काठमाडौंमा दुई दिने सांगीतिक उत्सव सम्पन्न

काठमाडौं ।  राजधानीमा दुई दिने अन्तर्राष्ट्रिय सांगीतिक महोत्सव सेकरेड हिमालयज २०२६ सम्पन्न भएको छ । युनिभर्स अफ साउन्ड र काठमाडौं युथ अर्केस्ट्राको संयुक्त आयोजना रहेको महोत्सव वैशाख २६ र २७ गते होटेल दुसित प्रिन्सेसमा सञ्चालन भएको हो ।  महोत्सव संगीत केवल मनोरञ्जनको साधन मात्र नभई ब्रह्माण्ड र आफूलाई बुझ्ने माध्यम रहेको सन्देश दिँदै सम्पन्न भएको हो । महोत्सवको पहिलो दिन रुट्स् एन्ड अवेकनिङ शीर्षकमा केन्द्रित थियो । मंगलमान महर्जन, ब्रबिम महर्जन र राजन महर्जनले ओपनिङ ब्लेसिङ अफ साउन्ड मार्फत कार्यक्रमको सौम्य सुरुवात गरेका थिए ।  हिमालयन सिङ्गिङ बाउल र गोङको गहिरो कम्पनले हलमा उपस्थित सबैलाई ध्यानमग्न अवस्थामा पु¥याएको थियो । त्यसलगत्तै गायिका सुगमा गौतम, सलिना बिक, तबला वादक जगन्नाथ धौगोडा र बाँसुरी वादक नागेन्द्र राईको सुमधुर जुगलबन्दीले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो । पहिलो दिनको प्यानल छलफलमा मंगलमान महर्जन, ब्रबिम महर्जन, अमेलिया कांग, कालिन योंग र दुर्गामणि मरानले संगीतका विविध आयाममाथि प्रकाश पारेका थिए । कार्यशालामा तबला वादक तथा कार्यक्रम संयोजक न्हुच्छे मुनिकार र नृत्यकार कृपा बज्रचार्यले शरीरमा सकारात्मक ऊर्जा जागृत गर्ने कला सिकाएको थियो । सोही अवसरमा काठमाडौं युथ अर्केस्ट्राद्वारा प्रकाशित संग्स अफ नेपाल (नेपालका गीतहरू) नामक पुस्तकको लोकार्पण समेत गरिएको थियो । महोत्सवको दोस्रो दिन साइन्स, सोल एन्ड सिम्फनी सत्रमार्फत ध्वनिको वैज्ञानिक र आध्यात्मिक पक्षलाई जोडिएको थियो । त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा. अर्जुन आचार्यले ध्वनिको कम्पनले मानव स्नायु प्रणालीमा पार्ने सकारात्मक प्रभावबारे रोचक चर्चा गरेका थिए । महोत्सवको समापन भने निकै उल्लासमय रह्यो । डा. जोन शाप्र्लीको नेतृत्वमा काठमाडौं युथ अर्केस्ट्राले प्रस्तुत गरेको स्प्रिङ कन्सर्ट सबैको आकर्षणको केन्द्र बन्यो । उक्त कन्सर्टमा नेपालको राष्ट्रिय गानदेखि मंगल धुन, ’कान्छी मट्याङ ट्याङ’, राजमती कुमती’, ’उकाली ओरालीहरूमा’, ’सीलु’ जस्ता मौलिक धुनहरूलाई अर्केस्ट्राको शैलीमा प्रस्तुत गरिएको थियो । त्यतिबेला हलमा उपस्थित दर्शकहरू हर्षविभोर भएका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वरिष्ठ हाँस्यकलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको गरिमामय उपस्थिति रहेको थियो । सन् २०१८ मा सिङ्गापुरबाट यात्रा सुरु गरेको युनिभर्स अफ साउन्ड अभियानले यसपटक नेपालको भूमिमा आफ्नो सांगीतिक सुगन्ध फैलाएको हो । सेकरेड हिमालयज २०२६ का परिकल्पनाकार तथा निर्देशकद्वय संगीतकार डा. जोन शाप्र्ली र सिङ्गापुरकी साउन्ड हिलर अमेलिया काङले महोत्सवले संगीत, नृत्य र ध्वनिलाई अनुभव गर्ने एउटा साझा मञ्च प्रदान गरेको बताए  । डा. शाप्र्लीले भने, ‘सारा ब्रह्माण्ड नै एउटा कम्पन हो र ध्वनि भनेको अनुभवमा ढालिएको ऊर्जा हो ।’ अमेलिया काङले आफ्नो सन्देशमा यो उत्सव प्रश्नहरूको उत्तर खोज्न नभई स्वयंलाई महसुस गर्नका लागि भएको बताए ।  आयोजक संस्था काठमाडौं युथ अर्केस्ट्राका संस्थापक सबिन मुनिकारले यस महोत्सवलाई नेपाली संगीतलाई विश्वव्यापी मञ्चमा नयाँ ढंगले चिनाउने एक ऐतिहासिक अवसरका रूपमा व्याख्या गरे ।

