काठमाडौं । चौधरी समूहअन्तर्गत सञ्चालित सीजी ब्रुअरी नेपाल लिमिटेडको सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ३० करोड ८० लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७.१२ प्रतिशत अर्थात् २२ करोड रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३ अर्ब ८ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
बियर उत्पादन तथा बिक्रीमा तीन दशकभन्दा लामो अनुभव हासिल गरेको कम्पनीको आम्दानी पछिल्ला वर्षमा उतारचढावपूर्ण देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ६६ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ५ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसअघि आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको आम्दानी ४ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुगेको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ९१ करोड ६० लाख रुपैयाँ, आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ४४ करोड ६० लाख रुपैयाँ, आर्थिक वर्ष २०७५/७६ मा ३ अर्ब ३७ करोड ६० लाख रुपैयाँ र आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ९९ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
आम्दानीमा पछिल्लो सुधारसँगै कम्पनीको सञ्चालन मुनाफा अनुपातमा पनि उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा नकारात्मक रहेको सञ्चालन मुनाफा अनुपात आर्थिक वर्ष २०८१/८२ मा करिब ३ प्रतिशत पुगेको थियो । गत आर्थिक वर्षमा यस्तो अनुपात बढेर ६.७ प्रतिशत कायम भएको छ । उत्पादन क्षमताको प्रभावकारी उपयोग, उत्पादनको मूल्यमा गरिएको चरणबद्ध वृद्धि र लागत नियन्त्रणका उपायले मुनाफा सुधारमा सहयोग पुर्याएको कम्पनीले जनाएको छ ।
दुई ब्रान्डमै ६२ प्रतिशत आम्दानी निर्भर
कम्पनीले नेपाल आइस र मुस्ताङ प्रिमियम स्ट्रङ बियरलाई प्रमुख उत्पादनका रूपमा बजारमा बिक्री गर्दै आएको छ । यी दुई ब्रान्डले स्वदेशी स्ट्रङ बियर बजारमा राम्रो पहिचान बनाएका छन् । आर्थिक वर्ष २०७६/७७ को अन्त्यतिर बजारमा प्रवेश गरेका यी उत्पादन उपभोक्तामाझ लोकप्रिय छन् ।
तर, कम्पनीको आम्दानी ठूलो मात्रामा यही दुई उत्पादनमा निर्भर देखिएको छ । गत आर्थिक वर्षमा नेपाल आइस र मुस्ताङ प्रिमियमबाट मात्रै कम्पनीको कुल आम्दानीको करिब ६२ प्रतिशत हिस्सा प्राप्त भएको थियो । अघिल्लो आर्थिक वर्षमा यस्तो हिस्सा करिब ६५ प्रतिशत थियो ।
कम्पनीले स्ट्रङ र प्रिमियम समूहअन्तर्गत १२ वटा ब्रान्ड सञ्चालनमा ल्याएको भए पनि आम्दानीको मुख्य स्रोत सीमित उत्पादन नै रहेका छन् । यसलाई ध्यानमा राख्दै कम्पनीले हालै प्रिमियम बियर समूहमा नयाँ ब्रान्ड बजारमा ल्याएको छ । आगामी आर्थिक वर्षमा अर्को ब्रान्ड थप्ने योजना पनि बनाएको छ । नयाँ उत्पादनको बिक्री विस्तार हुन सकेमा स्ट्रङ बियरमा केन्द्रित कम्पनीको उत्पादन पोर्टफोलियो विविधीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
वार्षिक ५ लाख ८५ हजार हेक्टोलिटर उत्पादन क्षमता
सन् १९९३ मा स्थापना भएको सीजी ब्रुअरी नेपाल लिमिटेडले बियर उत्पादनमा तीन दशकभन्दा लामो अनुभव हासिल गरेको छ । चौधरी समूहअन्तर्गत सञ्चालित यस कम्पनीको स्थापना सुरुमा सन गोल्ड ब्रुअरी प्राइभेट लिमिटेडका नामबाट भएको थियो । पछि यसको नाम परिवर्तन गरी सीजी ब्रुअरी नेपाल प्राइभेट लिमिटेड राखिएको थियो । हाल कम्पनी सीजी ब्रुअरी नेपाल लिमिटेडका रूपमा सञ्चालनमा छ ।
