राजधानी नजिकै पनि मोबाइलमा नो नेटवर्क, फोन गर्न डाँडो चढ्नुपर्ने

काठमाडौं । राजधानी नजिकै रहेको दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका अधिकांश बस्ती अझै पनि भरपर्दो सञ्चार सुविधाबाट वञ्चित छन् । सञ्चार सेवाको कमजोर पहुँचका कारण स्थानीय बासिन्दाले दैनिक जीवनदेखि आकस्मिक अवस्थामा समेत विभिन्न समस्या भोग्दै आएका छन् । महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीका अनुसार गाउँपालिकाले सञ्चार सेवा विस्तारका लागि पटक–पटक सम्बन्धित निकाय तथा नेपाल दूरसञ्चार प्राधिकरणसँग पहल गरे पनि अपेक्षित सुनुवाइ हुनसकेको छैन । उनले गाउँपालिकाका अधिकांश क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए ।  महाङ्काल गाउँपालिकामा साविकका बुखेल, मानिखेल, गोटिखेल, कालेश्वर, चन्दनपुर र ठुलादुर्लुङ गाविस समेटेर ६ वटा वडा कायम गरिएका छन् । यी वडाका धेरैजसो बस्तीमा मोबाइल नेटवर्क कमजोर रहेको स्थानीयको गुनासो छ । कतिपय स्थानमा घरभित्र बसेर फोन गर्न वा इन्टरनेट चलाउन नसकिने अवस्था रहेको छ भने नेटवर्क खोज्दै डाँडाकाँडा पुग्नुपर्ने बाध्यता अझै कायम छ । अध्यक्ष केसीले स्थानीयवासीले सञ्चार समस्याबारे निरन्तर गुनासो गर्ने गरेको बताउँदै वर्षौंदेखि समस्या समाधानका लागि प्रयास गरिए पनि सम्बन्धित निकायको पर्याप्त ध्यान नपुगेको बताए । उनका अनुसार कतिपय गाउँमा रातिको समयमा समेत घरबाहिर निस्केर नेटवर्क खोज्दै फोन गर्नुपर्ने अवस्था छ । गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेले गाउँपालिकाको केन्द्र गोटिखेलस्थित कार्यालय परिसरमै सञ्चार सेवाको समस्या रहेको जानकारी दिइन् । उनले फाइबर नेट जडान तथा सबै वडामा गुणस्तरीय सञ्चार सेवा विस्तारका लागि विभिन्न निकायमा पटकपटक निवेदन दिइएको भए पनि हालसम्म समाधान ननिस्किएको बताइन् ।  उपाध्यक्ष गोलेका अनुसार सञ्चार सेवाको अभावले विशेषगरी विपद् व्यवस्थापन र स्वास्थ्य सेवामा गम्भीर असर परेको छ । वर्षायाममा बाढीपहिराको जोखिम बढ्ने भएकाले समयमै सूचना आदानप्रदान हुन नसक्दा स्थानीय बासिन्दा थप जोखिममा पर्ने गरेका छन् । बिरामीको अवस्था गम्भीर हुँदा एम्बुलेन्स वा सम्बन्धित निकायसँग तत्काल सम्पर्क गर्न कठिन हुने समस्या पनि रहेको उनको भनाइ छ । सञ्चार सेवा कमजोर हुँदा गाउँपालिकाको प्रशासनिक कामकाजमा पनि असर परेको छ । विद्युत् अवरुद्ध भएको अवस्थामा आवश्यक कागजात तथा सिफारिस सम्बन्धित निकायमा पठाउन समस्या हुने गरेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । डिजिटल प्रविधिमा आधारित सरकारी सेवाको विस्तार भइरहेका बेला आधारभूत सञ्चार पूर्वाधारको अभावले सेवा प्रवाहमा चुनौती थपिएको छ । प्राकृतिक स्रोत, धार्मिक तथा सामाजिक महत्वका क्षेत्रहरूले सम्पन्न महाङ्काल गाउँपालिकाको मुख्य आर्थिक आधार कृषि व्यवसाय हो । स्थानीय आम्दानीको अर्को प्रमुख स्रोत वैदेशिक रोजगारी रहेको छ । पछिल्ला वर्षहरूमा आधुनिक जीवनशैलीतर्फ आकर्षण बढ्दै गए पनि सञ्चार पूर्वाधारको कमजोर अवस्थाले विकासका सम्भावनामा असर पारेको स्थानीयवासी बताउँछन् । दक्षिण ललितपुरका ग्रामीण क्षेत्रमा सञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखी आवश्यक टावर, फाइबर नेटवर्क तथा अन्य प्रविधि जडानका लागि सम्बन्धित निकायले शीघ्र पहल गर्नुपर्ने स्थानीय जनप्रतिनिधिहरूको माग छ ।