कोसी प्राइड लिगको तेस्रो संस्करण एक्सन स्पोर्ट्स एचडीबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौं । कोसी प्राइड लिग (केपीएल) को तेस्रो संस्करण एक्सन स्पोर्ट्स एचडीबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा सोमबार केपीएलका निर्देशक अफजल हुसेन र डिस मिडिया नेटवर्कका कन्टेन्ट हेड सञ्जयराज भण्डारीले हस्ताक्षर गरेका छन् । आयोजक कोसी प्राइड प्रालिका अनुसार जेठ ९ गतेदेखि सुरु हुने टी–२० प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टीभीएसको एन्टोर स्कुटर प्रदान गरिनेछ । यसअघि प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म सञ्चालन गर्ने योजना रहे पनि विभिन्न कारणले दुईपटक सारिएको थियो । अब प्रतियोगिता जेठ ९ देखि २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीहरूले अक्सनमार्फत समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन् भने प्रत्येक टोलीले ड्राफ्टमार्फत तीनदेखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन् । लिगमा एभरेस्ट थन्डर्स, नुमना ब्लास्टर, इटहरी आदर्श जायन्ट्स, विर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, बीएन कोसी अनर्स र गोर्खा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।  

इन्जिनियरदेखि ऊर्जा उद्यमीसम्म

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी जेठ २९ गते हुने २४औं वार्षिक साधारण सभा तथा निर्वाचनले नयाँ नेतृत्व चयन गर्दैछ । सो कार्यसमिचितको शक्तिशाली पद महासचिवमा ऊर्जा उद्यमी मिथुन पौडेलले दाबी गरेका छन् । अहिलेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पनि इन्जिनियर पृष्ठभूमीका हुन् । उसो त केही मन्त्रालय युवा इन्जिनियरले हाकिरहेका छन् । यस्तो अवस्थामा निजी क्षेत्र र सरकारबीच प्रभावकारी संवादका लागि प्राविधिक भाषा बुझ्ने र रणनीतिक सोच राख्ने नेतृत्वको अभाव खड्किएको उनी बताउँछन् । सरकारसँगको सहकार्यका लागि प्राविधिक विषममा डिल गर्न सहज हुुने उनले बताए । इन्जिनियरिङ दक्षता, नीतिगत स्पष्टता र संस्थागत नेतृत्वको सुमधुर संयोजनबाट मात्रै ऊर्जा क्षेत्रका समस्या समाधान गर्न सकिने उनको भनाइ छ । योग्यता र विगतमा आफूले गरेको योगदानसँगै आफूले ऊर्जा क्षेत्रमा बनाएको पहिचानका आधारमा आफ्नो इप्पानको महासचिव पदमा उमेद्वारी घोषणा गरेको बताए । ‘सरकारको काम गर्ने शैली (स्पिड) र सोच (स्प्रिट) सँग तालमेल मिलाउन इप्पानमा पनि प्राविधिक र नीतिगत ज्ञान भएको नेतृत्व चाहिन्छ,’ पौडेल भन्छन्, ‘महासचिव पदमा मेरो उम्मेदवारी निजी क्षेत्र र सरकारबीचको खाडल पुर्दै ऊर्जा क्षेत्रका जटिल समस्यालाई प्राविधिक र नीतिगत रूपमा हल गर्नका लागि हो ।’ इन्जिनियरदेखि ऊर्जा उद्यमीसम्म वि.