काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा भएका द्विपक्षीय समझदारी र सहकार्यका विषयले निजी क्षेत्र उत्साहित बनेको छ । उद्योगी व्यवसायीहरूले भ्रमणलाई नेपाल-भारत आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने अवसरका रूपमा लिँदै यसबाट लगानी, व्यापार, पर्यटन, ऊर्जा तथा पूर्वाधार विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेका छन् ।
भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार तथा लगानीको महत्वपूर्ण स्रोत भएकाले भ्रमणका क्रममा भएका समझदारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने निजी क्षेत्रको विश्वास छ ।
विशेषगरी बन्दरगाह पहुँच विस्तार, रेल तथा हवाई कनेक्टिभिटी, ऊर्जा क्षेत्रमा लगानी, पेट्रोलियम पाइपलाइन विस्तार र पूर्वाधार विकासका विषयलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको छ ।
प्रधानमन्त्रीसँगै भारत भ्रमणमा गएका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशका उद्योगी व्यवसायीबीच सम्बन्ध विस्तार गर्नुका साथै लगानीको वातावरण निर्माण गर्ने आशा जगाएको बताए । उनका अनुसार भारतसँग नेपालको व्यापार तथा उद्योग क्षेत्र अत्यधिक निर्भर रहेकाले भ्रमणले निजी क्षेत्रमा उत्साह थपेको छ ।
उनले भ्रमणबाट तत्कालै आर्थिक लाभ खोज्नुभन्दा पनि दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने र लगानीका सम्भावनाको ढोका खोल्ने आधार तयार भएको बताए । तर, भारतका लगानीकर्ताले नेपालमा लगानी गर्न नीतिगत अस्पष्टता र असहज वातावरण रहेको विषय उठाएकाले सरकारले त्यसलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।
‘संवाद र वार्तापछि प्राप्त उपलब्धि कार्यान्वयन गर्ने पाटो मुख्य हो । भारतका व्यवसायीले नीतिगत अभावका कारण लगानी गर्न नसक्ने बताउनुभएको छ । त्यसैले सरकारले अहिले ल्याएका विधेयक तथा कानुनलाई लगानीमैत्री बनाएर छिटो पारित गर्नुपर्छ,’ उनले भने ।
शर्माका अनुसार भ्रमणका क्रममा निजी क्षेत्रले उठाउँदै आएका रामायण सर्किट, बुद्ध सर्किट, हवाई रुट, बन्दरगाह तथा रेल कनेक्टिभिटीका विषयमा सकारात्मक छलफल भएको छ । भैरहवा विमानस्थलको आकाश हुँदै हवाई उडान गर्न सकिने विषयसमेत उठेको छ । यद्यपि त्यसको प्राविधिक पक्षमा नेपाल र भारतका नागरिक उड्डयन निकायबीच थप छलफल आवश्यक रहेको उनले बताए ।
उनले नेपालको औद्योगिक उत्पादन क्षमताको पूर्ण उपयोग हुन नसकेको विषय पनि औंल्याए । उनका अनुसार अहिले उद्योगहरूले कुल क्षमताको करिब ५० प्रतिशत मात्रै उत्पादन गरिरहेका छन् । आन्तरिक बजारमा उपभोग कमजोर हुनु र निर्यातको पर्याप्त बजार नहुनुले सिमेन्ट, डन्डी तथा छड उद्योगसमेत पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको उनको भनाइ छ ।
यसका लागि सरकारले पूर्वाधार विकासमा पर्याप्त खर्च गर्नुपर्ने र जनताको हातमा पैसा पुग्ने वातावरण बनाउनुपर्ने उनले बताए । पूर्वाधार निर्माणमा सरकारी खर्च बढ्दा रोजगारी सिर्जना हुने, औद्योगिक उत्पादनको माग बढ्ने र अर्थतन्त्रमा नगद प्रवाह विस्तार हुने उनको तर्क छ ।
भ्रमणका क्रममा भारतीय उद्योग परिसंघ (सीआईआई) र नेपाल उद्योग वाणिज्य महासंघबीच सहकार्यसम्बन्धी समझदारीसमेत भएको छ । भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि निजी क्षेत्रको सहकार्यमा काम गर्ने विषय त्यसमा समेटिएको शर्माले जानकारी दिए ।
त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल–भारत आर्थिक सहकार्यमा नयाँ सम्भावना खोलेको बताए । उनका अनुसार नेपाल र भारत प्राकृतिक तथा स्वाभाविक आर्थिक साझेदार भएकाले दुई देशबीच व्यापार तथा पारवहन सहजीकरण हुँदा दुवै मुलुक लाभान्वित हुनेछन् ।
