काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडीले विश्वकै प्रतिष्ठित र महँगा लक्जरी कार निर्मातालाई चुनौती दिने महत्त्वाकांक्षासहित नयाँ अल्ट्रा लक्जरी विद्युतीय सेडान सार्वजनिक गरेको छ ।
बीवाईडीको लक्जरी कार ब्रान्ड याङवाङले सार्वजनिक गरेको यो कारको नाम अल्टियर हो । यसको चिनियाँ नाम ‘डिङयाओ’ हो । नोभेम्बर ७ मा संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित एमिरेट्स प्यालेसमा आयोजित कार्यक्रममा यो लक्जरी कारको विश्वव्यापी सार्वजनिक प्रदर्शन गरिएको हो ।
कार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय अटोमोबाइल क्षेत्रमा यसको डिजाइन, विलासी सुविधा, विद्युतीय प्रविधि र मूल्यलाई लिएर चर्चा सुरु भएको छ । विशेषगरी रोल्स रोयस र मर्सिडिज–मेब्याकजस्ता स्थापित लक्जरी कार निर्माताको बजारमा चिनियाँ कम्पनीले कस्तो चुनौती दिन सक्छ भन्ने चासो बढेको छ ।
तीन वर्षको मेहनत
अल्टियर रातारात तयार भएको कार होइन । बीवाईडीका अनुसार यसको डिजाइन र विकासमा तीन वर्षभन्दा बढी समय खर्च गरिएको छ । यसको डिजाइनको नेतृत्व बीवाईडीका डिजाइन निर्देशक वोल्फगाङ एगरले गरेका हुन् ।
एगर विश्व अटोमोबाइल डिजाइन क्षेत्रमा परिचित नाम हुन् । उनले यसअघि अडी, अल्फा रोमियो र लेम्बोर्गिनीजस्ता प्रतिष्ठित ब्रान्डमा पनि काम गरिसकेका छन् ।
अल्टियरको डिजाइन तयार गर्दा प्राचीन चिनियाँ सभ्यताको प्रतीक मानिने ‘डिङ’ नामको कांस्य भाँडोलाई मुख्य प्रेरणा बनाइएको छ । प्राचीन चीनमा डिङलाई शक्ति, प्रतिष्ठा, गरिमा र सन्तुलनको प्रतीक मानिन्थ्यो । हजारौं वर्ष पुरानो सांस्कृतिक सम्पदालाई आधुनिक लक्जरी कारको स्वरूपमा उतार्ने प्रयास गरिएको डिजाइन निर्देशक एगरले बताएका छन् ।

बीवाईडीका अनुसार यसको अगाडिको भागको डिजाइनका लागि मात्रै १०० भन्दा बढी प्रस्तावमाथि काम गरिएको थियो । अन्तिम स्वरूप तयार गर्न लामो समय लगाइएको थियो ।
यसको नामले समेत विशेष अर्थ राख्छ । ल्याटिन भाषाको ‘अल्टियर’ शब्दको अर्थ ‘अझ उच्च’ भन्ने हुन्छ । कम्पनीले आफ्नो नयाँ कारमार्फत विलासिताको नयाँ उचाइ छुने महत्त्वाकांक्षा व्यक्त गरेको हो ।
५.६ मिटर लामो, चार सिट मात्रै
अल्टियरको आकार नै यसको विशेष आकर्षणमध्ये एक हो । यो कार ५ हजार ६०० मिलिमिटर लामो, २ हजार ३० मिलिमिटर चौडा र १ हजार ५९० मिलिमिटर अग्लो छ । यसको ह्विलबेस ३ हजार ५०० मिलिमिटर छ ।
यति ठूलो आकार भए पनि यसमा पाँच वा सात सिट राखिएको छैन । कम्पनीले यसलाई चार सिटको विशेष लक्जरी सेडानका रूपमा तयार गरेको छ । चालकसहित चार जनालाई निजी जेटमा यात्रा गरेजस्तो आरामदायी अनुभव दिनका लागि यस्तो डिजाइन गरिएको जनाइएको छ ।