वर्ल्डलिङ्कको आम्दानी १२ अर्ब, विदेशी लगानी साढे ४ अर्ब

काठमाडौं । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा १२ अर्ब १३ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ९ प्रतिशत अर्थात् १ अर्ब ३० लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कुल आम्दानीमध्ये करिब ५१ प्रतिशत इन्टरनेट सेवा बिक्री, ४३ प्रतिशत मोनिटरिङ तथा प्राविधिक सहयोग सेवा र बाँकी ६ प्रतिशत नेटवर्क सेवा प्रदायक (एनएसपी) सेवा, उपकरण बिक्री तथा अन्य स्रोतबाट आएको कम्पनीले जनाएको छ ।  ब्यान्डविथ खर्च स्थिर रहँदा तथा अन्य सञ्चालन खर्चहरू, विशेष गरी कर्मचारी खर्च, कार्यक्षमता सुधारका कारण नियन्त्रणमा रहँदा कम्पनीको सञ्चालन नाफा मार्जिन ३१.४५ प्रतिशतबाट बढेर ३२.६१ प्रतिशत पुगेको छ । जसकारण ग्रस क्यास एक्रुअल्स गत वर्ष उल्लेखनीय रूपमा बढेर ३ अर्ब १ करोड ५० लाख रुपैयाँ पुगेको छ । जबकि अघिल्लो वर्ष ९४ करोड रुपैयाँ थियो ।  गत वर्ष कुल आम्दानीमध्ये करिब ४२ प्रतिशत खुद्रा र करिब ९ प्रतिशत व्यावसायिक ग्राहकबाट प्राप्त भएको छ । इन्टरनेट सेवासँगै कम्पनीले अनुगमन तथा प्राविधिक सहयोग, डेटा कनेक्टिभिटी, नेटवर्क सेवा र अन्य विविध सेवाबाट पनि उल्लेखनीय आम्दानी गर्दै आएको छ । साथै चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा कम्पनीको आम्दानी ९ अर्ब ५५ करोड ८० लाख रुपैयाँ रहेको जनाएको छ ।  कम्पनीका अनुसार आव २०७९/८० मा १० अर्ब ३३ करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा ९ अर्ब ३९ करोड १० लाख रुपैयाँ, आव २०७७/७८ मा ७ अर्ब ९५ करोड ४० लाख रुपैयाँ, आव २०७६/७७ मा ६ अर्ब ५४ करोड ५० लाख रुपैयाँ, आव २०७५/७६ मा ५ अर्ब ४ करोड १० लाख रुपैयाँ, आव २०७४/७५ मा ४ अर्ब १२ करोड ४० लाख रुपैयाँ आम्दानी भएको थियो । जनवरी १९९६ मा स्थापना भएको वर्ल्डलिङ्क कम्युनिकेसन्स नेपालको इन्टरनेट सेवा क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव बोकेको कम्पनी हो । कम्पनी हाल देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकको रूपमा परिचित छ । ‘वर्ल्डलिङ्क’ ब्रान्ड नाममा सेवा दिँदै आएको यो कम्पनीले देशभर लाखौँ ग्राहकलाई इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीको बोर्डमा पाँच जना अनुभवी निर्देशकहरू रहेका छन्, जसको नेतृत्व प्रबन्ध निर्देशक तथा अध्यक्ष दिलीप अग्रवालले गरेका छन् । उनी कम्पनीका संस्थापक तथा परिकल्पनाकार पनि हुन् । त्यसैगरी, कार्यकारी निर्देशक मनोज कुमार अग्रवाल र निर्देशक