बाँकेका सुकुमबासी बस्ती खाली गरिँदै
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन सुरु गरिएको छ । नगरप्रमुख पूर्णप्रसाद आचार्यले सुकुमबासीका नाममा जग्गा अतिक्रमण गरी बसोबास गरेकालाई हटाउन सुरु गरिएको जानकारी दिए । हालसम्म नगरपालिकाको सम्पर्कमा ६० परिवार वास्तविक भूमिहीन सुकुमबासी आएको र उनीहरूको व्यवस्थापनका लागि होल्डिङ सेन्टरमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको उनले जानकारी दिए । नगरप्रमुख आचार्यका अनुसार वडा नं ११ स्थित कोहलपुर नगर विकास समितिको कोहलपुर ३ (ख) अन्तर्गत करिब ३६ बिघा क्षेत्रफल (क्रिकेट मैदान आसपास) जग्गा अतिक्रमण गरी सात साय ५१ परिवार घरटहरा बनाएर बसिरहेका छन् । तीमध्ये अव्यवस्थित बासोबासी ४ सय १६, भूमिहीन दलित एक सय ७२ र भूमिहीन सुकुमबासी एक सय ६३ जना रहेको उनले बताए । ‘बस्ती विकास तथा बसोबासका क्रममा केही व्यक्ति तथा विचौलियाको संलग्नतामा नक्कली कागजात तयार गर्ने, जग्गा किनबेच गराउने तथा आर्थिक लाभ लिने गतिविधि भएको भनेर उजुरी पनि आएका छन् । सो सम्बन्धमा सम्बन्धित निकायबाट अनुसन्धान जारी छ’ , उनले भने । यसैबीच, नगर क्षेत्रका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी वर्षौंदेखि बसोबास गर्दै आएका वास्तविक सुकुमवासी तथा भूमिहीन दलितको पहिचान गर्न सुरु गरिएको छ । नगरपालिकाले एउटा अभिलेख व्यवस्थापन समिति गठन गरेर घरधुरीको अवस्था, बसोबास अवधि, आर्थिक अवस्था, अन्यत्र जग्गाजमिन भए नभएकोलगायत विषय अध्ययन गरिरहेको छ । त्यहाँ बसिरहेका परिवारको तथ्याङ्क सङ्कलन तथा कागजात प्रमाणीकरणको काम अघि बढाएको समितिका संयोजक सुनिता सुनारले जानकारी दिए । केही व्यक्तिले आफूलाई भूमिहीन दाबी गरे पनि अन्यत्र घरजग्गा रहेको तथ्य भेटिए त्यस्ता व्यक्तिलाई सूचीबाट हटाइने उनले बताए । ‘गत वर्ष उक्त स्थानका ७ सय ५१ जना भूमिहीन सुकुमवासी र भूमिहीन दलितले फाराम भरे पनि पहिचान गर्दा भूमिहीन दलित एक सय ५३ जना र भूमिहीन सुकुमवासी एक सय ४१ जना रहेका छन्’ , संयोजक सुनारले भने ।
लागुऔषधसहित १७ जना पक्राउ
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बर्दियाबाट ४, सुनसरी र झापाबाट ३/३, काठमाडौं र ललितपुरबाट २/२ तथा कञ्चनपुर, तनहुँ र बाँकेबाट १/१ जनालाई पक्राउ गरिएको हो । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उनीहरूका साथबाट खैरो हेरोइन, चरेस तथा चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने औषधि ट्रामाडोल र डाइक्लोमाइन बरामद गरेको छ ।
मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ
काठमाडौं । सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ । सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी बागमती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार घिमिरेलाई पक्राउ गरेको हो । वृत्तका प्रहरी नायब उपरीक्षक सन्तोष रोक्काले सहकारी ठगी अभियोगमा सोधपुछ गरी थप कारबाही प्रक्रिया अघि बढाउन निजलाई पक्राउ गरिएको जानकारी दिए । सहकारीले करिब एक सय ५० बचतकर्ताको १५ करोड रुपैयाँ बचत रकम फिर्ता गर्न बाँकी रहेको जनाइएको छ ।