रास्वपाको केन्द्रीय समिति बैठक : बालेनसँगको सहमति अनुमोदन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगपालिकाका प्रमुख बालेन्द्र शाहबीचको सहमतिलाई रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन भएको छ । रास्वपा सभापति रवि लामिछानेको सभापतित्वममा आइतबार राति बसेको रास्वपा केन्द्रीय समितिको विशेष बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगपालिकाका प्रमुख शाहबीचको वृहत् एकतासम्बन्धी सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकले राष्ट्र हितका लागि बृहद् आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने उक्त सहमतिको पालनाबाट मुलुकको व्याप्त भ्रष्टाचार, बेतिथि र सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्यायसहितको अवस्था स्थापना गर्ने निर्णय गरेको छ ।
क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष चिङ पक्राउ
काठमाडौं । प्रहरीले क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई पक्राउ गरेको छ । चिङलाई ठगीसम्बन्धी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए । उनले भने, 'क्यासिनामा डमी खेलाडी तयार गरेर आँखामा लेन्स र तासमा चिप्स जडान गरी ठगी गरेको आरोपमा प्रहरीले यसअघि क्यासिनोबाट चार भारतीय र दुई नेपालीलाई पक्राउ गरेको थियो, सोही विषयको अनुसन्धानका लागि चिङलाई पक्राउ गरिएको हो ।' अलफ्ट होटल परिसरमा सञ्चालित सो क्यासिनामा ‘क्यासिनो इभेन्ट’का नाममा जुवा खेलाएर भारतीय समूहले ठगी धन्दा सञ्चालन गरेको प्रहरीले जनाएको छ ।
सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल
पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेनजी प्रतिनिधिसहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनेको बताएका छन् । सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशद्वारा संयुक्त रुपमा यहाँ आयोजत अन्तरक्रिया कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै नेपाल सररकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले सरकारको प्रतिबद्धता, निर्वाचन आयोगको तयारी र राजनीतिक पार्टीहरूको तदारुकताका कारण निर्वाचन सुनिश्चित भएको बताए । उनले प्रतिनिधिसभाको सदस्यका लागि निर्वाचनको माहोल बनेको उल्लेख गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धताका साथ अघि बढेको सरकारलाई सहयोग गर्न सबैसँग अनुरोध गरे । सञ्चारमन्त्री खरेलले जनतालाई सुसूचित गर्ने जिम्मेवारीमा रहेको आमसञ्चार क्षेत्रमाथि प्रश्न उठिरहेको चर्चा गर्दै सकारात्मक सोचका साथ अझ निष्पक्ष, सिर्जनशील, विश्वसनीय र तथ्यमा आधारित वस्तुनिष्ट समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चारकर्मीसँग अनुरोध गरे ।