रोल्स रोयसकै शैलीमा खुल्ने ढोका
अल्टियरको सबैभन्दा बढी चर्चा हुने विशेषतामध्ये यसको ढोका पनि एक हो । यसका अगाडिका ढोका ८० डिग्रीसम्म र पछाडिका ढोका ९० डिग्रीसम्म खुल्छन्। पछाडिका ढोका अगाडिको सट्टा पछाडितर्फको भागमा जोडिएका छन् । यसलाई अटोमोबाइल क्षेत्रमा ‘कोच डोर’ भनिन्छ ।
रोल्स रोयसका कारमा पनि यस्तै प्रकारका ढोका प्रयोग गरिन्छन् । त्यसैले अल्टियरको यो डिजाइनले रोल्स रोयसको झल्को दिन्छ । ढोकाभित्रै छाता राख्ने विशेष ठाउँसमेत बनाइएको छ । यात्रुले गाडीबाट ओर्लिंदा वा चढ्दा छाता सहजै निकाल्न सक्छन् ।
गाडीको अगाडिको ग्रिलमा १३७ वटा चम्किला वस्तु सजावटको रूपमा जडान गरिएका छन् । प्रकाश पर्दा फरक कोणबाट फरक चमक देखिने गरी तिनलाई मिलाइएको कम्पनीको भनाइ छ । अगाडिको लोगो २४ क्यारेट सुनबाट बनाइएको विवरण पनि सार्वजनिक भएको छ ।
निजी जेटमा जस्तै आरामदायी इन्टेरियर
अल्टियरको वास्तविक विलासिता यसको बाहिरी स्वरूपभन्दा पनि भित्री भागमा बढी देखिन्छ । चार सिटको यो कारमा पछाडिका यात्रुलाई विशेष प्राथमिकता दिइएको छ ।यसका पछाडिका दुवै सिटलाई विमानमा प्रयोग हुने आरामदायी सिटको अवधारणामा तयार गरिएको छ ।
कम्पनीले तिनलाई ‘जिरो ग्राभिटी सिट’ भनेको छ । यी सिटमा खुट्टा राख्ने छुट्टै व्यवस्था छ भने चारवटा मसाज बल भएको मेकानिकल मसाज प्रणाली पनि उपलब्ध छ ।
त्यसैगरी, गाडीमा ‘रिल्याक्सेसन मोड’ राखिएको छ । यो सुविधा एक्टिभ गर्दा सिट पछाडि ढल्किन्छन्, खुट्टा राख्ने भाग माथि उठ्छ, झ्यालका पर्दा बन्द हुन्छन् र भित्री प्रकाश मधुरो बनाइन्छ । मसाज प्रणाली पनि एकैपटक सक्रिय हुन्छ । यसले यात्रुलाई गाडीभित्रै आराम गर्ने छुट्टै वातावरण प्रदान गर्छ ।
यसको अगाडिको यात्रु सिटलाई पनि एकैपटकमा फोल्ड गर्न सकिन्छ । त्यसो गर्दा पछाडि दायाँतर्फ बस्ने यात्रुले अगाडिको भागमा अझ खुला दृश्य पाउँछन् ।
मनोरञ्जनका लागि छतमा २१.४ इन्चको ठूलो स्क्रिन राखिएको छ । यसबाट चलचित्र हेर्न, मनोरञ्जन लिन र भिडियो कन्फरेन्स गर्न सकिन्छ । पछाडिका यात्रुले छुट्टै कन्ट्रोल कन्सोलबाट विभिन्न सुविधा सञ्चालन गर्न सक्छन् ।
ध्वनि प्रणाली पनि सामान्य कारभन्दा निकै फरक छ । यसमा डाइनअडियोको प्लाटिनम एभिडेन्स सिरिजको ३९ वटा स्पिकर भएको साउन्ड सिस्टम राखिएको छ । गाडी स्टार्ट हुँदा केही ट्वीटरहरू आफै माथि उठ्ने र घुम्ने व्यवस्था छ ।

