चलचित्रकर्मीहरूको श्रद्धाञ्जलीका लागि कर्रा हस्तान्तरण
काठमाडौं । चलचित्रकर्मीहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आवश्यक सामग्री (कर्रा) पशुपति विकास क्षेत्र कोषलाई हस्तान्तरण गरेका छन् । कलाकारद्वयले पशुपति विकास क्षेत्र कोषका अधिकृत सूर्य भाटलाई पाशुपत क्षेत्रमै कलाकार सविन श्रेष्ठ र अनु शाहले सामग्री हस्तान्तरण गरेका हुन् । महिलाहरूलाई स्यानिटरी प्याड वितरण, अपाङ्ग बालबालिकालाई आर्थिक तथा जिन्सी सहयोग लगायत विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका सविनले आफ्नै खर्चमा चलचित्रकर्मीहरूको अन्तिम यात्रामा सम्मानजनक र व्यवस्थित ढंगले श्रद्धाञ्जली अर्पण गर्न सहयोग पुग्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरणपछि श्रेष्ठले चलचित्रकर्मीहरूको निधन हुँदा श्रद्धाञ्जली अर्पण गर्न कहिले कुर्सी, कहिले अन्य सामग्री खोज्नुपर्ने तितो यथार्थले आफूलाई दुःखी बनाउने गरेको बताए । सोही अनुभूतिपछि आफू यस कार्यमा अग्रसर भएको उनले उल्लेख गरे । उनले यो सामग्री चलचित्रकर्मी, पत्रकार लगायत आवश्यक परेका अन्य व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने जानकारी दिए । जन्म र मृत्यु अन्तिम सत्य रहेको उल्लेख गर्दै अभिनेत्री अनु शाहले चलचित्र क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूको अन्तिम श्रद्धाञ्जलीका लागि आवश्यक व्यवस्थापन हुने यस सामाजिक कार्यमा आफू जोडिन पाउँदा खुशी लागेको बताइन् । पशुपति विकास क्षेत्र कोषका अधिकृत सूर्य भाटले कलाकार सविन श्रेष्ठबाट भएको यस सामाजिक कार्यले पशुपतिमा अन्तिम संस्कार हुने चलचित्रकर्मीहरूको बिदाइ व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक तथा मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् । सविन श्रेष्ठले सुदीप पन्त र नरेश कुँवरको सहयोगमा उक्त सामग्री तयार पारिएको जानकारी दिए ।
आज नेपाल र अमेरिका भिड्दै, नेपालका लागि निकै महत्वपूर्ण
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छन् । दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो । आइसिसी क्रिकेट विश्वकप लिग-२ को अङ्क तालिकामा नेपाल सातौं स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११ वटा खेल जित्नुपर्छ भने एक दिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । नेपाल अहिले २५ खेलपछि आठमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै १८ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । साथै अमेरिका २५ खेलबाट १८ मा जित, सातमा हारसँगै ३६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, ८ मा हार र ६ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।
पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जारी गरेको छ । मन्त्रियस्तरीय निर्णयअनुसार कोषको पुरानो नियमावली खारेज गरी पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा २१ ले दिएको अधिकार प्रयोग गरी कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका मन्त्री खड्कराज पोडेल (गनेस) ले नयाँ नियमावली जारी गरेका हुन् । कोषको नयाँ नियमावलीअनुसार कार्यकारी निर्देशकको पद हटाइएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए । कोषमा ऐनले कार्यकारी अधिकार दिएको सदस्य सचिवको व्यवस्था हुँदाहुँदै वसन्त चौधरी सदस्य सचिव भएका बेला नियमावलीमा संशोधन गरी कार्यकारी निर्देशकको व्यवस्था गरिएको थियो । विसं २०६० मा कार्यकारी निर्देशकको व्यवस्था भएपछि पहिलो कार्यकारी निर्देशकका रुपमा सरकारका उपसचिव रामशरण चिमौरियालाई तोकिएको थियो । उनको कार्यकालपछि पुरातत्व विभागको महानिर्देशकबाट सेवा निवृत्त हुनुभएका कोषप्रसाद आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्ति गरिएको थियो । आचार्यपछि कोषकै निर्देशक रमेश उप्रेतीलाई कार्यकारी निर्देशकमा नियुक्ति दिइएको थियो । उप्रेतीपछि डा घनश्याम खतिवडा कार्यकारी निर्देशक भएका थिए । खतिवडापछि कार्यकारी निर्देशक नियुक्त भएकी लक्ष्मी पुनका विषयमा विवाद भएपछि अदालतबाट हटाइएको थियो । पुनपछि सुभासचन्द्र जोशी कार्यकारी निर्देशक नियुक्त भएका थिए । कोषको नयाँ नियमावली जारी भएसँगै बहाल रहेकै अवस्थामा जोशीलाई पनि हटाइएको जनाइएको छ । विसं २०६० पछि कोषको कार्यकारी निर्देशकमा छ जनाले काम गरेपछि यो पद नै नरहने व्यवस्था भएको छ ।