लक्ष्मण कुमार यादव कम्पनी स्थापनादेखि नै संलग्न छन् । नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवेदन अनुसार वर्ल्डलिङ्क कम्युनिकेसन्सले इन्टरनेट सेवा प्रदायक क्षेत्रमा आफ्नो अग्रणी स्थान कायम राख्दै करिब ३२ प्रतिशत बजार हिस्सा ओगटेको छ । गत कम्पनीसँग करिब १० लाख १० हजार ग्राहक रहेका थिए भने चालु आवको ९ महिनासम्म १० लाख ८० हजार ग्राहक पुर्याएको छ । गत वर्ष कम्पनीको ग्राहक आधार १०.२३ प्रतिशतले वृद्धि भएको छ, जुन उद्योगको औसत वृद्धि ११.११ प्रतिशतको तुलनामा केही कम मात्रै हो । तर पनि, कुल नयाँ थपिएका ३ लाख १३ हजार ४१६ ग्राहकमध्ये कम्पनीले ९४ हजार १३ ग्राहक (करिब ३० प्रतिशत) प्राप्त गरी बजार नेतृत्वलाई मजबुत बनाएको छ । पछिल्ला वर्षहरूमा प्रति प्रयोगकर्ता औसत आम्दानी (एआरपीयू) निरन्तर घट्दो क्रममा रहेको छ । अघिल्लो वर्ष ९२७ रुपैयाँ रहेको एआरपीयू गत वर्ष घटेर ८४९ रुपैयाँमा सीमित भएको थियो । तर, चालु आवको ६ महिनामा यो एआरपीयू बढेर ८५९ रुपैयाँ पुगेको छ ।  विदेशी लगानी साढे ४ अर्ब पुग्यो  कम्पनीका अनुसार सन् २०२३ को जनवरीमा ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्ट (जसलाई पहिले सिडिसी ग्रुप पीएलसी भनेर चिनिन्थ्यो) बाट १ अर्ब ८ करोड रुपैयाँ बराबरको सिरिज बी लगानी प्राप्त गरेको थियो । त्यसैगरी सन् २०२३ को मार्चमा डोल्मा इम्प्याक्ट फन्डबाट ९० करोड रुपैयाँ बराबरको लगानी प्राप्त भएको थियो । साथै सन् २०२६ को फेब्रुअरीमा फिनिस फन्ड फर इन्डष्ट्रियल को-अपरेसन लिमिटेडबाट १ अर्ब ३९ करोड ५० लाख रुपैयाँको थप लगानी प्राप्त भएको कम्पनीले जनाएको छ । यी सबै लगानीपछि कुल विदेशी प्रत्यक्ष लगानी करिब ४ अर्ब ३७ करोड ५० लाख रुपैयाँ पुगेको छ । कम्पनीले प्राप्त गरेको यो विदेशी लगानी मुख्य रूपमा देशभर नेटवर्क पूर्वाधार विस्तारका लागि प्रयोग गरिँदै आएको छ । कम्पनी फाइबर कनेक्टिभिटीको अग्रणी संस्था हो र नेपालमा उपग्रह (स्याटेलाइट) मार्फत सेवा सुरु गर्ने पहिलो निजी कम्पनी पनि हो । साथै, आफ्नै वायरलेस ट्रङ्क नेटवर्क सञ्चालन गर्ने पहिलो कम्पनीको रूपमा पनि यसले पहिचान बनाएको छ । सन् २०१२ मा कम्पनीले फाइबर टु द होम (एफटीटीएच) प्रविधि सार्वजनिक रूपमा सुरु गरेको थियो, जुन लामो अनुसन्धानपछि लागू गरिएको थियो । सन् २०१८ मा कम्पनीले फिनल्याण्डको बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी नोकियासँग सहकार्य गर्दै एफटीटीएच नेटवर्क विस्तार गर्ने सम्झौता गरेको थियो, जसको उद्देश्य करिब १० लाख नेपाली घरधुरीसम्म सेवा विस्तार गर्नु हो । कम्पनीले हाल नेपालमा पहिलो पटक एक्सजीएस-पोन प्रविधिमा आफ्नो नेटवर्क अद्यावधिक गरेको छ, जसले उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्न सक्षम बनाउँछ । कत्यसैगरी, कम्पनीले नोकिया वाइ-फाइ बेकन नामक आधुनिक इन-होम राउटर पनि प्रयोगमा ल्याएको छ, जसमा प्रयोगकर्ताका लागि जानकारी दिने इन्साइट स्क्रिन जडान गरिएको छ । यस प्रविधिले घरभित्र बलियो वाइ-फाइ कभरेज र उच्च गतिको इन्टरनेट पहुँच सुनिश्चित गर्ने बताइएको छ । कम्पनीका चुनौती इन्टरनेट सेवा क्षेत्र उच्च पुँजी आवश्यक पर्ने र दीर्घ विकास चक्र भएको उद्योग हो । कम्पनीले ग्रामीण क्षेत्रमा विस्तार गर्न ठूलो लगानी गर्नुपर्ने अवस्था छ, जसका लागि ऋण, इक्विटी र आन्तरिक आम्दानीको संयोजन प्रयोग हुँदै आएको छ । अत्यधिक ऋण प्रयोग भएमा वित्तीय दबाब बढ्न सक्ने जोखिम पनि देखिन्छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ७६ करोड १० लाख रुपैयाँ ऋण लिएको छ । जसमा १ अर्ब १ करोड १० लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ७५ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।  कम्पनीका अनुसार नेपालको इन्टरनेट बजार अत्यन्त प्रतिस्पर्धी र खण्डित छ । मूल्य प्रतिस्पर्धा, नयाँ प्रवेशकर्ताहरूको दबाब र टेलिकम कम्पनीहरूको विस्तारले बजारमा चुनौती बढाएको छ । यसले प्रति प्रयोगकर्ता आम्दानी र नाफा मार्जिनमा दबाब सिर्जना गर्ने कम्पनीले जनाएको छ ।  विदेशी मुद्रा जोखिम पनि छ, किनभने उपकरण आयात गर्नुपर्ने भएकाले विदेशी भुक्तानी बढ्छ तर विदेशी आम्दानी छैन । गत वर्ष करिब ११ करोड रुपैयाँ विदेशी विनिमय घाटा भएको कम्पनीले जनाएको छ । सरकारी कर, पूर्वाधार शुल्क तथा नियामक परिवर्तनले पनि लागत बढाउने जोखिम छ । नेपाल विद्युत प्राधिकरणसँगको शुल्क विवाद अझै समाधान हुन बाँकी छ ।

डिजो ओटीटीले बढायो दायरा, नेपाली सामग्री विश्व बजारमा

काठमाडौं । नेपालमा डिजिटल मनोरञ्जन क्षेत्रलाई थप सुदृढ बनाउने उद्देश्यसहित ‘डिजो ओटीटी’ले आफ्नो सेवा विस्तारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको जनाएको छ । कम्पनीले आधिकारिक रूपमा विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकार प्राप्त गर्दै डिजिटल सामग्री वितरणमा नयाँ उपलब्धि हासिल गरेको हो । डिजिटल प्लेटफर्ममार्फत चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, खेलकुद तथा विविध मनोरञ्जन सामग्री दर्शकमाझ सहज रूपमा उपलब्ध गराउँदै आएको कम्पनीले अब अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थितिलाई बलियो बनाउने लक्ष्य लिएको जनाएको छ । डिजो ओटीटी ‘डिजहोम डिजिटल प्रा.लि.’ अन्तर्गत सञ्चालनमा रहेको प्लेटफर्म हो। कम्पनीले नेपाल सरकार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत आवश्यक अनुमति प्राप्त गरी कानुनी रूपमा सेवा सञ्चालन गर्दै आएको स्पष्ट पारेको छ । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय डिजिटल सामग्री वितरणका लागि आवश्यक मापदण्ड पूरा गर्दै यसले नेपाली डिजिटल मनोरञ्जन उद्योगलाई विश्व बजारसँग जोड्ने आधार तयार गरेको छ । आगामी दिनमा अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रयोगकर्ता अनुभव तथा गुणस्तरीय सामग्रीमार्फत दर्शकलाई विश्वस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।