सं. २०४२ मा स्याङ्जामा जन्मिएका पौडेलको ऊर्जा यात्रा २०६६ सालमा गुल्मीको ५ मेगावाट क्षमताको रुरु जलविद्युत आयोजनाबाट सुरु भएको थियो । सिभिल इन्जिनियरिङमा स्नातक र पूर्वाधार योजनामा विशिष्ट श्रेणीमा स्नातकोत्तर गरेका पौडेलले करिब एक दशक विभिन्न आयोजनामा साइट इन्जिनियर र डिजाइन इन्जिनियरका रूपमा पसिना बगाए ।  त्यही अनुभवले उनलाई उद्यमी बन्ने प्रेरणा दियो । २०७३ सालदेखि ९९० किलोवाटको सेलाङ खोला जलविद्युत आयोजनाको नेतृत्व सम्हालेका पौडेल अहिले ३.५ मेगावाटको देवढुङ्गा जलविद्युत आयोजना अघि बढाइरहेका छन् । १७ वर्षको यो अवधिमा उनले दर्जनौं आयोजनाको डिजाइन, वित्तीय व्यवस्थापन र निर्माण अनुगमनको नेतृत्व गरिसकेका छन् ।  पौडेलको मुख्य एजेन्डा इप्पानलाई व्यक्तिगत पहुँचको थलोबाट बदलेर संस्थागत सम्बन्धको केन्द्र बनाउनु हो । उनी भन्छन्, ‘हामी अझै पनि एउटा फाइल अघि बढाउन नेताको ढोका ढकढक्याउँछौं । अब यस्तो हुनुहुँदैन । इप्पानले तथ्य र तथ्याङ्कमा आधारित भएर सरकारसँग नीतिगत पैरवी गर्नुपर्छ ।’ उनले इप्पान सचिवालयलाई विभागीय संरचनामा लैजाने योजना अघि सारेका छन् । जसमा वन, वातावरण, भूमिसुधार र कर प्रणालीका लागि छुट्टाछुट्टै डेस्क स्थापना, नदी बेसिन र प्रसारण कोरिडोरअनुसार उपसमिति गठन तथा  विपद् व्यवस्थापनका लागि पूर्वचेतावनी प्रणालीको विकास गर्ने लगायतका योजनाहरु अघि सारेका छन् ।  ऊर्जा अर्थतन्त्रको ‘ड्राइभिङ सेक्टर’ पौडेलका अनुसार बिजुली केवल बत्ती बाल्ने साधन मात्र होइन । उनको नजरमा ऊर्जा भनेको कृषि, पर्यटन, हाइड्रोजन विकास र डाटा सेन्टर चलाउने इन्जिन हो । ऊर्जा क्षेत्रलाई पर्यटनसँग जोड्ने ग्रामीण ऊर्जा पर्यटन र नवीन प्रविधि ग्रिन हाइड्रोजनमा उनले गरेको अनुसन्धानले नेपालको ऊर्जा क्षेत्रलाई बहुआयामिक बनाउने मार्गचित्र प्रस्तुत गरेको छ ।  नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्षका रूपमा उनले दक्ष जनशक्ति उत्पादनमा समेत योगदान दिँदै आएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनदेखि विभिन्न व्यवस्थापन र बीमा क्षेत्रसम्म उनलाई धेरै अनुभव छ ।  ऊर्जा उद्यमीहरू अहिले बाढी-पहिरोको जोखिम, बैंकको ब्याजदर, नीतिगत अस्थिरता र प्रसारण लाइनको समस्याले थलिएका उनको भनाइ छ । पौडेल यी पीडालाई प्रेरणामा र संघर्षलाई सम्भावनामा बदल्ने प्रतिवद्धता व्यक्त गरेको बताउँछन् । उनका अनुसार इप्पानको इतिहासमा निकै कम मात्र प्राविधिक व्यक्तिहरू नेतृत्वमा पुगेका छन् ।  वि.सं २०८० जेठमा सम्पन्न निर्वाचनबाट इप्पानको सातौं कार्यसमिति सदस्यमा निर्वाचित पौडेलले ३ वर्षे कार्यकालमा नीतिगत सुधारको वकालत, विपद् व्यवस्थापन समन्वय, सार्वजनिक-निजी साझेदारी सुदृढीकरण, वैदेशिक लगानी आकर्षणमा उल्लेखनीय योगदान पुर्याएको दावी गरेका छन् । साथै उनले इप्पानको इनर्जी बुलेटिन प्रकाशन समितिको संयोजकको रूपमा समेत काम गरेका छन् । काठमाडौं विश्वविद्यालयको ग्रिन हाइड्रोजन प्रयोगशालासँग इप्पानको तर्फबाट समन्वय तथा सहजीकरणको नेतृत्व गर्दै उनले नवीन प्रविधि र वैकल्पिक ऊर्जाको प्रवर्धनमा भूमिका निर्वाह गरेका छन् । यसका साथै इप्पानको तर्फबाट विपद् पूर्वतयारी तथा व्यवस्थापन समितिमा आवद्ध भई ऊर्जा क्षेत्रको जोखिम न्यूनीकरणमा समेत सक्रिय