काठमाडौं । आगामी २०८३ को स्थानीय तह निर्वाचनमा देशभरका ५३ जना नगरप्रमुखहरू पुनः उम्मेदवार बन्न नपाउने भएका छन् । संविधानमा एउटै पदमा दुई कार्यकालभन्दा बढी उम्मेदवार बन्न नपाउने व्यवस्थासँगै दोस्रो कार्यकालमा निर्वाचित भइसकेकाहरू पुनः उम्मेदवार बन्न नपाउने भएका हुन् ।
नेपालको संविधानको धारा २१५ (७) र धारा २१६(७) ले स्थानीय तहको प्रमुख (अध्यक्ष वा मेयर) पदमा दुई कार्यकाल निर्वाचित भइसकेको व्यक्तिलाई पुनः सोही पदमा उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ ।
संघीयताका जानकार अधिवक्ता रमेश काफ्लेका अनुसार दुई कार्यकाल लगातार पूरा गरेको हुनुपर्ने सर्त संविधानमा छैन ।
त्यसैले बीचमा एक कार्यकाल विश्राम लिएर पुनः मेयर निर्वाचित भएको अवस्थामा पनि दुई कार्यकालको सीमा पूरा भएको मानिन्छ । तर अहिले दुईपटक मात्रै स्थानीय तहको निर्वाचन भएकोले पछिल्ला दुई निर्वाचनमा निर्वाचित भएकाले अहिले लगातार निर्वाचित पदाधिकारी बुझिने काफ्लेको बुझाइ छ ।
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै मधेश प्रदेशका १५ जना नगर प्रमुख उम्मेदवारी दिनबाट वञ्चित हुनेछन् । त्यस्तै, बागमतीका १२, कोशीका १०, लुम्बिनीका ६, गण्डकीका ५, सुदूरपश्चिमका ३ र कर्णालीका २ जना छन् ।
मधेश प्रदेश
मधेश प्रदेशअन्तर्गत सप्तरीको बोदेबरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह, सिरहाको मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादव र सिरहाकै सुखीपुर नगरपालिकाका प्रमुख रामऔतार यादवले दुई कार्यकाल पूरा गरिसकेका छन् । त्यसैले आगामी निर्वाचनमा ती पालिकाले नयाँ नेतृत्व पाउनेछन् ।
त्यस्तै, धनुषाको विदेह नगरपालिकाका प्रमुख बेचन दास तत्मा र धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डल, महोत्तरीको भंगाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साह, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल र लोहारपट्टी नगरपालिकाका प्रमुख शैलेन्द्रकुमार यादव पनि आगामी निर्वाचनमा सोही पदमा उम्मेदवार बन्न पाउने छैनन् ।
त्यसैगरी, सर्लाहीका दुई पालिका गोडैटा नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादव र बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा पनि आगामी निर्वाचनमा सहभागी हुन पाउने छैनन् ।
रौतहटका चार पालिका गुजरा नगरपालिकाका प्रमुख सन्तलालप्रसाद चौधरी, गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादव, परोह नगरपालिकाका प्रमुख शेख वकिल र मौलापुर नगरपालिकाका प्रमुख रीना कुमारी शाहले दुई कार्यकाल पालिकाको प्रमुख पदमा रहेर जिम्मेवारी सम्हालिसकेका छन् ।
त्यस्तै, बाराको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादव पनि आगामी निर्वाचनमा सोही पदमा उम्मेदवार बन्न पाउने छैनन् ।

बागमती प्रदेश
धादिङका दुई पालिका धुनीबेंसी र नीलकण्ठ नगरपालिका प्रमुख क्रमश बालकृष्ण आचार्य र भीम प्रसाद ढुंगानाले आगमी स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् ।
काठमाडौंका तीन पालिका चन्द्रगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, टोखा नगरपालिकाका प्रकाश अधिकारी र दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले पनि यसपटक चुनावमा सहभागी हुन पाउने छैनन् ।
भक्तपुरका दुई पालिका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, ललितपुरका दुई पालिका ललितपुर महानगरपालिकाका र गोदवारी नगरपालिकाका प्रमुख क्रमश: चिरीबाबु महर्जन र गजेन्द्र महर्जनले सोही पदमा चुनावमा प्रतिस्पर्धा गर्न पाउने छैनन् ।
त्यसैगरी, काभ्रेपलञ्चोकका तीन पालिका धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठ, पाँचखल नगरपालिका प्रमुख महेश खरेल, र मण्डन देउपुर नगरपालिका प्रमुख महेश खरेल आगमी निर्वाचनमा सहभागी हुन पाउने छैनन् ।

कोशी प्रदेश
कोशी प्रदेशअन्तर्गत इलामको देउमाई नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोखरेल, झापाको कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र संखुवासभाको पाँचखपन नगरपालिकाका प्रमुख विपीन राई आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने छैनन् ।
त्यस्तै, तेह्रथुमका दुई पालिका म्याङलुङ र लालीगुराँस नगरपालिकाका प्रमुख क्रमशः सञ्जयकुमार तुम्बाहाङफे र अर्जुन माबोहाङ, भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आले र धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पनि नगर प्रमुखका रूपमा दोस्रो कार्यकाल पूरा गरिसकेका छन् ।
त्यसैगरी, मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवाल, सुनसरीको दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदार र सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा पनि आगामी निर्वाचनमा सोही पदमा उम्मेदवार बन्न पाउने छैनन् ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापा, कपिलवस्तुका तीन पालिका कृष्ण नगर, बुद्धभूमि र महाराजगञ्ज नगरपालिका प्रमुखले आगामी स्थानीय तहको निर्वाचनमा भाग लिन नपाउने भएका छन् ।
कृष्णनगर नगरपालिकामा रजत प्रताप शाह, बुद्धभूमिममा केशवकुमार श्रेष्ठ र महाराजगञ्जमा अब्दुल कलाम मुसलमानले नेतृत्व निभाइरहेका छन् ।
त्यस्तै, दाङको घोरही नगरपालिका प्रमुख नरलाल चौधरी र बर्दियाको गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादवले पनि चुनावमा भाग लिन नपाउने भएका छन् ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशअन्तर्गत लमजुङका दुई पालिका बेंसीसहर नगरपालिका प्रमुख गुमान सिंह अर्याल र मध्य नेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेको ठाउँमा यसपटक नयाँ अनुहार आउने भएका छन् ।
तनहुँको व्यास नगरपालिका प्रमुख बैकुण्ठनाथ न्यौपाने, बागलुङको बागलुङ नगरपालिका प्रमुख भरत शर्मा गैरै र पर्वतको कुस्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले आगमी स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने छैनन् ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशअन्तर्गत अछामको मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा, अछामकै साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर र कञ्चनपुरको बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरी आगामी निर्वाचनमा सोही पदमा उम्मेदवार बन्न पाउने छैनन् ।

कर्णाली प्रदेशअन्तर्गत जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रसाद घर्ती र सुर्खेतको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले पनि आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने छैनन् ।