनअनुसार कारबाही होस् । 

 

Share News