काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुल्ने प्रकरणको अनुसन्धान पूर्वमुख्यसचिव एकनारायण अर्यालसम्म पुगेको छ । स्वास्थ्य व्यवसायी कैलाश खड्कासँगको निकट सम्बन्ध, मन्त्रालयमा भएका निर्णय प्रक्रियामा उनको भूमिकामाथि अनुसन्धान केन्द्रित भएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले श्रमिक ठगी प्रकरणमा पूर्वमन्त्रीदेखि सरकारी अधिकारी र स्वास्थ्य व्यवसायीसम्मलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा खड्कासँग निकट सम्बन्ध बनाएका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव अर्यालको भूमिकासमेत शंकाको घेरामा परेको हो ।
मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न अनुमति पाएका स्वास्थ्य संस्था माइक्रोटेकका सञ्चालक खड्का यस प्रकरणमा सबैभन्दा पहिले पक्राउ परेका व्यक्ति हुन् । उनी नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्षसमेत हुन् ।
खड्कामाथि अनुसन्धान गर्दै जाँदा पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसम्म प्रहरीको अनुसन्धान पुगेको थियो । त्यसपछि अनुसन्धान तत्कालीन सचिव, सहसचिव र अन्य सरकारी अधिकारी हुँदै पूर्वमुख्यसचिव अर्यालसम्म विस्तार भएको हो ।
मन्त्रालयको फाइलमा अर्यालको हस्ताक्षर
सीआईबीको अनुसन्धानमा अर्यालले मलेसिया रोजगारीसँग सम्बन्धित कागजात र फाइल अघि बढाउने प्रक्रियामा सक्रिय भूमिका खेलेको देखिएको छ । मन्त्रीस्तरीय निर्णय आवश्यक पर्ने विषयमा समेत मन्त्रालयमा कागजात तयार पार्ने र त्यसलाई अघि बढाउने काममा अर्याल संलग्न हुने गरेको अनुसन्धानमा खुलेको प्रहरी अधिकारीको भनाइ छ ।
मलेसियामा कामदार पठाउने प्रक्रियासँग सम्बन्धित कागजात मन्त्रालयमा पुग्दा अर्यालले समेत हस्ताक्षर गर्ने गरेका थिए । त्यस्ता फाइल मन्त्रीसमक्ष पु¥याउने काम पनि उनकै तहबाट हुने गरेको सीआईबीका एक उच्च अनुसन्धान अधिकृतले बताए ।
व्यवसायी खड्का मन्त्रालय पुग्दा तत्कालीन सचिव अर्याल र मन्त्रीसँग सिधै सम्पर्क गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकारीको भनाइ छ । यसरी सचिव र मन्त्रीसम्म सीधा पहुँच बनाएर खड्काले आफ्नो व्यावसायिक स्वार्थअनुकूल निर्णय गराउन प्रभाव जमाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
‘सचिव र मन्त्रीलाई हातमा लिएपछि उनको पहुँच माथिल्लो तहमा बन्यो,’ अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकृतले भने, ‘राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि सम्बन्ध बनाउने र उनीहरूलाई मनपर्ने उपहार दिने गरेको देखिन्छ ।’
सीआईबीको अनुसन्धानमा खड्काले अर्याललाई घर उपहार दिएको विषयसमेत खुलेको अनुसन्धान अधिकृतहरूको दाबी छ । ‘हामी यो विषयमा थप अनुसन्धान गर्दैछौं,’ ती अधिकृतले भने ।
सीडीओबाटसुरु भएको सम्बन्ध सिंहदरबारसम्म
अर्याल र खड्काबीचको सम्बन्ध श्रम मन्त्रालयमा सचिव हुनुभन्दा धेरै अघिदेखिको हो । अर्याल २०७१ मंसिरदेखि २०७२ मंसिरसम्म काठमाडौं जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारी थिए । त्यही समयमा खड्कासँग उनको चिनजान र सम्बन्ध विस्तार भएको अनुसन्धानमा खुलेको छ ।
त्यसबेला खड्का स्वास्थ्य व्यवसायीको क्षेत्रमा सक्रिय थिए । उनको कार्यालयमा झडप वा विवाद हुँदा अर्यालले आवश्यक सुरक्षाकर्मी परिचालन गर्न सहयोग गर्ने गरेको बताइएको छ । प्रशासनिक तथा अन्य काममा समेत अर्यालले खड्कालाई सहयोग गरेको प्रहरीको अनुसन्धानमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको उनीहरूको सम्बन्ध पछि सिंहदरबारसम्म विस्तार भएको देखिन्छ । अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव भएपछि खड्काको मन्त्रालयसम्मको पहुँच थप सहज बनेको अनुसन्धान अधिकृतहरूको भनाइ छ ।
अर्यालले २०७८ मंसिर १५ देखि २०८० जेठ २९ गतेसम्म श्रम मन्त्रालयको सचिवका रूपमा काम गरेका थिए । करिब १८ महिना मन्त्रालयको नेतृत्व तहमा रहँदा मलेसिया रोजगारी र स्वास्थ्य परीक्षणसँग सम्बन्धित विषयमा भएका निर्णय तथा प्रशासनिक प्रक्रियामा उनको भूमिका अनुसन्धानको विषय बनेको छ ।
अर्याल प्रहरीको खोजीमा
अर्यालपछि मुख्यसचिवसमेत बनेका थिए । तर, श्रमिक ठगी प्रकरणमा उनको नाम जोडिएपछि अहिले उनी प्रहरीको अनुसन्धानको दायरामा छन् । सीआईबीले उनलाई खोजिरहेको छ ।
मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त रकम असुल्ने व्यवस्था २०७५ कात्तिकदेखि निरन्तर सञ्चालनमा रहेको अनुसन्धानले देखाएको छ । यसमा माइक्रोटेकका सञ्चालक खड्काले तत्कालीन श्रममन्त्री र मन्त्रालयका उच्च अधिकारीसँग सम्बन्ध बनाएर आफ्नो प्रभाव विस्तार गरेको आरोप छ ।
खड्कासँगको सम्बन्ध र मन्त्रालयमा भएका निर्णय प्रक्रियामा सरकारी अधिकारीहरूको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यस प्रकरणमा राजनीतिक नेतृत्वदेखि प्रशासनिक तहसम्मका व्यक्तिहरूको भूमिका के थियो भन्ने विषय थप अनुसन्धानपछि स्पष्ट हुने प्रहरीको भनाइ छ ।
सीआईबीले यस प्रकरणमा पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित सरकारी अधिकारी तथा व्यवसायीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
पक्राउ पर्नेमा तत्कालीन सचिव विनोद केसी, सहसचिव उमेश ढुंगाना, रोजगार व्यवस्थापन महाशाखाकी तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ र तत्कालीन रोजगार व्यवस्था विभागका प्रमुख राजीव पोखरेल छन् ।
त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रविन्द्र केसी, गोरखा घर भई टोखा नगरपालिका-११ बस्ने ४२ वर्षीय प्रवीण तिवारी र सर्लाही घर भई गोकर्णेश्वर नगरपालिका-६ बस्ने ४५ वर्षीय रामपुकार तिवारी पनि पक्राउ परेका छन् ।