काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले भियतनाममा सेमिकन्डक्टर (चिप) परीक्षण प्लान्ट निर्माण गर्न ३९ ट्रिलियन डङ (१.५ अर्ब डलर) लगानी गर्ने योजना बनाएको छ ।
कृत्रिम बौद्धिकता (एआई) को बढ्दो मागका कारण सिर्जना भएको मेमोरी चिपको विश्वव्यापी अभावलाई कम गर्न प्लान्ट निर्माण गर्न लागेको हो ।
रोयटर्सले हेरेको कम्पनीको प्रस्तावसम्बन्धी दस्ताबेजले उक्त कुरा देखाएको हो ।
गत अप्रिलमा स्थानीय अधिकारीहरूलाई पठाइएको र रोयटर्सले समीक्षा गरेको उक्त दस्तावेजअनुसार हनोईभन्दा ६० किलोमिटर (३७ माइल) उत्तरमा रहेको एक औद्योगिक क्षेत्रमा नयाँ कारखानाको निर्माण कार्य सुरु भइसकेको छ । प्लान्ट नोभेम्बर २०२७ देखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
यो भियतनाममा सामसङको पहिलो चिप परीक्षण कारखाना हुनेछ । एआई डेटा सेन्टर सञ्चालकहरूबाट मेमोरी चिपको अत्यधिक माग भएका कारण स्मार्टफोन, ल्यापटप र अटोमोबाइलजस्ता उद्योगहरूमा यसको आपूर्तिमा गम्भीर अभाव देखिएको छ ।
यो पनि पढ्नूहोस् : हुवावेले नयाँ ‘स्मार्टफोन चिप्स’ ल्याउने
उक्त दस्तावेजका अनुसार यो कारखानाले विशेष गरी ‘लिगेसी चिप्स’ (पुराना र स्थापित प्रविधिका चिप्स) मा ध्यान केन्द्रित गर्नेछ । यस्ता पुराना प्रविधिका मेमोरी चिप्स एआई आपूर्ति शृङ्खलाका लागि कम महत्त्वपूर्ण भए तापनि प्रमुख उत्पादकहरूले आफ्नो धेरैजसो उत्पादन क्षमता एआई चिप्स निर्माणमा लगाएका कारण यिनको पनि चरम अभाव देखिएको छ ।
नयाँ स्थानका लागि वातावरणीय अनुमति प्राप्त गर्न पठाइएको प्रस्तावअनुसार यस नयाँ प्लान्टसँग वार्षिक १५३.३ अर्ब गिगाबिट ‘डाइनामिक र्यान्डम– एक्सेस मेमोरी’ (डीआरएएम) चिप्स र थप २५५.६ अर्ब गिगाबिट ‘न्यान (एनएएनडी) मेमोरी चिप्स’ आपूर्ति गर्ने वार्षिक क्षमता हुनेछ ।
यस परियोजनामा सामसङको लगानीको आकार, उत्पादन क्षमता र उत्पादनको समयतालिकासम्बन्धी विस्तृत विवरणहरू यसअघि सार्वजनिक भएका थिएनन् । सामसङले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।
उक्त औद्योगिक क्षेत्र रहेको थाइ नुयेन प्रान्तको पिपुल्स कमिटीले पनि टिप्पणीको अनुरोधलाई कुनै प्रतिक्रिया दिएको छैन ।
भियतनामी अधिकारीहरूले गत मार्चमा यो लगानीलाई स्वीकृति दिएका थिए र दस्ताबेजका अनुसार सामसुङले सम्भावित दोस्रो कारखानाका लागि यस परियोजनाबाट हुने नाफा (यदि भएमा) बाट करिब २.५ अर्ब डलरसम्म पुनः लगानी गर्ने मनसाय राखेको छ ।
यस कारखानाले आवश्यक सबै अनुमतिहरू पाइसकेको छ कि छैन वा अधिकारीहरूसँग अझै वार्ता भइरहेको छ भन्ने कुरा स्पष्ट छैन । भियतनाममा कम्पनीहरूले प्रायः वातावरणीय अनुमतिको पर्खाइमा रहँदै निर्माण स्थलहरूमा प्रारम्भिक जग खन्ने काम सुरु गर्ने गर्छन् ।
आफ्नो नाम नखुलाउन चाहने एक जानकार व्यक्तिका अनुसार कम्तीमा पनि अप्रिलदेखि २०० भन्दा बढी सामसङका इन्जिनियर र कर्मचारीहरू यस परियोजनाको निर्माण स्थलमा काम गरिरहेका छन् ।
रोयटर्सका पत्रकारहरूले यसै साताको भ्रमणका क्रममा निर्माण स्थलमा ठुला निर्माण सवारी साधन र कामदारहरूले काम गरिरहेको देखेका थिए । त्यहाँका एक सुरक्षा गार्डले उक्त स्थानमा सामसङको सेमिकन्डक्टर प्लान्ट बन्ने पुष्टि गरे ।
यो दक्षिण कोरियाली समूह दशकौंदेखि विभिन्न सुविधाहरूमा २३ अर्ब डलरभन्दा बढी लगानी गर्दै भियतनाममा सबैभन्दा ठुलो विदेशी लगानीकर्ता बनिसकेको छ । यो नयाँ प्लान्ट सामसङ इलेक्ट्रोनिक्सले स्मार्टफोन र ट्याब्लेट उत्पादन गर्ने एउटा ठुलो कम्प्लेक्सको छेउमै निर्माण भइरहेको छ ।
भियतनाम विश्वव्यापी सेमिकन्डक्टर ‘ब्याक–इन्ड’ (चिप निर्माणको अन्तिम चरणको) उद्योगमा पनि एक प्रमुख खेलाडी हो, जुन चिप फेब्रिकेसन (मूल निर्माण) भन्दा बढी श्रम सघन र कम जटिल हुन्छ । यस देशमा इन्टेल, एमकोर टेक्नोलोजी र हाना माईक्रोन लगायतका धेरै बहुराष्ट्रिय कम्पनीहरूको एसेम्बलिङ, प्याकेजिङ र परीक्षण प्लान्टहरू रहेका छन् ।
दस्ताबेजले देखाएअनुसार परीक्षण चिप निर्माणको अन्तिम प्रक्रिया हो, जसमा पहिले एसेम्बल र प्याकेज गरिएका सेमिकन्डक्टरहरूलाई ढुवानी गर्नुअघि सम्भावित त्रुटिहरूका लागि जाँच गरिन्छ ।
अन्य सामग्रीहरू :
तेल र ग्यास आपूर्ति सुरक्षित राख्न यूएई र कतारको ‘डार्क ट्रान्जिट’ रणनीति
अर्बपति वुओङको ७ अर्ब डलरको रहस्यमयी कारोबार
नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन
इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू
पौने दुई करोड डलर जरिवाना तिर्न अडानी समूह सहमत
इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति