काठमाडौं । एनसेलले मंगलबारदेखि १९८ गन्तव्य मुलुकका लागि अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ । कम्पनीले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ को स्वीकृतिबमोजिम ६० सेकेन्डको नयाँ पल्स दर लागू गरेको हो ।
दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्स दरका लागि निर्णयअनुसार स्वीकृति प्रदान गरेको हो ।
प्राधिकरणको स्वीकृतिबमोजिम अब अष्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन, फिनल्यान्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, इटाली, जापान, दक्षिण कोरिया, लेबनान, मलेसिया, न्युजिल्यान्ड, नर्वे, पाकिस्तान, पोल्यान्ड, कतार, रुस, रोमानिया, साउदी अरेबिया, सिङ्गापुर, दक्षिण अफ्रिका, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड, टर्की, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, मेक्सिको, लिबियालगायतका गन्तव्य मुलुकमा नयाँ पल्स दर लागू भएको छ ।
नयाँ पल्स दर कायम भएका सबै मुलुकको पूर्ण सूची तथा कल र एसएमएसको शुल्क एनसेलको वेबसाइटमा रहेको ‘इन्टरनेशनल कल एन्ड एसएमएस रेट’ खण्डमा हेर्न सकिने कम्पनीले जनाएको छ ।