यसबाहेक अगाडि र पछाडि गरी दुईवटा फ्रिज राखिएका छन् । पछाडिको ५.५ लिटर क्षमताको फ्रिजमा चिसो र तातो दुवै तापक्रम नियन्त्रण गर्न सकिन्छ । लामो यात्रामा पेय पदार्थ र अन्य सामग्री राख्न यो उपयोगी हुन्छ ।
गाडीको इन्टेरियरमा पूर्ण दानायुक्त सेमी–एनिलिन छाला, प्राकृतिक ऊनका कार्पेट र विशेष काठको प्रयोग गरिएको छ । हावाको निकास हुने ठाउँमा पहेँलो हेटियन जेड नामको प्राकृतिक पत्थर प्रयोग गरिएको छ । सिटमा परम्परागत चिनियाँ सुचौ रेशमी कढाइको डिजाइनसमेत समावेश गरिएको छ ।
कम्पनीले भित्री भागमा ११ स्थानमा ४८ वटा गहनाजस्ता सजावटी सामग्री राखेको जनाएको छ । सामान्य बटन र स्विचलाई समेत धातुबाट बनाइएको छ । तिनको आवाज र स्पर्श कस्तो हुन्छ भनेर विकासकै क्रममा साना हथौडाले ठोकेर परीक्षण गरिएको कम्पनीको भनाइ छ ।
चारवटा मोटर, एक हजार किलोमिटरभन्दा बढी रेन्ज
अल्टियरको अर्को महत्त्वपूर्ण पक्ष यसको विद्युतीय प्रविधि हो । यसमा बीवाईडीको ई–फोर प्लेटफर्म प्रयोग गरिएको छ । चारवटा छुट्टाछुट्टै विद्युतीय मोटरले चारवटै पाङ्ग्रालाई स्वतन्त्र रूपमा नियन्त्रण गर्छन् ।
यसले आवश्यकताअनुसार प्रत्येक पाङ्ग्रामा पुग्ने शक्ति परिवर्तन गर्न सक्छ । कम्पनीका अनुसार यो प्रणालीले सेकेन्डमा सय पटकभन्दा बढी शक्ति वितरण समायोजन गर्न सक्छ । तीव्र गतिमा एउटा टायर फुटे पनि गाडीको सन्तुलन कायम राख्न सहयोग गर्ने दाबी गरिएको छ ।
यसमा बीवाईडीको दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रयोग गरिएको छ । कम्पनीले एकपटक पूर्ण चार्ज गर्दा चिनियाँ सीएलटीसी परीक्षण मापदण्डअनुसार एक हजार किलोमिटरभन्दा बढी दूरी पार गर्न सक्ने जनाएको छ ।
यसमा बीवाईडीको फ्ल्यास चार्जिङ प्रविधिसमेत समावेश गरिएको छ । यद्यपि यसको चार्जिङ क्षमताका सबै प्राविधिक विवरण सार्वजनिक भइसकेका छैनन् ।
सस्पेन्सनका लागि पूर्ण सक्रिय बडी कन्ट्रोल प्रणाली प्रयोग गरिएको छ । यसले अगाडिको सडकको अवस्था पहिल्यै पहिचान गरी सस्पेन्सन समायोजन गर्न सक्छ । यसको उद्देश्य खाल्डाखुल्डी र असमान सडकमा पनि यात्रुलाई सहज अनुभव दिलाउनु हो ।

त्यस्तै, गाडीले आफ्नै ठाउँमा घुम्न सक्ने ‘ट्यांक टर्न’ सुविधा र आपत्कालीन अवस्थामा पानीमा तैरिन सहयोग गर्ने प्रणाली पनि राखिएको छ । बीवाईडीको गड्स आई नामक चालक सहायता प्रविधि पनि यसमा उपलब्ध छ । यसले सहर, राजमार्ग र पार्किङ क्षेत्रमा चालकलाई सहयोग गर्छ ।
तर, कम्पनीले अहिलेसम्म यसको मोटरको कुल शक्ति, टर्क, शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन लाग्ने समय र ब्याट्रीको कुल क्षमताजस्ता सबै विवरण सार्वजनिक गरेको छैन ।
मूल्य कति ?