कम्पनीको वार्षिक बियर उत्पादन क्षमता ५ लाख ८५ हजार हेक्टोलिटर रहेको छ । नेपाल आइस, रियल गोल्ड र मुस्ताङ यसका प्रमुख ब्रान्ड हुन् । कम्पनीले स्वदेशी बजारमा बिक्री गर्नुका साथै हङकङ, जापान, बेलायत, अमेरिका र अस्ट्रेलियालगायतका मुलुकमा समेत बियर निर्यात गर्दै आएको छ ।
कम्पनीको प्रमुख सेयरधनी चौधरी समूहअन्तर्गतको सीजी फुड्स नेपाल लिमिटेड हो । कम्पनीमा चौधरी समूहसँग आबद्ध व्यक्ति तथा संस्थाहरूको लगानी रहेको छ । चौधरी समूह उत्पादन, व्यापार, अटोमोबाइल, सिमेन्ट, आतिथ्य सेवा, घरजग्गा तथा वित्तीय सेवासहित विभिन्न क्षेत्रमा लगानी भएको नेपालको प्रतिष्ठित व्यावसायिक समूह हो ।
सन् २०२६ जुलाईको मध्यसम्म कम्पनीको नवलपरासीमा एउटा मात्र उत्पादन केन्द्र रहेको थियो । उक्त केन्द्रबाट बियर उत्पादन तथा बोतलमा भर्ने काम हुँदै आएको छ । कम्पनीले बियर उत्पादनका लागि आवश्यक माल्ट युरोप र भारतबाट आयात गर्दै आएको छ भने चामलका चिउरा र चिनी जस्ता कच्चा पदार्थ नेपाली आपूर्तिकर्ताबाट खरिद गर्दै आएको छ ।
कम्पनीको वितरण सञ्जाल देशभर फैलिएको छ । करिब ३०० वितरक र ५३ हजार खुद्रा विक्रेतामार्फत कम्पनीले आफ्ना उत्पादन बजारमा पुर्याउँदै आएको छ । स्थापित वितरण सञ्जालले बजार पहुँच र बिक्री विस्तारमा सहयोग पुर्याएको छ ।
बढ्दो ऋणभार र नियामकीय जोखिम
आम्दानी तथा सञ्चालन मुनाफामा सुधार भए पनि कम्पनीको वित्तीय अवस्था केही चुनौतीपूर्ण देखिएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल १ अर्ब ७३ करोड रुपैयाँ ऋण लिएको छ । यसमध्ये २८ करोड रुपैयाँ दीर्घकालीन र १ अर्ब ४५ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । अघिल्लो अवधिमा कम्पनीको कुल ऋण १ अर्ब ६० करोड रुपैयाँ थियो ।
कम्पनीको ऋणभार बढ्नुमा आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासमा लिइएको करिब ३० करोड रुपैयाँको पुँजीगत खर्च पुनर्वित्त कर्जाले पनि भूमिका खेलेको छ । यद्यपि, सञ्चालन मुनाफामा भएको सुधार र ऋणको ब्याजदरमा आएको गिरावटले ऋण भुक्तानी क्षमतामा सुधार ल्याएको छ ।
कम्पनीको चालु पुँजी आवश्यकता भने अझै उच्च रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा यस्तो आवश्यकता कुल सञ्चालन आम्दानीको करिब ३८ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८०/८१ मा यो अनुपात करिब ५२ प्रतिशत थियो । ग्राहकबाट भुक्तानी प्राप्त गर्न लाग्ने समय घटेका कारण सुधार भए पनि आपूर्तिकर्ताबाट प्राप्त हुने उधारो सुविधामा कमी आउँदा त्यसको प्रभाव केही सीमित भएको थियो ।
त्यस्तै, बियरमा उच्च आयात शुल्क कायम रहेकाले सस्तो मूल्यका विदेशी उत्पादनबाट स्वदेशी उद्योगले संरक्षण पाउँदै आएका छन् । मदिराजन्य पेय पदार्थ उत्पादन उद्योगमा प्रवेश गर्न आवश्यक इजाजतपत्रसम्बन्धी कडा व्यवस्थाले पनि नयाँ प्रतिस्पर्धीको प्रवेशलाई सीमित गरेको छ । तर, सरकारले आयात शुल्क घटाएमा वा हटाएमा स्वदेशी बियर उत्पादकको बिक्री आम्दानी र मुनाफामा दबाब पर्न सक्ने जोखिम रहेको छ ।
नेपालमा मदिराजन्य पेय पदार्थ उच्च कर लाग्ने वस्तुमध्ये पर्छन् । सरकारले सामान्यतया प्रत्येक वर्ष यस्ता उत्पादनमा लाग्ने अन्तःशुल्क तथा अन्य कर वृद्धि गर्दै आएको छ । करको निरन्तर वृद्धि र बजारमा प्रतिस्पर्धा तीव्र हुँदै जाँदा कम्पनीलाई बढेको लागत उपभोक्ताबाट असुल गर्न कठिन हुन सक्छ । यसले कम्पनीको मुनाफा र ऋण भुक्तानी क्षमतामा असर पार्न सक्ने जनाएको छ ।