सहभागीता जनाएका छन् । यसैगरी नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता प्राप्त इन्जिनियर रहेका पौडेल नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल भ्यालुअर्स एसोसिएसन, म्यानेजमेन्ट एसोसिएसन नेपालसँग समेत आवद्ध छन् । पौडेल बीमा सर्वेक्षकको रूपमा पनि काम गरिरहेका छन् । उनले इप्पानमा रहेर ग्रामीण पर्यटन र उर्जा आयोजनालई जोड्ने नयाँ अवधारणमा पनि गहिरो अध्ययन गरिरहेका छन् । नेपाल हाइड्रोपावरसँग सम्बन्धित प्राविधक विकास गर्ने उद्देश्यले वि.सं. २०७८ मा स्थापित गैह्रनाफामुुलक संस्था नेपाल हाइड्रोपावर एकेडेमीको २०८२ साल देखि अध्यक्ष समेत रहेका पौडेल नीति सल्लाहकार, प्रशिक्षक तथा अनुसन्धानकर्ताको रूपमा समेत परिचित छन् । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकसम्बद्ध निकाय, काठमाडौं विश्वविद्यालय तथा प्राविधिक शिक्षा परिषद्, नेपाल उद्योग परिसंघ, प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग जस्ता संस्थाहरूमा आफ्नो अनुभव र ज्ञान साटेका पौडेल व्यक्तिगत जीवनमा सरल, इमान्दार तथा अनुशासितसँगै पेसागत रूपमा भने जटिल परियोजना र नीतिगत चुनौतीसँग जुध्न सक्ने रणनीतिक सोच भएका व्यक्तिको रूपमा समेत परिचित छन् । इप्पानको महासचिव पदका प्रत्याशीका रूपमा उनले आफ्ना ज्ञान तथा अनुभवबाट विचारहरूलाई कार्यान्वयन तहमा लैजान युवा तथा इन्जिनियर बाहुल्य रहेको वर्तमान सरकारसँग सहकार्य गरी उर्जा क्षेत्रलाई थप उचाइमा पुर्याउन सरकारको स्पिड तथा स्प्रिट मिल्ने इप्पानको नेतृत्वमा दावी गर्ने एक मात्र इन्जिनियर उम्मेदवार रहेको उनको दावी छ । उनले भने, ‘नेपालको ऊर्जा क्षेत्र केवल बिजुली उत्पादन गर्ने उद्योग मात्र होइन, यो राष्ट्रिय अर्थतन्त्र चलाउने आधारशिला हो, हामीले जलविद्युत् तथा सौर्य ऊर्जा उत्पादनसँग जोडिएका अन्य क्षेत्रहरूलाई पनि समानान्तर रूपमा विकास गर्नुपर्छ । ’ ऊर्जा क्षेत्रलाई कृषि, पर्यटन, हाइड्रोजन विकास, माइनिङ, डाटा सेन्टरलगायत क्षेत्रहरूसँग जोडेर समग्र आर्थिक विस्तारको आधार बनाउन सकिने पौडेल बताउँछन् । महासचिवका रुपमा उनको प्राथमिकतामा रहेको एजेन्डा इप्पानको संगठन विस्तार र पुनःसंरचना हो । उनका अनुसार अझै धेरै ऊर्जा उत्पादक कम्पनीहरू इप्पानको सदस्य बन्न सकेका छैनन् । ती कम्पनीहरूलाई आकर्षित गर्न संस्थालाई विषयगत संरचनामा लैजान आवश्यक छ ।  उनी भन्छन्, ‘नदी बेसिन तथा प्रसारण कोरिडोर अनुसार उपसमिति गठन गरी विपद् व्यवस्थापन, सडक, प्रसारण लाइन, विद्युत् खपत तथा निकासी र परियोजना निर्माणमा सहकार्यको प्रणाली विकास गर्नुपर्छ । ’ विशेषगरी बाढी-पहिरो जस्ता प्राकृतिक प्रकोपको समयमा ऊर्जा आयोजनाहरू पहिलो प्रभावित हुने भएकाले इप्पानले पूर्वचेतावनी प्रणाली निर्माणमा भूमिका खेल्नसक्ने उनको प्रस्ताव छ । नदी तथा खोलाहरूमा तथ्याङ्क साझेदारीको सञ्जाल बनाउनसके ऊर्जा उत्पादन प्रक्षेपण, खपत प्रक्षेपणमा मात्र नभई विपतजन्य प्रकोप पूर्वसूचना प्रणालीमा समेत ठूलो योगदान पुग्नेछ । पौडेल ऊर्जा क्षेत्रमा अझै पनि धेरै काम व्यक्तिगत पहुँचको आधारमा हुने गरेको बताउँदै त्यसलाई संस्थागत ढाँचामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउँछन । उनका अनुसार इप्पानले सरकारसमक्ष राख्ने मागहरू थप स्पष्ट र प्राथमिकतायुक्त बनाउनुपर्ने छ ।  ‘पहिलो, दोस्रो, तेश्रो गरेर प्राथमिकताक्रम निर्धारण गरेर माग के हुन् र सुुझाव के हुन् भन्ने संस्थागत तयारी पुगेको छैन । व्यक्तिगत पहुँच विस्तारको लागि भेटघाट गरे जस्तो मात्रै देखिन्छ । त्यसैले अव अनुसन्धान, योजना र तथ्यमा आधारित संस्थागत माग र सुुझावको प्राथमिकिकरणको तयारी आवश्यक छ,’ उनले भने ।  उनले इप्पान सचिवालयलाई विभागीय संरचनामा लैजानुपर्ने प्रस्ताव पनि अघि सारेका छन् । जसमा निर्माणाधीन आयोजना, सञ्चालनमा रहेका आयोजना, विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, वन तथा वातावरण, भूमी व्यवस्थापन, कर प्रणाली, उद्योग मन्त्रालय, कानुन मन्त्रालय र आयोजनाको सुरक्षासँग सम्बन्धित छुट्टाछुट्टै डेस्क स्थापना गर्ने उनको योजना छ ।  हाल कार्यसमिति सदस्यहरूले आफैं फाइल तयार गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले सचिवालयलाई व्यावसायिक, दक्ष र अद्यावधिक बनाउनु अपरिहार्य रहेको पनि बताए । ‘तथ्याङ्क भण्डार, फाइल व्यवस्थापन र विज्ञ समीक्षा प्रणाली विकास नगरी संस्थागत परिणाम आउँदैन,’ उनको भनाइ छ । पौडेलले जलविद्युत् विकासलाई ऊर्जा उत्पादन विविधीकरण र ऊर्जा खपत विस्तार गर्न ऊर्जा उत्पादनमा सिमित रहेको निजी क्षेत्रलाई उर्जा व्यापारका अन्य अवयवमा सहभागी गराई अघि बढाउनुपर्ने धारणा राखेका छन् । उनले ‘रन अफ द रिभर’ आयोजनासँगै, सोलार पावर, जलाशययुक्त तथा भण्डारण (पम्प, हाइड्रोजन), वायोमास ऊर्जा आयोजनालाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।  ऊर्जा खपतको विविधीकरण आवश्यक रहेको भन्दै उनले यातायात (पोड वे, रोप वे, इभी, केबलकार, हाइड्रोजन कार), घरायसी प्रयोजन तथा  विद्युतीय ऊर्जा-आधारित उद्योगलाई प्राथमिकतामा राख्नुपर्ने बताए । यसको कार्यान्वायनका लागि इप्पानबाट नेपाल उद्योग परिसंघ सँग, नेपाल उद्योग वाणिज्य महासंघ लगायतका निकायसँग रणनैतिक रूपमा सहकार्य गरी नीतिगत समन्वयको आवश्यकता रहेको पौडेलले बताए ।  ऊर्जा क्षेत्रलाई दीर्घकालीन राष्ट्रिय अर्थतन्त्र विकासको आधार बनाउने पौडेलको दूरदृष्टिले इप्पानलाई केवल विकासकर्ताहरूको संगठनमा सीमित नराखी, असल तथा दिगो नीति निर्माणका लागि अनुसन्धान र रणनीतिक नेतृत्व प्रदानगर्ने संस्थाको रूपमा रूपान्तरण गर्ने लक्ष्य रहको छ । ऊर्जा क्षेत्रको नीतिगत बहसमा इप्पानको प्रभाव अपेक्षाकृत रूपमा बलियो हुन नसकेको स्वीकार गर्दै पौडेलले संस्थालाई अनुभव र क्षमता अनुसार ऊर्जा उत्पादनकोे अनुभव साटासाट केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । नेपालका ८० देखि ८५ प्रतिशत जलविद्युत् आयोजना निजी क्षेत्रले निर्माण गरिसकेको अवस्थामा निजी क्षेत्रसँग पर्याप्त क्षमता र अनुभव छ । तर त्यो क्षमता संगठित रूपमा प्रयोग हुन नसकेको उनको निष्कर्ष छ । ऊर्जा उत्पादकहरूको पीडालाई प्रेरणामा र संघर्षलाई सम्भावनामा बदल्न सक्ने नेतृत्व हुनुपर्छ भन्ने उनको बुझाइ छ ।