अल्टियरको मूल्यले पनि अन्तर्राष्ट्रिय अटोमोबाइल क्षेत्रमा चर्चा पाएको छ । यसको पहिलो सीमित संस्करण ‘सान्हे डिङयुन’को चीनमा अग्रिम बुकिङका लागि मूल्य २० लाख ८० हजार युआन तोकिएको छ ।
यो रकम करिब ३ लाख ११ हजार ५०० अमेरिकी डलर बराबर हुन्छ । नेपाली रुपैयाँमा रूपान्तरण गर्दा करिब ४ करोड ६० लाख रुपैयाँ पर्न आउँछ । यद्यपि यो चीनको अग्रिम बुकिङ मूल्य हो र अन्तिम मूल्य सार्वजनिक भइसकेको छैन ।
पहिलो संस्करण विश्वभर जम्मा ३९९ वटा मात्रै उत्पादन गर्ने योजना छ । चीनमा बुकिङ गर्न ३ लाख युआन (करिब ४५ हजार अमेरिकी डलर) धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ ।
अल्टियरको प्रतिस्पर्धा मुख्यतः रोल्स रोयस घोस्ट, मर्सिडिज–मेब्याक एस क्लास र बेन्टले फ्लाइङ स्परसँग हुने देखिन्छ । चिनियाँ बजारमै मर्सिडिज–मेब्याक एस क्लास र म्याक्स्ट्रो एस पनि यसका प्रतिस्पर्धी हुन् ।
यद्यपि अल्टियरको मूल्य र सुविधा हेर्दा यसले रोल्स रोयस फ्यान्टमजस्ता अझ महँगा कारको बजारलाई समेत चुनौती दिने महत्त्वाकांक्षा राखेको देखिन्छ ।

बजारमा कस्तो छ प्रतिक्रिया ?
अल्टियर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय अटोमोबाइल सञ्चारमाध्यमले यसलाई बीवाईडीको अहिलेसम्मकै महत्त्वाकांक्षी लक्जरी कार परियोजनामध्ये एकका रूपमा चर्चा गरेका छन् ।
अटोकार, कार एन्ड ड्राइभर र अटोकार इन्डियाजस्ता सञ्चारमाध्यमले यसको रोल्स रोयससँग मिल्दोजुल्दो कोच डोर, चार सिटको आरामदायी इन्टेरियर, ३९ स्पिकरको साउन्ड सिस्टम र चिनियाँ सांस्कृतिक सम्पदाबाट प्रेरित डिजाइनलाई विशेष महत्त्व दिएका छन् ।
विशेषगरी यसको पछाडिको सिट, ढोका खोल्ने शैली र भित्री सुविधाले परम्परागत लक्जरी कारको अवधारणालाई विद्युतीय प्रविधिसँग जोडेको विश्लेषण गरिएको छ ।
तर यसको डिजाइनबारे सबैको प्रतिक्रिया एउटै छैन । बाहिरी बनावटमा रोल्स रोयसको शैलीसँग मिल्दोजुल्दो पक्ष देखिएकाले कतिपयले यसलाई मौलिक चिनियाँ लक्जरी डिजाइनका रूपमा स्थापित हुनुपर्ने चुनौती रहेको टिप्पणी गरेका छन् । अर्कोतर्फ, प्राचीन चिनियाँ कलालाई आधुनिक कारमा समेट्ने प्रयासलाई सकारात्मक रूपमा हेरिएको छ ।
बीवाईडीले यसअघि नै याङवाङ ब्रान्डमार्फत महँगा विद्युतीय एसयूभी र सुपरकार बजारमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ । याङवाङ यू ७ सेडान, यू ८ एसयूभी र यू ९ सुपरकार यसका उदाहरण हुन् ।
अल्टियर भने कम्पनीको लक्जरी सेडान बजारमा अझ माथिल्लो तहमा प्रवेश गर्ने प्रयास हो ।