अग्रवालले नेपालले भारतसँग कुल वैदेशिक व्यापारको ठूलो हिस्सा गर्ने भएकाले व्यापार घाटा कम गर्न नीतिगत सुधार आवश्यक रहेको बताए । उनका अनुसार नेपालले भारतसँगको व्यापारमा भोग्दै आएका एन्टी डम्पिङ शुल्क, मूल्य अभिवृद्धिसम्बन्धी प्रावधान, क्वारेन्टाइन परीक्षण प्रयोगशालाको अभाव तथा नेपाली मापदण्डलाई भारतीय मापदण्डसँग पारस्परिक मान्यता नदिने जस्ता समस्या समाधान गर्नुपर्नेछ ।
‘हाम्रो कुल व्यापारको करिब ५७ प्रतिशत भारतसँग हुन्छ । भारतसँगको व्यापारमा आयातको हिस्सा ठूलो छ भने निर्यात पनि मुख्यतः भारतमै केन्द्रित छ । त्यसैले व्यापार घाटा कम गर्न निर्यातमा देखिएका अवरोध हटाउनुपर्छ,’ उनले विकासन्युजसँगको कुराकानीमा भने ।
उनका अनुसार नेपाली वस्तुमा लाग्ने एन्टी डम्पिङ शुल्क हटाउने, मूल्य अभिवृद्धिको ३० प्रतिशतको प्रावधानलाई लचिलो बनाउने, क्वारेन्टाइन प्रयोगशाला स्थापना गर्ने तथा नेपाल र भारतका गुणस्तर मापदण्डलाई पारस्परिक मान्यता दिने विषय आगामी व्यापार वार्तामा सम्बोधन हुनुपर्छ ।
भ्रमणका क्रममा भारतका धाम्रा र काण्डला बन्दरगाहमा पहुँच विस्तार गर्ने समझदारीलाई पनि उनले महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । यसअघि नेपालले मुख्यतः कोलकाता र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको थियो । नयाँ बन्दरगाहको पहुँचले आयात-निर्यातको लागत घटाउन र व्यापार सहजीकरण गर्न मद्दत पुग्ने उनको विश्वास छ ।
त्यस्तै, रेलवे कनेक्टिभिटी, जनकपुर-अयोध्या धार्मिक पर्यटन, भैरहवा–लखनउ हवाई रुटलाई एकतर्फीबाट दुईतर्फी बनाउने समझदारी तथा सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन विस्तारका विषयलाई पनि उनले सकारात्मक रूपमा लिएका छन् ।
अग्रवालका अनुसार ऊर्जा क्षेत्रमा १८४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र ५६ अर्ब रुपैयाँ बराबरको अनुदानसम्बन्धी सहयोगको प्रतिबद्धताले नेपालको आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पु¥याउन सक्छ । नेपालमा भारतीय प्रविधि तथा पाठ्यक्रमअनुसार सञ्चालन हुने भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर शैक्षिक संस्था स्थापना गर्ने विषयलाई पनि उनले महत्वपूर्ण उपलब्धि मानेका छन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पनि प्रधानमन्त्रीको भारत भ्रमणलाई आर्थिक कूटनीतिका दृष्टिले सकारात्मक र महत्वपूर्ण भएको बताए । उनका अनुसार दुई देशबीचको सम्बन्धमा पछिल्लो समय देखिएका असहजताबीच आर्थिक एजेन्डालाई केन्द्रमा राखेर भएको छलफलले सहकार्यको नयाँ आधार तयार गरेको छ ।
पाण्डेले नेपाल र भारतबीचको व्यापार तथा लगानी सम्बन्धलाई थप सहज बनाउन सडक, रेल, हवाई सेवा र बन्दरगाहको कनेक्टिभिटी विस्तार महत्वपूर्ण हुने बताए । कनेक्टिभिटी विस्तार हुँदा उत्पादन लागत र व्यवसाय सञ्चालन खर्च घट्ने तथा नेपाली वस्तु अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न सक्ने उनको भनाइ छ ।
‘हाम्रो भारतसँगको व्यापार तथा लगानी निर्भरता महत्वपूर्ण छ । कनेक्टिभिटी विस्तार भएपछि लागत घट्छ र नेपाली उत्पादन प्रतिस्पर्धी बन्न सक्छन् । बन्दरगाहका विकल्प बढ्दा ढुवानी समय र लागत घट्नुका साथै सेवा प्रदायकसँग राम्रो मूल्यमा सेवा लिन सक्ने अवस्था बन्छ,’ उनले विकासन्युजसँग भने ।
उनका अनुसार नयाँ बन्दरगाहमा पहुँच विस्तारले पश्चिमतर्फका बजारका लागि हुने कार्गो ढुवानीमा समेत सहजता ल्याउन सक्छ । त्यसैगरी, भैरहवा र पोखरा विमानस्थललाई भारतीय सहरसँग जोड्न सके पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ । जनकपुर-अयोध्या रेल तथा धार्मिक पर्यटन कनेक्टिभिटीले पनि स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनले बताए ।
पाण्डेले भारतसँगको सहकार्यबाट पूर्वाधार आयोजनाहरू तीव्र गतिमा अघि बढे नेपाली उद्योगले निर्माण सामग्री तथा अन्य वस्तु आपूर्ति गर्ने अवसर पाउने बताए । यसले औद्योगिक माग बढाउने, रोजगारी सिर्जना गर्ने र बजारमा नगद प्रवाह विस्तार गर्ने उनको भनाइ छ ।
यद्यपि, विगतमा विभिन्न समझदारी तथा सम्झौताका बाबजुद कार्यान्वयन हुन नसकेका उदाहरण रहेकाले यसपटक कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने उनले बताए । यसका लागि दुवै देशका सचिवस्तरमा नियमित अनुगमन तथा प्रतिवेदन गर्ने संयन्त्र बनाइनुलाई उनले सकारात्मक मानेका छन् ।
परिसंघका अध्यक्ष पाण्डेका अनुसार भारतसँगको व्यापार सहजीकरण नेपालका लागि मात्रै नभई भारतका लागि पनि लाभदायक हुनेछ । नेपालको अर्थतन्त्र बलियो हुँदा भारतीय वस्तु तथा सेवाको बजार विस्तार हुने र दुई देशबीचको पर्यटन तथा जनस्तरको सम्बन्ध थप मजबुत हुने उनको भनाइ छ ।
यस्तै, ऊर्जा क्षेत्रका विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहन डाँगी प्रधानमन्त्रीको भारत भ्रमणलाई ऊर्जा क्षेत्रका लागि पनि महत्वपूर्ण उपलब्धि भएको बताउँछन् । उनका अनुसार भ्रमणले नेपाल र भारतबीच लामो समयदेखि आवश्यक रहेको उच्चस्तरीय राजनीतिक संवादको वातावरण तयार गरेको छ ।
डाँगीले भारत नेपालको विद्युत् उत्पादनका लागि लगानीको स्रोत र विद्युत् निर्यातका लागि प्रमुख बजार भएकाले भ्रमणबाट ऊर्जा क्षेत्रले अपेक्षा राख्नु स्वाभाविक भएको बताए । उनका अनुसार दुई देशका प्रधानमन्त्रीबीच भएको लामो छलफल र त्यसबाट बनेको विश्वासले ऊर्जा क्षेत्रका बाँकी समस्या समाधानका लागि संवादको बाटो खोलेको छ ।
‘हामीले राखेका सबै अपेक्षा तत्काल पूरा भएका छैनन् । तर, सबैभन्दा ठूलो उपलब्धि दुई देशबीच कूटनीतिक संवादको आधार तयार हुनु हो । अब ऊर्जा क्षेत्रका समस्या र मागलाई उच्च राजनीतिक तहमा राख्न सकिने वातावरण बनेको छ,’ उनले विकासन्युजसँग भने ।
डाँगीले भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको अरुण जलविद्युत् आयोजनाको शिलान्यासलाई ऊर्जा क्षेत्रको महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे । त्यसैगरी, पञ्चेश्वर परियोजनालाई अघि बढाउने विषयमा भएको छलफल र विद्युत् व्यापारका लागि भारतीय कम्पनीहरूसँग संवाद गर्ने अवसर खुल्नुलाई पनि उनले सकारात्मक मानेका छन् ।
उनका अनुसार नेपाल सरकारले विद्युत् व्यापारका लागि आशयपत्र (एलओआई) दिएपछि नेपाली ऊर्जा कम्पनीलाई भारतीय कम्पनीसँग विद्युत् खरिद-बिक्रीका विषयमा प्रत्यक्ष छलफल गर्ने बाटो खुलेको छ । इप्पानले लामो समयदेखि विद्युत् व्यापारका लागि यस्तो व्यवस्था गर्न माग गर्दै आएको थियो ।
उनले भ्रमणका क्रममा ऊर्जा क्षेत्रसहित विभिन्न क्षेत्रमा सहुलियतपूर्ण ऋण तथा अनुदानको प्रतिबद्धता आउनुलाई पनि सकारात्मक मानेका छन् । प्रधानमन्त्रीस्तरमा भएका सहमतिपछि दुवै देशका परराष्ट्र सचिवलाई आवश्यक विषयमा छलफल र कार्यान्वयनका लागि निर्देशन दिइनुले उपलब्धि कार्यान्वयन हुने आशा बढाएको उनको भनाइ छ । डाँगीले अब ऊर्जा क्षेत्रका निजी लगानीकर्ताले आफ्ना प्राथमिकता र समस्या सरकारसमक्ष राख्ने तथा सरकारले भारतसँगको संवादमा ती विषयलाई प्राथमिकता दिनुपर्ने बताए ।
निजी क्षेत्रले प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपाल-भारत आर्थिक सम्बन्ध विस्तारको महत्वपूर्ण अवसरका रूपमा लिएको छ । तर, उद्योगी व्यवसायीहरूले भ्रमणका क्रममा भएका समझदारीलाई वास्तविक उपलब्धिमा बदल्न नेपाल सरकारले नीतिगत सुधार, लगानीमैत्री वातावरण, पूर्वाधार निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।
उनीहरूका अनुसार भारतसँगको आर्थिक कूटनीतिलाई निरन्तरता दिँदै निजी क्षेत्रसँग सहकार्य गर्न सके मात्रै भ्रमणका क्रममा व्यक्त भएका लगानी र व्यापार विस्तारका प्रतिबद्धताले नेपालको अर्थतन्त्रमा अपेक्षित लाभ दिन सक्नेछ ।